ख्रीष्ट येशू विश्रामदिनका प्रभु हुनुहुन्छ
मत्ती १२:१-८; मर्कूस २:२३-२८
6
अनि यस्तो भयो: पहिलोपछिको दोस्रो विश्रामदिनमा उहाँ अन्नका बारीहरूबाट भएर जानुभयो; अनि उहाँका चेलाहरूले अन्नका बाला टिपे, र हातमा माड़ेर खाए। 2 अनि फरिसीहरूमध्ये कतिले उनीहरूलाई भने: “विश्रामदिनहरूमा जुन कुरा गर्नु उचित छैन, त्यही कुरा तिमीहरू किन गर्दछौ?” 3 अनि येशूले तिनीहरूलाई जवाफ दिँदै भन्नुभयो: “दाऊदले आफू र उनको साथमा भएकाहरू भोकाउँदा के गरे, के यति पनि तिमीहरूले पढ़ेका छैनौ? 4 कसरी परमेश्वरको भवनभित्र पसेर उनले भेटीका रोटीहरू लिए र खाए, अनि आफूसँग भएकाहरूलाई पनि दिए; जुन कुराचाहिँ पूजाहारीहरूलाई बाहेक अरू कसैलाई खानु उचित छैन?” 5 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “मानिसका पुत्र विश्रामदिनका पनि प्रभु हुन्।”6 अनि अर्को विश्रामदिनमा पनि यस्तो भयो: सभाघरभित्र पसेर उहाँले शिक्षा दिनुभयो; अनि त्यहाँ एकजना मानिस थियो, जसको दाहिने हात सुकेको थियो। 7 अनि शास्त्री र फरिसीहरूले चाहिँ उहाँको विरोधमा दोष भेट्टाउनलाई, कहीं उहाँले विश्रामदिनमा निको पार्नुहुन्छ कि भनी उहाँलाई चियो गरिरहेका थिए। 8 तर उहाँले तिनीहरूका विचारहरू थाहा पाएर त्यस सुकेको हात भएको मानिसलाई भन्नुभयो: “उठ, र माझमा खड़ा होऊ!” अनि त्यो उठ्यो र खड़ा भयो। 9 तब येशूले तिनीहरूलाई भन्नुभयो: “म तिमीहरूलाई एउटा कुरा सोध्नेछु, विश्रामदिनहरूमा भलाइ गर्नु उचित छ कि खराबी गर्नु, प्राण बचाउनु कि नष्ट गर्नु?” 10 अनि चारैतिर ती सबैलाई हेर्दै उहाँले त्यस मानिसलाई भन्नुभयो: “आफ्नो हात पसार!” अनि त्यसले त्यस्तै गर्यो, र त्यसको हात अर्कोजस्तै स्वस्थ पारियो। 11 तर तिनीहरू रिसले बौलाए, र ‘हामी येशूलाई के गरौं’ भन्दै तिनीहरूले आपसमा सल्लाह गरे।
बाह्रजना प्रेरितहरू चुनिए
मत्ती १०:१-४; मर्कूस ३:१३-१९
12 अनि ती दिनहरूमा यस्तो भयो: उहाँ पहाड़मा प्रार्थना गर्न जानुभयो, र परमेश्वरलाई प्रार्थना गर्नमा सारा रात बिताउनुभयो। 13 अनि जब दिन भयो, तब उहाँले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो, र तिनीहरूबाट उहाँले बाह्रजनालाई छान्नुभयो, जसलाई उहाँले ‘प्रेरित’ भन्ने नाम पनि दिनुभयो: 14 शिमोन, जसलाई उहाँले पत्रुस भन्ने नाम पनि दिनुभयो, र उनका दाजु अन्द्रियास; याकूब र यूहन्ना; फिलिप र बार्थोलोमाइ; 15 मत्ती र थोमा; अल्फयसका छोरा याकूब र जेलोतेस भनिने शिमोन; 16 अनि याकूबको भाइ यहूदा र यहूदा इस्करयोती, जो विश्वासघाती पनि भयो। 17 अनि उहाँ तिनीहरूसँग ओर्ली आउनुभयो र समतल जमिनमा उभिनुभयो; अनि त्यहाँ उहाँका चेलाहरूको एउटा झुन्ड थियो, र सारा यहूदिया र यरूशलेमबाटका, अनि टायर र सिडोनको समुद्रको किनारबाटका मानिसहरूको एउटा ठूलो भीड़ थियो, जो उहाँको वचनक सुन्न र आ-आफ्ना रोगबाट निको हुनलाई आएका थिए; 18 र अशुद्ध आत्माहरूद्वारा सताइएकाहरू पनि थिए; अनि तिनीहरू निको पारिए। 19 अनि सारा भीड़ले उहाँलाई छुन खोज्थ्यो; किनकि उहाँबाट सामर्थ्य निस्कन्थ्यो र सबैलाई निको पार्थ्यो।
