प्रथम चेलाहरूको बोलावट
मत्ती ४:१८-२२; मर्कूस १:१६-२०
5
अनि यस्तो भयो: परमेश्वरको वचन सुन्नलाई भीड़ले उहाँमाथि ठेलमठेला गरेको बेला उहाँ गेन्नेसरेत तालको किनारमा उभिनुभएको थियो, 2 अनि उहाँले दुईवटा डुङ्गा तालको किनारमा लागिरहेका देख्नुभयो; तर मछुवाहरूचाहिँ तीबाट निस्केर आफ्ना जालहरू धोइरहेका थिए। 3 अनि उहाँ ती डुङ्गाहरूमध्ये एउटामा चढ़्नुभयो, जोचाहिँ शिमोनको थियो, र जमिनबाट अलिक परसम्म लैजानलाई उहाँले तिनलाई आग्रह गर्नुभयो। अनि उहाँ बस्नुभयो, र डुङ्गाबाट मानिसहरूलाई शिक्षा दिनुभयो। 4 अब बोल्न बन्द गर्नुभएपछि उहाँले शिमोनलाई भन्नुभयो: “गहिरोमा लैजाऊ, र माछा पक्रन आफ्ना जालहरू हाल!” 5 अनि शिमोनले जवाफ दिँदै उहाँलाई भने: “हे स्वामी, हामीले रातभरि मेहनत गरेर पनि केही पक्रेका छैनौं, तैपनि तपाईंले भन्नुभएकोले म जाल हाल्नेछु।” 6 अनि जब तिनीहरूले त्यसो गरे, तब तिनीहरूले थुप्रै-थुप्रै माछा जालमा पारे, र तिनीहरूको जाल पनि फाट्न थाल्यो। 7 अनि तिनीहरूले अर्को डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई, उनीहरू आऊन् र तिनीहरूलाई सहायता दिऊन् भनेर इशारा गरे। अनि तिनीहरू आए र दुवै डुङ्गा भरे, यहाँसम्म कि ती डुब्न लागे। 8 जब शिमोन पत्रुसले यो देखे, तब तिनी यसो भन्दै येशूका घुँड़ामा घोप्टो परे: “हे प्रभु, मदेखि गइदिनुहोस्, किनकि म एउटा पापी मानिस हुँ!” 9 किनभने तिनी र तिनको साथमा भएका सबैजना आफूले पक्रेका माछाहरूको कारणले छक्कै परेका थिए; 10 अनि यसरी नै जब्दीका छोरा याकूब र यूहन्ना पनि, जो शिमोनका साझेदारहरू थिए, छक्कै परे। अनि येशूले शिमोनलाई भन्नुभयो: “नडराऊ; अबदेखि उसो तिमीले मानिसहरूलाई पक्रनेछौ।” 11 अनि आफ्ना डुङ्गाहरू किनारमा ल्याएपछि सबै थोकहरू त्यागेर तिनीहरू उहाँको पछि लागे।कोरी शुद्ध पारियो
मत्ती ८:१-४; मर्कूस १:४०-४५
12 अनि यस्तो भयो: उहाँ कुनै शहरमा हुनुहुँदा हेर, कोरले भरिएको एकजना मान्छे थियो। येशूलाई देखेर त्यो भुइँमा घोप्टो पर्यो, र यसो भन्दै त्यसले उहाँलाई विन्ती गर्यो: “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने तपाईंले मलाई शुद्ध पार्न सक्नुहुन्छ।” 13 अनि आफ्नो हात पसारेर उहाँले यसो भन्दै त्यसलाई छुनुभयो: “म इच्छा गर्दछु, तिमी शुद्ध होऊ!” अनि तुरुन्तै त्यसबाट कोर हटिहाल्यो। 14 अनि उहाँले त्यसलाई कड़ा आज्ञा गर्नुभयो: “कसैलाई नभन्नू, तर जाऊ र आफूलाई पूजाहारीकहाँ देखाऊ, र तिनीहरूका लागि साक्षी हुनलाई मोशाले आज्ञा गरेअनुसारक आफ्नो शुद्धिका निम्ति चढ़ाऊ!” 15 तर उहाँको कीर्ति झन् बढ़्ता गरी चारैतिर फैलियो; अनि ठूला-ठूला भीड़हरू सुन्नलाई र उहाँद्वारा आ-आफ्ना रोगबाट निको पारिनलाई भेला भए। 16 अनि उहाँ सुनसान ठाउँहरूमा अलग्गै जानुहुन्थ्यो, र प्रार्थना गर्नुहुन्थ्यो।
पक्षाघातको बिरामी निको पारियो
मत्ती ९:१-८; मर्कूस २:१-१२
