इस्राएलको विद्रोह
7
“जब मैले इस्राएललाई निको पार्न चाहें, तब एप्रैमको अधर्म र सामरियाका दुष्‍टताहरू प्रकट भए; किनभने तिनीहरू छली काम गर्छन्; अनि चोर भित्र पस्दछ, र डाँकूहरूको दलले बाहिर लुट्दछ। 2 अनि तिनीहरूको सारा दुष्‍टता म सम्झना गर्छु भनी तिनीहरू आफ्नो हृदयमा विचार गर्दैनन्; अब तिनीहरूकै कामहरूले तिनीहरूलाई घेरेका छन्; ती मेरो सामु छन्।
3 तिनीहरू राजालाई आफ्नो दुष्‍टताले, र शासकहरूलाई आफ्ना झूटा कुराहरूले खुशी पार्छन्। 4 तिनीहरू सबैजना व्यभिचारीहरू, रोटी पकाउनेद्वारा तताइएको तन्दुरजस्ता हुन्, जसमा रोटी पकाउनेले पीठो मुछेपछि त्यो खमिरी नहोउन्जेल आगो चलाउन छोड़्छ। 5 हाम्रा राजाको दिनमा शासकहरूले दाखमद्यको तापले उसलाई बिरामी तुल्याए; उसले गिल्‍ला गर्नेहरूको साथमा आफ्नो हात फैलायो। 6 किनकि तिनीहरूले ढुकेर बसी-बसी आफ्नो हृदयलाई तन्दुरजस्तो तयार पारेका छन्; तिनीहरूको रोटी पकाउने रातभरि सुत्छ; अनि बिहानै त्यो दन्किरहेको आगोझैं जल्दछ। 7 तिनीहरू सबैजना तन्दुरझैं ताता छन्, र तिनीहरूले आफ्ना न्यायकर्ताहरूलाई निलेका छन्; तिनीहरूका सबै राजाहरू मारिएका छन्; तिनीहरूको बीचमा मलाई पुकार्ने कोही पनि छैन।
8 एप्रैमले चाहिँ आफूलाई अन्यजातिहरूसँग मिसाएको छ; एप्रैम नपल्टाइएको रोटी हो। 9 परदेशीहरूले त्यसको बल खाइदिएका छन्, तर त्यसले यो जान्दैन; अँ, त्यसमाथि यहाँ-त्यहाँ फुलेका केशहरू छन्, तरै पनि त्यसले यो जान्दैन। 10 अनि इस्राएलको घमण्डले त्यसकै चेहरामा साक्षी दिन्छ; अनि यो सबै कुराको कारणले तिनीहरू न परमप्रभु आफ्ना परमेश्‍वरकहाँ फर्केर जान्छन्, न उहाँको खोजी गर्छन्। 11 अनि एप्रैम समझविनाको, मूर्ख ढुकुरजस्तो छ; तिनीहरू मिस्रलाई बोलाउँछन्, तिनीहरू अश्शूरकहाँ जान्छन्। 12 जब तिनीहरू जान्छन्, तब म तिनीहरूमाथि मेरो जाल फैलाउनेछु; म तिनीहरूलाई आकाशका चराहरूलाई झैं झार्नेछु; तिनीहरूको समुदायले सुनेअनुसार म तिनीहरूलाई ताड़ना दिनेछु।
13 हाय तिनीहरूलाई! किनभने तिनीहरू मबाट भागेका छन्; तिनीहरूमाथि विनाश! किनकि तिनीहरूले मेरो विरोधमा अपराध गरेका छन्; मैले तिनीहरूलाई दाम तिरेर छुटाएको थिएँ, तरै पनि तिनीहरूले मेरो विरोधमा झूटैझूट बोलेका छन्। 14 अनि तिनीहरूले आफ्ना पलङहरूमाथि रोइकराइ गर्दा तिनीहरूले मलाई आफ्नो हृदयले पुकारेनन्; तिनीहरू अन्‍न र नयाँ दाखमद्यका निम्ति भेला हुन्छन्; तर तिनीहरू मेरो विरोधमा विद्रोह गर्छन्। 15 मैले तालिम दिएर तिनीहरूका पाखुराहरू बलियो पारेको छु; तरै पनि मेरो विरोधमा तिनीहरू दुष्‍ट कल्पना गर्छन् 16 तिनीहरू फर्कन त फर्कन्छन्, तर परमप्रधानकहाँ होइन; तिनीहरू धोका दिने धनुजस्ता छन्; तिनीहरूको जिब्रोको क्रोधले गर्दा तिनीहरूका शासकहरू तरवारले ढालिनेछन्; मिस्र देशमा तिनीहरूको खिसीको कारण यही हुनेछ।”