प्रभु येशूको सेवा गर्ने स्त्रीहरू
8
अनि त्यसपछि यस्तो भयो: उहाँ प्रचार गर्दै र परमेश्वरको राज्यको सुसमाचार सुनाउँदै शहर-शहर र गाउँ-गाउँ घुम्नुभयो; अनि ती बाह्रजना उहाँसँग थिए, 2 र कति स्त्रीहरू, जो दुष्ट आत्मा र रोगहरूबाट निको पारिएका थिए: मग्दलिनी भनिने मरियम, जसबाट सातवटा दुष्ट आत्मा निस्केका थिए, 3 र हेरोदका भण्डारी खूजाकी पत्नी योअन्ना, अनि सूसन्ना र अरू धेरै, जसले आफ्नो सम्पत्तिद्वारा उहाँको सेवा गर्थे।बीउ छर्नेको दृष्टान्त
मत्ती १३:१-२३, मर्कूस ४:१-२०
4 अनि जब धेरै मानिसहरू भेला भए, र शहर-शहरबाट तिनीहरू उहाँकहाँ आए, तब उहाँ दृष्टान्तद्वारा बोल्नुभयो: 5 “एकजना बीउ छर्ने मानिस आफ्नो बीउ छर्न निस्क्यो; अनि उसले बीउ छर्दाखेरि केही बाटोको किनारमा खस्यो; अनि कुल्चीमिल्ची भयो, र त्यसलाई आकाशका चराहरूले खाइदिए। 6 अनि केही चट्टानमाथि खस्यो; र उम्रनसाथ त्यो सुकिगयो, किनभने त्यसमा चिसोपन थिएन। 7 अनि केही काँड़ाहरूको बीचमा खस्यो, अनि काँड़ाहरू त्योसँगसँगै बढ़े, र त्यसलाई निसास्याइदिए। 8 अनि अरूचाहिँ असल जमिनमा खस्यो, र उम्र्यो, अनि सय गुणा फल फलायो।” अनि यी कुराहरू भन्नुभएपछि उहाँ कराउनुभयो: “जसका सुन्नलाई कानहरू छन्, त्यसले सुनोस्!” 9 अनि उहाँका चेलाहरूले यसो भन्दै उहाँलाई सोधे: “यस दृष्टान्तको अर्थ के होला?” 10 अनि उहाँले भन्नुभयो: “तिमीहरूलाई परमेश्वरको राज्यका रहस्यहरू जान्न दिइएको छ; तर अरूलाई चाहिँ, हेर्दाखेरि तिनीहरूले नदेखून् र सुन्दाखेरि तिनीहरूले नबुझून् भनेर दृष्टान्तहरूमा दिइएको छ।
11 अब दृष्टान्त यो हो: बीउचाहिँ परमेश्वरको वचन हो। 12 बाटोको किनारमा भएकाहरूचाहिँ ती हुन्, जसले सुन्छन्; तब शैतान आउँछ, र तिनीहरूले विश्वास नगरून् र मुक्ति नपाऊन् भनी त्यसले तिनीहरूको हृदयबाट वचन लैजान्छ। 13 चट्टानमाथि परेकाहरूचाहिँ ती हुन्, जसले जब सुन्छन्, तब आनन्दपूर्वक वचन ग्रहण गर्छन्; अनि तिनीहरूको जरा हुँदैन, जसले थोरै समयका निम्ति विश्वास गर्छन्, र परीक्षाको समयमा पछि हट्छन्। 14 अनि काँड़ाहरूको बीचमा खसेकाहरूचाहिँ ती हुन्, जसले वचन सुन्छन्, र अघि बढ़्दै जाँदा तिनीहरू फिक्रीहरू, धनसम्पत्ति र यस जीवनका सुखविलासहरूद्वारा निसासिन्छन्, र तिनीहरूमा कुनै फल सिद्धतामा ल्याइपुर्याउँदैनन्। 15 तर असल जमिनमा परेकाहरूचाहिँ ती हुन्, जसले वचन सुनेर त्यसलाई भलो र असल हृदयमा सम्हालिराख्छन्, र धीरजसँग फल फलाउँछन्।
