आफ्ना चेलाहरूका निम्ति प्रभु येशूका चेताउनीहरू
मत्ती १०:१९-३३
12
त्यही समयमा, जब हजारौं मानिसहरूको भीड़ भेला भयो, यहाँसम्म कि तिनीहरूले एक-अर्कालाई कुल्चन लागे, तब उहाँले पहिले आफ्ना चेलाहरूलाई भन्न लाग्नुभयो: “तिमीहरू फरिसीहरूको खमीरदेखि होशियार बस, जुनचाहिँ कपट हो। 2 किनभने कुनै कुरा छोपिएको छैन, जो उघारिनेछैन; न ता लुकेको छ, जो थाहा पाइनेछैन। 3 यसकारण जे कुरा तिमीहरूले अँध्यारोमा बोलेका छौ, त्यो उज्यालोमा सुनिनेछ; र जे कुरा तिमीहरूले भित्री कोठाहरूमा कानमा भनेका छौ, त्यो छानाहरूमा प्रचारिनेछ।4 अनि हे मेरा मित्रहरूहो, म तिमीहरूलाई भन्दछु, तिनीहरूसँग नडराओ, जसले शरीरलाई मार्दछन्, तर यसपछि अरू बढ़ी केही गर्न सक्दैनन्। 5 तर तिमीहरूले कोसँग डराउनुपर्छ, म तिमीहरूलाई पहिल्यै चेताउनी दिनेछु; उहाँसँग डराओ, जससँग मारिसक्नुभएपछि नरकमा फालिदिने पनि अधिकार छ; हो, म तिमीहरूलाई भन्दछु, उहाँसँगै डराओ! 6 के पाँचवटा भँगेरा दुई तामाको पैसामाक बिक्री हुँदैनन् र? अनि तीमध्ये एउटा पनि परमेश्वरको सामु बिर्सिएको छैन। 7 तर तिमीहरूका शिरका केशहरूधरि सबै गन्ती गरिएका छन्; यसकारण नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढ़ी मूल्यका छौ। 8 म तिमीहरूलाई यो पनि भन्दछु: हरेक जसले मलाई मानिसहरूको सामु स्वीकार गर्दछ, उसलाई मानिसका पुत्रले पनि परमेश्वरका दूतहरूको सामु स्वीकार गर्नेछन्; 9 तर जसले मलाई मानिसहरूको सामु इन्कार गर्दछ, त्यो पनि परमेश्वरका दूतहरूको सामु इन्कार गरिनेछ। 10 अनि हरेक जसले मानिसका पुत्रको विरोधमा वचन बोल्दछ, त्यसलाई त्यो क्षमा गरिनेछ; तर जसले पवित्र आत्माको विरोधमा निन्दा गर्दछ, त्यसलाई त्यो क्षमा गरिनेछैन। 11 अनि जब तिनीहरूले तिमीहरूलाई सभाघरहरू, शासकहरू र अधिकारीहरूकहाँ ल्याउँछन्, तब कसरी वा के जवाफ दिने हो, अथवा के भन्नुपर्ने हो भनी तिमीहरूले फिक्री नगर; 12 किनभने तिमीहरूले के भन्नुपर्छ, सो पवित्र आत्माले तिमीहरूलाई त्यही घड़ी सिकाइदिनुहुनेछ।”
मूर्ख धनवान्
13 अनि भीड़बाट एकजनाले उहाँलाई भन्यो: “हे गुरुजी, मेरा दाजुलाई भनिदिनुहोस्, र उनले मसँग हकको सम्पत्ति बाँडून्।” 14 अनि उहाँले त्यसलाई भन्नुभयो: “हे मानिस, कसले मलाई तिमीहरूमाथि न्यायकर्ता अथवा बाँड़िदिने ठहरायो?” 15 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “होशियार रहो, र आफूलाई लोभबाट जोगाइराख; किनकि मानिसको जिन्दगीचाहिँ त्यससँग भएको सम्पत्तिको भरपूरीमाथि आधारित हुँदैन।”
16 अनि उहाँले तिनीहरूलाई यसो भन्दै एउटा दृष्टान्त बताउनुभयो: “कुनै धनवान् मानिसको जमिनले प्रशस्तै उब्जनी दियो। 17 अनि त्यसले यसो भन्दै मनमनै विचार गर्यो, ‘म के गरूँ, किनकि मसँग मेरा अन्न राख्ने ठाउँ नै छैन।’ 18 अनि त्यसले भन्यो, ‘म यसो गर्नेछु: म आफ्ना ढुकुटीहरू भत्काउनेछु र झन् ठूला-ठूला बनाउनेछु; अनि त्यहाँ म आफ्ना सबै अन्न र आफ्ना मालहरू राख्नेछु। 19 अनि म आफ्नो प्राणलाई भन्नेछु, “हे प्राण, तँसँग धेरै वर्षका लागि राखिएका थुप्रै सम्पत्ति छन्; आराम गर्, खा, पी र आनन्द गर्!” ’ 20 तर परमेश्वरले त्यसलाई भन्नुभयो: ‘हे मूर्ख, आज रात नै तेरो प्राण तँबाट फिर्ता लिइनेछ; तब जुन थोकहरू तैंले जोहो गरेको छस्, ती थोकहरू कसका हुनेछन्?’ 21 जसले आफ्नै निम्ति धन थुपार्दछ, तर परमेश्वरप्रति धनी हुँदैन, त्यो यस्तै हुनेछ।”
