राजा नबूकद्‌नेस्‍सरको दोस्रो सपना
4
“राजा नबूकद्‌नेस्‍सरबाट – सम्पूर्ण पृथ्वीभरि बस्‍ने सबै मानिसहरू, जातिहरू र भाषाहरूलाई: तिमीहरूको सुख-शान्ति प्रशस्त गरी बढ़्दै जाओस्! 2 जुन चिन्हहरू र अचम्मका कामहरू परमप्रधान परमेश्‍वरले मप्रति गर्नुभएको छ, ती चिन्हहरू र अचम्मका कामहरू बताउनु मलाई असल लाग्यो। 3 उहाँका चिन्हहरू कति महान् छन्! र उहाँका अचम्मका कामहरू कति शक्तिशाली छन्! उहाँको राज्यचाहिँ एउटा अनन्त राज्य हो, र उहाँको प्रभुत्व पुस्तौंपुस्तासम्म रहिरहन्छ।
4 म, नबूकद्‌नेस्‍सर आफ्नो भवनमा चैनमा थिएँ, र आफ्नो दरवारमा फलिफाप गरिरहेको थिएँ, 5 त्यस घड़ी मैले एउटा सपना देखें, जसले मलाई भयभीत पार्‍यो; मेरो पलङमाथि मेरा विचारहरूले र मेरो शिरका दर्शनहरूले मलाई विचलित पारे। 6 यसकारण बाबेलका सबै बुद्धिमान् मानिसहरूले मलाई मेरो सपनाको अर्थ बताऊन् भन्‍ने हेतुले मैले तिनीहरूलाई भित्र ल्याउने आज्ञा दिएँ। 7 तब जादुगरहरू, ज्योतिषीहरू, कल्दीहरू र जोखना हेर्नेहरू भित्र आए। अनि मैले तिनीहरूको सामु त्यो सपना बताइदिएँ; तर तिनीहरूले मलाई त्यसको अर्थ बताउन सकेनन्। 8 तर अन्तमा दानियल भित्र मेरो सामु आए, जसको नाम मेरो देवताको नामअनुसार बेल्त-शज्जर हो, जसभित्र पवित्र ईश्‍वरहरूको आत्मा छ; अनि तिनको सामु मैले त्यो सपना बताइदिएँ: 9 ‘हे बेल्त-शज्जर, जादुगरहरूका प्रधान, म जान्दछु, तिमीभित्र ईश्‍वरहरूको आत्मा छ, र कुनै रहस्यले तिमीलाई विचलित पार्दैन; यसकारण मैले देखेको मेरो सपनाका दर्शनहरू र त्यसको अर्थ मलाई बताऊ!
10 अनि मेरो पलङमाथि मेरो शिरका दर्शनहरू यस्ता थिए: मैले हेरिरहेको थिएँ; अनि हेर, पृथ्वीको बीचमा एउटा रूख रहेछ, जसको उचाइ ठूलो थियो! 11 त्यो रूख बढ्यो र बलियो भयो; अनि त्यसको उचाइ आकाशसम्म पुग्यो, र सारा पृथ्वीको अन्त-अन्तबाट पनि त्यो देखिन्थ्यो। 12 त्यसका पातहरू सुन्दर थिए, र त्यसको फल प्रशस्त थियो, अनि त्यसमा सबका निम्ति भोजन थियो; त्यसमुनि मैदानका पशुहरूले छाया पाउँथे, र आकाशका पक्षीहरूचाहिँ त्यसका हाँगाहरूमा बस्थे, अनि सबै प्राणीहरूले त्यसैबाट भोजन पाउँथे।
13 मेरो पलङमाथि मेरो शिरका दर्शनहरूमा मैले हेरिरहेको थिएँ; अनि हेर, एक पहरेदार र एक पवित्र जन स्वर्गबाट ओर्लिरहेका थिए! 14 तिनी जोड़ले कराए, र यसो भने: ‘यो रूख ढालिदेओ, यसका हाँगाहरू काटिदेओ, यसका पातहरू हल्‍लाएर झारिदेओ र यसका फल छरिदेओ! यसमुनिबाट पशुहरू र यसका हाँगाहरूबाट पक्षीहरू भागून्! 15 तरैपनि यसका जराहरूको ठुटाचाहिँ पृथ्वीमा, अँ, फलाम र पित्तलको बन्धनले बाँधिएको अवस्थामा मैदानको कलिलो घाँसमा छोड़िदेओ! अनि यो आकाशको शीतले भिजोस्, र यसको भागचाहिँ पृथ्वीको घाँसमाथि पशुहरूको साथमा रहोस्! 16 यसको मानिसको हृदय बदलियोस्, र यसलाई एउटा पशुको हृदय दिइयोस्; अनि यसमाथि सातवटा समय बितेर जाऊन्! 