भूमि इस्राएलका कुलहरूलाई भागबन्डा गरिन्छ
48
“अनि कुलहरूका नामहरू यी हुन्: उत्तरको सिमानाबाट हेत्लोनको सिमाना हुँदै हमातसम्म, दमस्कसको सिमाना हसर-एनोनदेखि र उत्तरतिर हमातको सिमानासम्म हुनेछ; किनभने उसका पूर्वी र पश्‍चिमी छेउहरू यी नै हुन्, दानको एक भाग हुनेछ। 2 अनि दानको सिमानाको छेउमा, पूर्वपट्टिदेखि पश्‍चिमपट्टिसम्म आशेरको एक भाग हुनेछ। 3 अनि आशेरको सिमानाको छेउमा, पूर्वपट्टिदेखि पश्‍चिमपट्टिसम्म नप्‍तालीको एक भाग हुनेछ। 4 अनि नप्‍तालीको सिमानाको छेउमा, पूर्वपट्टिदेखि पश्‍चिमपट्टिसम्म मनश्शेको एक भाग हुनेछ। 5 अनि मनश्शेको सिमानाको छेउमा, पूर्वपट्टिदेखि पश्‍चिमपट्टिसम्म एप्रैमको एक भाग हुनेछ। 6 अनि एप्रैमको सिमानाको छेउमा, पूर्वपट्टिदेखि पश्‍चिमपट्टिसम्म रूबेनको एक भाग हुनेछ। 7 अनि रूबेनको सिमानाको छेउमा, पूर्वपट्टिदेखि पश्‍चिमपट्टिसम्म यहूदाको एक भाग हुनेछ।
8 अनि यहूदाको सिमानाको छेउमा, पूर्वपट्टिदेखि पश्‍चिमपट्टिसम्म एउटा भेटीरूपी भाग हुनेछ, जुनचाहिँ तिमीहरूले चढ़ाउनू! चौड़ाइ पच्‍चीस हजार हात र लमाइचाहिँ ती भागहरूको एउटाजतिकै पूर्वपट्टिदेखि पश्‍चिमपट्टिसम्म होस्; अनि पवित्रस्थान त्यसको बीचमा होस्! 9 तिमीहरूले परमप्रभुका निम्ति चढ़ाउनुपर्ने भेटीचाहिँ पच्‍चीस हजार हात लामो र दस हजार हात चौड़ा होस्! 10 अनि यो पवित्र भेटी यिनीहरूका निम्ति अर्थात् पूजाहारीहरूका निम्ति हुनेछ – उत्तरतिर पच्‍चीस हजार हात लामो, पश्‍चिमपट्टि दस हजार हात चौड़ा, पूर्वतिर दस हजार हात चौड़ा र दक्षिणतिर पच्‍चीस हजार हात लामो हुनेछ; अनि परमप्रभुको पवित्रस्थान त्यसको बीचमा हुनेछ। 11 योचाहिँ सादोकका सन्तानबाट ती पवित्र गरिएका पूजाहारीहरूका निम्ति हुनेछ, जसले मेरो जिम्मेवारी पूरा गरेका थिए; तिनीहरूचाहिँ इस्राएलीहरू भड़्किएर गएको बेलामा लेवीहरू भड़्किएर गएझैं भड़्किएनन्। 12 अनि यो चढ़ाइएको भेटीरूपी भूमिचाहिँ यिनीहरूका निम्ति लेवीहरूको सिमानाको छेउमा एउटा महापवित्र ठाउँ होस्!
13 अनि पूजाहारीहरूको सिमानाको छेउमा लेवीहरूले पच्‍चीस हजार हात लामो र दस हजार हात चौड़ा भूमि पाउनेछन्; पूरा लमाइ पच्‍चीस हजार हात, र चौड़ाइ दस हजार हात हुनेछ। 14 अनि उनीहरूले यसबाट न केही बेचून्, न केही साटून्, न ता भूमिको पहिलो फल अरू कतै दिऊन्; किनकि यो परमप्रभुका निम्ति पवित्र हो।
15 अनि पच्‍चीस हजार हातको भागको अघिल्तिर चौड़ाइबाट उब्रेको त्यो पाँच हजार हात भूमिचाहिँ त्यस शहरका निम्ति वासस्थान र खुला जमिनका निम्ति एउटा सर्वसाधारण ठाउँ हुनेछ; अनि शहर त्यसको बीचमा हुनेछ। 16 अनि त्यस भागका नापहरू यी होऊन्: उत्तरपट्टि चार हजार पाँच सय हात, दक्षिणपट्टि चार हजार पाँच सय हात, पूर्वपट्टि चार हजार पाँच सय हात र पश्‍चिमपट्टि चार हजार पाँच सय हात। 17 शहरको खुला जमिनचाहिँ उत्तरतिर साढ़े दुई सय हात, दक्षिणतिर साढ़े दुई सय हात, पूर्वतिर साढ़े दुई सय हात र पश्‍चिमतिर साढ़े दुई सय हात होस्! 18 अनि पवित्र भागरूपी भेटीको छेउ-छेउमा लमाइबाट उब्रेको भाग पूर्वतिर दस हजार हात, र पश्‍चिमतिर दस हजार हात हुनेछ; अनि यो भागचाहिँ पवित्र भागरूपी भेटीको छेउमा हुनेछ; अनि यसको उब्जनीचाहिँ शहरका कर्मचारीहरूको भोजनका निम्ति होस्! 19 अनि शहरका कर्मचारीहरूले, जो इस्राएलका सबै कुलहरूबाटका हुन्छन्, यसको खनजोत गरून्!
