इस्राएलको निम्‍ति परमप्रभुको दण्ड
5
“हे पूजाहारीहरूहो, यो कुरा सुन! अनि हे इस्राएलको घरानाहो, ध्यान देओ! अनि हे राजाको घरानाहो, कान लगाओ! किनभने तिमीहरूकै न्याय हुनेछ; किनकि मिस्पामा तिमीहरू एउटा पासो, र ताबोरमाथि तिमीहरू एउटा फैलाइएको जाल भएका छौ। 2 अनि म त तिनीहरू सबैको हप्काउनेवाला हुँ; तैपनि विद्रोहीहरू काटमार गर्ने काममा गहिरेका छन्। 3 म एप्रैमलाई चिन्छु, र इस्राएल मबाट लुकेको छैन; किनभने हे एप्रैम, अहिले तँ वेश्याकर्म गर्दछस्, र इस्राएल अशुद्ध भएको छ। 4 तिनीहरूले आफ्ना कामहरू आफ्ना परमेश्‍वरकहाँ फर्कनमा लगाउँदैनन्; किनकि तिनीहरूको बीचमा वेश्याकर्महरूको आत्मा छ, र तिनीहरूले परमप्रभुलाई चिनेका छैनन्। 5 अनि इस्राएलको घमण्डले त्यसकै चेहराको सामु साक्षी दिन्छ; यसकारण इस्राएल र एप्रैमले आफ्नै अधर्ममा ठेस खानेछन्; यहूदाले पनि तिनीहरूसँगै ठेस खानेछ 6 आफ्ना भेड़ाबाख्राहरू र आफ्ना गाईबस्तुहरू लिएर तिनीहरू परमप्रभुलाई खोज्‍न जानेछन्, तर तिनीहरूले उहाँलाई भेट्टाउनेछैनन्; उहाँ तिनीहरूबाट हट्नुभएको छ। 7 तिनीहरूले परमप्रभुसित विश्‍वासघात गरेका छन्; किनभने तिनीहरूले पराई छोराछोरीहरू जन्माएका छन्; अब औंसीले तिनीहरूलाई तिनीहरूको भागहरूसितै निल्नेछ।
8 गिबामा नरसिङ्गा र रामामा तुरही फुकिदेओ! बेत-आवनमा जोड़ले चिच्च्याओ! हे बिन्यामिन, तेरो पछिल्तिर! 9 हप्कीको दिनमा एप्रैम उजाड़ हुनेछ; जुन कुरा निश्‍चय हुनेछ, सो मैले इस्राएलका कुलहरूको बीचमा बताइदिएको छु।
10 यहूदाका शासकहरू सिमाना सार्नेहरूजस्ता छन्; यसकारण म उनीहरूमाथि आफ्नो क्रोध पानीझैं खन्याउनेछु। 11 एप्रैम थिचोमिचोमा पर्‍यो र न्यायमा पिँधियो; किनभने त्यो इच्छापूर्वक आदेशअनुसार चल्यो। 12 यसकारण म एप्रैमका निम्ति कपड़ा-कीरा र यहूदाको घरानाका निम्ति सड़ावट बन्‍नेछु।
13 जब एप्रैमले आफ्नो रोग, र यहूदाले आफ्नो घाउ देख्यो, तब एप्रैम अश्शूरकहाँ गयो, र त्‍यसले राजा यारेबकहाँ पठायो; तरै पनि उसले तिमीहरूलाई निको पार्न सकेन, न ता तिमीहरूको घाउ जाती पार्न सक्यो। 14 किनकि म एप्रैमका निम्ति एउटा सिंहजस्तो, र यहूदाको घरानाका निम्ति एउटा जवान सिंहजस्तो बन्‍नेछु; म, अँ, म नै च्यातचुत पार्नेछु, र गइहाल्नेछु; म उठाएर लैजानेछु, र कसैले त्यसलाई छुटाउनेछैन। 15 जबसम्म तिनीहरूले आफ्नो अपराध स्वीकार गर्दैनन्, र मेरो चेहराको खोजी गर्दैनन् तबसम्म म जानेछु र आफ्नो ठाउँमा फर्कनेछु; आफ्नो सङ्कष्‍टमा तिनीहरूले यत्‍नपूर्वक मेरो खोजी गर्नेछन्।”