दानियलको पहिलो दर्शन: चार पशुहरू
7
बाबेलका राजा बेल-शज्जरको पहिलो वर्षमा दानियलले आफ्नो पलङमाथि एउटा सपना र आफ्नो शिरका दर्शनहरू देखे; तब उनले त्यो सपना लेखे, र ती कुराहरूको सारांश बताए।2 दानियल बोलेक, र भने: “रातको समयमा मैले आफ्नो दर्शनमा हेरिरहेको थिएँ; अनि हेर, आकाशका चार बतासहरूले महासागरमाथि हानिरहेका थिए। 3 अनि त्यस समुद्रबाट चारवटा ठूला-ठूला पशुहरू बाहिर निस्के, जुन पशुहरू एक-अर्काभन्दा बेग्लै थिए। 4 पहिलोचाहिँ सिंहजस्तो थियो, जसका चीलका पखेटाहरू थिए; त्यसका पखेटाहरू उखेलिउन्जेल मैले हेरिरहेको थिएँ, अनि त्यो पृथ्वीबाट उठाइयो, र मानिसजस्तो दुईवटै खुट्टामा उभ्याइयो, अनि त्यसलाई मानिसको हृदय दिइयो। 5 अनि हेर, अर्को पशु, दोस्रोचाहिँ भालुजस्तो थियो; अनि त्यो एकपट्टि कोल्टो परेर उभियो; अनि त्यसको मुखभित्र, त्यसका दाँतहरूको बीचमा तीनवटा करङहरू थिए; अनि तिनीहरूले त्यसलाई यसो भने: ‘उठ्, प्रशस्त मासु खा!’ 6 त्यसपछि मैले हेरिरहेको थिएँ; अनि हेर, अर्को पशुचाहिँ चितुवाजस्तो थियो, जसका पिठ्यूँमाथि पक्षीका चारवटा पखेटाहरू थिए; अनि त्यस पशुका चारवटा टाउका थिए; अनि त्यसलाई राज्याधिकार दिइयो। 7 त्यसपछि मैले रातका दर्शनहरूमा हेरिरहेको थिएँ; अनि हेर, चौथो पशुचाहिँ डरलाग्दो, डरत्रास पैदा गर्ने र ज्यादा बलियो थियो; अनि त्यसका ठूला-ठूला फलामका दाँतहरू थिए; त्यसले निल्थ्यो, टुक्रा-टुक्रा पार्थ्यो र बाँकी भाग आफ्ना खुट्टाहरूले कुल्चीमिल्ची पार्थ्यो; त्यसभन्दा अघिका सबै पशुहरूभन्दा त्यो बेग्लै थियो; अनि त्यसका दस सिङ थिए। 8 मैले ती सिङहरूको विषयमा सोचिरहेको थिएँ; अनि हेर, तिनको बीचमा अर्को एउटा सानो सिङ माथि उठेर आयो, जसको सामुबाट अघिका सिङहरूमध्ये तीनवटा जरैसमेत उखालिए; अनि हेर, त्यस सिङमा मानिसका आँखाजस्ता आँखाहरू थिए र ठूला-ठूला कुराहरू बोल्ने एउटा मुख थियो।
9 सिंहासनहरू बसालिउन्जेल मैले हेरिरहेको थिएँ; अनि एकजना ‘अति प्राचीन’ बस्नुभयो, जसको वस्त्र हिउँजस्तै सेतो थियो र जसको शिरको केश चोखो ऊनझैं थियो; उहाँको सिंहासन आगोका ज्वालाहरूजस्तो थियो र त्यसका चक्काहरूचाहिँ जलिरहेको आगोजस्ता थिए। 10 उहाँको सामुबाट एउटा आगोको खोला निस्कन्थ्यो र बग्दथ्यो; लाखौंलाखले उहाँको सेवा गर्थे; अनि करोड़ौंकरोड़ उहाँको सामु खड़ा थिए; न्यायको अदालत बस्यो, र पुस्तकहरू खोलिए। 11 तब त्यस सिङले बोलेका ठूला-ठूला कुराहरूको आवाजको कारणले मैले हेरिरहें; मैले त्यस बेलासम्म हेरिरहें, जब त्यो पशु मारियो, त्यसको शरीर नष्ट गरियो र जलिरहेको ज्वालाभित्रख सुम्पिइयो। 12 बाँकी पशुहरूचाहिँ – तिनीहरूबाट तिनीहरूको अधिकार खोसियो; तर तिनीहरूका जीवनहरूचाहिँ एउटा अवधि र एउटा समयका निम्ति लम्मिए।
13 मैले रातका दर्शनहरूमा हेरिरहेको थिएँ; अनि हेर, आकाशका बादलहरूको साथमा मानिसका पुत्रजस्तै एकजना आउँदै हुनुहुन्थ्यो; अनि उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, अनि तिनीहरूले उहाँलाई उहाँको सामु नजिक ल्याए। 14 अनि सबै मानिसहरू, जातिहरू र भाषाहरूले उहाँको सेवा गरून् भनेर उहाँलाई प्रभुत्व, महिमा र एउटा राज्य दिइयो; उहाँको प्रभुत्वचाहिँ अनन्त प्रभुत्व हो, जो कहिल्यै टल्नेछैन; अनि उहाँको राज्यचाहिँ कहिल्यै नष्ट हुनेछैन।
