बप्तिस्मा दिने यूहन्नाको सेवा
मत्ती ३:१-११; मर्कूस १:१-८; यूहन्ना १:६-८; यूहन्ना १:१५-३७
3
सिजर तिबेरियासको राज्यको पन्ध्रौं वर्षमा, जब पोन्तियस पिलातस यहूदियाका राज्यपाल थिए, र हेरोद गालीलका राजाक, उनैका भाइ फिलिपचाहिँ इतुरिया र त्राखोनितिसका राजाक र लुसानियास अबिलेनेका राजाक थिए, 2 अनि हन्नास र कायफाचाहिँ महापूजाहारी थिए, तब उजाड़स्थानमा जकरियाका छोरा यूहन्नाकहाँ परमेश्वरको वचन आयो। 3 अनि उनी यर्दनको वरिपरिका सबै इलाकाहरूमा पापहरूको क्षमाका निम्ति पश्चात्तापकोख बप्तिस्माको प्रचार गर्दै आए; 4 जसरी भविष्यवक्ता यशैयाका वचनहरूको पुस्तकमा लेखिएको छ:‘उजाड़स्थानमा कराइरहनेको आवाज: “परमप्रभुको* बाटो तयार पार, उहाँका गोरेटाहरू सीधा बनाओ! 5 हरेक घाटी भरिनेछ, र हरेक पहाड़ र डाँड़ा होच्याइनेछन्; र टेढ़ामेढ़ा सोझा पारिनेछन् र खल्ड्याङ- खुल्डुङ बाटाहरू सम्म पारिनेछन्; 6 र सबै प्राणीले परमेश्वरको मुक्ति देख्नेछन्।” ’ग
7 तब उनीद्वारा बप्तिस्मा लिन आउने भीड़लाई उनले भने: “हे विषालु साँपका सन्तानहो, आउन लागेको क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो? 8 यसकारण पश्चात्ताप लायकका फल फलाओ, र ‘अब्राहाम हाम्रा पिता हुनुहुन्छ’ भनी मनमनमा भन्न नथाल; किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाहरूबाट अब्राहामका निम्ति सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। 9 अनि अहिले पनि रूखहरूको जरामा बन्चरो राखिएको छ; यसकारण असल फल नफलाउने हरेक रूख काटेर ढालिन्छ र आगोभित्र फालिन्छ।” 10 अनि मानिसहरूले यसो भन्दै उनलाई सोधे: “तब हामी के गरौं त?” 11 उनले जवाफ दिँदै तिनीहरूलाई भने: “जससँग दुईवटा दौरा छन्, त्यसले नहुनेलाई दिइहालोस्; र जससँग खानेकुरा छ, त्यसले पनि त्यसै गरोस्!” 12 तब महसूल उठाउनेहरू पनि बप्तिस्मा लिन आए, र उनलाई भने: “गुरुज्यू, हामी के गरौं त?” 13 अनि उनले तिनीहरूलाई भने: “तिमीहरूलाई जति तोकिएको छ, त्योभन्दा बेसी नलेओ!” 14 अनि सिपाहीहरूले पनि उनलाई यसो भन्दै सोधे: “अनि हामीचाहिँ के गरौं त?” अनि उनले तिनीहरूलाई भने: “कसैलाई अत्याचार नगर, कसैलाई झूटा दोष नलगाओ र आफ्नो तलबमा सन्तुष्ट रहो!”
