बाह्रजना प्रेरितहरू प्रचार गर्न पठाइए
मत्ती १०:१-१५; मर्कूस ६:७-१३
9
तब उहाँले आफ्ना बाह्रजना चेलाहरूलाई एकसाथ बोलाउनुभयो, अनि तिनीहरूलाई सबै दुष्ट आत्माहरूमाथि र रोगहरू निको पार्नलाई शक्ति र अधिकार दिनुभयो। 2 अनि उहाँले तिनीहरूलाई परमेश्वरको राज्यको प्रचार गर्न र रोगीहरूलाई निको पार्न पठाउनुभयो। 3 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “यात्राका निम्ति केही नबोक; न लौराहरू, न झोला, न रोटी, न पैसा; हरेकसँग दुईवटा दौराधरि नहोऊन्। 4 अनि जुनै घरमा तिमीहरू पस्दछौ, त्यस घरमा बस, र त्यहींबाट जाओ! 5 अनि जस-जसले तिमीहरूलाई ग्रहण नगर्लान्, त्यस शहरबाट निस्कँदाखेरि तिनीहरूको विरोधमा साक्षी हुनका निम्ति तिमीहरूका पाउबाट धूलाधरि टकटक्याइराख!” 6 अनि तिनीहरू निस्के, अनि सुसमाचार प्रचार गर्दै र जहाँतहीं निको पार्दै गाउँ-गाउँ हुँदै गए।7 अब राजाक हेरोदले उहाँद्वारा गरिएका सबै कामहरूको विषयमा सुने। अनि तिनी अन्योलमा परे, किनकि यूहन्ना मरेकाहरूबाट बौरेर उठेछन् भनी कसै-कसैद्वारा भनियो; 8 अनि एलिया देखा परेका हुन् भनी कसै-कसैद्वारा, र उहिलेका भविष्यवक्ताहरूमध्ये कुनै एकजना बौरेर उठेका हुन् भनी अरू-अरूद्वारा भनियो। 9 अनि हेरोदले भने: “यूहन्नाको टाउको मैले काटिदिएँ, तर योचाहिँ को हो नि, जसको विषयमा म यस्ता-यस्ता कुराहरू सुन्दछु?” अनि तिनले उहाँलाई हेर्ने इच्छा गरे। 10 अनि फर्केर आएपछि प्रेरितहरूले आफूले गरेका सबै कुराहरू उहाँलाई बताए। अनि तिनीहरूलाई लिएर बेथसैदा भनिने शहरको एउटा एकान्त स्थानमा सुटु्क्कै जानुभयो।
प्रभु येशूले पाँच हजार मानिसहरूलाई खुवाउनुभयो
मत्ती १४:१५-२१; मर्कूस ६:३२-४४; यूहन्ना ६:५-१५
11 अनि यो कुरा थाहा पाएर मानिसहरूले उहाँलाई पछ्याए; अनि उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र तिनीहरूसित परमेश्वरको राज्यको विषयमा कुरा गर्नुभयो, अनि जस-जसलाई निको हुनु खाँचो थियो, तिनीहरूलाई निको पार्नुभयो। 12 अनि दिन ढल्कँदै गएपछि ती बाह्रजनाले आएर उहाँलाई भने: “यस भीड़लाई बिदा गरिदिनुहोस्, र तिनीहरू वरिपरिका गाउँ र बस्तीहरूहुँदो जाऊन्, वास बसून् र खानेकुरा पाऊन्; किनभने हामी यहाँ एकान्त स्थानमा छौं।” 13 तर उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूले नै यिनीहरूलाई खान देओ!” अनि तिनीहरूले भने: “यी सबै मानिसहरूका निम्ति गएर खानेकुरा किनेनौं भने हामीसँग पाँचवटा रोटी र दुईवटा माछाभन्दा बढ़ी अरू केही छैन।” 14 किनकि तिनीहरू प्राय: पाँच हजार पुरुषहरू थिए। अनि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो: “पचास-पचासको दल गरी यिनीहरूलाई बस्न लगाओ!” 15 अनि तिनीहरूले त्यसै गरे र उनीहरू सबैलाई बसाए। 16 तब उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो, र माथि स्वर्गतिर हेर्दै उहाँले तिनलाई आशिष् दिनुभयो, र भाँच्नुभयो, अनि भीड़को सामु राखिदिनलाई चेलाहरूलाई दिनुभयो। 17 अनि उनीहरूले खाए, र सबै तृप्त भए; अनि तिनीहरूका निम्ति उब्रेका टुक्राहरू बाह्र डाला उठाइए।