फिक्रीबाट छुटकारा
मत्ती ६:२५-३४
22 अनि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो: “यसकारण म तिमीहरूलाई भन्दछु, हामी के खाऔंला भन्दै आफ्नो प्राणका निम्ति, साथै हामी के पहिरौंला भन्दै आफ्ना शरीरका निम्ति फिक्री नगर! 23 प्राण भोजनभन्दा र शरीर लुगाफाटाभन्दा बढ़ी हुन्छ। 24 कागहरूलाई विचार गर; किनकि तिनीहरू न ता बीउ छर्दछन्, न कटनी गर्दछन्; तिनीहरूको न ता भण्डार हुन्छ, न ढुकुटी; तर परमेश्वरले तिनीहरूलाई खुवाउनुहुन्छ। तिमीहरू त यी चराचुरुङ्गीहरूभन्दा झन् कति धेरै मूल्यवान् हुन्छौ! 25 अनि तिमीहरूमध्ये कुनचाहिँले फिक्री गरेर आफ्नो उचाइमा एक हात थप्न सक्छ र? 26 यसकारण तिमीहरू सबैभन्दा सानो कुरा पनि गर्न सक्दैनौ भने अरू रहल कुराहरूका निम्ति किन फिक्री गर्दछौ? 27 लिली फूलहरूलाई विचार गर! ती कसरी बढ़्छन्; ती परिश्रम गर्दैनन्, ती धागो कात्दैनन्; तर पनि, म तिमीहरूलाई भन्दछु, सुलेमानले पनि आफ्नो सम्पूर्ण महिमामा तीमध्ये एउटाले जस्तो वस्त्र पहिरेका थिएनन्। 28 तर आज मैदानमा हुने र भोलि चुलामा फालिने घाँस परमेश्वरले यस प्रकारले पहिराउनुहुन्छ भने, हे अल्पविश्वासीहरूहो, तिमीहरूलाई झन् कति बढ़्ता गरी पहिराउनुहुनेछ? 29 अनि हामी के खाऔंला वा हामी के पिऔंला भन्दै तिमीहरू खोजी नगर, न ता तिमीहरू शङ्कालु नै होओ! 30 किनकि संसारका जाति-जातिले यी सबै थोकहरूको खोज गर्दछन्; अनि तिमीहरूलाई यी थोकहरूको खाँचो छ भनी तिमीहरूका पिताले जान्नुहुन्छ। 31 तर बरु तिमीहरूले परमेश्वरको राज्यको खोजी गर, र यी सबै थोकहरू तिमीहरूलाई थपिनेछन्।
32 हे सानो बगाल, नडराऊ; किनकि तिमीहरूलाई राज्य दिनु नै तिमीहरूका पिताको शुभेच्छा हो। 33 आफ्ना सम्पत्तिहरू बेच, र दान देओ; आफ्ना निम्ति पुराना नहुने थैलाहरू अर्थात् नसिद्धिने धन स्वर्गमा प्रबन्ध गर, जहाँ कोही चोर नजिक जाँदैन, न ता कीराले नै नष्ट पार्दछ। 34 किनभने जहाँ तिमीहरूको सम्पत्ति हुन्छ, त्यहीं तिमीहरूको हृदय पनि हुनेछ।”
प्रभु येशूको दोस्रो आगमनको बारेमा चेताउनीहरू
मत्ती २४:४२-२५:३०
35 “तिमीहरूका कम्मर कसिएका र तिमीहरूका बत्तीहरू बलिरहेका होऊन्। 36 अनि तिमीहरू ती मानिसहरूजस्ता होओ, जसले आफ्ना मालिक विवाहबाट कहिले फर्कलान् भनी तिनको बाटो हेरिरहन्छन्, तिनी आएर ढकढक्याउँदा तिनीहरूले तिनका निम्ति तुरुन्तै खोलिदिऊन् भनेर। 37 ती दासहरू धन्य हुन्, जसलाई मालिकले आफू आउँदा जागिरहेका भेट्टाउनेछन्! म तिमीहरूलाई साँचो भन्दछु: तिनले आफ्नो कम्मर कस्नेछन्, अनि तिनीहरूलाई खानका निम्ति बस्न लाउनेछन्, र अघि बढ़ेर तिनीहरूको सेवा गर्नेछन्। 38 अनि तिनी रातको दोस्रो पहरमाख आउँदाखेरि अथवा तेस्रो पहरमा आउँदाखेरि पनि तिनीहरूलाई त्यस्तै भेट्टाए भने ती दासहरू धन्य हुन्! 39 अनि यो जानिराख: घरको मालिकले चोर कुन घड़ीमा आउँछ, सो जानेको भए ऊ जागो रहनेथियो, र आफ्नो घर फोरिन दिनेथिएन। 40 यसकारण तिमीहरू पनि तयार बस; किनकि मानिसका पुत्र तिमीहरूले सोच्दै नसोचेको घड़ीमा आउँछन्।”
