सुनको सामदान र दुईवटा जैतुनका रूखहरूको दर्शन
4
अनि मसित कुरा गर्ने ती दूत फेरि आए, र तिनले मलाई त्यस मानिसलाई जस्तो बिउँझाए, जसलाई आफ्नो निद्राबाट बिउँझाइन्छ; 2 अनि तिनले मलाई भने: “तिमी के देख्दैछौ?” अनि मैले भनें: “म हेरिरहेको छु; अनि हेर, एउटा सामदान, पूरै सुनको! र त्यसको टुप्पामा एउटा कचौरा छ; अनि त्यसमाथि त्यसका सातवटा बत्तीहरू छन्; अनि त्यसको टुप्पामा भएका ती सातवटा बत्तीहरूका निम्ति सातवटा नलीहरू छन्; 3 अनि त्यसको छेउमा दुईवटा जैतुनका रूखहरू छन् – कचौराको दाहिनेपट्टि एउटा र त्यसको देब्रेपट्टि अर्को।” 4 तब मैले जवाफ दिएर मसित कुरा गर्ने ती दूतलाई यसो भनें: “हे मेरा प्रभु, यी के हुन्?” 5 तब मसित कुरा गर्ने ती दूतले जवाफ दिएर मलाई भने: “यी के हुन्, के तिमी जान्दैनौ?” अनि मैले भनें: “अहँ, मेरा प्रभु!” 6 तब तिनले जवाफ दिएर मलाई यसो भने: “जरूबाबेलका निम्ति योचाहिँ परमप्रभुको यसो भन्‍ने वचन हो: न बलद्वारा, न शक्तिद्वारा, तर मेरो आत्माद्वारा, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ। 7 हे ठूलो पहाड़, तँ को होस्? जरूबाबेलको सामु तँ मैदान हुनेछस्! अनि ‘अनुग्रह, त्यसलाई अनुग्रह!’ भन्‍ने चिच्च्याहटहरूको साथ उसले शिर-ढुङ्गो निकालेर ल्याउनेछ।”
8 अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 9 "जरूबाबेलका हातहरूले त्यस भवनको जग बसालेका छन्; अनि उसकै हातहरूले त्यसलाई सिद्ध्याउने पनि छन्; अनि सेनाहरूका परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनुभएको रहेछ भनी तिमीले जान्‍नेछौ। 10 किनभने कसले साना कुराहरूको दिनलाई तुच्छ ठानेको छ? किनकि ती रमाउनेछन्, र जरूबाबेलको हातमा साहुल देख्‍नेछन्: ती त परमप्रभुका आँखाहरू हुन्, जुन सारा पृथ्वीभरि यताउता दौड़िरहन्छन्।”
11 तब मैले जवाफ दिएर तिनलाई भनें: “त्यस सामदानको दाहिनेपट्टि र त्यसको देब्रेपट्टि भएका ती दुईवटा जैतुनका रूखहरू के हुन्?” 12 अनि मैले फेरि जवाफ दिएर तिनलाई भनें: “यी दुई जैतुनका हाँगाहरू के हुन्, जसले ती दुईवटा सुनका नलीहरूद्वारा आफूबाट सुनौलो तेल खन्याउँछन्?” 13 अनि तिनले मलाई जवाफ दिएर भने: “यी के हुन्, के तिमी जान्दैनौ?” अनि मैले भनें: “अहँ, मेरा प्रभु!” 14 तब तिनले भने: “यी त ती दुईजना अभिषिक्त जनहरू हुन्, जो सम्पूर्ण पृथ्वीका प्रभुको छेउमा उभिन्छन्।”