येशू ‘ख्रीष्ट’ हुनुहुन्छ भन्ने पत्रुसको अङ्गीकार
मत्ती १६:१३-१६; मर्कूस ८:२७-३०
18 अनि यस्तो भयो: उहाँले एकलै प्रार्थना गरिरहनुहुँदा उहाँका चेलाहरू उहाँसँग थिए; अनि उहाँले तिनीहरूलाई यसो भन्दै सोध्नुभयो: “मानिसहरू के भन्छन् – म को हुँ?” 19 अनि तिनीहरूले जवाफ दिँदै भने: “बप्तिस्मा दिने यूहन्ना; तर कतिले भन्छन्, एलिया; अनि अरू-अरूले चाहिँ, उहिलेका भविष्यवक्ताहरूमध्ये कुनै एकजना बौरेर उठेका हुन् भनी भन्छन्।” 20 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “तर तिमीहरूचाहिँ नि के भन्छौ – म को हुँ?” पत्रुसले जवाफ दिँदै भने: “परमेश्वरका ख्रीष्ट।” 21 अनि उहाँले ‘यो कुरा कसैलाई नभन्नू’ भनी तिनीहरूलाई चेताउनी दिँदै कड़ा आज्ञा दिनुभयो, 22 र भन्नुभयो: “मानिसका पुत्रले धेरै दु:खहरू भोग्नु, बूढ़ा प्रधानहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूद्वारा रद्द गरिनु, मारिनु र तेस्रो दिनमा बिउँताइनुपर्छ।” 23 अनि उहाँले तिनीहरू सबैलाई भन्नुभयो: “जसले मेरो पछि आउने इच्छा गर्दछ, उसले आफैलाई इन्कार गरोस्, दिनहुँ आफ्नो क्रूस उठाओस् र मेरो पछि लागोस्! 24 किनभने जसले आफ्नो आत्माख बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो आत्माख गुमाउँछ, उसैले त्यो बचाउनेछ। 25 किनभने मानिसले सारा संसार प्राप्त गरे तापनि आफैलाई चाहिँ गुमाउँछ वा नोक्सानमा पार्छ भने त्यसलाई के फाइदा हुन्छ र? 26 किनकि जुन मानिस मसँग र मेरा वचनहरूसँग लजाउनेछ, मानिसका पुत्र पनि आफ्नो, अनि पिताको र पवित्र दूतहरूको महिमामा आउँदा त्यस मानिससँग लजाउनेछन्। 27 तर म तिमीहरूलाई साँचो भन्दछु, यहाँ उभिरहेकाहरूमध्ये कतिजना छन्, जसले परमेश्वरको राज्य नदेखुन्जेल कुनै रीतिले मृत्युको स्वाद चाख्नेछैनन्।”
प्रभु येशूको रूप–परिवर्तन
मत्ती १७:१-८; मर्कूस ९:२-८
28 अनि यी कुराहरूको प्राय: आठ दिनपछि यस्तो भयो: पत्रुस, याकूब र यूहन्नालाई लिएर उहाँ प्रार्थना गर्नलाई पहाड़माथि चढ़्नुभयो। 29 अनि उहाँले प्रार्थना गर्दै गर्नुहुँदा उहाँको चेहराको रूप बदलियो, र उहाँको वस्त्र तिरमिर पार्ने सेतो भयो। 30 अनि हेर, दुईजना मानिसहरूले उहाँसँग बातचित गरे; ती मोशा र एलिया थिए, 31 जो महिमामा देखा परे र जसले उहाँको मृत्युको विषयमा कुरा गरे, जुनचाहिँ उहाँले यरूशलेममा पूरा गर्न लाग्नुभएको थियो। 