17 यो फैसलाचाहिँ पहरेदारहरूको आज्ञाद्वारा, र यो मागचाहिँ पवित्र जनहरूको वचनद्वारा भएको हो; यस उद्देश्यले कि जीवित प्राणीहरूले यो जानून्, कि परमप्रधानले मानिसहरूको राज्यमा शासन गर्नुहुन्छ; अनि जसलाई उहाँ चाहनुहुन्छ, उसैलाई उहाँले त्यो दिनुहुन्छ, र मानिसहरूमध्ये सबैभन्दा तल्‍लो स्तरकोलाई त्यसमाथि बसाल्नुहुन्छ।’ 18 म, राजा नबूकद्‌नेस्‍सरले यही सपना देखेको हुँ। अब तिमीले, हे बेल्त-शज्जर, यसको अर्थ बताइदेऊ; किनकि मेरो राज्यका सबै बुद्धिमान् मानिसहरूले मलाई यसको अर्थ बताउन सक्दैनन्; तर तिमीले चाहिँ सक्छौ, किनभने तिमीभित्र पवित्र ईश्‍वरहरूको आत्मा छ।’
दानियलले यस दोस्रो सपनाको अर्थ पनि खोल्छन्
19 तब दानियल, जसको नाम बेल्त-शज्जर थियो, एक घड़ीसम्म अवाक् भइरहे, र उनका विचारहरूले उनलाई विचलित पारे। तब राजा बोले, र भने: ‘हे बेल्त-शज्जर, त्यस सपनाले, र त्यसको अर्थले तिमीलाई विचलित नपारोस्!’ बेल्त-शज्जरले जवाफ दिएर भने: ‘हे मेरा प्रभु, त्यो सपनाचाहिँ तपाईंलाई घृणा गर्नेहरूमाथि, र त्यसको अर्थचाहिँ तपाईंका शत्रुहरूमाथि लागू होस्! 20 त्यो रूख, जुन रूख तपाईंले देख्‍नुभयो, जो बढ्यो र बलियो भयो, जसको उचाइ आकाशसम्म पुगेको थियो र जो सारा पृथ्वीको अन्त-अन्तबाट देखिन्थ्यो; 21 जसका पातहरू सुन्दर थिए, जसको फल प्रशस्त थियो, र जसमा सबैका निम्ति भोजन थियो; जसमुनि मैदानका पशुहरू बस्थे र जसका हाँगाहरूमा आकाशका पक्षीहरूले आफ्नो वासस्थान बनाएका थिए; 22 हे राजा, त्यो रूख त तपाईं नै हुनुहुन्छ, जो बढ़्‍नुभयो र बलियो हुनुभयो; किनकि तपाईंको महान्‌ता बढ़ेको छ र आकाशसम्म पुगेको छ, तपाईंको प्रभुत्व पृथ्वीको अन्तसम्म छ। 23 अनि राजाले एउटा पहरेदारलाई, अँ, एक पवित्र जनलाई स्वर्गबाट ओर्लिरहेका र यसो भनिरहेका देख्‍नुभयो: “यो रूख ढालिदेओ, र यसलाई नष्‍ट गर; तर यसका जराहरूको ठुटाचाहिँ पृथ्वीमा, अँ, फलाम र पित्तलको बन्धनले बाँधिएको अवस्थामा मैदानको कलिलो घाँसमाथि छोड़िदेओ! अनि यो आकाशको शीतले भिजोस्, र यसमाथि सातवटा समय नबितुन्जेल यसको भागचाहिँ मैदानका पशुहरूको साथमा होस्!” 24 हे राजा, यसको अर्थ यो हो, र यो परमप्रधानको आज्ञा हो, जुनचाहिँ मेरा प्रभु राजामाथि आइपरेको छ: 25 अर्थात् परमप्रधानले मानिसहरूको राज्यमा शासन गर्नुहुन्छ; अनि जसलाई उहाँ चाहनुहुन्छ, उसैलाई उहाँले त्यो दिनुहुन्छ भन्‍ने कुरा जबसम्म तपाईंले जान्‍नुहुन्‍न, तबसम्म तिनीहरूले तपाईंलाई मानिसहरूको बीचबाट धपाउनेछन्, र तपाईंको वासस्थान मैदानका पशुहरूको साथमा हुनेछ; अनि तिनीहरूले तपाईंलाई गोरुहरूलाई झैं घाँस खान लाउनेछन्; अनि तिनीहरूले तपाईंलाई आकाशको शीतले भिजाउनेछन्, र तपाईंमाथि सातवटा समय बितेर जानेछन्। 26 अनि “रूखका जराहरूका ठुटालाई छोड़िदेओ” भनी तिनीहरूले आज्ञा गरे – यसको अर्थ यो हो: स्वर्गले शासन गर्छ भन्‍ने कुरा तपाईंले जान्‍नुभएपछि तपाईंको राज्य तपाईंकै निम्ति स्थिर गरिनेछ। 27 यसैकारण हे राजा, मेरो सल्‍लाह तपाईंका निम्ति ग्रहणयोग्य भएको होस्! धार्मिकताद्वारा आफ्ना पापहरू, र गरिबहरूमाथि कृपा देखाएर आफ्ना अधर्महरू तोड़्नुहोस्! हुन सक्छ तपाईंको सुख­शान्ति लम्मिनेछ।’
