नयाँ मन्दिरको दर्शन: परमप्रभुको भवनबाट जीवन दिने पानी निस्कन्छ
47
त्यसपछि उहाँले मलाई फेरि भवनको ढोकामा ल्याउनुभयो; अनि हेर, पूर्वतिर भवनको सँघारमुनिबाट पानी निस्किरहेको थियो; किनभने भवनको मुख पूर्वतिर फर्केको थियो; अनि पानी भवनको दाहिनेपट्टिबाट मुनिबाट वेदीको दक्षिणपट्टि निस्केर तल बगिरहेको थियो। 2 अनि उहाँले मलाई उत्तरको मूलढोकाबाट बाहिर लैजानुभयो; अनि बाहिरी बाटोबाट घुमाएर मलाई बाहिरी मूलढोकामा त्यस बाटोबाट पुर्‍याउनुभयो, जुन बाटोचाहिँ पूर्वतिर फर्केको थियो; अनि हेर, पानी दाहिनेपट्टिबाट बगेर निस्किरहेको थियो। 3 अनि जब आफ्नो हातमा टाँगो लिएका मानिस पूर्वतिर निस्केर गए, तब तिनले हजार हात नापे, र मलाई पानीबाट पार गराए; पानी गोलीगाँठाहरूसम्म आउँथ्यो। 4 फेरि तिनले हजार हात नापे, र मलाई पानीबाट पार गराए; पानी घुँड़ाहरूसम्म आउँथ्यो। अनि फेरि तिनले हजार हात नापे, र मलाई पानीबाट पार गराए; पानी कम्मरसम्म आउँथ्यो। 5 त्यसपछि तिनले फेरि हजार हात नापे; अनि त्यो एउटा नदी भयो, जसलाई मैले पार गर्न सकिनँ; किनभने पानी बढ़ेको थियो – पौड़ी खेल्ने पानी – एउटा नदी, जसलाई पार गर्न सकिँदैनथियो। 6 अनि तिनले मलाई भने: “हे मानिसको छोरा, के तिमीले यो देखेका छौ?” तब तिनले मलाई लगे, र फेरि त्यस नदीको किनारमा फर्काए। 7 जब म फर्केर गएँ, तब हेर, त्यस नदीको किनारमा, यतापट्टि र उतापट्टि अति धेरै रूखहरू रहेछन्! 8 तब उहाँले मलाई भन्‍नुभयो: “यो पानी पूर्वी क्षेत्रतिर निस्केर जान्छ, र अराबातिर झर्छ, अनि समुद्रमा पस्छ; यो समुद्रभित्र ल्याइनसाथ त्यसको पानी निको हुनेछ। 9 अनि यस्तो हुनेछ: जहाँ-जहाँ यी नदीहरू पुग्छन्, ती सबै ठाउँहरूमा हरेक जीवित प्राणी, जो चलमलाउँछ, जीवित हुनेछ; अनि त्यो पानी त्यहाँ पुगेकोले त्यहाँ अति धेरै माछाहरू हुनेछन्; किनकि पानी निको हुनेछ; अनि जहाँ त्यो नदी पुग्छ, त्यहाँ हरेक थोक जीवित हुनेछ। 10 अनि यस्तो हुनेछ: एन्-गदीदेखि एन्-एग्लैमसम्म मछुवाहरू त्यसको किनारमा खड़ा हुनेछन्; ती जालहरू फैलाउने ठाउँ हुनेछन्; तिनका माछाहरू आ-आफ्ना जातिका हुनेछन् र महासागरका माछाहरूजस्तै अति धेरै हुनेछन्। 11 तर त्यसका दलदलहरू र त्यसका खाड़ीहरू निका हुनेछैनन् – ती नुनकै निम्ति दिइनेछन्। 12 अनि त्यस नदीको छेउमा, त्यसको किनारमा यतापट्टि र उतापट्टि भोजन दिने सबै प्रकारका रूखहरू उम्रनेछन्, जसको पात ओइलनेछैन, न ता त्यसको फल सिद्धिनेछ; त्यसले आफ्ना महिनाहरूमा नयाँ फल दिनेछ; किनभने त्यसको पानीचाहिँ पवित्रस्थानबाट निस्केर आउँछ; अनि त्यसको फल भोजनका निम्ति र त्यसको पात औषधीका निम्ति हुनेछ।”
देशको सिमाना
13 “प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ: सिमाना यो हुनेछ, जसअनुसार तिमीहरूले इस्राएलका बाह्र कुलअनुसार यो देश पैतृक सम्पत्तिको रूपमा पाउनेछौ; यूसुफका दुई भाग हुनेछन्। 14 अनि तिमीहरू एउटाले अर्कोले झैं पैतृक सम्पत्तिको रूपमा यो पाउनेछौ, जसको विषयमा मैले ‘यो म तिमीहरूका पितापुर्खाहरूलाई दिनेछु’ भनी शपथ खाएको छु; अनि यो देश पैतृक सम्पत्तिको रूपमा तिमीहरूलाई बाँड़िनेछ
15 अनि उत्तरतिर यस देशको सिमाना यो हुनेछ: महासागरदेखि हेत्लोन हुँदै सदादसम्म; 16 हमात, बेरोता, सिब्रैम, जो दमस्कसको सिमाना र हमातको सिमानाको बीचमा पर्छ; हसर-हत्तिकोन, जो हौरानको सिमानाको छेउमा छ। 17 अनि समुद्रबाट सिमानाचाहिँ दमस्कसको सिमाना हसर-एनोन हुनेछ, र उत्तरतिर उत्तरचाहिँ हमातको सिमाना हुनेछ। अनि उत्तरपट्टि यो हुनेछ। 18 अनि पूर्वपट्टि तिमीहरूले हौरानबाट, दमस्कसबाट, गिलादबाट र यर्दननिरको इस्राएल देशबाट, अँ, त्यस सिमानाबाट पूर्वी समुद्रसम्म नाप्‍नू! अनि पूर्वपट्टि यो हुनेछ। 19 अनि दक्षिणतिर दक्षिणपट्टि तामारदेखि मरीबा-कादेशको पानीसम्म, र त्यस नदीदेखि महासमुद्रसम्म हुनेछ। अनि दक्षिणतिर दक्षिणपट्टि यो हुनेछ। 20 अनि पश्‍चिमपट्टिचाहिँ त्यस सिमानादेखि हमातको सामुसम्म महासमुद्र हुनेछ। अनि पश्‍चिमपट्टिचाहिँ यो हुनेछ। 21 यसरी इस्राएलका कुलहरूअनुसार तिमीहरूले यो देश आफ्ना निम्ति बाँड़िदिनू!
22 अनि यस्तो हुनेछ: तिमीहरूले यो चिट्ठा हालेर पैतृक सम्पत्तिको रूपमा आफ्ना निम्ति र तिमीहरूको बीचमा बसोबास गर्ने परदेशीहरूका निम्ति बाँड़्नू, जसले तिमीहरूको बीचमा छोराछोरीहरूलाई जन्माउनेछन्। अनि तिनीहरू तिमीहरूका निम्ति इस्राएलीहरूको बीचमा जन्मिएका स्वदेशीहरूजस्ता होऊन्; इस्राएलका कुलहरूको बीचमा तिनीहरूले तिमीहरूको साथमा पैतृक सम्पत्ति पाऊन्! 23 अनि यस्तो हुनेछ: जुन कुलमा परदेशीले बसोबास गर्छ, त्यहीं तिमीहरूले त्यसलाई त्यसको पैतृक सम्पत्ति दिनू, प्रभु यहोवा भन्‍नुहुन्‍छ!”