17 अनि कुनै एक दिनमा यस्तो भयो: उहाँले शिक्षा दिइरहनुभएको बेलामा गालील र यहूदियाको हरेक ठाउँबाट र यरूशलेमबाट आएका फरिसीहरू र व्यवस्थाका गुरुहरू नजिकैमा बसिरहेका थिए। अनि तिनीहरूलाई निको पार्नका निम्ति प्रभुको शक्ति त्यहाँ थियो। 18 अनि हेर, मानिसहरूले एकजना पक्षाघात भएको मानिसलाई ओछ्यानमा ल्याए। अनि तिनीहरूले उसलाई भित्र ल्याउन र उहाँको अघिल्तिर राख्न खोजे। 19 अनि जब भीड़को कारणले तिनीहरूले उसलाई भित्र ल्याउने कुनै उपाय पाउन सकेनन्, तब तिनीहरू घरको छानामाथि चढ़े, र झिँगटीहरूको बीचबाट उसलाई ओछ्यानैसित येशूको अघिल्तिर माझमा ओरालिदिए। 20 अनि तिनीहरूको विश्वास देखेर उहाँले उसलाई भन्नुभयो: “हे मानिस, तिम्रा पापहरू तिमीलाई क्षमा भए।” 21 अनि शास्त्री र फरिसीहरूले यसो भन्दै तर्क गर्न लागे: “ईश्वरनिन्दा गर्ने यो को हो? एकैजना अर्थात् परमेश्वरले बाहेक अरू कसले पापहरू क्षमा गर्न सक्छ र?” 22 तर तिनीहरूका विचारहरू थाहा पाएर येशूले तिनीहरूलाई जवाफ दिँदै भन्नुभयो: “तिमीहरू आफ्ना हृदयमा किन तर्क-वितर्क गर्दछौ? 23 कुनचाहिँ सजिलो छ, ‘तिम्रा पापहरू तिमीलाई क्षमा भए’ भन्नु, कि ‘उठ र हिँड़’ भन्नु? 24 तर मानिसका पुत्रलाई पृथ्वीमा पापहरू क्षमा गर्ने अधिकार छ भन्ने कुरा तिमीहरूलाई थाहा होस् भनेर” उहाँले पक्षाघात भएको मानिसलाई भन्नुभयो “म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान उठाऊ, र आफ्नो घरमा जाऊ!” 25 अनि तुरुन्तै ऊ तिनीहरूको सामु उठ्यो, र आफू जेमाथि पस्रिरहेको थियो, त्यो उठाएर परमेश्वरको महिमा गर्दै आफ्नो घरतिर हिँड़्यो। 26 अनि तिनीहरू सबैजना छक्कै परे, र परमेश्वरलाई महिमा दिए, र ‘आज हामीले अनौठा कुराहरू देखेका छौं’ भन्दै तिनीहरू डरले भरिए।
लेवीको बोलावट
मत्ती ९:९-१५; मर्कूस २:१३-१७
27 अनि यी कुराहरूपछि उहाँ निस्कनुभयो, र लेवी नाम भएको एकजना महसूल उठाउनेलाई महसूल उठाउने ठाउँमा बसिरहेका देख्नुभयो; अनि उहाँले तिनलाई भन्नुभयो: “मेरो पछि लाग!” 28 अनि तिनले सबै कुराहरू छोड़े; तिनी उठे र उहाँको पछि लागे। 29 अनि लेवीले उहाँका निम्ति आफ्नै घरमा एउटा ठूलो भोज लगाए; अनि महसूल उठाउनेहरूको र अरूहरूको एउटा ठूलो भीड़ थियो, जोचाहिँ तिनीहरूसँग खानका लागि बसेका थिए। 30 तर तिनीहरूका शास्त्री र फरिसीहरूले उहाँका चेलाहरूको विरोधमा यसो भन्दै गनगनाए: “किन तिमीहरू महसूल उठाउनेहरू र पापीहरूसँग खान्छौ र पिउँछौ?” 31 अनि येशूले जवाफ दिँदै तिनीहरूलाई भन्नुभयो: “निरोगीहरूलाई होइन, तर रोगीहरूलाई डाक्टरको खाँचो पर्दछ। 32 म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापका निम्ति बोलाउन आएको हुँ।”
पुरानो वस्त्र र पुरानो छालाको थैली
मत्ती ९:१४-१७; मर्कूस २:१८-२२
33 अनि तिनीहरूले उहाँलाई भने: “किन यूहन्नाका चेलाहरू घरीघरी उपवास बस्दछन् र प्रार्थनाहरू गर्दछन्, र त्यसरी नै फरिसीका चेलाहरू पनि, तर तपाईंकाहरूचाहिँ खान्छन् र पिउँछन्?” 34 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “जबसम्म दुलहा उनीहरूको साथमा छन्, तबसम्म के तिमीहरूले दुलहाका साथीहरूलाई उपवास बस्न लाउन सक्छौ र? 35 तर दिनहरू आउनेछन्, जब दुलहा उनीहरूकहाँबाट लगिनेछन्, अनि तब ती दिनहरूमा उनीहरू उपवास बस्नेछन्।”
36 अनि उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो: “कुनै मानिसले पनि पुरानो वस्त्रमा नयाँ कपड़ाको टालो टाल्दैन; नत्रभने नयाँले फटाइदिन्छ, र नयाँबाट निकालिएको टालो पुरानोसँग मिल्दैन पनि। 37 अनि कसैले पनि नयाँ दाखमद्य पुराना मशकहरूमाख हाल्दैन; नत्र नयाँ दाखमद्यले यी मशकहरू फुटाइदिन्छ, र पोखिन्छ, अनि यी मशकहरू नष्ट हुनेछन्। 38 तर नयाँ दाखमद्य नयाँ मशकहरूमा हालिनुपर्छ, र दुवै जोगिन्छन्। 39 अनि पुरानो दाखमद्य पिएर कसैले पनि तुरुन्तै नयाँको चाह गर्दैन, किनकि त्यसले ‘पुरानै असल छ’ भन्छ।”