आफ्नो इस्राएली जातिका निम्ति दानियलको प्रार्थना
9
“मादी वंशका अहासूरसका छोरा दाराको पहिलो वर्षमा, जो कल्दीहरूको राज्यमाथि राजा तुल्याइएका थिए, 2 तिनको शासनकालको पहिलो वर्षमा म, दानियलले पुस्तकहरूद्वारा ती वर्षहरूको संख्या थाहा गरें, जसको विषयमा भविष्यवक्ता यर्मियाकहाँ ‘यरूशलेमका उजाड़ ठाउँहरूमाथि उहाँले सत्तरी वर्ष पूरा गर्नुहुनेछ’ भन्‍ने परमप्रभुको वचन आएको थियो। 3 अनि प्रार्थना र विन्‍तीद्वारा, उपवास बसेर, भाङराको लुगा लगाएर र खरानीमा बसेर यसको विषयमा खोजी गर्नलाई मैले प्रभु परमेश्‍वरतिर आफ्नो अनुहार उठाएँ; 4 अनि मैले परमप्रभु मेरा परमेश्‍वरलाई प्रार्थना गरें, आफ्ना पापहरू स्वीकार गरें र भनें: ‘हे प्रभु, तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञाहरू पालन गर्नेहरूका निम्ति आफ्नो वाचा र करुणा कायम राख्‍नुहुने महान् र भययोग्य परमेश्‍वर, 5 हामीले पाप गरेका छौं, अधर्म गरेका छौं, दुष्‍ट काम गरेका छौं, अनि तपाईंका आज्ञाहरू र तपाईंका नियमहरूबाट हटेर विद्रोह गरेका छौं; 6 न ता हामीले तपाईंका सेवकहरू अर्थात् भविष्यवक्ताहरूको कुरा नै सुन्यौं, जसले तपाईंको नाममा हाम्रा राजाहरू, हाम्रा शासकहरू, हाम्रा पितापुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका थिए। 7 हे प्रभु, धार्मिकता तपाईंकै हो, तर हाम्रा निम्ति अनुहारहरूभरि नै शर्म छ, जस्तो आजको दिनमा भइरहेको छ, अँ, यहूदाका मानिसहरूका निम्ति, यरूशलेमका बासिन्दाहरूका निम्ति, अनि नजिक र टाढ़ा भएका सारा इस्राएलका निम्ति पनि छ ­ – ती सबै देशहरूभरि, जहाँ तिनीहरूले तपाईंको विरोधमा गरेको तिनीहरूको अपराधको कारणले तपाईंले तिनीहरूलाई धपाउनुभएको छ। 8 हे प्रभु, हाम्रा अनुहारहरूभरिको शर्म हाम्रै हो, हाम्रा राजाहरू, हाम्रा शासकहरू र हाम्रा पितापुर्खाहरूकै हो; किनभने हामीले तपाईंको विरोधमा पाप गरेका छौं। 9 कोमल कृपाहरू र क्षमा-दानहरू प्रभु हाम्रा परमेश्‍वरकै हुन्; यद्यपि हामीले उहाँको विरोधमा विद्रोह गरेका छौं। 10 न ता हामीले परमप्रभु हाम्रा परमेश्‍वरका व्यवस्थाहरूमा हिँड़्नका निम्ति उहाँको वाणी पालन गर्‍यौं, जुन व्यवस्थाहरू उहाँले आफ्ना दासहरू अर्थात् भविष्यवक्ताहरूद्वारा हाम्रो सामु राखिदिनुभएको थियो। 11 अँ, तपाईंको वाणी पालन नगरून् भन्‍ने हेतुले सारा इस्राएलले तपाईंको व्यवस्थाबाट हटेर त्यसलाई भङ्ग गरेका छन्; यसैकारण परमेश्‍वरका दास मोशाको व्यवस्थामा लेखिएको त्यो श्राप र त्यो शपथ हामीमाथि खन्याइएको छ; किनकि हामीले उहाँको विरोधमा पाप गरेका छौं। 12 अनि हामीमाथि ठूलो विपत्ति ल्याएर उहाँले हाम्रो विरोधमा र हामीलाई न्याय गर्ने हाम्रा न्यायकर्ताहरूको विरोधमा भन्‍नुभएका आफ्ना वचनहरू पूरा गर्नुभएको छ; किनकि यरूशलेमको विरोधमा जे गरियो, त्यस्तो त सारा आकाशमुनि कसैसित गरिएको छैन। 13 मोशाको व्यवस्थामा लेखिएको जस्तै यो सारा विपत्ति हामीमाथि आइपर्‍यो; तरै पनि हामी आफ्ना अधर्महरूबाट फर्कन सकौं, र तपाईंको सत्यता बुझ्न सकौं भनेर हामीले परमप्रभु आफ्ना परमेश्‍वरको सामु विन्‍ती चढ़ाएनौं। 14 यसैले परमप्रभु यस विपत्तिप्रति जागा रहनुभयो, र त्यसलाई हामीमाथि ल्याउनुभयो; किनकि परमप्रभु हाम्रा परमेश्‍वर आफ्ना सबै कामहरूमा, जो उहाँले गर्नुहुन्छ, धर्मी हुनुहुन्छ; किनकि हामीले उहाँको वाणी पालन गरेनौं 15 अनि अब, हे प्रभु हाम्रा परमेश्‍वर, जसले आफ्नो प्रजालाई आफ्नो शक्तिशाली हातद्वारा मिस्र देशबाट निकालेर ल्याउनुभयो र आफ्नो निम्ति सुनाम कमाउनुभयो, जस्तो आजको दिनमा भइरहेको छ; हामीले पाप गरेका छौं; हामीले दुष्‍ट काम गरेका छौं। 