इस्राएल कसरी नाश हुनेछ: तीनवटा विकल्‍परूपी दर्शनहरू
7
“प्रभु यहोवाले मलाई यसरी देखाउनुभएको छ; अनि हेर, पछिल्‍लो घाँस उम्रने बेलाको शुरुमा उहाँले फटेङ्ग्राहरू रचिरहनुभएको थियो; अनि हेर, योचाहिँ राजाको घाँस कटाइपछिको पछिल्‍लो घाँस थियो। 2 अनि यस्तो भयो: जब ती फटेङ्ग्राहरूले त्यस देशका घाँसपात खाएर सिद्ध्याए, तब मैले भनें: ‘हे प्रभु यहोवा, म तपाईंलाई विन्‍ती गर्दछु, क्षमा गर्नुहोस्! कसले याकूबलाई उठाउनेछ; किनकि त्यो त सानो छ?’ 3 यस विषयमा परमप्रभु पछुताउनुभयो; ‘यो हुनेछैन,’ परमप्रभु भन्‍नुहुन्छ।
4 प्रभु यहोवाले मलाई यसरी देखाउनुभएको छ; अनि हेर, प्रभु यहोवाले आगोले संघर्ष गर्नका निम्ति त्यसलाई बोलाइरहनुभएको थियो, अनि त्यसले गहिरो सागरलाई निलिदियो र यो भाग खाइदियो। 5 तब मैले भनें: ‘हे प्रभु यहोवा, म तपाईंलाई विन्‍ती गर्दछु, थाम्‍नुहोस्! कसले याकूबलाई उठाउनेछ; किनकि त्यो त सानो छ?’ 6 यस विषयमा परमप्रभु पछुताउनुभयो; ‘यो पनि हुनेछैन,’ प्रभु यहोवा भन्‍नुहुन्छ।
7 उहाँले मलाई यसरी देखाउनुभयो; अनि हेर, प्रभु आफ्नो हातमा एउटा साहुल लिएर साहुल लगाएर बनाइएको एउटा पर्खालमाथि उभिरहनुभएको थियो। 8 अनि परमप्रभुले मलाई भन्‍नुभयो: ‘आमोस, तिमीले के देखिरहेका छौ?’ अनि मैले भनें: ‘एउटा साहुल।’ तब प्रभुले भन्‍नुभयो: ‘हेर, मेरो प्रजा इस्राएलको बीचमा म एउटा साहुल लगाउनेछु; म फेरि कहिल्यै तिनीहरूबाट भएर जानेछैनँ। 9 अनि इसहाकका उच्‍च स्थानहरू उजाड़ हुनेछन्, र इस्राएलका पवित्रस्थानहरू नाश पारिनेछन्; अनि एउटा तरवार लिएर म यारोबामको घरानाको विरोधमा उठ्नेछु।’ ”
आमोस र अमस्याह
10 तब बेतएलका पूजाहारी अमस्याहले यसो भन्दै इस्राएलका राजा यारोबामकहाँ खबर पठाए: “इस्राएलको घरानाको बीचमा आमोसले तपाईंको विरोधमा षड़्यन्‍त्र रचेको छ; यस देशले त्यसका सबै वचनहरू सहन सक्दैन। 11 किनभने आमोसले यसो भन्छ: ‘यारोबाम तरवारले मर्नेछन्, र इस्राएलचाहिँ निश्‍चय आफ्नो देशबाट कैदमा जानेछ।’ ” 12 अनि अमस्याहले आमोसलाई यसो भने: “हे दर्शी, जाऊ! यहूदा देशमा भागेर जाऊ! अनि त्यहीं रोटी खाऊ, र त्यहीं भविष्यवाणी गर! 13 तर बेतएलमा फेरि कहिल्यै भविष्यवाणी नगर; किनभने यो त राजाको पवित्रस्थान हो, र यो त राजभवन हो।” 14 तब आमोसले जवाफ दिएर अमस्याहलाई भने: “म त कुनै भविष्यवक्ता थिइनँ, न ता म कुनै भविष्यवक्ताको छोरा हुँ; तर म त एउटा गोठाला र किम्बूहरू बटुल्नेवाला थिएँ; 15 अनि बगालको पछि लागिरहेकैबाट परमप्रभुले मलाई लिनुभयो; अनि परमप्रभुले मलाई भन्‍नुभयो: ‘जाऊ, मेरो प्रजा इस्राएललाई भविष्यवाणी गर!’ 16 यसकारण अब परमप्रभुको वचन सुन! तिमी भन्छौ: ‘इस्राएलको विरोधमा भविष्यवाणी नगर, र इसहाकको घरानाको विरोधमा आफ्नो वचन नसुनाऊ!’ 17 यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, तिम्री पत्‍नी शहरमा वेश्या हुनेछिन्, अनि तिम्रा छोराहरू र तिम्रा छोरीहरू तरवारले ढालिनेछन्, र तिम्रो जमिन डोरीले नापी-नापी बाँड़िनेछ; अनि तिमीचाहिँ अशुद्ध देशमा मर्नेछौ; अनि इस्राएल निश्‍चय आफ्नो देशबाट कैदमा जानेछ।’ ”