15 अनि जब मानिसहरूले आशा गरिरहेका थिए, र सबैले यूहन्नाको विषयमा ‘कहीं यिनी नै पो ख्रीष्ट हुन् कि वा होइनन् कि’ भनी आ-आफ्नो मनमा सोचिरहेका थिए, 16 तब यूहन्नाले यसो भन्दै ती सबैलाई जवाफ दिए: “म साँच्चै तिमीहरूलाई पानीमा बप्तिस्मा दिन्छु, तर मभन्दा शक्तिशाली एकजना आउनुहुन्छ, जसका जुत्ताको फिता खोल्न लायकको म छैनँ; उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। 17 उहाँको नाङ्लो उहाँकै हातमा छ, र उहाँले आफ्नो खला बिलकुलै सफा पार्नुहुनेछ, र गहुँ आफ्नो ढुकुटीमा जम्मा पार्नुहुनेछ; तर भुसचाहिँ उहाँले ननिभ्ने आगोले जलाउनुहुनेछ।” 18 अनि अरू धेरै कुराहरूद्वारा अर्ती दिँदै उनले मानिसहरूलाई सुसमाचार सुनाए। 19 तर जब हेरोद राजाघ आफ्ना भाइ फिलिपकी पत्नी हेरोदियास, र आफूले गरेका सबै कुकर्महरूको विषयमा उनीद्वारा हप्काइए, 20 तब तिनले सबै कुरामाथि यो पनि थपे, अर्थात् तिनले यूहन्नालाई झ्यालखानामा थुने।
प्रभु येशूको बप्तिस्मा
मत्ती ३:१३-१४; मर्कूस १:९-११; यूहन्ना १:२९-३४
21 अब, जब सबै मानिसहरूले बप्तिस्मा लिए, तब यस्तो भयो: येशूले पनि बप्तिस्मा लिएर प्रार्थना गर्दै गर्नुहुँदा स्वर्ग खोलियो, 22 र पवित्र आत्मा, शारीरिक रूपमा ढुकुरजस्तै उहाँमाथि उत्रनुभयो, र स्वर्गबाट एउटा वाणी आयो, जसले भन्यो: “तिमी मेरा प्रिय पुत्र हौ; तिमीसँग म अत्यन्तै प्रसन्न छु।”
प्रभु येशूको वंशावली
मत्ती १:१-१६
23 अनि येशूले शुरु गर्नुहुँदा उहाँ आफै प्राय: तीस वर्षका हुनुहुन्थ्यो। उहाँ मानिएअनुसार यूसुफका छोरा हुनुहुन्थ्यो, जो एलीका छोरा थिए, 24 जो मत्थातका छोरा, जो लेवीका, जो मेल्कीका, जो यान्नाका, जो यूसुफका, 25 जो मत्ताथियाका, जो आमोसका, जो नहुमका, जो एस्लीका, जो नाग्गैका, 26 जो माथका, जो मत्ताथियाका, जो सेमेइका, जो यूसुफका, जो यहूदाका, 27 जो योअन्नाका, जो रेसाका, जो जरूबाबेलका, जो शाल्तिएलका, जो नेरीका, 28 जो मेल्कीका, जो अद्दीका, जो कोसामका, जो एल्मोदामका, जो एरका, 29 जो योसेका, जो एलिएजेरका, जो योरेइमका, जो मत्थातका, जो लेवीका। 30 जो शिमियोनका, जो यहूदाका, जो यूसुफका, जो योनानका, जो एलियाकिमका, 31 जो मेलेयाका, जो मेन्नाका, जो मत्ताथाका, जो नाथानका, जो दाऊदका, 32 जो यिशाईका, जो ओबेदका, जो बोअजका, जो साल्मोनका, जो नास्सोनका, 33 जो अमिनादाबका, जो आरामका, जो हेस्रोनका, जो पेरेसका, जो यहूदाका, 34 जो याकूबका, जो इसहाकका, जो अब्राहामका, जो तेरहका, जो नाहोरका, 35 जो सरूगका, जो रगाऊका, जो पेलेगका, जो एबेरका, जो शेलहका, 36 जो कैनानका, जो अर्पक्षदका, जो शेमका, जो नूहका, जो लामेकका, 37 जो मथुसालाका, जो हनोकका, जो यारेदका, जो मालेलेएलका, जो कैनानका, 38 जो एनोसका, जो सेतका, जो आदमका, जो परमेश्वरका छोरा थिए।