41 तब पत्रुसले उहाँलाई भने: “हे प्रभु, यो दृष्टान्त तपाईंले हामीलाई मात्र भन्नुभएको हो कि सबैलाई नै?” 42 अनि प्रभुले भन्नुभयो: “तब त्यो विश्वासयोग्य र बुद्धिमान् भण्डारी को हो, जसलाई आफ्ना मालिकले ठीक-ठीक समयमा तिनीहरूलाई खानेकुराको भाग दिनलाई आफ्ना नोकरचाकरहरूमाथि हाकिम नियुक्त गर्नेछन्? 43 त्यो दास धन्य हो, जसलाई त्यसका मालिकले आफू आउँदा त्यस्तै गरिरहेको भेट्टाउनेछन्। 44 म तिमीहरूलाई साँचो भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि हाकिम नियुक्त गर्नेछन्। 45 तर त्यस दासले ‘मेरा मालिक आउन ढिलो गर्नुहुन्छ’ भनी आफ्नो मनमा भन्छ, र नोकर र नोकरनीहरूलाई पिट्न, साथै खान, पिउन र मतवाला हुन थाल्छ भने 46 त्यस दासका मालिक त्यस दिनमा आउनेछन्, जुन दिनमा त्यसले तिनको बाटो हेरेकै हुँदैन, र त्यस घड़ीमा, जुन घड़ीको विषयमा त्यसलाई थाहै हुँदैन; अनि तिनले त्यसलाई काटेर दुई टुक्रा पार्नेछन् र त्यसको भाग अविश्वासीहरूसित ठहराउनेछन्। 47 अनि जुन दासलाई आफ्नो मालिकको इच्छा थाहा थियो, तर जसले आफूलाई तयार पारेन, न ता तिनको इच्छाअनुसार नै गर्यो, त्यसले धेरै कोर्रा खानेछ। 48 तर जसले जानेको थिएन, र कोर्रा खाने लायकका कामहरू गर्यो, त्यसले थोरै कोर्रा खानेछ। किनभने हरेक जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै लिइनेछ; र जसलाई धेरै सुम्पिएको छ, त्यसबाट तिनीहरूले बढ़्ता माग्नेछन्।
49 म पृथ्वीमा आगो झार्न आएको हुँ, अनि यो अघि नै सल्किसकेको हुँदो हो ता! म अरू के चाहना गरूँ? 50 तर मैले बप्तिस्मा लिनुपर्ने एउटा बप्तिस्मा छ, र त्यो पूरा नभएसम्म म कति चेपारोमा परेको हुन्छु! 51 म पृथ्वीमा मिलाप गराउन आएको हुँ भन्ने के तिमीहरू सोच्दछौ? म तिमीहरूलाई भन्दछु: होइन; तर बरु फाटो गराउन। 52 किनभने अबदेखि उसो एक घरमा पाँचजनामा फाटो हुनेछ; तीनजना दुईजनाको विरोधमा, र दुईजना तीनजनाको विरोधमा। 53 छोराको विरोधमा बुबाको र बुबाको विरोधमा छोराको, छोरीको विरोधमा आमाको र आमाको विरोधमा छोरीको, आफ्नी बुहारीको विरोधमा सासूको र आफ्नी सासूको विरोधमा बुहारीको फाटो हुनेछ।”
54 अनि उहाँले भीड़हरूलाई पनि भन्नुभयो: “जब पश्चिमबाट बादल उठेको तिमीहरूले देख्दछौ, तब तुरुन्तै तिमीहरू भनिहाल्छौ: ‘लौ, झरी पर्ने रहेछ’; र त्यस्तै हुन्छ पनि। 55 अनि जब दक्षिणको हावा बहेको तिमीहरूले देख्दछौ, तब तिमीहरू भन्दछौ: ‘लौ, गर्मी हुने रहेछ’; र त्यस्तै नै हुन्छ। 56 कपटीहरूहो, तिमीहरू आकाश र पृथ्वीको मोहड़ालाई खुट्ट्याउन सक्छौ; तर यो समयचाहिँ तिमीहरू किन खुट्ट्याउँदैनौ? 57 अनि तिमीहरू आफ्नै बारेमा पनि किन, कुन कुरा ठीक हो भनी निर्णय गर्दैनौ? 58 जब तिमी आफ्नो विरोधीसँग शासककहाँ जाँदै गरेका हुन्छौ, तब बाटोमै हुँदा त्योदेखि छुटकारा पाउने प्रयत्न गर; नत्र त्यसले तिमीलाई न्यायकर्ताकहाँ तानेर लैजाला, अनि न्यायकर्ताले तिमीलाई अफिसरको हातमा सुम्पिदेलान्, र अफिसरले तिमीलाई झ्यालखानाभित्र फ्याँकिदेला। 59 म तिमीलाई भन्दछु: तिमीले अन्तिम पैसाग नतिरेसम्म तिमी त्यहाँबाट कुनै रीतिले निस्कनेछैनौ।”