16 कुनै पनि मानिसले बत्ती बालेपछि त्यसलाई भाँड़ाले छोप्दैन, अथवा त्यसलाई खाटमुनि राख्दैन; तर भित्र पस्नेहरूले उज्यालो देखून् भनेर त्यसलाई सामदानमाथि राख्छ। 17 किनभने कुनै कुरा गुप्त छैन, जो प्रकट हुनेछैन; न ता कुनै कुरा लुकाइएको छ, जो थाहा पाइनेछैन र देखा पर्नेछैन। 18 यसकारण होशियार होओ, तिमीहरू कसरी सुन्दछौ; किनभने जससँग छ, त्यसलाई दिइनेछ; र जससँग छैन, त्यसबाट त्यससँग जे भएको देखा पर्छ, त्यो पनि लगिनेछ।”
19 तब उहाँकी आमा र उहाँका भाइहरू उहाँकहाँ आए, र भीड़को कारणले उहाँको छेउमा आउन सकेनन्। 20 अनि यो कुरा उहाँलाई कसैद्वारा सुनाइयो, जसले भन्यो: “तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंलाई भेट्ने इच्छा राखेर बाहिर उभिरहेका छन्।” 21 अनि उहाँले जवाफ दिँदै तिनीहरूलाई भन्नुभयो: “मेरी आमा र मेरा भाइहरू यिनीहरू हुन्, जसले परमेश्वरको वचन सुन्दछन् र त्यो पालन गर्दछन्।”
प्रभु येशूले आँधी शान्त पार्नुभयो
मत्ती ८:२३-२७; मर्कूस ४:३५-४१
22 अब कुनै एक दिनमा यस्तो भयो: उहाँ आफ्ना चेलाहरूसित डुङ्गाभित्र पस्नुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो: “लौ, हामी यस तालको पारिपट्टि जाऔं!” अनि तिनीहरूले डुङ्गा चलाए। 23 तर उहाँहरू डुङ्गामा जाँदै गर्नुहुँदा उहाँ निदाउनुभयो; अनि त्यस तालमा आँधी चल्यो; अनि तिनीहरू पानीले छोपिँदैथिए, र खतरामा परे। 24 अनि उहाँकहाँ आएर तिनीहरूले उहाँलाई यसो भन्दै बिउँझाए: “हे स्वामी, हे स्वामी, हामी नष्ट भइरहेछौं!” तब उहाँ उठ्नुभयो, अनि बतास र पानीको छाललाई हकार्नुभयो; र ती थामिए, र शान्त भयो। 25 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूको विश्वास कहाँ छ?” अनि तिनीहरू डराए, र आपसमा यसो भन्दै अचम्म माने: “यहाँ कस्ता किसिमका मानिस हुनुहुँदो रहेछ! यहाँ बतास र पानीलाई पनि आज्ञा गर्नुहुन्छ, र तिनीहरूले यहाँको आज्ञा पालन गर्दा रहेछन्!”