20 सारा भेटीचाहिँ पच्‍चीस हजार हात लामो र पच्‍चीस हजार हात चौड़ा होस्; त्यस शहरको अधिकारको भागसहित तिमीहरूले यो वर्गाकार पवित्र भेटी चढ़ाउनू! 21 अनि त्यस पवित्र भेटी र त्यस शहरको अधिकारको भागको यतापट्टि र उतापट्टि अर्थात् पच्‍चीस हजार हातको त्यस पवित्र भेटीको सामु पूर्वको सिमानासम्म अनि पश्‍चिमतिर, पच्‍चीस हजार हातको भागको सामु पश्‍चिमको सिमानासम्म शासकका निम्ति हुने भागहरूका छेउ-छेउमा यो उब्रेको भाग शासकका निम्ति हुनेछ; अनि यो पवित्र भेटी होस्; अनि भवनरूपी पवित्रस्थान त्यसको बीचमा हुनेछ। 22 अनि लेवीहरूको अधिकारको भागबाट र त्यस शहरको अधिकारको भागबाट, जुन भाग शासकको भागको बीचमा पर्छ, अर्थात् यहूदाको सिमाना र बिन्यामिनको सिमानाको बीचको भाग शासकको हुनेछ।
23 अनि बाँकी कुलहरूचाहिँ – पूर्वपट्टिदेखि पश्‍चिमपट्टिसम्म बिन्यामिनको एक भाग हुनेछ। 24 अनि बिन्यामिनको सिमानाको छेउमा पूर्वपट्टिदेखि पश्‍चिमपट्टिसम्म शिमोनको एक भाग हुनेछ। 25 अनि शिमोनको सिमानाको छेउमा पूर्वपट्टिदेखि पश्‍चिमपट्टिसम्म इस्साकारको एक भाग हुनेछ। 26 अनि इस्साकारको सिमानाको छेउमा पूर्वपट्टिदेखि पश्‍चिमपट्टिसम्म जबूलूनको एक भाग हुनेछ। 27 अनि जबूलूनको सिमानाको छेउमा पूर्वपट्टिदेखि पश्‍चिमपट्टिसम्म गादको एक भाग हुनेछ। 28 अनि गादको सिमानाको छेउमा, दक्षिणतिर दक्षिणपट्टिको सिमानाचाहिँ तामारदेखि मरीबा-कादेशको पानीसम्म र त्यस नदीदेखि महासमुद्रसम्म हुनेछ। 29 देश यही हो, जुन देश तिमीहरूले इस्राएलका कुलहरूलाई पैतृक सम्पत्तिको रूपमा चिट्ठा हालेर बाँड़िदिनू; अनि तिनीहरूका भागहरू यी नै हुन्, प्रभु यहोवा भन्‍नुहुन्‍छ।
30 अनि त्यस शहरका निस्कने ठाउँहरू यी हुन्: उत्तरपट्टि चार हजार पाँच सय नाप। 31 अनि त्यस शहरका मूलढोकाहरूका नामहरू इस्राएलका कुलहरूका नामअनुसार राखिनेछन्; उत्तरतिर तीनवटा मूलढोकाहरू – रूबेनको एउटा मूलढोका; यहूदाको एउटा मूलढोका; लेवीको एउटा मूलढोका। 32 अनि पूर्वपट्टि चार हजार पाँच सय नाप; अनि तीनवटा मूलढोकाहरू – यूसुफको एउटा मूलढोका; बिन्यामिनको एउटा मूलढोका; दानको एउटा मूलढोका। 33 अनि दक्षिणपट्टि, चार हजार पाँच सय नाप; अनि तीनवटा मूलढोकाहरू – शिमोनको एउटा मूलढोका; इस्साकारको एउटा मूलढोका; जबूलूनको एउटा मूलढोका। 34 पश्‍चिमपट्टि चार हजार पाँच सय नाप; अनि तीनवटा मूलढोकाहरू – गादको एउटा मूलढोका; आशेरको एउटा मूलढोका; नप्‍तालीको एउटा मूलढोका। 35 त्यस शहरको चारैतिर अठार हजार नाप हुनेछ; अनि त्यस दिनदेखि त्यस शहरको नाम ‘यहोवा शाम्माह’ हुनेछ!”