प्रभु येशूको उपदेश
मत्ती ५-७ अध्याय
20 अनि उहाँले आफ्ना चेलाहरूमाथि आफ्ना आँखा उठाउनुभयो र भन्नुभयो: “धन्य तिमी गरिबहरू, किनकि परमेश्वरको राज्य तिमीहरूकै हो। 21 धन्य अहिले भोकाउनेहरू, किनकि तिमीहरू तृप्त पारिनेछौ। धन्य अहिले रुनेहरू, किनकि तिमीहरू हाँस्नेछौ। 22 तिमीहरू धन्य हौ, जब मानिसहरूले मानिसका पुत्रको कारणले तिमीहरूलाई घृणा गर्नेछन्, अनि जब तिनीहरूले तिमीहरूलाई बहिष्कार गर्नेछन्, तिमीहरूको निन्दा गर्नेछन् र तिमीहरूको नाम दुष्ट ठानेर काटिदिनेछन्। 23 त्यस दिन तिमीहरू रमाओ, र आनन्दले उफ्र; किनकि हेर, स्वर्गमा तिमीहरूको इनाम ठूलो छ; किनकि तिनीहरूका पितापुर्खाहरूले पनि भविष्यवक्ताहरूलाई त्यस्तै गर्थे।
24 तर धनवान्हरूहो, तिमीहरूलाई हाय! किनकि तिमीहरूले आफ्नो सान्त्वना पाएका छौ। 25 तृप्त हुनेहरूहो, तिमीहरूलाई हाय! किनकि तिमीहरू भोकाउनेछौ। अहिले हाँस्नेहरूहो, तिमीहरूलाई हाय! किनकि तिमीहरूले विलाप गर्नेछौ, र रुनेछौ। 26 जब सबै मानिसहरूले तिमीहरूको विषयमा राम्रा कुरा गर्दछन्, तब तिमीहरूलाई हाय! किनकि तिनीहरूका पितापुर्खाहरूले पनि झूटा भविष्यवक्ताहरूलाई त्यस्तै गर्थे।
27 तर तिमी सुन्नेहरूलाई म भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर; तिमीहरूलाई घृणा गर्नेहरूलाई भलाइ गर! 28 जसले तिमीहरूलाई सराप्छन्, तिनीहरूलाई आशीर्वाद देओ, र जसले तिमीहरूलाई अपमान गर्छन्, तिनीहरूका निम्ति प्रार्थना गर! 29 अनि जसले तिमीलाई एउटा गालामा हिर्काउँछ, त्यसलाई अर्को पनि थापिदेऊ! जसले तिम्रो कोट खोस्छ, त्यसलाई आफ्नो दौरा पनि इन्कार नगर! 30 तिमीलाई माग्ने हरेकलाई देऊ; अनि जसले तिम्रा मालहरू लैजान्छ, त्यसबाट ती फिर्ता नमाग! 31 अनि मानिसहरूले तिमीहरूसित जेजस्तो गरेका चाहन्छौ, तिमीहरूले पनि उनीहरूसित त्यस्तै व्यवहार गर! 32 किनकि जसले तिमीहरूलाई प्रेम गर्दछन्, तिनीहरूलाई तिमीहरूले प्रेम गर्दछौ भने तिमीहरूलाई त्यसमा के स्याबासी छ र? किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूलाई प्रेम गर्दछन्। 33 अनि जसले तिमीहरूको भलाइ गर्दछन्, तिमीहरूले तिनीहरूलाई भलाइ गर्दछौ भने त्यसमा तिमीहरूलाई के स्याबासी छ र? किनकि पापीहरूले पनि त्यस्तै गर्दछन्। 34 अनि उनीहरूबाट फिर्ता पाउने आशा राखी तिमीहरूले उनीहरूलाई सापट दिँदछौ भने त्यसमा तिमीहरूलाई के स्याबासी छ र? किनकि पापीहरूले पनि पापीहरूलाई दिएको जति फिर्ता पाउने आशामा सापट दिँदछन्। 35 तर तिमीहरूका शत्रुहरूलाई प्रेम गर, र भलाइ गर, अनि फेरि केही पाउने आशा नगरीकन सापट देओ; र तिमीहरूको इनाम ठूलो हुनेछ, र तिमीहरू परमप्रधानका सन्तान हुनेछौ; किनकि उहाँ अधन्यवादी र दुष्टहरूप्रति दयालु हुनुहुन्छ। 36 यसकारण जसरी तिमीहरूका पिता दयालु हुनुहुन्छ, त्यसरी नै तिमीहरू पनि दयालु होओ!
