प्रार्थनाको सम्बन्धमा प्रभु येशूको शिक्षा
मत्ती ६:९-१५, ७:७-११
11
अनि यस्तो भयो: कुनै एउटा ठाउँमा उहाँले प्रार्थना गरिरहनुभएको थियो; उहाँले बन्द गर्नुभएपछि उहाँका चेलाहरूमध्ये एकजनाले उहाँलाई भने: “हे प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्, जसरी यूहन्नाले पनि आफ्ना चेलाहरूलाई सिकाए।” 2 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “जब तिमीहरू प्रार्थना गर्दछौ, तब भन:‘हे स्वर्गमा हुनुहुने हाम्रा पिता, तपाईंको नाम पवित्र गरियोस्। तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा झैं पृथ्वीमा पनि पूरा होस्। 3 दिन-दिनै हामीलाई हाम्रो दिनहुँको रोटी दिनुहोस्। 4 अनि हाम्रा पापहरू हामीलाई क्षमा गर्नुहोस्; किनकि हामी पनि हाम्रो हरेक ऋणीलाई क्षमा गर्दछौं। अनि हामीलाई परीक्षामा नलैजानुहोस्, तर हामीलाई दुष्टबाट छुटाउनुहोस्!’ ”
5 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूमध्ये कसको एकजना साथी होला, अनि आधा रातमा उसकहाँ गएर उसलाई भन्ला: ‘हे साथी, मलाई तीनवटा रोटी पैंचो देऊ न; 6 किनकि मेरा एकजना साथी यात्रा गर्दै मकहाँ आएका छन्, र उनको सामु राखिदिन मसँग केही छैन।’ 7 अनि भित्रबाट उसले जवाफ दिँदै भन्नेछ: ‘मलाई दुःख नदेऊ, ढोका लागिसकेको छ, र मेरा नानीहरू मसँग ओछ्यानमा छन्; तिमीलाई दिन म उठ्न सक्दिनँ।’ 8 म तिमीहरूलाई भन्दछु, उसले आफ्नो साथीको नाताले उठेर त्यसलाई नदेला, तर पनि त्यसले लाज नमानी मागेको कारणले ऊ उठ्नेछ, र त्यसलाई चाहिएको जति दिनेछ। 9 अनि म तिमीहरूलाई भन्दछु: माग, र तिमीहरूलाई दिइनेछ; खोज, र तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, र तिमीहरूका निम्ति खोलिनेछ। 10 किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ; अनि जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले ढकढक्याउँछ, त्यसका निम्ति खोलिनेछ। 11 तिमीहरूमध्ये कुनै एकजना बुबालाई छोराले रोटी माग्यो भने के उसले त्यसलाई ढुङ्गा देला? अथवा माछा माग्यो भने के उसले त्यसलाई माछाको सट्टामा साँप देला? 12 अथवा अन्डा माग्यो भने के उसले त्यसलाई बिच्छी देला? 13 यसकारण तिमीहरू दुष्ट भएर पनि आफ्ना छोराछोरीहरूलाई असल उपहारहरू दिन जान्दछौ भने तिमीहरूका स्वर्गीय पिताले आफूसित माग्नेहरूलाई झन् कति बढ़्ता गरेर पवित्र आत्मा दिनुहुनेछ।”
पवित्र आत्माको निन्दा
मत्ती १२:२४-३२; मर्कूस ३:२२-३०
14 अनि उहाँले एउटा दुष्ट आत्मा निकालिरहनुभएको थियो, र त्योचाहिँ गुँगो रहेछ। अनि यस्तो भयो: जब त्यो दुष्ट आत्मा निस्केर गयो, तब गुँगो बोल्यो; र मानिसहरू छक्कै परे। 15 तर तिनीहरूमध्ये कतिले भने: “यसले त दुष्ट आत्माहरूको शासक बेल्जेबुलद्वारा दुष्ट आत्माहरू निकाल्छ।” 16 अनि अरूले चाहिँ उहाँलाई परीक्षा गर्दै उहाँलाई स्वर्गबाटको एउटा चिन्ह मागे। 17 तर उहाँले तिनीहरूका विचारहरू जानेर तिनीहरूलाई भन्नुभयो: “आपसमा फाटो भएको हरेक राज्य उजाड़ हुन्छ, र आपसमा फाटो भएको घर ढल्छ। 18 शैतानले पनि आफ्नै विरोधमा फाटो ल्यायो भने त्यसको राज्य कसरी खड़ा रहला? किनकि तिमीहरू भन्दछौ, म बेल्जेबुलद्वारा दुष्ट आत्माहरू निकाल्छु रे। 19 म दुष्ट आत्माहरू बेल्जेबुलद्वारा निकाल्छु भने तिमीहरूका छोराहरूले चाहिँ कोद्वारा निकाल्छन् त? यसकारण तिनीहरू तिमीहरूका न्यायकर्ता हुनेछन्। 20 तर म परमेश्वरको औंलाद्वारा दुष्ट आत्माहरू निकाल्छु भने निश्चय नै परमेश्वरको राज्य तिमीहरूकहाँ आइपुगेको छ।
