बेतलेहेमबाट अनन्तकालिक शासक आउनुहुनेछ
5
“अब हे दलकी छोरी, दलहरू बाँध्! त्यसले हाम्रो विरोधमा घेरा हालेको छ; तिनीहरूले इस्राएलका न्यायकर्तालाई लाठोले गालामा हिर्काउनेछन्। 2 तर तँचाहिँ, हे बेतलेहेम एफ्राता, तँ यहूदाका हजारौंको बीचमा सानो छस्; तापनि तँबाट मेरा निम्ति एकजना निस्केर आउनेछन्, जो इस्राएलका शासक हुनेछन्, जसका उद्गमहरू त प्राचीनकालदेखि, अँ, अनन्तकालदेखि नै हुन्। 3 यसकारण जबसम्म प्रसूति वेदनामा परेकीले जन्माएकी हुँदिन, त्यस बेलासम्म उहाँले तिनीहरूलाई त्यागिदिनुहुनेछ; तब उनका दाजुभाइहरूको बाँकी भाग इस्राएलीहरूकहाँ फर्केर आउनेछ। 4 अनि उनी उभिनेछन्, र परमप्रभुको सामर्थ्यमा, परमप्रभु आफ्ना परमेश्‍वरको नामको प्रतापमा उनले तिनीहरूलाई गोठाला गर्नेछन्; अनि तिनीहरू सुरक्षित बस्‍नेछन्; किनभने अब उनी पृथ्वीका छेउ-छेउसम्म महान् हुनेछन्। 5 अनि अश्शूर हाम्रो देशभित्र आउँदा उनी नै शान्ति हुनेछन्; अनि जब त्यसले हाम्रा महलहरूमा टेक्नेछ, तब हामी त्यसको विरोधमा सात गोठालाहरू र आठ शासकहरूलाई खड़ा गर्नेछौं। 6 अनि उनीहरूले अश्शूर देश र निम्रोदको देश, त्यसका पस्‍ने ठाउँहरूमा नै तरवारले उजाड़ पार्नेछन्; यसरी जब अश्शूर हाम्रो देशभित्र आउँछ र हाम्रा सिमानाहरूभित्र टेक्छ, तब उनले हामीलाई त्यसको हातबाट छुटाउनेछन्।
7 अनि याकूबको बाँकी रहेको भाग धेरै जातिहरूको बीचमा परमप्रभुबाटको शीतजस्तो, घाँसमाथि बर्सेका झरीहरूजस्तो हुनेछ, जसले न मानिसलाई पर्खन्छ, न मानिसका सन्तानका निम्ति बाटो हेर्छ। 8 अनि याकूबको बाँकी रहेको भागचाहिँ अन्यजातिहरूको बीचमा, धेरै मानिसहरूको माझमा वनका पशुहरूको बीचमा सिंहझैं, भेड़ाका बगालहरूको बीचमा जवान सिंहझैं हुनेछ; त्यो तिनीहरूको बीचबाट भएर गयो भने त्यसले कुल्चीमिल्ची पार्छ र च्यातेर धुजा-धुजा पनि पार्छ, अनि कसैले छुटाउन सक्दैन। 9 तेरो हात तेरा विरोधीहरूभन्दा माथि उठ्नेछ र तेरा सबै शत्रुहरू नष्‍ट हुनेछन्।
10 अनि त्यस दिन यस्तो हुनेछ, परमप्रभु भन्‍नुहुन्छ: म तेरा घोड़ाहरू तेरै बीचबाट नाश गर्नेछु र तेरा रथहरू नष्‍ट पार्नेछु; 11 अनि म तेरा देशका शहरहरू नष्‍ट पार्नेछु र तेरा किल्‍लाहरू ढालिदिनेछु। 12 अनि तेरो हातबाट म जादुहरू नाश पारिदिनेछु, र तँसँग जोखना हेर्नेहरू फेरि कहिल्यै हुनेछैनन्। 13 अनि तेरा खोपिएका मूर्तिहरू र तेरा खाँबारूपी मूर्तिहरू म तेरो बीचबाट नष्‍ट पार्नेछु, अनि तैंले फेरि कहिल्यै आफ्ना हातहरूको कामलाई दण्‍डवत्‌ गर्नेछैनस्। 14 अनि म तेरो बीचबाट तेरा अशेराका मूर्तिहरू उखालिदिनेछु; यसरी म तेरा शहरहरू नष्‍ट पार्नेछु। 15 अनि म अन्यजातिहरूलाई रिस र क्रोधको साथ बदला दिनेछु, यस्तो तिनीहरूले सुनेकै छैनन्।”