सुबेदारको दास निको पारियो
मत्ती ८:५-१३
7
अब आफ्ना सबै वचनहरू मानिसहरूलाई सुनाइसक्नुभएपछि उहाँ कपर्नहुमभित्र पस्नुभयो। 2 अनि कुनै एकजना सुबेदारको दास, जो उनको प्रिय थियो, बिरामी भएर मर्न लागेको थियो। 3 अनि येशूको विषयमा सुनेर ‘हजुर आइदिनुहोस् र मेरो दासलाई निको पारिदिनुहोस्’ भनी उहाँलाई विन्ती गर्न उनले यहूदीहरूका बूढ़ा प्रधानहरूलाई उहाँकहाँ पठाए। 4 अनि तिनीहरूले येशूकहाँ आएर उहाँलाई यसो भन्दै आग्रहपूर्वक विन्ती गरे: “जसका निम्ति तपाईंले यो गर्नुहुनेछ, उनी योग्यका छन्, 5 किनभने उनले हाम्रो जातिलाई प्रेम गर्दछन्, र हाम्रा निम्ति एउटा सभाघर बनाइदिएका छन्।” 6 तब येशू तिनीहरूसित जानुभयो। अनि जब उहाँ घरदेखि धेरै टाढ़ामा हुनुहुन्नथियो, तब ती सुबेदारले उहाँलाई यसो भन्दै उहाँकहाँ साथीहरू पठाए: “प्रभु, आफूलाई कष्ट नदिनुहोस्, किनभने तपाईं मेरो छानामुनि पस्ने लायकको म छैनँ। 7 यसैकारण मैले आफैलाई पनि तपाईंकहाँ आउने लायकको सम्झिनँ; तर वचन मात्र बोलिदिनुहोस्, र मेरो दास निको हुनेछ। 8 किनकि म पनि अधिकारमुनि राखिएको मानिस हुँ, मेरो अधीनतामा पनि सिपाहीहरू छन्। अनि म एकजनालाई ‘जा’ भन्छु, अनि त्यो जान्छ; र अर्कोलाई, ‘आइज’, अनि त्यो आउँछ; र मेरो दासलाई ‘यो गर्’ भन्छु, र त्यसले त्यो गर्छ।” 9 यी कुराहरू सुनेर येशू उनको कारणले छक्कै पर्नुभयो, र पछिल्तिर फर्केर आफ्ना पछि-पछि आइरहेका मानिसहरूलाई भन्नुभयो: “म तिमीहरूलाई भन्दछु, इस्राएलमा पनि मैले यति ठूलो विश्वास पाएको छैनँ।” 10 अनि घरमा फर्केपछि ती पठाइएकाहरूले त्यस बिरामी भएको दासलाई निको भएको भेट्टाए।नाइन शहरकी विधवा
11 अनि भोलिपल्ट यस्तो भयो: उहाँ नाइन भनिने शहरमा जानुभयो, र उहाँका चेलाहरूमध्ये धेरैजना र एउटा ठूलो भीड़ उहाँसँग गए। 12 अब, जब उहाँ शहरको मूलढोकानिर आउनुभयो, तब हेर, एकजना मरेको मानिस बाहिर लगिँदै थियो, जो आफ्नी आमाको एउटै मात्र छोरा थियो; अनि ऊ विधवा थिई। अनि त्यस शहरको एउटा ठूलो भीड़ उसको साथमा थियो। 13 अनि जब प्रभुले उसलाई देख्नुभयो, तब उहाँ उसप्रति दयाले भरिनुभयो, र उसलाई भन्नुभयो: “नरोऊ!” 14 अनि आएर उहाँले अर्थीलाई छुनुभयो; र ती बोक्नेहरू टक्क अड़िए। अनि उहाँले भन्नुभयो: “हे जवान, म तिमीलाई भन्छु, उठ!” 15 अनि त्यो मरेको मानिस उठेर बस्यो, र बोल्न थाल्यो। अनि उहाँले त्यसलाई त्यसकी आमाकहाँ सुम्पनुभयो। 16 अनि सबैजना डराए, र तिनीहरूले यसो भन्दै परमेश्वरलाई महिमा दिए: “हाम्रो बीचमा एक महान् भविष्यवक्ता उठ्नुभएको छ, र परमेश्वरले आफ्ना जनहरूलाई भेट्नुभएको छ।” 17 अनि उहाँको विषयमा यो खबर सारा यहूदिया र वरिपरिको सारा इलाकाभरि फैलियो।
बप्तिस्मा दिने यूहन्नाको प्रशंसा
