उपवासको सम्बन्धमा उठेको प्रश्‍न र परमप्रभुको जवाफ
7
अनि राजा दाराको चौथो वर्षमा यस्तो भयो: किस्लेव नामक नवौं महिनाको चौथो दिनमा परमप्रभुको वचन जकरियाकहाँ आयो; 2 जब तिनीहरूले शरेसेर, रेगेम्-मेलेक र उनीहरूका मानिसहरूलाई परमेश्‍वरको भवनमा परमप्रभुको सामु विन्‍ती चढ़ाउन 3 र सेनाहरूको परमप्रभुको भवनमा भएका पूजाहारीहरू अनि भविष्यवक्ताहरूलाई यसो भन्‍न पठाए: “के मैले पाँचौं महिनामा आफूलाई अलग पारेर रुनुपर्छ, जसरी मैले यी यतिका धेरै वर्षदेखि गर्दै आएको छु?”
4 तब सेनाहरूको परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 5 “यस देशका सबै मानिसहरू र यी पूजाहारीहरूलाई यसो भन: जब यी सत्तरी वर्षसम्म तिमीहरूले पाँचौं र सातौं महिनामा उपवास बस्यौ र विलाप गर्‍यौ, तब के तिमीहरूले मेरा निम्ति, साँच्‍चै मेरै निम्ति उपवास बस्यौ त? 6 अनि जब तिमीहरूले खायौ र जब तिमीहरूले पियौ, तब के तिमीहरूले आफ्नै निम्ति खाएनौ र आफ्नै निम्ति पिएनौ र? 7 के यी ती वचनहरू होइनन् र, जुन वचनहरू परमप्रभुले पहिलेका भविष्यवक्ताहरूद्वारा प्रचार गर्नुभयो, जुन समयमा यरूशलेम र त्यसको वरिपरिका त्यसका शहरहरू बसोबास गरिएका हुन्थे र उन्‍नतिशील हुन्थे, अनि दक्षिण देश र तराईमा मानिसहरू बसोबास गर्थे?”
8 अनि सेनाहरूको परमप्रभुको यसो भन्‍ने वचन जकरियाकहाँ आयो: 9 “सेनाहरूको परमप्रभु यसो भन्‍नुहुन्छ: तिमीहरू साँचो न्याय गर, र तिमीहरू हरेकले आ-आफ्नो दाजुभाइलाई दया र कोमल कृपाहरू देखाओ! 10 अनि विधवा र टुहुरा, परदेशी र दरिद्रलाई थिचोमिचो नगर; अनि तिमीहरूमध्ये कसैले पनि आफ्नो दाजुभाइको विरुद्ध आफ्नो हृदयमा खराबी गर्ने युक्ति नरच! 11 तर तिनीहरूले ध्यान दिन इन्कार गरे, र हठी काँध देखाए, अनि सुन्‍न नपरोस् भनेर आफ्ना कानहरू थुने 12 अँ, तिनीहरूले व्यवस्था र सेनाहरूको परमप्रभुले आफ्नो आत्माद्वारा पहिलेका भविष्यवक्ताहरूमार्फत पठाउनुभएका वचनहरू सुन्‍न नपरोस् भनी आफ्ना हृदयहरू बज्रजस्तै तुल्याए; यसैकारण सेनाहरूको परमप्रभुबाट ठूलो क्रोध आइपर्‍यो। 13 यसैकारण यस्तो भयो: जसरी उहाँले पुकार्नुहुँदा तिनीहरूले सुनेनन्, त्यसरी नै तिनीहरूले पुकार्दा मैले सुनिनँ, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ; 14 तर भुमरी चलाएर मैले तिनीहरूलाई तिनीहरूले नचिनेका सबै जातिहरूको बीचमा छरिदिएँ। यसरी तिनीहरूको पछि यो देश उजाड़ भयो, र कसैले त्यहाँबाट आउजाउ गरेन; किनभने तिनीहरूले यस मनोहर देशलाई उजाड़ पारे।”