हिद्देकेल नदीको किनारमा दानियलको तेस्रो दर्शन
10
फारसका राजा कोरेसको तेस्रो वर्षमा एउटा कुरा दानियलकहाँ प्रकट भयो, जसको नाम बेल्त-शज्जर भनिन्थ्यो; अनि त्यो कुरा सत्य थियो, तर तोकिएको समय लामो थियो; अनि उनले त्यो कुरा बुझे, र उनलाई त्यस दर्शनको समझ मिल्यो।
2 ‘ती दिनहरूमा म, दानियलले पूरा तीन हप्‍तादेखि विलाप गरिरहेको थिएँ। 3 पूरा तीन हप्‍ता पूरा नहोउन्जेल मैले न स्वादिष्‍ट भोजन खाएँ, न मासु; अनि दाखमद्य मेरो मुखमा पसेन, अनि मैले आफूमाथि तेल लगाउँदै लगाइनँ।
4 अनि पहिलो महिनाको चौबीसौं दिनमा, म त्यस महानदी हिद्देकेलको किनारमा भएको बेलामा, 5 मैले आफ्ना आँखाहरू उठाएँ, र हेरें; अनि हेर, मलमलको वस्त्र पहिरेका र उपाजको निखुर सुनको पेटीले आफ्नो कम्मर कसिएका एकजना मानिस थिए; 6 अनि उनको शरीर फिरोजाजस्तो, उनको चेहरा बिजुलीको चमकजस्तो, उनका आँखाहरू आगोका राँकाहरूजस्ता, उनका पाखुराहरू र उनका पाउहरूको रङ्ग टल्काइएको पित्तलजस्तो, अनि उनका शब्दहरूको आवाजचाहिँ भीड़को आवाजजस्तो थियो। 7 अनि म, दानियलले मात्र त्यो दर्शन देखें, तर मसँग भएका मानिसहरूले त्यो दर्शन देखेनन्, तर तिनीहरूलाई एउटा ठूलो थरथराहटले छोप्यो, र तिनीहरू लुक्न भागे। 8 यसैले म एकलै छोड़िएँ, र मैले त्यो ठूलो दर्शन देखें; तब ममा कुनै बल रहेन; अनि ममा मेरो सुन्दरता विकृतिमा बदली भयो, र मसँग कुनै बल थिएन। 9 तरै पनि मैले उनका शब्दहरूको आवाज सुनें; अनि जब मैले उनका शब्दहरूको आवाज सुनें, तब आफ्नो अनुहार भुइँतिर फर्काएर र आफ्नो अनुहार भुइँमा टेकाएर म गहिरो निद्रामा परेको थिएँ।
10 अनि हेर, एउटा हातले मलाई छोयो, जसले मलाई काम्दै मेरा घुँड़ाहरू र मेरा हातका हत्केलाहरू टेकेर बस्‍ने तुल्यायो। 11 अनि उनले मलाई भने: ‘हे अति प्रिय मानिस दानियल, जुन वचनहरू म तिमीलाई भन्दछु, ती वचनहरू बुझ, र सीधा खड़ा होऊ; किनकि म अहिले तिमीकहाँ पठाइएको छु।’ अनि उनले मसित यो वचन बोल्दै गर्दा म थरथर काम्दै उभिएँ। 12 तब उनले मलाई भने: ‘हे दानियल, नडराऊ; किनकि जुन पहिलो दिनदेखि तिमीले कुरा बुझ्नलाई आफ्नो हृदय लगायौ र आफ्ना परमेश्‍वरको सामु आफूलाई नम्र तुल्यायौ, त्यही पहिलो दिनमै तिम्रा वचनहरू सुनिए; अनि मचाहिँ तिम्रै वचनहरूको कारणले आएको हुँ। 13 तर फारस राज्यको प्रधानले एक्‍काइस दिनसम्म मेरो सामना गर्‍यो; तर हेर, मुख्य प्रधानहरूमध्ये एकजना माइकल मलाई सहायता गर्न आए; अनि म त्यहाँ फारसका राजाहरूको साथमा रहें। 14 अब पछिल्‍ला दिनहरूमा तिम्रो जातिमाथि के आइपर्नेछ, सो कुरा म तिमीलाई बुझाउन आएको हुँ; किनभने यो दर्शन धेरै दिनपछिका निम्ति हो।’
15 अनि जब उनले यस्ता वचनहरू मसित बोले, तब मैले आफ्नो अनुहार भुइँमा राखें, र म गुँगो भएँ। 16 अनि हेर, मानिसका सन्तानहरूको जस्तो रूप भएका एकजनाले मेरा ओठहरू छोए; तब मैले आफ्नो मुख खोलें, र बोलें, अनि मेरो सामु उभिएकालाई भनें: ‘हे प्रभु, यस दर्शनको कारणले मेरा व्यथाहरूले मलाई पक्रे, अनि मसँग कुनै बल छैन। 17 तब यी मेरा प्रभुको दासले यी मेरा प्रभुसँग कसरी बोल्न सक्छ र? किनकि मचाहिँ – ममा अब उसो कुनै बल रहेको छैन, न ता मभित्र केही सास नै बाँकी रहेको छ।’
18 तब मानिसको जस्तो रूप भएका व्यक्ति फेरि आए; अनि उनले मलाई छोए र मलाई बलियो पारे। 19 अनि उनले भने: ‘हे अति प्रिय मानिस, नडराऊ; तिमीलाई शान्ति भइरहोस्! बलिया होऊ, अँ, बलिया होऊ!’ अनि उनी मसँग बोल्दा म बलियो भएँ, र मैले भनें: ‘मेरा प्रभु बोलून्; किनकि तपाईंले मलाई बलियो पार्नुभएको छ।’
20 तब उनले भने: ‘तिमीकहाँ म किन आएको छु, के त्यो तिमी जान्दछौ? अनि अब म फारसको प्रधानसँग लड़ाइँ गर्न फर्कनेछु; अनि जब म निस्कन्छु, तब हेर, ग्रीसको प्रधान आउनेछ। 21 तर सत्यताको शास्त्रमा जे लेखिएको छ, सो म तिमीलाई बताउनेछु; अनि तिमीहरूको प्रधान माइकलबाहेक यी कुराहरूको सम्बन्धमा मसँग आफूलाई बलियो तुल्याउने अरू कोही पनि छैन।’