16 हे प्रभु, म तपाईंलाई विन्‍ती गर्दछु, तपाईंको सम्पूर्ण धार्मिकताअनुसार तपाईंको रिस र तपाईंको क्रोध तपाईंको शहर यरूशलेम, तपाईंको पवित्र पर्वतबाट हटून्; किनकि हाम्रा पापहरू र हाम्रा पितापुर्खाहरूका अधर्महरूको कारणले यरूशलेम र तपाईंको प्रजा हाम्रो वरिपरि भएका सबैको सामु निन्दाको पात्र भएका छन्। 17 यसकारण अब, हे हाम्रा परमेश्‍वर, तपाईंको दासको प्रार्थना र उसका अन्तर्विन्‍तीहरू सुन्‍नुहोस्, अनि प्रभुको खातिर आफ्नो चेहरा उजाड़ भएको तपाईंको पवित्रस्थानमाथि चम्काउनुहोस्! 18 हे मेरा परमेश्‍वर, आफ्नो कान लगाउनुहोस्, र सुन्‍नुहोस्! आफ्ना आँखाहरू खोल्नुहोस्, र हाम्रा उजाड़ ठाउँहरूलाई र तपाईंको नामले कहलाइएको त्यस शहरलाई हेर्नुहोस्! किनकि हामी आफ्ना अन्तर्विन्‍तीहरू तपाईंको सामु हाम्रा धार्मिक कामहरूको कारणले चढ़ाउँदैनौं, तर तपाईंका महान् कोमल कृपाहरूको कारणले चढ़ाउँदछौं। 19 हे प्रभु, सुन्‍नुहोस्! हे प्रभु, क्षमा गर्नुहोस्! हे प्रभु, ध्यान दिनुहोस्, र काम गर्नुहोस्! आफ्नै खातिर ढिलो नगर्नुहोस्, हे मेरा परमेश्‍वर; किनकि तपाईंको शहर र तपाईंको प्रजा तपाईंकै नामले कहलाइएका छन्।’
सत्तरी हप्‍ता र तिनको अर्थ
20 अनि म बोलिरहेको, प्रार्थना गरिरहेको, आफ्नो पाप र मेरो इस्राएल जातिको पाप स्वीकार गरिरहेको अनि मेरा परमेश्‍वरको पवित्र पर्वतका निम्ति परमप्रभु मेरा परमेश्‍वरको सामु आफ्नो विन्‍ती चढ़ाइरहेको बेलामा, 21 अँ, मैले प्रार्थनामा बोलिरहेको बेलामा ती मानिस गब्रियल, जसलाई शुरुमा मैले दर्शनमा देखेको थिएँ, वेगसित उड़ेर आए र बेलुकीको भेटी चढ़ाउने समयतिर मलाई छोए। 22 अनि तिनले मलाई बताए, मसँग कुरा गरे र भने: ‘हे दानियल, तिमीलाई समझका निम्ति निपुणता दिन म अहिले निस्केर आएको हुँ। 23 तिम्रा अन्तर्विन्‍तीहरूको शुरुमै यो आज्ञा निस्क्यो, अनि म तिमीलाई यो बताउन आएको हुँ; किनकि तिमी अति प्रिय छौ; यसकारण यो विषय बुझ, र दर्शनमाथि ध्यान देऊ!
24 तिम्रा मानिसहरू र तिम्रो पवित्र शहरका निम्ति सत्तरी हप्‍ता तोकिएका छन् – अपराध समाप्‍त गर्न, पापहरूको अन्त गर्न, अधर्मका निम्ति प्रायश्‍चित गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र भविष्यवाणीमाथि मोहरछाप लगाउन र परमपवित्रलाई अभिषेक गर्नका निम्ति। 25 यसकारण जानिराख, र बुझ: यरूशलेमलाई पुनर्स्थापित गर्ने र निर्माण गर्ने आज्ञा निस्केको समयदेखि ‘मसीह’ ती प्रधानको समयसम्म सात हप्‍ता र बासट्ठी हप्‍ता हुनेछन्; अँ, ती सङ्कष्‍टका समयहरूमा सड़क र पर्खाल फेरि बनाइनेछ। 26 अनि बासट्ठी हप्‍तापछि ‘मसीह’ काटिनुहुनेछ, तर आफ्ना निम्ति होइन; अनि त्यस आउनेवाला प्रधानका मानिसहरूले यो शहर र यो पवित्रस्थान नाश गर्नेछन्; अनि त्यसको अन्तचाहिँ बाढ़द्वारा हुनेछ, र लड़ाइँको अन्तसम्मै उजाड़ नै उजाड़ तोकिएका छन्। 27 अनि एक हप्‍ताका निम्ति त्यसले धेरैसँग एउटा वाचा पक्‍का गर्नेछ; अनि त्यस हप्‍ताको बीचैमा त्यसले बलिदान र भेटी बन्द गरिदिनेछ; अनि सर्वनाश नभएसम्म त्यो उजाड़ पार्नेचाहिँ घृणित वस्तुहरूरूपी पखेटामाथि आउनेछ; अनि जे तोकिएको छ, त्यो त्यस उजाड़ पार्नेमाथि खन्याइनेछ।’ ”