मत्ती ११:१-१९
18 अनि यूहन्नाका चेलाहरूले उनलाई यी सबै कुराहरूको विषयमा खबर दिए। 19 अनि यूहन्नाले आफ्ना चेलाहरूमध्ये दुईजनालाई आफूकहाँ बोलाएर तिनीहरूलाई येशूकहाँ यसो भन्दै पठाए: “आउनुहुने तपाईं नै हुनुहुन्छ, कि के हामी अर्कोको बाटो हेरौं?” 20 अनि उहाँकहाँ आएर ती मानिसहरूले भने: “बप्तिस्मा दिनुहुने यूहन्नाले हामीलाई तपाईंकहाँ यसो भनी पठाउनुभएको छ, ‘आउनुहुने तपाईं नै हुनुहुन्छ, कि के हामी अर्कोको बाटो हेरौं?”’ 21 अनि त्यही बेलामा उहाँले धेरैलाई तिनीहरूका रोग, महामारी र दुष्ट आत्माहरूबाट निको पार्नुभयो; अनि अनेकौं अन्धाहरूलाई उहाँले दृष्टि दिनुभयो। 22 तब येशूले जवाफ दिँदै तिनीहरूलाई भन्नुभयो: “जाओ, र जे कुराहरू तिमीहरूले देख्यौ र सुन्यौ, यूहन्नालाई ती बताओ; अर्थात् अन्धाहरूले देख्दछन्, लङ्गड़ाहरू हिँड़्दछन्, कोरीहरू शुद्ध पारिँदछन्, बहिराहरूले सुन्दछन्, मरेकाहरू बिउँताइन्छन्, गरिबहरूलाई सुसमाचार सुनाइन्छ। 23 अनि जसले ममा ठेस खाँदैनन्, तिनी धन्य हुन्।”
24 अनि यूहन्नाका खबर ल्याउनेहरू गइसकेपछि उहाँ भीड़हरूसँग यूहन्नाको विषयमा बोल्न लाग्नुभयो: “तिमीहरू उजाड़स्थानमा के हेर्न गयौ? के हावाले हल्लाएको निगालोलाई? 25 तर तिमीहरू के हेर्न गयौ? के मुलायम वस्त्र पहिरेका मानिसलाई? हेर, भड़्किला वस्त्र पहिरनेहरू र सुखविलासमा बस्नेहरू त राजदरवारहरूमा पो हुन्छन्। 26 तर तिमीहरू के हेर्न गयौ त? के भविष्यवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु, भविष्यवक्ताभन्दा पनि महान्लाई। 27 यिनी तिनी नै हुन्, जसको विषयमा यो लेखिएको छ:
‘हेर, म आफ्ना दूतलाई तिम्रो सम्मुख पठाउँछु, जसले तिम्रो अघि तिम्रो बाटो तयार पार्नेछन्।’क
28 किनकि म तिमीहरूलाई भन्दछु, स्त्रीहरूबाट जन्मनेहरूमध्ये बप्तिस्मा दिने यूहन्नाभन्दा महान् भविष्यवक्ता अरू कोही छैन; तर परमेश्वरको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा महान् हुन्छ।” 29 उनको कुरा सुन्ने सबै मानिसहरू र महसूल उठाउनेहरूले यूहन्नाको बप्तिस्मा लिएर परमेश्वरलाई धर्मी ठहराए। 30 तर फरिसीहरू र व्यवस्थाका गुरुहरूले चाहिँ उनीद्वारा बप्तिस्मा नलिएर आफ्नै लागि परमेश्वरको मनसाय रद्द गरिदिए।
31 अनि प्रभुले भन्नुभयो: “यस पुस्ताका मानिसहरूलाई म केसँग तुलना गरूँ? अनि तिनीहरू केजस्ता छन्? 32 यिनीहरूचाहिँ बजारमा बसेर एक-अर्कालाई यसो भन्दै बोलाउने केटाकेटीजस्ता छन्: ‘तिमीहरूका निम्ति हामीले बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौ; तिमीहरूका निम्ति हामीले विलाप गर्यौं, तर तिमीहरू रोएनौ।’ 33 किनकि बप्तिस्मा दिने यूहन्ना न रोटी खाँदै, न दाखमद्य पिउँदै आए, र तिमीहरू भन्दछौ: ‘ऊसँग दुष्ट आत्मा छ।’ 34 मानिसका पुत्र खाँदै र पिउँदै आए, र तिमीहरू भन्दछौ: ‘हेर, घिचुवा मान्छे र मतवाला, महसूल उठाउने र पापीहरूको साथी!’ 35 तर बुद्धि आफ्ना सारा सन्तानद्वारा सत्य ठहरिन्छ।”
