इस्राएलले मूर्तिपूजा गर्न छोड़्‍दै छोड़्‍दैन
8
“आफ्नो मुखमा तुरही लगाऊ! परमप्रभुको भवनको विरोधमा त्यो चीलझैं आउनेछ; किनभने तिनीहरूले मेरो वाचा तोड़ेका छन् र मेरो व्यवस्थाको विरोधमा अपराध गरेका छन्। 2 इस्राएलले मलाई पुकार्नेछ: ‘हे मेरा परमेश्‍वर, हामी तपाईंलाई चिन्छौं।’ 3 इस्राएलले जे असल छ, त्यो फालिदिएको छ; शत्रुले त्यसको पिछा गर्नेछ।
4 तिनीहरूले राजाहरूलाई नियुक्त गरेका छन्, तर मद्वारा होइन; तिनीहरूले शासकहरूलाई ठहऱ्याएका छन्, तर मलाई थाहा भएन; तिनीहरू आफै नाश होऊन् भन्‍ने हेतुले तिनीहरूले आफ्नो चाँदी र आफ्नो सुनबाट आफ्ना निम्ति मूर्तिहरू बनाएका छन्। 5 हे सामरिया, तेरो बाछाले तँलाई फालिदिएको छ; तिनीहरूको विरोधमा मेरो रिस दन्किएको छ; कहिलेसम्म तिनीहरू निर्दोष अवस्थामा आइपुग्दैनन्? 6 किनकि इस्राएलबाट यो पनि भयो: एउटा कारिगरले त्यसलाई बनायो; यसैले त्यो परमेश्‍वर हुँदै होइन; तर सामरियाको त्यो बाछा टुक्रा-टुक्रा हुनेछ। 7 किनभने तिनीहरूले हावा छरेका छन्; यसैले तिनीहरूले भुमरीको कटनी गर्नेछन्; त्यसको नल नै छैन; कोपिलाले अन्‍न उत्पादन गर्नेछैन; त्यसले उत्पादन गरिहाले तापनि परदेशीहरूले त्यसलाई निलिदिनेछन्।
8 इस्राएल निलिएको छ; अब तिनीहरू अन्यजातिहरूको बीचमा एउटा यस्तो भाँड़ासरह हुनेछन्, जुन भाँड़ामा कुनै आनन्द छैन। 9 किनकि एकलै-एकलै हिँड़्‍ने जङ्गली गधाजस्तो तिनीहरू अश्शूरकहाँ गएका छन्; एप्रैमले प्रेमीहरूलाई भाड़ामा लिएको छ। 10 अँ, जाति-जातिको बीचमा तिनीहरूले भाड़ामा लिए तापनि अब म तिनीहरूलाई बटुल्नेछु, र शासकहरूका राजाको भारीले गर्दा तिनीहरू थोरै हुन थाल्नेछन्।
11 एप्रैमले पाप गर्नलाई वेदीहरूको संख्या बढ़ाएको हुनाले ती वेदीहरू त्यसका निम्ति पाप गर्ने वेदीहरू भएका छन्। 12 मैले त्यसलाई मेरो व्यवस्थाका ठूला-ठूला कुराहरू लेखेको छु, तर ती कुराहरू पराई कुरा गनिए। 13 मलाई दान गरिएका बलिहरूको रूपमा तिनीहरूले मासु बलि गर्छन् र त्यो खान्छन्; तर परमप्रभुले तिनलाई ग्रहण गर्नुहुन्‍न; अब उहाँले तिनीहरूको अधर्मको सम्झना गर्नुहुनेछ र तिनीहरूका पापहरूको दण्ड दिनुहुनेछ; तिनीहरू मिस्रमा फर्कनेछन्। 14 किनकि इस्राएलले आफ्ना सृष्‍टिकर्तालाई बिर्सेको छ, र मन्दिरहरू बनाउँछ; अनि यहूदाले चाहिँ पर्खालले घेरिएका शहरहरूको संख्या बढ़ाएको छ; तर म उसका शहरहरूमा एउटा आगो पठाइदिनेछु, जसले उसका महलहरू भस्म पार्नेछ।”