प्रभु येशूको परीक्षा
मत्ती ४:१-११; मर्कूस १:१२-१३
4
अनि येशू पवित्र आत्माले भरपूर भएर यर्दनबाट फर्किनुभयो, र आत्माद्वारा उजाड़स्थानमा डोर्‍याइनुभयो, 2 र चालीस दिनसम्म शैतानद्वारा परीक्षा गरिनुभयो। अनि ती दिनहरूमा उहाँले केही खानुभएन, अनि ती दिनहरू सिद्धिएपछि पछिबाट उहाँ भोकाउनुभयो। 3 अनि शैतानले उहाँलाई भन्यो: “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई आज्ञा गर्नुहोस्, र यो रोटी बनोस्!” 4 अनि येशूले त्यसलाई यसो भन्दै जवाफ दिनुभयो: “यो लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको हरेक वचनले बाँच्‍नेछ।’ ” 5 अनि शैतानले उहाँलाई एउटा अग्लो पहाड़माथि लगेर छिनभरमै उहाँलाई संसारका सबै राज्यहरू देखायो; 6 र शैतानले उहाँलाई भन्यो: “यो सारा अधिकार र यिनको गौरव म तपाईंलाई दिनेछु; किनभने यो मलाई सुम्पिएको छ, र जसलाई म चाहन्छु, उसैलाई यो दिन्छु। 7 यसकारण तपाईंले मलाई दण्‍डवत्‌ गर्नुभयो भने सबै थोकहरू तपाईंका हुनेछन्।” 8 अनि येशूले जवाफ दिँदै त्यसलाई भन्‍नुभयो: “हे शैतान, तँ मेरो पछिल्तिर जा! किनभने यो लेखिएको छ, ‘तिमीले परमप्रभु* आफ्ना परमेश्‍वरलाई दण्‍डवत्‌ गर र उहाँकै मात्र सेवा गर!’ ” 9 अनि त्यसले उहाँलाई यरूशलेममा लग्यो, उहाँलाई मन्दिरको टुप्पामा राख्यो र उहाँलाई भन्यो: “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने आफूलाई यहाँबाट तल फाल्नुहोस्; 10 किनभने यो लेखिएको छ, ‘तपाईंलाई रक्षा गरून् भनी तपाईंको विषयमा उहाँले आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ,’ 11 र ‘तपाईंले कहीं आफ्नो पाउ ढुङ्गामाथि बजार्नुहुन्छ कि भनी तिनीहरूले तपाईंलाई आफ्ना हातमा उठाउनेछन्’ ” 12 अनि येशूले जवाफ दिँदै त्यसलाई भन्‍नुभयो: “यसो भनिएको छ, ‘तिमीले परमप्रभु* आफ्ना परमेश्‍वरलाई परीक्षा नगर!’ ” 13 अनि सबै परीक्षा गरिसिद्ध्याएपछि शैतान उहाँकहाँबाट केही समयका निम्ति गयो।
प्रभु येशू नासरतमा
14 अनि येशू आत्माको सामर्थ्यमा गालील फर्किनुभयो, र उहाँको कीर्ति वरिपरिको सारा इलाकाभरि फैलियो। 15 अनि उहाँले तिनीहरूका सभाघरहरूमा शिक्षा दिनुभयो र सबैबाट प्रशंसा पाउनुभयो। 16 अनि उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो; अनि विश्रामदिनमा उहाँ आफ्नो रीतिअनुसार सभाघरभित्र पस्‍नुभयो र पढ़्नलाई उभिनुभयो। 17 अनि उहाँलाई भविष्यवक्ता यशैयाको पुस्तक दिइयो। अनि जब उहाँले त्यो पुस्तक खोल्नुभयो, तब उहाँले त्यो ठाउँ निकाल्नुभयो, जहाँ यस्तो लेखिएको थियो:
18 ‘परमप्रभुको* आत्मा ममाथि हुनुहुन्छ, किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ; मन भाँचिएकाहरूलाई निको पार्न, कैदीहरूलाई छुटकाराको र अन्धाहरूलाई दृष्‍टि-प्राप्‍तिको प्रचार गर्न, पेलिएकाहरूलाई छुटकारा दिन 19 र परमप्रभुको* ग्रहणयोग्य वर्षको प्रचार गर्नका निम्ति उहाँले मलाई पठाउनुभएको छ।’
20 अनि उहाँले त्यो पुस्तक बन्द गर्नुभयो, र सेवकलाई त्यो फिर्ता दिएर उहाँ बस्‍नुभयो। अनि त्‍यस सभाघरमा भएका सबैका आँखाहरू उहाँमाथि अड़िएका थिए। 21 अनि उहाँले तिनीहरूलाई भन्‍न थाल्नुभयो: “आज पवित्रशास्त्रको यो वचन तिमीहरूका कानमा पूरा भएको छ।” 22 अनि सबैले उहाँको बारेमा गवाही दिए, र उहाँको मुखबाट निस्केका अनुग्रहपूर्ण वचनहरूमा सबै छक्‍क परे; अनि तिनीहरूले भने: “के यिनी यूसुफका छोरा होइनन् र?” 23 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूले साँच्‍चै यो उखान मलाई भन्‍नेछौ, ‘हे वैद्य, आफैलाई निको पार!’ कपर्नहुममा जे-जे गरिएका हामीले सुनेका छौं, ती कुराहरू यहाँ आफ्नो देशमा पनि गर!” 24 अनि उहाँले भन्‍नुभयो: “म तिमीहरूलाई साँचो भन्दछु, कुनै पनि भविष्यवक्ता आफ्नो देशमा ग्रहण गरिँदैन। 25 तर म तिमीहरूलाई साँचो गरी भन्दछु: एलियाको समयमा साढ़े तीन वर्षका निम्ति आकाश बन्द हुँदा सारा देशभरि ठूलो अनिकाल लागेको बेलामा इस्राएलमा अनेकौं विधवाहरू थिए, 26 तर सिडोन देशको सारेफातमा एउटी विधवा स्त्रीकहाँ बाहेक तीमध्ये अरू कसैकहाँ एलिया पठाइएनन्। 27 अनि भविष्यवक्ता एलिशाको समयमा इस्राएलमा धेरै कोरीहरू थिए, तर सिरियावासी नामानबाहेक तीमध्ये अरू कोही शुद्ध भएन।” 28 अनि यी कुराहरू सुनेर सभाघरमा भएका सबैजना रिसले चूर भए, 29 अनि तिनीहरू उठे, र तिनीहरूले उहाँलाई शहरदेखि बाहिर घचेटे र उहाँलाई उँधोमुन्टो पारी फ्याँकिदिनलाई उहाँलाई जुन डाँड़ामा तिनीहरूको शहर बनिएको थियो, त्यही डाँड़ाको डिलमा लगे। 30 तर उहाँ तिनीहरूकै बीचबाट छिरेर गइहाल्नुभयो।
कपर्नहुममा प्रभु येशूले अशुद्ध दुष्‍ट आत्मा निकाल्नुभयो
मर्कूस १:२१-२८
31 उहाँ तल गालीलको कपर्नहुम भन्‍ने शहरमा आउनुभयो, र विश्रामदिनहरूमा तिनीहरूलाई शिक्षा दिनुभयो। 32 अनि तिनीहरू उहाँको शिक्षामा छक्‍क परे; किनकि उहाँको वचन अधिकारसहितको थियो। 33 अनि त्यस सभाघरमा अशुद्ध दुष्‍ट आत्मा लागेको एकजना मानिस थियो, र त्यो यसो भन्दै चर्को सोरले करायो: 34 “हामीलाई छोड़िदिनुहोस्! हे नासरतका येशू! तपाईंसँग हाम्रो के काम छ र? के तपाईं हामीलाई नष्‍ट पार्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ, म तपाईंलाई चिन्छु, हे परमेश्‍वरका पवित्र जन!” 35 अनि येशूले यसो भन्दै त्यसलाई हकार्नुभयो: “चुप लाग्, र त्यसबाट निस्की!” अनि त्यस दुष्‍ट आत्माले त्यसलाई बीचैमा पछार्‍यो, र त्यसलाई कुनै चोट नपारीकन त्यसबाट निस्क्यो। 36 अनि तिनीहरू सबै छक्‍क परे, र आपसमा यसो भन्दै कुरा गरे: “यो कस्तो वचन हो! किनकि अधिकार र सामर्थ्यसहित यहाँले दुष्‍ट आत्माहरूलाई आज्ञा गर्नुहुन्छ, र ती निस्कन्छन्।” 37 अनि उहाँको कीर्ति वरिपरिको इलाकाको हरेक ठाउँमा फैलियो।
38 अनि उहाँ सभाघरबाट उठेर शिमोनको घरमा पस्‍नुभयो। अनि शिमोनकी सासू कड़ा ज्वरोले थलिएकी थिइन्, अनि तिनीहरूले उहाँलाई तिनका लागि विन्‍ती गरे। 39 अनि उहाँले तिनकै नजिकमा उभिएर ज्वरोलाई हकार्नुभयो; र त्यसले तिनलाई छोड़्यो; अनि तुरुन्तै तिनी उठिन्, र उहाँहरूको सेवा गरिन्।
40 अब घाम अस्ताउँदै गर्दा, जस-जसकहाँ नाना प्रकारका रोग लागेका बिरामीहरू थिए, उनीहरू सबैले तिनीहरूलाई उहाँकहाँ ल्याए; अनि उहाँले आफ्ना हातहरू तिनीहरू हरेकमाथि राख्‍नुभयो र तिनीहरूलाई निको पार्नुभयो। 41 अनि दुष्‍ट आत्माहरू पनि धेरैजनाबाट कराउँदै र यसो भन्दै निस्के: “तपाईं परमेश्‍वरका पुत्र, ‘ख्रीष्‍ट’ हुनुहुन्छ!” तर उहाँले तिनीहरूलाई हकारेर बोल्न दिनुभएन, किनकि उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनी तिनीहरूले चिन्दथे।
42 अनि दिन भएपछि उहाँ निस्केर एउटा सुनसान ठाउँमा जानुभयो; अनि मानिसहरू उहाँलाई खोज्दै उहाँकहाँ आए, र ‘तपाईं हामीकहाँबाट नजानुहोस्’ भनी उहाँलाई रोके। 43 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मैले अरू-अरू शहरहरूलाई पनि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नुपर्छ; किनकि यसैका निम्ति म पठाइएको हुँ।” 44 अनि उहाँ गालीलका सभाघरहरूमा प्रचार गर्दै रहनुभयो।