21 जब एकजना बलियो मान्छेले हातहतियार भिरेर आफ्नो महलको देखरेख गर्दछ, तब त्यसका मालसामानहरू सुरक्षित रहनेछन्। 22 तर जब त्योभन्दा पनि बलियो मानिसले त्यसमाथि जाइलागेर त्यसलाई जित्दछ, तब त्यसले भरोसा गरेका त्यसका सबै हतियारहरू उसले खोसखास पार्दछ, र त्यसका लुटका मालहरू बाँड़्दछ। 23 जो मसँग छैन, त्यो मेरो विरोधमा छ; र जसले मसँग बटुल्दैन, त्यसले छरपुस्ट पार्दछ।
24 अशुद्ध आत्मा मान्छेबाट निस्केपछि त्यो विश्राम खोज्दै सुक्खा ठाउँहरूहुँदो हिँड़्छ, र केही नपाउँदा त्यसले भन्छ: ‘म आफ्नै घरमा फर्कनेछु, जहाँबाट म निस्केर आएँ।’ 25 अनि जब त्यो आउँछ, तब त्यसले त्यो बढ़ारिएको र सजाइएको भेट्टाउँछ। 26 तब त्यो जान्छ, र आफूभन्दा बढ़ी दुष्ट अरू सातवटा आत्माहरू साथमा ल्याउँछ; अनि ती भित्र पसेर त्यहाँ वास गर्छन्; र त्यस मान्छेको पछिल्लो दशाचाहिँ अघिल्लोभन्दा खराब हुनेछ।”
27 अनि यस्तो भयो: उहाँले यी कुराहरू भन्दै गर्नुहुँदा त्यस भीड़बाट कुनै एउटी स्त्रीले उच्च सोरमा कराएर उहाँलाई भनी: “धन्य हो त्यो गर्भ, जसले तपाईंलाई धारण गर्यो, र ती स्तनहरू, जो तपाईंले चुस्नुभयो!” 28 तर उहाँले भन्नुभयो: “हो, तर तिनीहरू पो बरु धन्य हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।”
भविष्यवक्ता योनाको चिन्ह
मत्ती १२:३८-४१
29 अनि भीड़ बाक्लो हुँदै जाँदा उहाँले भन्न थाल्नुभयो: “यो एउटा दुष्ट पुस्ता हो; यिनीहरू चिन्ह खोज्छन्, र भविष्यवक्ता योनाको चिन्हबाहेक अरू कुनै चिन्ह यसलाई दिइनेछैन। 30 किनकि जसरी निनवेका मानिसहरूका निम्ति योना एउटा चिन्ह थिए, त्यसरी नै यस पुस्ताका निम्ति मानिसका पुत्र पनि हुनेछन्। 31 न्याय हुँदा दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसँग उभिनेछिन्, र यिनीहरूलाई दोषी ठहराउनेछिन्; किनकि पृथ्वीका छेउहरूदेखि तिनी सुलेमानको बुद्धि सुन्न आइन्; अनि हेर, सुलेमानभन्दा महान् यहाँ छन्। 32 न्याय हुँदा निनवेका मानिसहरू यस पुस्तासँग उभिनेछन्, र यसलाई दोषी ठहराउनेछन्, किनकि योनाको प्रचारमा तिनीहरूले पश्चात्ताप गरे; अनि हेर, योनाभन्दा महान् यहाँ छन्।
33 कसैले पनि बत्ती बालेर त्यसलाई गुप्त स्थानमा राख्दैन, न ता पाथीमुनि नै, तर भित्र आउनेहरूले उज्यालो देखून् भनेर सामदानमाथि राख्दछ। 34 शरीरको बत्ती आँखा हो; यसकारण जब तिम्रो आँखा चोखो हुन्छ, तब तिम्रो सम्पूर्ण शरीर पनि उज्यालो हुन्छ; तर जब तिम्रो आँखा खराब हुन्छ, तब तिम्रो शरीर पनि अँध्यारो हुन्छ। 35 यसकारण होशियार होऊ, तिमीमा भएको उज्यालो अँध्यारो नहोस्! 36 यसकारण तिम्रो सारा शरीर, कुनै पनि भाग अँध्यारो नभईकन उज्यालो भयो भने सबै उज्यालै-उज्यालो हुनेछ, त्यस बेलाझैं, जब बत्तीको चम्किलो चमकले तिमीलाई उज्यालो पार्दछ।”
फरिसीहरूलाई धिक्कार!