32 तर पत्रुस र उनीसँग भएकाहरू निद्राले लट्ठ भएका थिए; अनि जब तिनीहरू बिउँझे, तब तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिएका दुईजना मानिसहरूलाई देखे। 33 अनि यस्तो भयो: उनीहरू उहाँकहाँबाट जाँदै गर्दा पत्रुसले येशूलाई, आफूले के बोले, सो कुरा थाहा नगरी भने: “स्वामी, हामीलाई यहाँ रहनु असल छ; र हामी तीनवटा डेरा बनाऔं – तपाईंका निम्ति एउटा, मोशाका निम्ति एउटा र एलियाका निम्ति एउटा।” 34 तर उनले त्यसरी बोल्दै गर्दा एउटा बादल आयो, र तिनीहरूलाई ढाकिदियो, अनि त्यस बादलभित्र पस्दै गर्दा तिनीहरू डराए। 35 अनि त्यस बादलबाट यसो भन्ने वाणी आयो: “यिनी मेरा प्रिय पुत्र हुन्; यिनैको कुरा सुन!” 36 अनि त्यो वाणी भइसकेपछि येशू एकलै पाइनुभयो। अनि तिनीहरू चुप रहे, र आफूले देखेका कुराहरूमध्ये कुनै पनि कुरा तिनीहरूले ती दिनहरूमा कसैलाई बताएनन्।
शक्तिहीन चेलाहरू र सामर्थी प्रभु
मत्ती १७:१४-२१; मर्कूस ९:१४-२९
37 अनि यस्तो भयो: भोलिपल्ट, उहाँहरू पहाड़बाट झर्दै गर्नुहुँदा एउटा ठूलो भीड़ले उहाँलाई भेट्यो। 38 अनि हेर, त्यस भीड़बाट एकजना मानिस यसो भन्दै चिच्च्यायो: “हे गुरुज्यू, म तपाईंलाई विन्ती गर्दछु, मेरो छोरालाई हेर्नुहोस्; किनभने यो मेरो एउटै मात्र नानी हो। 39 अनि हेर्नुहोस्, आत्माले यसलाई पक्रन्छ, र यो एक्कासि चिच्च्याउँछ; अनि त्यसले यसलाई मड़ारमुडुर पार्छ, र यसले फींज काढ़्छ; अनि यसलाई चोट पारेपछि त्यो मुस्किलले यसबाट निस्केर जान्छ। 40 अनि त्यसलाई निकाल्न भनी मैले तपाईंका चेलाहरूलाई विन्ती गरें; तर उनीहरूले सकेनन्।” 41 अनि येशूले जवाफ दिँदै भन्नुभयो: “हे विश्वासहीन र भ्रष्ट पुस्ता, कहिलेसम्म म तिमीहरूसँग रहूँ र तिमीहरूलाई सहूँ? तिम्रो छोरालाई यहाँ ल्याऊ!” 42 अनि त्यो आउँदै गर्दा दुष्ट आत्माले त्यसलाई पछारिदियो र मड़ारमुडुर पार्यो। अनि येशूले यस अशुद्ध आत्मालाई हकार्नुभयो, र त्यस बालकलाईग निको पार्नुभयो, अनि त्यसलाई त्यसका बुबाकहाँ फेरि सुम्पिदिनुभयो। 43 अनि परमेश्वरको महासामर्थ्य देखेर तिनीहरू सबै छक्क परे। तर जब येशूले गर्नुभएका सबै कामहरूको विषयमा तिनीहरू सबैले अचम्म मानिरहेका थिए, तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो: 44 “यी वचनहरू तिमीहरूका कानभित्र पस्न देओ; किनकि मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिइन लागेका छन्।” 45 तर उनीहरूले यो कुरा बुझेनन्, र यो कुरा उनीहरूबाट लुकाइएको थियो; यसैले उनीहरूले यो कुरा थाहा पाएनन्; अनि यस कुराको विषयमा उहाँलाई सोध्न उनीहरू डराए।
स्वर्गको राज्यमा को ठूलो?
