उड़्दै गरेको पुस्तकको मुठाको दर्शन
5
तब म फर्कें र आफ्ना आँखाहरू माथि उठाएर मैले हेरें; अनि हेर, एउटा उड़्दै गरेको पुस्तकको मुठा! 2 अनि तिनले मलाई भने: “तिमी के देख्दैछौ?” अनि मैले जवाफ दिएँ: “म एउटा उड़्दै गरेको पुस्तकको मुठा देख्दैछु; त्यसको लमाइ बीस हात, र त्यसको चौड़ाइ दस हात छ।” 3 तब तिनले मलाई भने: “यो त्यो श्राप हो, जुन श्राप सारा पृथ्वीको सतहभरि निस्केर जान्छ; किनभने हरेक जसले चोरी गर्दछ, त्यो एकपट्टिको त्यसको लेखअनुसार नष्‍ट हुनेछ; अनि हरेक जसले शपथ खान्छ, त्यो अर्कोपट्टिको त्यसको लेखअनुसार नष्‍ट हुनेछ। 4 सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ, म त्यसलाई निकालेर ल्याउनेछु, अनि त्यो चोरको घरभित्र र मेरो नाममा झूटा शपथ खानेको घरभित्र पस्‍नेछ; अनि त्यो त्यसको घरको बीचमा रहनेछ, अनि यस घरलाई यसको काठ र यसका ढुङ्गाहरूसमेत नाश पार्नेछ।”
एउटा एपा र त्यसको बीचमा बसिरहेकी स्त्रीको दर्शन
5 तब मसित कुरा गर्ने ती दूत निस्के, र तिनले मलाई भने: “अब आफ्ना आँखाहरू उठाऊ, र त्यो निस्केर जाने चीज के हो, सो हेर!” 6 अनि मैले भनें: “यो के हो?” अनि तिनले भने: “यो त्यो एपा हो, जुन एपाचाहिँ निस्केर जान्छ।” तिनले फेरि भने: “सारा पृथ्वीभरि यो तिनीहरूको रूप हो।” 7 अनि हेर, एउटा सिसाको ढकना उठाइयो, अनि यो त एउटी स्त्री रहिछ, जो एपाको बीचमा बसिरहेकी रहिछ! 8 अनि तिनले भने: “यो दुष्‍टता हो।” अनि तिनले यस स्त्रीलाई त्यस एपाको बीचैमा फ्याँकिदिए; अनि तिनले एपाको मुखमा त्यो सिसाको ढकना फालिदिए। 9 तब मैले आफ्ना आँखाहरू माथि उठाएर हेरें; अनि हेर, दुईवटा स्त्रीहरू निस्केर आए; अनि तिनीहरूका पखेटाहरूमा हावा थियो; किनकि तिनीहरूका पखेटाहरू सारसका पखेटाहरूजस्तै थिए; अनि तिनीहरूले त्यो एपा पृथ्वी र आकाशको बीचमा उठाए। 10 तब मैले मसित कुरा गर्ने ती दूतलाई भनें: “यिनीहरूले त्यो एपा कहाँ लैजाँदैछन्?” 11 अनि तिनले मलाई भने: “शिनार देशमा त्यसका निम्ति एउटा घर बनाउन त्यो लगिएको छ; अनि त्यो घर स्थापित गरिनेछ, अनि त्यहाँ त्यो आफ्नो आधारमाथि बसालिनेछ।”