37 न्याय नगर, र तिमीहरूको पनि न्याय गरिनेछैन; दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ; क्षमा गर, र तिमीहरू पनि क्षमा गरिनेछौ। 38 देओ, र तिमीहरूलाई दिइनेछ: पूरा-पूरा नाप, खाँदी-खाँदी, र हल्लाई-हल्लाई, र पोखिने गरी मानिसहरूलेख तिमीहरूका काखमा हालिदिनेछन्; किनकि जुन नापले तिमीहरू नाप्दछौ, त्यही नापले तिमीहरूका निम्ति फेरि नापिनेछ।”
39 अनि उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो: “के अन्धाले अन्धालाई डोर्याउन सक्छ र? के ती दुवैजना खाड़लभित्र खस्नेछैनन् र? 40 चेला आफ्ना गुरुभन्दा श्रेष्ठ हुँदैन; तर हरेक जो सिद्ध छ, ऊ आफ्ना गुरुजस्तै हुनेछ। 41 अनि तिम्रो भाइको आँखामा भएको छेस्को तिमी किन हेर्दछौ, तर आफ्नै आँखामा भएको मुढ़ाचाहिँ थाहा पाउँदैनौ? 42 अथवा तिमीले आफ्नै आँखाभित्र भएको मुढ़ा देख्दैनौ भने तिमीले कसरी आफ्नो भाइलाई, ‘खै भाइ, तिम्रो आँखाभित्र भएको छेस्को मलाई निकाल्न देऊ’ भनी भन्न सक्छौ? हे कपटी! पहिले आफ्नै आँखाबाट मुढ़ा निकाल, र तब आफ्नो भाइको आँखामा भएको छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्नेछौ। 43 किनकि असल रूखले खराब फल फलाउँदैन, न ता खराब रूखले असल फल फलाउँछ। 44 किनकि हरेक रूख त्यसको आफ्नै फलद्वारा चिनिन्छ। किनभने मानिसहरूले काँड़ाहरूबाट नेभारा टिप्दैनन्, न ता काँड़ाको झाङबाट अङ्गुर बटुल्दछन्। 45 असल मानिसले आफ्नो हृदयको असल ढुकुटीबाट असल कुरा निकाल्दछ, र खराब मानिसले आफ्नो हृदयको खराब ढुकुटीबाट खराब कुरा निकाल्दछ; किनकि हृदयको भरपूरीबाट नै उसको मुख बोल्छ।”
दुईवटा घर
मत्ती ७:२४-२७
46 “अनि तिमीहरू किन मलाई ‘हे प्रभु, हे प्रभु’ भन्दछौ, र मैले भनेका कुराहरूचाहिँ पालन गर्दैनौ? 47 जो कोही मकहाँ आउँछ, अनि मेरा वचनहरू सुन्छ र तिनलाई पालन गर्छ, ऊचाहिँ कोजस्तो हो, म तिमीहरूलाई देखाउनेछु: 48 ऊचाहिँ एउटा घर बनाउने मानिसजस्तो हो, जसले गहिरो गरी खन्यो र चट्टानमाथि जग बसाल्यो। अनि जब बाढ़ी चल्यो, तब त्यस घरलाई भेलले खूबै जोरले हान्यो, तर त्यसलाई हल्लाउन सकेन; किनकि त्यो चट्टानमाथि बसालिएको थियो। 49 तर जसले सुन्छ, र पालन गर्दैन, त्योचाहिँ यो मानिसजस्तो हो, जसले जगविना माटोमाथि एउटा घर बनायो; जुन घर भेलले खूबै जोरले हान्यो, र तुरुन्तै त्यो ढल्यो; अनि त्यस घरको बरबादी ठूलो भयो।”