मत्ती २३:४-३५
37 अनि उहाँले बोल्दै गर्नुहुँदा कुनै एकजना फरिसीले ‘मसँग भोजन गर्नुहोस्’ भनी उहाँलाई विन्ती गर्यो; अनि भित्र पसेर उहाँ खानका लागि बस्नुभयो। 38 अनि भोजन गर्नुभन्दा अघि उहाँले ननुहाउनुभएको देखेर त्यो फरिसी छक्क पर्यो। 39 अनि प्रभुले त्यसलाई भन्नुभयो: “अब तिमी फरिसीहरू कचौरा र थालको बाहिरी भागचाहिँ सफा गर्दछौ; तर तिमीहरूको भित्री भागचाहिँ धुताइ र दुष्टताले भरिएको हुन्छ। 40 मूर्खहरू! जसले बाहिरको भाग बनाउनुभयो, के उहाँले भित्री भाग पनि बनाउनुभएन र? 41 तर बरु यस्ता कुराहरू दान दिइहाल, जुन कुराहरू भित्र छन्, अनि हेर, सबै कुराहरू तिमीहरूका निम्ति शुद्ध हुन्छन्। 42 तर फरिसीहरूहो, तिमीहरूलाई धिक्कार! किनभने तिमीहरू पुदिना, सुदाब र सबै प्रकारका सागपातका दसौं अंश दिन्छौ, तर न्याय र परमेश्वरको प्रेमलाई वास्ता गर्दैनौ; यी कुराहरू तिमीहरूले गर्नैपर्थ्यो, र ती कुराहरू पनि नछोड़्नुपर्थ्यो। 43 हे फरिसीहरूहो, तिमीहरूलाई धिक्कार! किनभने तिमीहरू सभाघरहरूमा मुख्य आसनहरू, र बजारहरूहुँदो अभिवादन पाउन मन पराउँछौ। 44 हे शास्त्रीहरू र फरिसीहरूहो, कपटीहरूहो, तिमीहरूलाई धिक्कार! किनभने तिमीहरू चिहानहरूजस्ता छौ, जुनचाहिँ देखा पर्दैनन्, र तीमाथि हिँड़्ने मानिसहरूलाई तिनको विषयमा पत्तै हुँदैन।”
45 तब व्यवस्थाका गुरुहरूमध्ये एकजनाले जवाफ दिँदै उहाँलाई भने: “गुरुजी, यस्ता कुराहरू गरेर तपाईंले हामीलाई पनि अपमान गर्नुहुन्छ।” 46 अनि उहाँले भन्नुभयो: “तिमी व्यवस्थाका गुरुहरूलाई पनि धिक्कार! किनभने तिमीहरू बोक्नै कठिन पर्ने भारीहरू मानिसहरूमाथि लाद्छौ, र तिमीहरू आफैले चाहिँ ती भारी आफ्ना औंलाहरूमध्ये एउटाले पनि छुँदैनौ। 47 तिमीहरूलाई धिक्कार! किनभने तिमीहरू भविष्यवक्ताहरूका चिहानहरू बनाउँछौ; अनि तिमीहरूका पितापुर्खाहरूले उनीहरूलाई मारे। 48 साँच्चै तिमीहरूका पितापुर्खाहरूका कामहरूमा तिमीहरू सहमत छौ भनी तिमीहरू प्रमाण दिन्छौ, किनभने तिनीहरूले साँच्चै उनीहरूलाई मारे, र तिमीहरूचाहिँ उनीहरूका चिहानहरू बनाउँछौ। 49 यसैकारण परमेश्वरको बुद्धिले पनि भनेको छ, ‘म तिनीहरूकहाँ भविष्यवक्ता र प्रेरितहरू पठाउनेछु, अनि तिनीहरूले उनीहरूमध्ये कतिलाई मार्नेछन् र सताउनेछन्;’ 50 संसारको उत्पत्तिदेखि बहाइएको सबै भविष्यवक्ताहरूको रगतको लेखाचाहिँ यही पुस्तासँग लिइनेछ; 51 हाबिलको रगतदेखि लिएर जकरियाको रगतसम्म, जो वेदी र मन्दिरको बीचमा नष्ट भए; म तिमीहरूलाई साँचो भन्दछु, यसको लेखा यही पुस्तासँग लिइनेछ। 52 हे व्यवस्थाका गुरुहरूहो, तिमीहरूलाई धिक्कार! किनभने तिमीहरूले ज्ञानको चाबी लगेका छौ। तिमीहरू आफै पनि भित्र पसेनौ, र पस्नेहरूलाई पनि रोक्यौ।” 53 अनि उहाँले यी कुराहरू तिनीहरूलाई भन्नुहुँदा शास्त्री र फरिसीहरूले उहाँसँग साह्रै कलह गर्न लागे र उहाँलाई धेरै कुराको विषयमा बोल्नलाई उस्काउन लागे; 54 र उहाँलाई दोष लाउन भनी तिनीहरूले उहाँको मुखबाट कुनै न कुनै कुरा पक्रन खोजे र उहाँको ताकमा बसे।