सत्तरी चेलाहरू पठाइए
मत्ती १०:५-१६; ११:२१-२७; १३:१६-१७
10
यी कुराहरू भएपछि प्रभुले अरू सत्तरीजनालाई पनि नियुक्त गर्नुभयो, र तिनीहरूलाई दुई-दुई गरेर आफ्नो अघि-अघि हरेक शहर र ठाउँमा पठाउनुभयो, जहाँ उहाँ आफै पनि जान लाग्‍नुभएको थियो। 2 यसकारण उहाँले तिनीहरूलाई भन्‍नुभयो: “साँच्‍ची नै फसल प्रशस्त छ, तर खेतालाहरू थोरै छन्; यसकारण फसलका प्रभुलाई, उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन् भनी प्रार्थना गर! 3 जाओ; हेर, म तिमीहरूलाई भेड़ाका पाठाहरूझैं ब्वाँसाहरूको बीचमा पठाउँछु। 4 न पैसाको थैली, न झोला, न जुत्ताहरू बोक; अनि बाटोमा कसैलाई पनि अभिवादन नगर! 5 अनि जुनै पनि घरमा तिमीहरू पस्दछौ, पहिले भन: ‘यस घरलाई शान्ति होस्!’ 6 अनि शान्तिको छोरा त्यहाँ छ भने तिमीहरूको शान्ति त्यसमाथि रहनेछ, तर छैन भने त्यो तिमीहरूकहाँ फर्की आउनेछ। 7 अनि तिनीहरूले दिएका कुराहरू खाँदै र पिउँदै त्यही घरमा बस; किनकि खेताला आफ्नो ज्यालाको योग्य छ। घर-घर नजाओ! 8 अनि जुनै पनि शहरमा तिमीहरू पस्छौ, र तिनीहरूले तिमीहरूलाई ग्रहण गर्छन्, त तिमीहरूको सामु राखिदिएका कुराहरू खाओ; 9 अनि त्यहाँ भएका बिरामीहरूलाई निको पारिदेओ, र तिनीहरूलाई भन: ‘परमेश्‍वरको राज्य तिमीहरूको नजिकै आइपुगेको छ।’ 10 तर जुनै पनि शहरमा तिमीहरू पस्छौ, र तिनीहरूले तिमीहरूलाई ग्रहण गर्दैनन्, त त्यसका सड़कहरूमा जाओ, र भन: 11 ‘हामीमा टाँसिएको तिमीहरूको शहरको धूलोधरि हामी तिमीहरूको विरोधमा पुछ्दछौं; तरै पनि यो जानिराख, परमेश्‍वरको राज्य तिमीहरूको नजिकै आइपुगेको छ।’ 12 तर म तिमीहरूलाई भन्दछु, त्यस दिनमा सदोमको दशाचाहिँ त्यस शहरको भन्दा बढ़ी सहन सक्ने हुनेछ।
13 हाय, तँलाई, हे खोराजिन! हाय तँलाई, हे बेथसैदा! किनकि जति सामर्थ्यका कामहरू तिमीहरूमा गरिए, ती कामहरू यदि टायर र सिडोनमा गरिएका भए तिनीहरूले धेरै पहिले नै भाङ्ग्राको लुगा र खरानीमा बसी पश्‍चात्ताप गरिसकेका हुनेथिए। 14 तर न्यायमा टायर र सिडोनको दशाचाहिँ तिमीहरूको भन्दा बढ़ी सहन सक्ने हुनेछ। 15 अनि हे कपर्नहुम, तँ स्वर्गसम्म उचालिएको छस्, तँ नरकसम्‍म खसालिनेछस्।
16 जसले तिमीहरूको कुरा सुन्छ, त्यसले मेरो कुरा सुन्छ; अनि जसले तिमीहरूलाई तुच्छ ठान्छ, त्यसले मलाई तुच्छ ठान्छ; र जसले मलाई तुच्छ ठान्छ, त्यसले मलाई पठाउनुहुनेलाई तुच्छ ठान्छ।”
17 अनि ती सत्तरीजना यसो भन्दै आनन्दसित फर्केर आए: “हे प्रभु, तपाईंको नामद्वारा दुष्‍ट आत्माहरू पनि हाम्रो वशमा छन्।” 18 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मैले शैतानलाई बिजुलीझैं स्वर्गबाट खसेको देखें। 19 हेर, म तिमीहरूलाई साँप र बिच्छीहरूलाई कुल्चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिन्छु; र कुनै कुराले पनि तिमीहरूलाई कुनै प्रकारले हानि गर्नेछैन। 20 तरै पनि आत्माहरू तिमीहरूको वशमा छन् भन्‍ने कुरामा आनन्द नगर, तर तिमीहरूका नामहरू स्वर्गमा लेखिएका छन् भन्‍ने कुरामा बरु आनन्द गर!”
