यरूशलेमको पुनर्स्थापना
8
अनि सेनाहरूको परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 2 “सेनाहरूको परमप्रभु यसो भन्‍नुहुन्छ, सियोनका निम्ति मैले ठूलो जलनले जलन राखेको छु, र त्यसका निम्ति मैले ठूलो क्रोधले जलन राखेको छु। 3 परमप्रभु यसो भन्‍नुहुन्छ, म सियोनकहाँ फर्केर आएको हुँ, अनि यरूशलेमको बीचमा म वास गर्नेछु; अनि यरूशलेम सत्यताको शहर भनिनेछ, र सेनाहरूको परमप्रभुको पहाड़चाहिँ पवित्र पर्वत कहलाइनेछ।
4 सेनाहरूको परमप्रभु यसो भन्‍नुहुन्छ, यरूशलेमका सड़कहरूमा फेरि वृद्ध पुरुषहरू र वृद्धा स्त्रीहरू बस्‍नेछन्; अनि उमेर धेरै भएकोले हरेकको हातमा आ-आफ्नो लौरो हुनेछ। 5 अनि त्यस शहरका सड़कहरू त्यसका सड़कहरूमा खेलिरहेका केटाहरू र केटीहरूले भरिएका हुनेछन्।
6 सेनाहरूको परमप्रभु यसो भन्‍नुहुन्छ, यी दिनहरूमा यस जातिका बाँकी रहेकाहरूको दृष्‍टिमा यो कुरा अद्‌भूत देखा पर्‍यो भने के मेरो दृष्‍टिमा पनि यो अद्‌भूत नै देखा पर्ला र?, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ।
7 सेनाहरूको परमप्रभु यसो भन्‍नुहुन्छ, हेर, म मेरो प्रजालाई पूर्वी देश र पश्‍चिमी देशबाट बचाउनेछु; 8 अनि म तिनीहरूलाई ल्याउनेछु, र तिनीहरूले यरूशलेमको बीचमा वास गर्नेछन्; अनि तिनीहरू मेरो प्रजा हुनेछन्, अनि सत्यता र धार्मिकतामा म तिनीहरूको परमेश्‍वर हुनेछु।
9 सेनाहरूको परमप्रभु यसो भन्‍नुहुन्छ: जुन भविष्यवक्ताहरू सेनाहरूको परमप्रभुको भवनको जग बसालिएको दिनमा थिए, ती भविष्यवक्ताहरूको मुखबाट यी दिनहरूमा यी वचन सुन्‍नेहरूहो, तिमीहरूका हातहरू बलिया होऊन्, र त्यो मन्दिर बनियोस्! 10 किनभने यी दिनहरूभन्दा पहिले मानिसका निम्ति ज्याला थिएन, न पशुका निम्ति ज्याला थियो; सङ्कष्‍टले गर्दा न बाहिर जानेलाई न भित्र आउनेलाई शान्ति थियो; किनकि मैले सबै मानिसहरूलाई एक-अर्काको विरोधमा उठाएको थिएँ। 11 तर अब यस जातिका बाँकी रहेकाहरूका निम्ति म पहिलेका दिनहरूमा झैं हुनेछैनँ, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ। 12 किनभने बीउ फलदायक हुनेछ; दाखको बोटले आफ्नो फल दिनेछ, र जमिनले आफ्नो उब्जनी दिनेछ, अनि आकाशले आफ्नो शीत दिनेछ; अनि म यस जातिका बाँकी रहेकाहरूलाई यी सबै कुराहरू आफ्नो अधिकारमा लिने तुल्याउनेछु। 13 अनि यस्तो हुनेछ: हे यहूदाको घराना, र हे इस्राएलको घराना, जसरी तिमीहरू अन्यजातिहरूको बीचमा एउटा श्राप थियौ, त्यसरी नै म तिमीहरूलाई बचाउनेछु, र तिमीहरू आशिष्‌ बन्‍नेछौ; नडराओ! तिमीहरूका हातहरू बलिया होऊन्!
14 किनभने सेनाहरूको परमप्रभु यसो भन्‍नुहुन्छ, तिमीहरूका पितापुर्खाहरूले मलाई रिस उठाउँदा जसरी मैले तिमीहरूलाई कष्‍ट दिने विचार गरें, र पछुताइनँ, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ, 15 त्यसरी नै मैले यी दिनहरूमा यरूशलेम र यहूदाको घरानालाई फेरि भलाइ गर्ने विचार गरेको छु; नडराओ! 16 तिमीहरूले गर्नुपर्ने कुराहरू यी हुन्: तिमीहरू हेरकले आ-आफ्नो छिमेकीसित साँचो कुरा बोल; आफ्ना मूलढोकाहरूमा सत्यता र मेलमिलापको न्याय गर! 17 अनि तिमीहरूमध्ये कसैले पनि आफ्नो छिमेकीको विरोधमा आफ्नो हृदयमा खराबी गर्ने युक्ति नरच र झूटा शपथलाई प्रेम नगर! किनकि यी सबै ती कुराहरू हुन्, जसलाई म घृणा गर्छु, परमप्रभु भन्‍नुहुन्छ।”
जाति-जातिका मानिसहरूले यरूशलेममा परमप्रभुको खोजी गर्नेछन्
18 अनि सेनाहरूको परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 19 “सेनाहरूको परमप्रभु यसो भन्‍नुहुन्छ, चौथो महिनाको उपवास, पाँचौं महिनाको उपवास, सातौं महिनाको उपवास र दसौं महिनाको उपवास यहूदाको घरानाका निम्ति हर्ष र आनन्द, अनि आनन्दित तुल्याउने तोकिएका चाड़हरू होऊन्! यसकारण सत्यता र शान्तिलाई प्रेम गर!
20 सेनाहरूको परमप्रभु यसो भन्‍नुहुन्छ, फेरि यस्तो हुनेछ: जाति-जातिका मानिसहरू र धेरै शहरहरूका बासिन्दाहरू आउनेछन्। 21 अनि एक शहरका बासिन्दाहरू अर्को शहरमा यसो भन्दै जानेछन्: ‘हामी परमप्रभुको सामु विन्‍ती चढ़ाउन र सेनाहरूको परमप्रभुको खोजी गर्न तुरुन्तै जाऔं; म पनि जानेछु!’ 22 अँ, धेरै जातिका मानिसहरू र बलिया जातिहरू यरूशलेममा सेनाहरूको परमप्रभुको खोजी गर्न र परमप्रभुको सामु विन्‍ती चढ़ाउन आउनेछन्।
23 सेनाहरूको परमप्रभु यसो भन्‍नुहुन्छ, ती दिनहरूमा यस्तो हुनेछ: अन्यजातिहरूका सबै भाषाहरूबाटका दसजना मानिसहरूले पक्रनेछन्, अँ, कुनै यहूदी मानिसको वस्त्रको किनार यसो भन्दै पक्रनेछन्: ‘हामी तिमीहरूसित जानेछौं; किनभने हामीले सुनेका छौं, परमेश्‍वर तिमीहरूको साथमा हुनुहुन्छ।’ ”