मत्ती १८:१-५; मर्कूस ९:३३-४१
46 तब तिनीहरूमध्ये सबभन्दा ठूलो को हुने हो भन्ने विषयमा तिनीहरूको बीचमा तर्क चल्यो। 47 अनि येशूले तिनीहरूका हृदयको विचार थाहा गरेर एउटा बालकलाई लिएर त्यसलाई आफ्नो छेउमा राख्नुभयो, 48 र तिनीहरूलाई भन्नुभयो: “जसले यस बालकलाई मेरो नाममा ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्छ; र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ; किनकि तिमीहरू सबैको बीचमा जो सबैभन्दा सानो छ, उही महान् हुनेछ।”
49 अनि यूहन्नाले जवाफ दिँदै भने: “हे स्वामी, हामीले एकजनालाई तपाईंको नाममा दुष्ट आत्माहरू निकालिरहेको देख्यौं, र हामीले उसलाई मनाही गर्यौं; किनभने ऊ हामीसित तपाईंको पछि लाग्दैन।” 50 अनि येशूले तिनलाई भन्नुभयो: “उसलाई मनाही नगर, किनकि जो हाम्रो विरोधमा छैन, ऊ हाम्रै पक्षमा छ।”
51 अनि यस्तो भयो: जब उहाँको माथि उठाइने समय आयो, तब यरूशलेम जान उहाँले आफ्नो चेहरा दृढ़तापूर्वक फर्काउनुभयो। 52 अनि आफ्नो अघि-अघि उहाँले दूतहरू पठाउनुभयो; अनि तिनीहरू गए, र उहाँका निम्ति तयारी गर्नलाई सामरीहरूको एउटा गाउँमा पसे। 53 तर तिनीहरूले उहाँलाई ग्रहण गरेनन्, किनकि उहाँ यरूशलेम जानुहुन्छ भन्ने कुरा उहाँको चेहरामा देखा पर्थ्यो। 54 अनि जब उहाँका चेला याकूब र यूहन्नाले यो देखे, तब तिनीहरूले भने: “हे प्रभु, के हामी एलियाले गरेझैं आकाशबाट आगो बर्सने र तिनीहरूलाई भस्म पार्ने आज्ञा दिऔं – के तपाईं यो इच्छा गर्नुहुन्छ?” 55 तर उहाँले फर्केर तिनीहरूलाई हकार्नुभयो, र भन्नुभयो: “तिमीहरू कस्तो किसिमको आत्माका हौ, सो जान्दैनौ। 56 किनभने मानिसका पुत्र मानिसहरूका प्राणहरूलाई नष्ट गर्न होइन, तर बचाउन आएका हुन्।” अनि उहाँहरू अर्को गाउँमा जानुभयो।
भावी चेलाहरूको जाँच
मत्ती ८:१९-२२
57 अनि यस्तो भयो: उहाँहरू बाटोमा जाँदै गर्नुहुँदा कुनै एकजना मानिसले उहाँलाई भन्यो: “प्रभु, तपाईं जहाँ-जहाँ जानुहुन्छ, त्यहाँ-त्यहाँ म तपाईंको पछि लाग्नेछु।” 58 अनि येशूले त्यसलाई भन्नुभयो: “स्यालहरूको ओड़ार छन्, र आकाशका चराहरूका गुँड़ छन्, तर मानिसका पुत्रको शिर राख्ने ठाउँधरि छैन।” 59 अनि उहाँले अर्कोलाई भन्नुभयो: “मेरो पछि लाग!” तर त्यसले भन्यो: “हे प्रभु, पहिले मलाई जान र आफ्ना बुबालाई गाड़्न दिनुहोस्!” 60 येशूले त्यसलाई भन्नुभयो: “मुर्दाहरूलाई आफ्ना मुर्दाहरू गाड़्न देऊ; तर तिमीचाहिँ जाऊ, र परमेश्वरको राज्यको प्रचार गर!” 61 अनि अर्कोले पनि भन्यो: “हे प्रभु, म तपाईंको पछि लाग्नेछु; तर पहिले मलाई मेरा घरमा भएकाहरूबाट बिदा लिन दिनुहोस्!” 62 अनि येशूले त्यसलाई भन्नुभयो: “आफ्नो हात हलोमा राखेर पछिल्तिर हेर्ने कोही पनि परमेश्वरको राज्यका निम्ति लायकको हुँदैन।”