दानियल सिंहहरूको खोरमा
6
दारालाई त्यस राज्यमाथि एक सय बीसजना शासकहरूलाई नियुक्त गर्न असल लाग्यो, जो सम्पूर्ण राज्यमाथि अधिकारी हुनेछन्; 2 अनि यी शासकहरूले अधिपतिहरूलाई आफ्नो लेखा दिऊन्, र राजालाई कुनै किसिमको हानि नहोस् भनेर तिनले यिनीहरूमाथि तीनजना अधिपतिहरूलाई नियुक्त गरे, जसमध्ये दानियल एक थिए। 3 तब यी दानियलभित्र सर्वोत्तम आत्मा भएका हुनाले उनले ती अधिपतिहरू र शासकहरूलाई उछिन्थे; अनि राजाले उनलाई सम्पूर्ण राज्यमाथि नियुक्त गर्ने विचार गरे।
4 तब यी अधिपतिहरू र शासकहरूले राज्यको सम्बन्धमा दानियलको विरोधमा कुनै निहुँ भेट्टाउन खोजिरहे; तर तिनीहरूले कुनै निहुँ वा दोष भेट्टाउन सकेनन्; किनभने उनी विश्‍वासयोग्य थिए, र तिनमा कुनै भूल वा दोष पाइएन। 5 तब यी मानिसहरूले भने: “हामीले यस दानियलको विरोधमा कुनै निहुँ भेट्टाउनेछैनौं; यसैकारण उसको परमेश्‍वरको व्यवस्थाको विषयमा चाहिँ हामीले उसको विरोधमा केही भेट्टाउनुपर्छ।”
6 तब यी अधिपतिहरू र शासकहरू गट्ठा बाँधेर राजाकहाँ भेला भए, र तिनलाई यसो भने: “राजा दारा अमर रहून्! 7 हे राजा, तीस दिनभित्र हरेक जसले तपाईंलाई बाहेक अरू कुनै ईश्‍वर वा मानिसलाई कुनै विन्‍ती चढ़ाउला, त्यो सिंहहरूको खोरभित्र फालिनेछ भन्‍ने राजकीय आदेश स्थापित गर्न र त्यो उर्दी सुदृढ़ पार्नलाई राज्यका सबै अधिपतिहरू, राज्यपालहरू, शासकहरू, सल्‍लाहकारहरू र कप्‍तानहरूले आपसमा सरसल्‍लाह गरेका छन्। 8 अब हे राजा, यो उर्दी स्थापित गर्नुहोस्, र यस लेखमा हस्ताक्षर गर्नुहोस्, कि मादी र फारसीहरूको कहिल्यै नटल्ने कानुनअनुसार यो बदली नहोस्!” 9 यसकारण राजा दाराले त्यस लेखमा र त्यस उर्दीमा हस्ताक्षर गरिदिए।
10 अनि त्यस लेखमा हस्ताक्षर गरियो भन्‍ने कुरा जब दानियलले थाहा पाए, तब उनी आफ्नो घरभित्र गए; अनि उनका झ्यालहरू यरूशलेमतिर खुला रहेका उनको कौसी-कोठामा उनले दिनमा तीन पल्ट आफ्ना घुँड़ा टेके, र पहिलेदेखि गरेझैं आफ्ना परमेश्‍वरको सामु प्रार्थना गरे र धन्यवाद चढ़ाए। 11 तब यी मानिसहरू गट्ठा बाँधेर भेला भए, र दानियललाई आफ्ना परमेश्‍वरको सामु प्रार्थना गरिरहेका र विन्‍ती चढ़ाइरहेका भेट्टाए।
12 तब तिनीहरू नजिक आए, र राजाको त्यस उर्दीको विषयमा तिनीहरूले राजाको सामु भन्‍न थाले: “हे राजा, तीस दिनभित्र हरेक मानिस जसले तपाईंलाई बाहेक अरू कुनै ईश्‍वर वा मानिसलाई विन्‍ती गर्ला, त्यो सिंहहरूको खोरभित्र फालिनेछ भन्‍ने उर्दीमा के तपाईंले हस्ताक्षर गर्नुभएको होइन र?” राजाले जवाफ दिएर भने: “त्यो कुरा साँचो हो – त्यस मादी र फारसीहरूको कानुनअनुसार, जुन कानुन कहिल्यै टल्दैन।” 13 तब तिनीहरूले जवाफ दिएर राजाको सामु भने: “हे राजा, त्यो दानियल, जो यहूदाका कैदीहरूमध्येको हो, त्यसले तपाईंलाई, र तपाईंले हस्ताक्षर गर्नुभएको उर्दीलाई आदर गर्दैन, तर त्यसले त दिनमा तीन पल्ट आफ्नो विन्‍ती चढ़ाउँछ।”