15 म, दानियल आफ्नो शरीरभित्र, मेरो आत्मामा शोकित भएँ, र मेरो शिरका दर्शनहरूले मलाई विचलित पारे। 16 म त्यहाँ उभिरहेकाहरूमध्ये एकजनाको नजिक गएँ, र यो सबै कुराको विषयमा सत्यता के रहेछ, सो तिनलाई सोधें। तब तिनले मलाई बताए र मलाई यी कुराहरूको अर्थ बुझ्ने तुल्याए। 17 यी ठूला-ठूला पशुहरू, जुनचाहिँ चारवटा छन्, चार राजाहरू हुन्, जो यस पृथ्वीबाट उठ्नेछन्। 18 तर परमप्रधानका पवित्र जनहरूले त्यो राज्य पाउनेछन्, र त्यो राज्य सदाका निम्ति, अँ, सदा-सर्वदाका निम्ति आफ्नो अधिकारमा लिनेछन्।
19 तब मैले चौथो पशुको विषयमा सत्यता जान्न चाहें, जुनचाहिँ अरू सबैभन्दा बेग्लै र साह्रै डरलाग्दो थियो, जसका दाँतहरू फलामका र जसका नङग्राहरू पित्तलका थिए, जसले निल्थ्यो, टुक्रा-टुक्रा पार्थ्यो र बाँकी भाग आफ्ना खुट्टाहरूले कुल्चीमिल्ची पार्थ्यो; 20 अनि ती दसवटा सिङको विषयमा, जुन सिङ त्यसको टाउकोमा थिए र अर्को सिङको विषयमा, जुन सिङ माथि उठेर आयो र जसको सामु तीनवटा ढले, अँ, त्यस सिङको विषयमा, जसका आँखाहरू थिए र जसको ठूला-ठूला कुराहरू बोल्ने एउटा मुख थियो; त्यसको रूपचाहिँग त्यसका साथीहरूको भन्दा ठूलोघ थियो। 21 मैले हेरिरहेको थिएँ; अनि त्यही सिङले तबसम्म पवित्र जनहरूसँग लड़ाइँ गर्यो, र तिनीहरूमाथि विजयी भयो, 22 जबसम्म ती ‘अति प्राचीन’ आउनुभएन, र परमप्रधानका पवित्र जनहरूलाई न्याय दिइएन, अनि पवित्र जनहरूले त्यो राज्य आफ्नो अधिकारमा लिने समय आइपुगेन।
23 तिनले यसो भने: ‘चौथो पशुचाहिँ यस पृथ्वीमाथि चौथो राज्य हुनेछ, जुन राज्य सबै राज्यहरूभन्दा बेग्लै हुनेछ; अनि त्यसले सारा पृथ्वीलाई निल्नेछ, त्यसलाई कुल्चीमिल्ची पार्नेछ र त्यसलाई टुक्रा-टुक्रा पार्नेछ। 24 अनि दस सिङहरूचाहिँ दस राजाहरू हुन्, जो त्यस राज्यबाट उठ्नेछन्; अनि तिनीहरूपछि अर्को उठ्नेछ; अनि त्योचाहिँ अघिकाहरूभन्दा बेग्लै हुनेछ; अनि त्यसले तीन राजाहरूलाई वशमा पार्नेछ। 25 अनि त्यसले परमप्रधानको विरोधमा ठूला-ठूला कुराहरू बोल्नेछ र परमप्रधानका पवित्र जनहरूलाई रगेड़्नेछ; अनि त्यसले समयहरू र व्यवस्था बदली गर्ने विचार गर्नेछ; अनि तिनीहरू समय, समयहरू र आधा समयसम्म त्यसको हातमा सुम्पिइनेछन्। 26 तर न्यायको अदालत बस्नेछ; अनि तिनीहरूले त्यसलाई अन्तसम्मै खतम पार्न र नाश गर्नलाई त्यसको अधिकार खोस्नेछन्। 27 अनि राज्य, प्रभुत्व र सम्पूर्ण आकाशमुनिका राज्यहरूको महान्ता परमप्रधानका पवित्र जनहरूको जातिलाई दिइनेछन्; उहाँको राज्य एउटा अनन्त राज्य हो; अनि सबै प्रभुत्वहरूले उहाँको सेवा गर्नेछन् र उहाँको आज्ञापालन गर्नेछन्।’
28 यहाँसम्म यस कुराको अन्त हो। म, दानियलचाहिँ – मेरा विचारहरूले मलाई साह्रै विचलित पारे, अनि ममा मेरो चेहराको रङ्ग नै उड़्योङ; तर मैले यो कुरा आफ्नो हृदयमा राखें।”