28 यो सबै राजा नबूकद्‌नेस्‍सरमाथि आइपर्‍यो। 29 बाह्र महिनाको अन्ततिर तिनी बाबेल राज्यको दरवारमाथि घुमिरहेका थिए; 30 राजा बोले, र भने: ‘के यो त्यो महान् बाबेल होइन र, जसलाई मैले आफ्नै बलको सामर्थ्यले राजकीय वासस्थान हुनलाई र मेरो प्रतापको महिमाका निम्ति निर्माण गरेको हुँ?’ 31 यो वचन राजाको मुखमा हुँदा नै स्वर्गबाट यसो भन्‍ने वाणी आइहाल्यो: ‘हे राजा नबूकद्‌नेस्‍सर, तिमीलाई यो भनिँदैछ: राज्य तिमीबाट लगियो 32 अनि परमप्रधानले मानिसहरूको राज्यमा शासन गर्नुहुन्छ, अनि जसलाई उहाँ चाहनुहुन्छ, उसैलाई उहाँले त्यो दिनुहुनेछ भन्‍ने कुरा जबसम्म तिमीले जान्दैनौ, तबसम्म तिनीहरूले तिमीलाई मानिसहरूको बीचबाट धपाउनेछन्, र तिम्रो वासस्थान मैदानका पशुहरूसँग हुनेछ; तिनीहरूले तिमीलाई गोरुहरूलाई झैं घाँस खान लाउनेछन्; अनि तिमीमाथि सातवटा समय बितेर जानेछन्।’ 33 त्यही घड़ी नै यो कुरा नबूकद्‌नेस्‍सरमाथि पूरा भयो; अनि तिनी मानिसहरूको बीचबाट धपाइए; अनि तिनले गोरुहरूले झैं घाँस खाए, अनि जबसम्म तिनका केशहरू बढ़ेर चीलहरूका प्वाँखहरूजस्ता र तिनका नङहरू बढ़ेर चराहरूका नङ्ग्राहरूजस्ता भएनन्, तबसम्म तिनको शरीर आकाशको शीतले भिजिरह्‍यो।
34 अनि ती दिनहरूका अन्तमा म, नबूकद्‌नेस्‍सरले आफ्ना आँखाहरू स्वर्गतिर उठाएँ, र मेरो समझ मकहाँ फर्केर आयो; अनि मैले परमप्रधानलाई धन्यको भनें, अनि उहाँको प्रशंसा र आदर गरें, जो सदा-सर्वदा जीवित रहनुहुन्छ, जसको प्रभुत्व एउटा अनन्त प्रभुत्व हो, र जसको राज्य पुस्तौंपुस्तासम्म रहिरहन्छ; 35 अनि पृथ्वीका सबै बासिन्दाहरू शून्यसरह गनिएका हुन्; अनि उहाँले स्वर्गको सेनाको बीचमा र पृथ्वीका बासिन्दाहरूको बीचमा आफ्नै इच्छाअनुसार काम गर्नुहुन्छ; अनि कसैले उहाँको हात रोक्न सक्दैन, न ता उहाँलाई ‘तपाईंले के गर्दै हुनुहुन्छ?’ भन्‍न सक्दछ। 36 त्यही समयमा मेरो समझ मकहाँ फर्केर आयो; अनि मेरो राज्यको महिमाका निम्ति मेरा आदर र तेज मकहाँ फर्केर आए; अनि मेरा सल्‍लाहकारहरू र मेरा प्रधानहरूले मलाई खोजे; अनि म आफ्नो राज्यमा फेरि स्थापित भएँ; अनि ममाथि प्रतापमाथि प्रताप थपियो। 37 अब म, नबूकद्‌नेस्‍सर स्वर्गका राजालाई प्रशंसा गर्छु, बढ़ाइ गर्छु र आदर दिन्छु; उहाँका सबै कामहरू सत्य छन्, र उहाँका चालहरू न्यायसङ्गत छन्; अनि जो घमण्डसाथ हिँड़्छन्, त्यस्ताहरूलाई नीच तुल्याउन उहाँ सामर्थी हुनुहुन्छ।”