14 जब राजाले यी वचनहरू सुने, तब तिनी आफूसँग अत्यन्तै दु:खिती भए, र दानियललाई छुटाउनलाई उनीमाथि आफ्नो मन लगाए; अनि सूर्यास्तसम्मै तिनले उनलाई छुटाउनलाई प्रयत्‍न गरिरहे। 15 तब यी मानिसहरू गट्ठा बाँधेर राजाकहाँ भेला भए, र राजालाई भने: “हे राजा, तपाईंलाई थाहा होस्, कि मादी र फारसीहरूको कानुन यस्तो छ: राजाले स्थापित गर्नुभएको कुनै पनि उर्दी वा आदेश बदली हुनेछैन।”
16 तब राजाले आज्ञा दिए, अनि तिनीहरूले दानियललाई ल्याए, र उनलाई सिंहहरूको खोरभित्र फालिदिए। अनि राजा बोले, र दानियललाई भने: “तिम्रा परमेश्‍वरले नै, जसको सेवा तिमी निरन्‍तर गरिरहन्छौ, तिमीलाई छुटाउनुहुनेछ।” 17 अनि एउटा ढुङ्गा ल्याइयो र खोरको मुखमा राखियो; अनि दानियलको विषयमा निश्‍चित गरिएको कुरा बदली नहोस् भनेर राजाले आफ्नो छापऔंठीले र तिनका प्रधानहरूको छापऔंठीले त्यसमा मोहरछाप लगाइदिए। 18 तब राजा आफ्नो दरवारमा आए, र केही नखाईकनै तिनले रात काटे; न ता उनको सामु बाजागाजाहरू नै ल्याइए; अनि तिनको निद्रा तिनीबाट भाग्यो।
19 तब राजा बिहान झिसमिसे उज्यालोमै उठे, र हतार-हतार सिंहहरूको खोरमा गए। 20 अनि जब तिनी त्यस खोरको नजिकै आइपुगे, तब तिनले शोकले भरिएको सोरमा दानियललाई पुकारे; राजा बोले, र दानियललाई भने: “हे जीवित परमेश्‍वरका दास दानियल, के तिम्रा परमेश्‍वरले, जसको सेवा तिमी निरन्‍तर गरिरहन्छौ, तिमीलाई सिंहहरूबाट छुटाउन सक्नुभएको छ?” 21 तब दानियलले राजालाई भने: “राजा अमर रहून्! 22 मेरा परमेश्‍वरले आफ्नो स्वर्गदूत पठाउनुभएको छ र सिंहहरूका मुखहरू बन्द गर्नुभएको छ; अनि तिनीहरूले मेरो हानि गरेका छैनन्; किनकि उहाँको दृष्‍टिमा ममा निर्दोषता पाइयो; अनि तपाईंको दृष्‍टिमा पनि हे राजा, मैले कुनै हानि गरेको छैनँ।” 23 तब उनको कारणले राजा साह्रै आनन्दित भए; अनि तिनीहरूलाई ‘दानियललाई खोरबाट बाहिर निकाल’ भन्‍ने आज्ञा गरे; तब दानियल खोरबाट बाहिर निकालिए; अनि उनमा कुनै किसिमको हानि पाइएन; किनकि उनले आफ्ना परमेश्‍वरमाथि विश्‍वास राखेका थिए।
24 अनि राजाले आज्ञा दिए, र तिनीहरूले दानियललाई दोष लगाउने यी मानिसहरूलाई ल्याए; अनि तिनीहरूले यिनीहरूलाई, यिनीहरूका छोराछोरीहरूलाई र यिनीहरूका पत्‍नीहरूलाई सिंहहरूको खोरभित्र फालिदिए; अनि यिनीहरू खोरको पींधमा पुग्‍नुभन्दा पहिल्यै सिंहहरूले यिनीहरूलाई वशमा पारे र यिनीहरूका सबै हड्डीहरू टुक्रा-टुक्रा पारिदिए।
25 तब राजा दाराले सारा पृथ्वीभरि बस्‍ने सबै मानिसहरू, जातिहरू र भाषाहरूलाई लेखे: “तिमीहरूको सुख-शान्ति बढ़्दै जाओस्! 26 म यो आज्ञा दिन्छु: मेरो राज्यको सारा अधिकार-क्षेत्रभरि नै मानिसहरू दानियलका परमेश्‍वरको सामु थरथर कामून् र डराऊन्; किनकि उहाँ जीवित परमेश्‍वर हुनुहुन्छ, र सदा-सर्वदा स्थिर रहनुहुन्छ; अनि उहाँको राज्य, जुनचाहिँ कहिल्यै नष्‍ट हुनेछैन, र उहाँको प्रभुत्व अन्तसम्मै रहनेछ। 27 उहाँले छुटाउनुहुन्छ, र मुक्त गर्नुहुन्छ; अनि उहाँले नै आकाशमा र पृथ्वीमा चिन्हहरू र अचम्मका कामहरू गर्नुहुन्छ; उहाँले दानियललाई सिंहहरूको पन्जाबाट छुटाउनुभएको छ।”
28 यसरी यी दानियलले दाराको शासनकालमा र फारसी कोरेसको शासनकालमा उन्‍नति गरे।