नाप्‍ने डोरी लिएका मानिसको दर्शन
2
“अनि मैले आफ्ना आँखाहरू माथि उठाएर हेरें; अनि हेर, आफ्नो हातमा एउटा नाप्‍ने डोरी लिएका एकजना मानिस रहेछन्! 2 तब मैले भनें: “तपाईं कहाँ जाँदै हुनुहुन्छ?” अनि उनले मलाई भने: “म यरूशलेमलाई नाप्‍न, त्यसको चौड़ाइ कति रहेछ, र त्यसको लमाइ कति रहेछ, सो जान्‍न जाँदैछु।” 3 अनि हेर, मसित कुरा गर्ने ती दूत निस्केर गए; अनि अर्को दूत तिनलाई भेट्न निस्के, 4 र तिनलाई भने: “दगुर, यस जवान मानिसलाई यसो भन: त्यसभित्र भएका मानिसहरू र गाईबस्तुको भीड़ले गर्दा यरूशलेमचाहिँ पर्खालले नघेरिएका शहरहरूजस्तै बसोबास गरिनेछ; 5 किनभने म त्यसका निम्ति वरिपरि आगोको पर्खाल बन्‍नेछु, र त्यसको बीचमा महिमा हुनेछु, परमप्रभु भन्‍नुहुन्छ।
6 ओह, ओह! निस्केर आओ र उत्तरको देशबाट भागिहाल! परमप्रभु भन्‍नुहुन्छ; किनकि मैले तिमीहरूलाई आकाशका चार हावाहरूझैं फैलाएको छु, परमप्रभु भन्‍नुहुन्छ।’ 7 हे बाबेलकी छोरीसँग बस्‍ने सियोन, आफैलाई छुटा! 8 किनभने सेनाहरूको परमप्रभु यसो भन्‍नुहुन्छ, महिमाको पछाड़ि उहाँले मलाई ती जातिहरूकहाँ पठाउनुभयो, जसले तिमीहरूलाई लुटे; किनकि जसले तिमीहरूलाई छुन्छ, त्यसले उहाँको आँखाको नानीलाई छुन्छ। 9 किनभने हेर, म तिनीहरूमाथि आफ्नो मुड़्की हल्‍लाउनेछु, अनि तिनीहरू आफ्ना दासहरूको लुटको माल बन्‍नेछन्; अनि परमप्रभुले मलाई पठाउनुभएको रहेछ भनी तिमीहरूले जान्‍नेछौ।
10 हे सियोनकी छोरी, गीत गा, र रमा! किनकि हेर्, म आउँछु र तेरो बीचमा वास गर्नेछु, परमप्रभु भन्‍नुहुन्छ। 11 अनि त्यस दिन धेरै जातिहरू परमप्रभुसँग मिल्नेछन् र मेरो प्रजा हुनेछन्; अनि म तेरो बीचमा वास गर्नेछु, र सेनाहरूको परमप्रभुले नै मलाई तँकहाँ पठाउनुभएको रहेछ भनी तैंले जान्‍नेछस्। 12 अनि पवित्र देशमा परमप्रभुले आफ्नो भाग यहूदालाई आफ्नो अधिकारमा लिनुहुनेछ र यरूशलेमलाई फेरि चुन्‍नुहुनेछ। 13 हे सबै प्राणीहरूहो, परमप्रभुको सामु चुपचाप बस! किनकि उहाँ आफ्नो पवित्र वासस्थानबाट जागिउठ्नुभएको छ।”