21 त्यस घड़ी येशू आत्मामा आनन्दित हुनुभयो, र भन्‍नुभयो: “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि तपाईंले यी कुराहरू बुद्धिमान् र समझदारहरूबाट लुकाउनुभएको छ र यिनलाई बालकहरूकहाँ प्रकट गर्नुभएको छ; हो पिता, किनकि तपाईंको दृष्‍टिमा यस्तै असल ठहरियो। 22 मेरा पिताद्वारा सबै कुराहरू मलाई सुम्पिइएका छन्; र पुत्र को हुन्, पिताले बाहेक अरू कसैले जान्दैन; अनि पिता को हुनुहुन्छ, पुत्रले बाहेक अरू कसैले जान्दैन, तर उसले जान्दछ, जसकहाँ पुत्रले पितालाई प्रकट गर्ने इच्छा गर्दछन्।” 23 अनि आफ्ना चेलाहरूतिर फर्केर उहाँले सुटु्‍क्‍कै भन्‍नुभयो: “धन्य हुन् ती आँखाहरू, जसले तिमीहरूले देखेका कुराहरू देख्दछन्। 24 किनभने म तिमीहरूलाई भन्दछु, जुन कुराहरू तिमीहरू देख्‍दछौ, ती कुराहरू धेरै भविष्यवक्ता र राजाहरूले देख्‍ने इच्छा गरे, तर देखेनन्; र जुन कुराहरू तिमीहरू सुन्‍दछौ, ती कुराहरू तिनीहरूले सुन्‍ने इच्छा गरे, तर सुनेनन्।”
साँचो छिमेकी सामरी
25 अनि हेर, कुनै एकजना व्यवास्थाको गुरु उठे, र यसो भन्दै उहाँलाई परीक्षा गरे: “गुरुज्यू, अनन्त जीवनको अधिकारी हुनलाई म के गरूँ?” 26 उहाँले उनलाई भन्‍नुभयो: “व्यवस्थामा के लेखिएको छ? तिमी कसरी पढ़्छौ?” 27 अनि उनले जवाफ दिँदै भने: “तिमीले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा बलले र आफ्नो सारा मनले प्रेम गर; अनि आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर!” 28 अनि उहाँले उनलाई भन्‍नुभयो: “तिमीले ठीक उत्तर दिएका छौ; यही गर, र तिमी जिउनेछौ।” 29 तर उनले आफैलाई धर्मी ठहराउने इच्छा गरेर येशूलाई भने: “अनि मेरो छिमेकीचाहिँ को हो?” 30 अनि येशूले जवाफ दिँदै भन्‍नुभयो: “कुनै एकजना मानिस यरूशलेमबाट येरिहोतिर झदैथियो, र डाँकूहरूको बीचमा पर्‍यो, जसले त्यसका लुगाहरू खोलखाल पारे, अनि त्यसलाई घायल बनाए र अधमरो छोड़ेर गए। 31 अनि संयोगवश कुनै एकजना पूजाहारी त्यही बाटो भएर झर्‍यो, र जब उसले त्यसलाई देख्यो, तब ऊ अर्कोपट्टिबाट तर्केर गयो। 32 अनि त्यही प्रकारले एकजना लेवी पनि त्यस ठाउँमा आइपुग्यो, अनि आएर यसले त्यसलाई हेर्‍यो, र अर्कोपट्टिबाट तर्केर गयो। 33 तर कुनै एकजना सामरी यात्रा गर्दा-गर्दै त्यो भएको ठाउँमा आइपुग्यो; अनि त्यसलाई देखेर उसको मन दयाले भरियो, 34 र त्यसकहाँ गएर उसले त्यसका घाउहरू तेल र दाखमद्य खन्याएर बाँधिदियो; अनि त्यसलाई आफ्नै पशुमाथि बसालेर उसले त्यसलाई एउटा पौवामा ल्यायो र त्यसको सुसार गर्‍यो। 35 अनि भोलिपल्ट, ऊ जाँदै गर्दा उसले दुई दीनार निकालेर पौवालीलाई दियो र त्‍यसलाई भन्यो, ‘उसको सुसार गरिदेऊ; र जे बढ़ी खर्च तिमीले गरौला, त्यो म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु।’ 36 अब तिम्रो विचारमा, यी तीनजनामा कुनचाहिँ डाँकूहरूको बीचमा पर्ने मानिसको छिमेकी ठहरियो?” 37 अनि उनले भने: “उही नै, जसले त्यसमाथि दया देखायो।” तब येशूले उनलाई भन्‍नुभयो: “जाऊ, तिमीले पनि त्यस्तै गर!”
मार्था र मरियमले प्रभु येशूलाई निम्त्याए
38 अब यस्तो भयो: उहाँहरू जाँदै गर्नुहुँदा उहाँ कुनै एउटा गाउँमा पस्‍नुभयो; अनि मार्था नाम भएकी कुनै स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन्। 39 अनि तिनकी मरियम नाम भएकी एउटी बहिनी थिइन्; तिनले पनि येशूका पाउनिर बसेर उहाँको वचन सुनिन्। 40 तर मार्थाचाहिँ धेरै सेवाटहलहरूको कारणले व्याकुल भइन्, र उहाँकहाँ आएर भनिन्: “हे प्रभु, मेरी बहिनीले मलाई सेवा गर्नका लागि एकलै छोड़ेकी छे, के तपाईं केही वास्ता गर्नुहुन्‍न? यसकारण यसलाई भनिदिनुहोस्, र यसले मलाई सघाओस्!” 41 अनि येशूले जवाफ दिएर तिनलाई भन्‍नुभयो: “हे मार्था, मार्था, तिमी धेरै कुराहरूको विषयमा चिन्ता गर्दछ्यौ र आत्तिन्छ्यौ; 42 तर एउटै कुराको खाँचो छ; र मरियमले त्यस असल भागलाई चुनेकी छिन्, जुन कुरा उसबाट खोसिनेछैन।”