दुष्ट आत्माहरूको फौज निकालियो
मत्ती ८:२८-३४; मर्कूस ५:१-२०
26 अनि उहाँहरू डुङ्गामा चढ़ेर गादारेनीको देशमा आइपुग्नुभयो, जुन देश गालीलको पारिपट्टि पर्दछ। 27 अनि जब उहाँ जमिनमा उत्रनुभयो, तब त्यस शहरबाट कुनै एकजना मानिसले उहाँलाई भेट्यो, जसमा धेरै समयदेखि दुष्ट आत्माहरू थिए, र लुगा लगाउँदैनथियो, न ता घरमा नै बस्थ्यो, तर चिहानहरूमा। 28 अनि येशूलाई देखेर त्यो चिच्च्यायो, र उहाँको सामु भुइँमा घोप्टो पर्यो, अनि चर्को सोरले भन्यो: “हे येशू, परमप्रधान परमेश्वरका पुत्र, तपाईंसँग मेरो के काम छ र? म तपाईंलाई विन्ती गर्दछु, मलाई पीड़ा नदिनुहोस्!” 29 (किनकि उहाँले त्यस अशुद्ध आत्मालाई, त्यस मानिसबाट निस्कनू भनी आज्ञा दिनुभएको थियो। किनकि त्यसले त्यसलाई घरीघरी पक्रेको थियो; अनि त्यो साङ्ला र नेलहरूले बाँधिएर राखिएको थियो; अनि त्यसले ती बन्धनहरू चुड़ाउँथ्यो, र दुष्ट आत्माद्वारा त्यो उजाड़स्थानतिर लगिन्थ्यो।) 30 अनि येशूले यसो भन्दै त्यसलाई सोध्नुभयो: “तेरो नाम के हो?” अनि त्यसले भन्यो: “फौज”; किनकि त्यसभित्र धेरै दुष्ट आत्माहरू पसेका थिए। 31 अनि ‘हामीलाई अथाह कुण्डमा जाने आज्ञा नदिनुहोस्’ भन्दै तिनीहरूले उहाँलाई विन्ती गरे। 32 अनि त्यहाँ पहाड़मा चरिरहेका धेरै सुँगुरहरूको एउटा बगाल थियो; अनि ‘हामीलाई तिनीहरूभित्र पस्ने अनुमति दिनुहोस्’ भन्दै तिनीहरूले उहाँलाई विन्ती गरे; र उहाँले तिनीहरूलाई अनुमति दिनुभयो। 33 तब दुष्ट आत्माहरू त्यस मानिसबाट निस्केर ती सुँगुरहरूभित्र पसे; अनि त्यो बगाल डरलाग्दो प्रकारले ओरालै-ओरालो दगुरेर तालभित्र पस्यो, र ती निसासिए।
34 अनि तिनलाई चराउनेहरू त्यो भएको घटना देखेर भागे, अनि गएर यिनीहरूले शहर र गाउँहुँदो त्यो कुरा सुनाए। 35 तब तिनीहरू त्यो भएको घटना हेर्न निस्केर गए; अनि तिनीहरू येशूकहाँ आए, र त्यस मानिसलाई, जसबाट दुष्ट आत्माहरू निस्केर गएका थिए, लुगा पहिरेको र ठीक होशमा भएर येशूका पाउनिर बसिरहेको देखे; अनि तिनीहरू डराए। 36 अनि यी देख्नेहरूले पनि तिनीहरूलाई, त्यो दुष्ट आत्मा लागेको मानिस कुन रीतिले निको पारियो, सो बताइदिए। 37 तब गादारेनीको वरिपरिको इलाकाको सारा भीड़ले उहाँलाई ‘हाम्रो बीचबाट गइदिनुहोस्’ भनी विन्ती गरे, किनकि तिनीहरू साह्रै डराएका थिए। अनि उहाँ डुङ्गाभित्र पसेर फर्कनुभयो। 38 अब त्यस मानिसले, जसबाट दुष्ट आत्माहरू निस्केका थिए, ‘म तपाईंसँगै रहन पाऊँ’ भन्दै उहाँलाई विन्ती गर्यो; तर येशूले त्यसलाई यसो भन्दै पठाइदिनुभयो: 39 “आफ्नै घरमा फर्क, र परमेश्वरले तिम्रा निम्ति कति ठूला-ठूला कामहरू गर्नुभएको छ, सो बताइदेऊ!” अनि त्यो आफ्नो बाटो लाग्यो, र येशूले त्यसका निम्ति कति ठूला-ठूला कामहरू गर्नुभएको थियो, सो कुरा सारा शहरभरि प्रचार गरिदियो।