पापी स्त्रीले प्रभु येशूका पाउमा तेल घस्छे
36 अनि फरिसीहरूमध्ये एकजनाले आफूसँग खाना खान भनी उहाँलाई विन्ती गर्यो। अनि उहाँ त्यस फरिसीको घरभित्र पसेर खानका निम्ति बस्नुभयो। 37 अनि हेर, त्यस शहरकी एउटी स्त्रीले, जो पापीनी थिई, त्यस फरिसीको घरमा येशू खान बस्नुभएको छ भन्ने कुरा थाहा पाएर सुगन्धित तेलको एउटा सङ्गमर्मरको भुँडुल्को लिएर आई, 38 र उहाँको पछिल्तिर उहाँका पाउनिर रुँदै-रुँदै त्यो खड़ा भई; अनि आँसुले उहाँका पाउहरू धुन थाली, र आफ्नै शिरका केशले पुछी, अनि उहाँका पाउहरू चुम्बन गरी र तिनमा त्यो सुगन्धित तेल घसी। 39 तर जब उहाँलाई निम्तो दिने फरिसीले यो देख्यो, तब उसले मनमनैमा यसो भन्यो: ‘यी मानिस भविष्यवक्ता हुँदा हुन् ता उनलाई छुने यो स्त्री को र कस्ती स्त्री हो, सो जान्नेथिए; किनकि यो त पापीनी हो।’ 40 अनि येशूले जवाफ दिँदै उसलाई भन्नुभयो: “हे शिमोन, तिमीलाई मेरो केही भन्नु छ।” अनि उसले भन्यो: “गुरुज्यू, भन्नुहोस्!” 41 “कुनै एकजना महाजन थिए, जसका दुईजना ऋणी थिए; एकजनालाई पाँच सय दीनार र अर्कालाई पचास दीनार ऋण लागेको थियो। 42 अनि तिनीहरूसँग तिर्नलाई केही पनि नहुँदा उनले ती दुवैलाई उदार चित्तले माफ गरिदिए। यसकारण लौ भन, तिनीहरूमध्ये कुनचाहिँले उनलाई बेसी प्रेम गर्ला?” 43 शिमोनले जवाफ दिँदै भन्यो: “मलाई लाग्छ, उसैले, जसलाई उनले बेसी माफ गरेका छन्।” अनि उहाँले उसलाई भन्नुभयो: “तिमीले ठीक विचार गरेका छौ।” 44 अनि उहाँले त्यस स्त्रीतिर फर्केर शिमोनलाई भन्नुभयो: “के तिमी यस स्त्रीलाई देख्छौ? म तिम्रो घरभित्र पसें; तिमीले मलाई मेरा पाउहरूका निम्ति पानी दिएनौ, तर उसले मेरा पाउहरू आँसुले धोएकी छे र आफ्नै शिरका केशले पुछेकी छे। 45 तिमीले मलाई चुम्बन दिएनौ; तर यस स्त्रीले त म भित्र आएको समयदेखि मेरा पाउहरू चुम्न छोड़ेकी छैन। 46 तिमीले मेरो शिरमा तेल लगाएनौ, तर यस स्त्रीले मेरा पाउहरूमा सुगन्धित तेल घसेकी छे। 47 यसकारण म तिमीलाई भन्दछु, उसका पापहरू, जुनचाहिँ धेरै छन्, क्षमा भएका छन्, किनकि उसले धेरै प्रेम गरेकी छे; तर जसलाई थोरै क्षमा गरिएको छ, त्यसले थोरै प्रेम गर्दछ।” 48 अनि उहाँले त्यसलाई भन्नुभयो: “तिम्रा पापहरू क्षमा भए।” 49 अनि उहाँसँग खानका निम्ति बस्नेहरूले मनमनमा भन्न थाले, ‘यिनी को हुन्, जसले पापहरू पनि क्षमा गर्दछन्?’ 50 तब उहाँले त्यस स्त्रीलाई भन्नुभयो: “तिम्रो विश्वासले तिमीलाई बचाएको छ; शान्तिसित जाऊ!”