इस्राएलीहरूप्रति परमप्रभुको गुनासो
6
“परमप्रभु के भन्‍नुहुन्छ, सो अब तिमीहरूले सुन! उठ्, पहाड़हरूको सामु मुद्दा लड़्, र डाँड़ाहरूले तेरो सोर सुनून्! 2 हे पहाड़हरूहो, र हे पृथ्वीका बलिया जगहरूहो, परमप्रभुको मुद्दा सुन; किनकि आफ्नो प्रजासित परमप्रभुको मुद्दा छ; अनि उहाँले इस्राएलसित मुद्दा लड़्नुहुनेछ।
3 हे मेरो प्रजाहो, मैले तिमीलाई के गरेको छु, र कुन कुरामा तिमीलाई थकित तुल्याएको छु? मेरो विरोधमा जवाफ देऊ! 4 किनकि मैले तिमीलाई मिस्र देशबाट निकालेर ल्याएँ र दासहरूको घरबाट तिमीलाई दाम तिरेर छुटाएँ; अनि मैले मोशा, हारून र मरियमलाई तिम्रो अघि-अघि पठाएँ। 5 हे मेरो प्रजाहो, मोआबको राजा बालाकले के सल्‍लाह गर्‍यो, र बओरका छोरा बालामले उसलाई के जवाफ दियो, शित्तीमदेखि गिल्गालसम्मको कुरा अब सम्झना गर, र तिमीहरूले परमप्रभुको धार्मिकता जान्‍न सक!
6 के लिएर म परमप्रभुको सामु आऊँ र उच्‍च परमेश्‍वरको सामु झुकूँ? के होमबलिहरू, अँ, एकवर्षे बाछाहरू लिएर म उहाँको सामु आऊँ? 7 के हजारौं भेड़ासित कि तेलका दस हजारौं नदीहरूसित परमप्रभु प्रसन्‍न हुनुहुन्छ र? के मेरो अपराधका निम्ति म आफ्नै जेठा छोरालाई, मेरो प्राणको पापका निम्ति आफ्नै शरीरको फल दिऊँ?
8 हे मानिस, असल के हो, सो उहाँले तिमीलाई बताइदिनुभएको छ; अनि न्यायसङ्गत काम गर्नु, कृपालाई प्रेम गर्नु र नम्रतापूर्वक आफ्ना परमेश्‍वरको साथमा हिँड़्नुबाहेक परमेश्‍वरले तिमीबाट अरू के कुरा चाहुनुहुन्छ र?
9 परमप्रभुको सोरले शहरलाई पुकार्दछ, अनि खाँटी बुद्धिले तपाईंको नाम देख्‍नेछ; तिमीहरूले छड़ीको र त्यसलाई ठहराउनुहुनेको कुरा सुन! 10 के दुष्‍टको घरमा अझै पनि दुष्‍टताका धनसम्पत्तिहरू र सानो पारिएको घृणित पाथी छन्? 11 के दुष्‍ट तराजु र छलका ढकहरूको थैलो राख्‍ने मानिसलाई म शुद्ध ठानूँ? 12 किनभने त्यसका धनी मानिसहरू अत्याचारले भरपूर छन्, र त्यसका बासिन्दाहरूले झूट बोलेका छन्, अनि तिनीहरूको मुखभित्र तिनीहरूको जिब्रो छली छ।
13 यसैकारण तेरा पापहरूको कारणले म पनि तँलाई हिर्काएर र तँलाई उजाड़ पारेर तँलाई बिरामी पार्नेछु। 14 तैंले खानेछस्, तर तृप्‍त हुनेछैनस्; अनि तेरो बीचमा तेरो भोक रहिरहनेछ; अनि तैंले उठाएर लैजानेछस्, तर बचाउनेछैनस्; तर जे तैंले बचाइराख्छस्, त्यसलाई म तरवारको हातमा सुम्पिदिनेछु। 15 तैंले छर्ने त छस्, तर कटनी गर्नेछैनस्; तैंले जैतुनको तेल त पेल्नेछस्, तर आफ्नो शरीरमा तेल लगाउन पाउनेछैनस्; अनि तैंले नयाँ दाखमद्य त पेल्नेछस्, तर तैंले दाखमद्य पिउन पाउनेछैनस्।
16 किनकि ओम्रीका विधिहरू र आहाबको घरानाका सबै कामहरू पालन गरिएका छन्; अनि तिमीहरू तिनीहरूका सल्‍लाहहरूअनुसार हिँड़्छौ, यस हेतुले कि म तँलाई उजाड़ पारूँ, र त्यसका बासिन्दाहरूचाहिँ एउटा खिसीको पात्र बनून्; यसैकारण तिमीहरूले मेरो प्रजाको निन्दा भोग्‍नेछौ।”