याइरसकी छोरी र रगत बहने स्त्री
मत्ती ९:१८-२६; मर्कूस ५:२१-४३
40 अनि यस्तो भयो: जब येशू फर्कनुभयो, तब मानिसहरूले उहाँलाई स्वागत गरे, किनकि ती सबैले उहाँलाई पर्खिरहेका थिए। 41 अनि हेर, याइरस नाम भएका एकजना मानिस आए, अनि तिनीचाहिँ सभाघरका शासक थिए; अनि तिनले येशूका पाउमा घोप्टो परेर ‘मेरो घरमा आइदिनुहोस्’ भनी उहाँलाई विन्ती गरे। 42 किनभने तिनकी एउटै मात्र प्राय: बाह्र वर्षकी छोरी थिई, र ऊ मर्न लागेकी थिई। तर उहाँ जाँदै गर्नुहुँदा भीड़ले उहाँमाथि ठेलमठेला गर्यो।
43 अनि बाह्र वर्षदेखि रगत बग्ने रोग लागेको एउटी स्त्री, जो आफ्नो सारा जीविका वैद्यहरूका निम्ति खर्च गरेर पनि कसैद्वारा निको हुन सकेकी थिइन, 44 उहाँको पछिल्तिर आई, र उहाँको वस्त्रको किनार छोई; अनि तुरुन्तै उसको रगतको बहाउ बन्द भइहाल्यो। 45 अनि येशूले भन्नुभयो: “कसले मलाई छोयो?” जब सबैले इन्कार गरे, तब पत्रुस र उनीसँग हुनेहरूले भने: “हे स्वामी, भीड़ तपाईंको वरिपरि खचाखच छ, र ठेलमठेला गर्दछ, र तपाईं भन्नुहुन्छ, ‘कसले मलाई छोयो?”’ 46 अनि येशूले भन्नुभयो: “कसैले मलाई छोएको छ; किनभने मबाट शक्ति निस्केर गएको मैले थाहा पाएँ।” 47 अनि “मचाहिँ लुकेकी रहिनछु” भनी जब त्यस स्त्रीले थाहा पाई, तब ऊ काम्दै आई र उहाँको सामु घोप्टो परेर कुन कारणले उसले उहाँलाई छोएकी थिई र कसरी ऊ तुरुन्तै निको भई, सो कुरा उसले उहाँलाई सबै मानिसहरूको सामु बताई। 48 अनि उहाँले उसलाई भन्नुभयो: “छोरी, साहस गर! तिम्रो विश्वासले तिमीलाई निको पारेको छ; शान्तिसित जाऊ!”
49 उहाँ बोल्दै गर्नुहुँदा सभाघरका शासकको घरदेखि कोही आएर तिनलाई यसो भन्यो: “तपाईंकी छोरी मरी; गुरुज्यूलाई दुःख नदिनुहोस्!” 50 तर येशूले यो सुनेर तिनलाई यसो भन्दै जवाफ दिनुभयो: “नडराऊ, विश्वास मात्र गर, र ऊ निको पारिनेछे।” 51 जब उहाँ त्यस घरभित्र पस्नुभयो, तब उहाँले पत्रुस, याकूब, यूहन्ना र त्यस केटीका बुबा र आमालाई बाहेक अरू कसैलाई भित्र पस्न दिनुभएन। 52 अनि सबैजना रोइरहेका र उसका लागि विलाप गरिरहेका थिए; तर उहाँले भन्नुभयो: “नरोओ; ऊ मरेकी छैन, तर निदाइरहेकी छे।” 53 अनि ऊ मरेकी नै हो भन्ने जानेर तिनीहरूले उहाँलाई खिसी गरेर हाँसिदिए। 54 अनि उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्नुभयो, र उसको हात समातेर यसो भन्दै बोलाउनुभयो: “ए नानी, उठ!” 55 अनि उसको आत्मा फर्केर आयो, र ऊ तुरुन्तै उठी; अनि ‘उसलाई खानलाई केही दिनू’ भनी उहाँले आज्ञा गर्नुभयो। 56 अनि उसका बुबाआमा छक्कै परे; तर ‘यो भएको घटना कसैलाई नबताउनू’ भनी उहाँले तिनीहरूलाई कड़ा आज्ञा दिनुभयो।