इस्राएल नाश हुनेछ
6
“तिनीहरूलाई हाय, जो सियोनमा निश्‍चिन्‍त भएर बस्छन् र जसले सामरियाको पहाड़माथि भरोसा राख्छन्, जसलाई ती जातिहरूका प्रधान भन्‍ने नाम दिइएको छ, जुन-जुन जातिहरूकहाँ इस्राएलको घराना आयो! 2 पारि कल्नेमा जाओ, र हेर! अनि त्यहाँबाट महान् हमातमा जाओ; त्यसपछि तल पलिस्तीहरूको गातमा जाओ! के तिनीहरू यी राज्यहरूभन्दा असल छन्? अथवा के तिनीहरूको सिमाना तिमीहरूको सिमानाभन्दा ठूलो छ? 3 तिमीहरू, जसले खराब दिनलाई पर सार्छौ र अत्याचारको आसन नजिक आउन लाउँछौ; 4 जो हात्तीदाँतका पलङहरूमा ढल्कन्छौ, आफ्ना ओछ्यानहरूमाथि लमतन्‍न पर्छौ, र जसले बगालबाट पाठाहरू र गोठको बीचबाट बाछाहरू खान्छौ; 5 जो सितारको धुनमा गुनगुनाउँछौ, र दाऊदले जस्तै आफ्ना निम्ति बाजाहरू आविष्कार गर्छौ; 6 जो डबका-डबका दाखमद्य पिउँछौ र आफूमाथि उच्‍च स्तरका तेलहरू लगाउँछौ, तर यूसुफको सङ्कष्‍टको सम्बन्धमा दुःखित हुँदैनौ। 7 यसैकारण अब तिनीहरू पहिले कैदमा जानेहरूसित कैदमा जानेछन्, र लमतन्‍न भएर पस्रनेहरूको भोजभतेर हटाइनेछ। 8 प्रभु यहोवाले आफ्नै नाममा शपथ खानुभएको छ, परमप्रभु सेनाहरूका परमेश्‍वर भन्‍नुहुन्छ, म याकूबको सर्वश्रेष्‍ठतालाई हेला गर्छु र उसका महलहरूलाई घृणा गर्छु; यसकारण म त्यस शहरलाई त्यसमा भएका सबै थोकहरूसितै सुम्पिदिनेछु। 9 अनि यस्तो हुनेछ: एउटा घरमा दस मानिस बाँकी रहे तापनि तिनीहरू मर्नेछन्। 10 अनि त्यस घरबाट हड्डीहरू बाहिर निकाल्नका निम्ति त्यसको काकाले त्यसलाई जलाउनेसित मिलेर त्यसलाई उठाएर लैजानेछन् र त्यस घरभित्र भएकोलाई भन्‍नेछन्: ‘के तिमीसित अझै कोही छ?’ अनि त्यसले भन्‍नेछ: ‘छैन!’ तब तिनले भन्‍नेछन्: ‘चुप लाग; किनकि हामीले परमप्रभुको नाम लिनुहुँदैन!’ 11 किनभने हेर, परमप्रभुले आज्ञा गर्नुहुन्छ, र उहाँले त्यस ठूलो घरलाई हिर्काएर त्यसलाई टुक्रै-टुक्रा पार्नुहुनेछ र त्यस सानो घरलाई चाहिँ हिर्काएर धाँदैधाँदो तुल्याउनुहुन्छ।
12 के चट्टानमाथि घोड़ाहरू दगुर्लान् र? अथवा के कसैले गोरुहरू लिएर त्यहाँ जोत्ला र? किनकि तिमीहरूले न्यायलाई पित्तमा र धार्मिकताको फललाई तीतेपातीमा बदली गरिदिएका छौ;
13 तिमीहरू, जो हुँदै नभएको कुराका निम्ति रमाउँछौ र भन्छौ: ‘के हामीले आफ्नै बलले आफ्ना निम्ति सिङहरू कब्जा गरेका छैनौं र?’ 14 तर हे इस्राएलको घरानाहो, हेर, तिमीहरूको विरोधमा म एउटा जातिलाई खड़ा गर्नेछु, परमप्रभु सेनाहरूका परमेश्‍वर भन्‍नुहुन्छ; अनि तिनीहरूले तिमीहरूलाई हमातको पस्‍ने ठाउँदेखि लिएर उजाड़स्थानको नदीसम्मै कष्‍ट दिनेछन्।”