नयाँ मन्दिरको दर्शन: पूर्वको मूलढोका, र लेवीहरूका निम्ति परमप्रभुका विभिन्न आदेशहरू
44
तब उहाँले मलाई बाहिरी पवित्रस्थानको त्यस मूलढोकाबाट भएर फर्काएर ल्याउनुभयो, जुनचाहिँ पूर्वतिर फर्केको थियो; अनि त्यो बन्द गरिएको थियो। 2 तब परमप्रभुले मलाई भन्नुभयो: “यो मूलढोका बन्द रहनेछ; यो खोलिनेछैन, र यसबाट कुनै मानिस भित्र पस्नेछैन; किनभने परमप्रभु इस्राएलका परमेश्वर यसबाट भित्र पस्नुभएको छ; यसैले यो बन्द रहनेछ। 3 यो ती शासकका निम्ति हुनेछ; ती शासकचाहिँ परमप्रभुको सामु रोटी खान यसभित्र बस्नेछन्; तिनी त्यस मूलढोकाको दलानबाट भएर भित्र पस्नेछन् र त्यही बाटो भएर निस्केर जानेछन्।”4 तब उहाँले मलाई उत्तरी मूलढोकाबाट भवनको सामु ल्याउनुभयो; अनि मैले हेरें; अनि हेर, परमप्रभुको महिमाले परमप्रभुको भवनलाई भरिदियो; अनि भुइँमा आफ्नो अनुहार टेकाएर म घोप्टो परें। 5 अनि परमप्रभुले मलाई भन्नुभयो: ‘हे मानिसको छोरा, आफ्नो हृदय लगाऊ! आफ्ना आँखाहरूले हेर, र परमप्रभुको भवनका सबै विधिहरू र त्यसका सबै व्यवस्थाहरूको विषयमा म तिमीलाई जे भन्नेछु, त्यो सबै आफ्ना कानहरूले सुन! अनि भवनको पस्ने ठाउँमा, साथै पवित्रस्थानका सबै निस्कने ठाउँहरूमा आफ्नो मन लगाऊ! 6 अनि तिमीले ती विद्रोहीहरूलाई, अँ, इस्राएलको घरानालाई भन्नू: प्रभु यहोवा यसो भन्नुहुन्छ, हे इस्राएलको घराना, तिमीहरूका सबै घृणित कामहरू तिमीहरूका निम्ति पर्याप्त होस्! 7 तिमीहरूले मेरो भोजनक अर्थात् बोसो र रगत चढ़ाउँदा हृदयमा खतना नभएका र शरीरमा खतना नभएका परदेशीहरूलाई मेरो पवित्रस्थानभित्र रहन र त्यसलाई, अँ, मेरो भवनलाई अशुद्ध तुल्याउन भनी भित्र ल्याएका छौ; अनि तिमीहरूका सबै घृणित कामहरूको कारणले तिनीहरूले मेरो वाचा तोड़ेका छन्। 8 अनि मेरा पवित्र वस्तुहरूको जिम्मेवारी तिमीहरूले पूरा गरेका छैनौ; तर तिमीहरूले आफ्नै निम्ति मेरो पवित्रस्थानमा मेरो जिम्मेवारी पूरा गर्नेहरू खटाएका छौ।
9 प्रभु यहोवा यसो भन्नुहुन्छ: इस्राएलीहरूको बीचमा बस्ने सबै परदेशीहरूमध्ये हृदयको खतना नभएको र शरीरको खतना नभएको कुनै परदेशीले मेरो पवित्रस्थानभित्र पस्न पाउनेछैन! 10 अनि इस्राएल भड़्किएर जाँदा मदेखि टाढ़ा गएका लेवीहरू, जो उनीहरूका मूर्तिहरूको पछि लागेर मबाट भड़्किएर गए, ती लेवीहरूले आफ्नो अधर्मको दण्ड भोग्नेछन्। 11 तैपनि तिनीहरू मेरो पवित्रस्थानमा सेवकहरू हुनेछन्, जसले भवनका मूलढोकाहरूको देखरेख गर्नेछन् र भवनको सेवा गर्नेछन्; तिनीहरूले चाहिँ मानिसहरूका निम्ति होमबलि र बलिदान मार्नेछन्; अनि उनीहरूको सेवा गर्न तिनीहरू उनीहरूको सामु उभिनेछन्। 12 किनकि तिनीहरूले उनीहरूका मूर्तिहरूको सामु उनीहरूको सेवा गरे, र तिनीहरू इस्राएलको घरानाका निम्ति अधर्ममा ठेस लाग्ने कारण बने; यसकारण मैले तिनीहरूको विरोधमा शपथ खाएकोख छु; अनि तिनीहरूले आफ्नो अधर्मको दण्ड भोग्नेछन्, प्रभु यहोवा भन्नुहुन्छ। 13 अनि पूजाहारीको पदमा मेरो सेवा गर्नका निम्ति तिनीहरू मेरो नजिक नआऊन्, न ता महापवित्रस्थानभित्र मेरो कुनै पवित्र वस्तुको नजिक आऊन्; तर तिनीहरूले आफ्नो शर्म र आफूले गरेका आफ्ना घृणित कामहरूको दण्डग भोगून्। 14 तैपनि म तिनीहरूलाई भवनको सारा सेवा र त्यसभित्र गरिनुपर्ने सबै कामका निम्ति त्यसको जिम्मेवारी पूरा गर्नेहरू तुल्याउनेछु।”
पूजाहारीहरूको जिम्मेवारी
15 “तर ती लेवी पूजाहारीहरू अर्थात् सादोकका सन्तानहरू, जसले इस्राएलीहरू मबाट भड़्किएर गएको बेलामा मेरो पवित्रस्थानको जिम्मेवारी पूरा गरे, उनीहरू नै मेरो सेवा गर्नका निम्ति मेरो नजिक आऊन्, अनि मेरा निम्ति बोसो र रगत चढ़ाउनलाई उनीहरू नै मेरो सामु उभिऊन्, प्रभु यहोवा भन्नुहुन्छ। 16 उनीहरू नै मेरो पवित्रस्थानभित्र पसून्; अनि उनीहरू नै मेरो सेवा गर्न मेरो टेबलको नजिक आऊन्; र उनीहरूले नै मेरो जिम्मेवारी पूरा गरून्।
17 अनि यस्तो हुनेछ: भित्री चोकका मूलढोकाहरूमा पस्दाहुँदि तिनीहरूले सुती लुगाहरू पहिरेका होऊन्; अनि भित्री चोकका मूलढोकाहरूभित्र र भवनभित्र सेवा गर्दाहुँदि तिनीहरूमाथि कुनै ऊनी वस्त्र नहोस्! 18 तिनीहरूका शिरहरूमा सुती लुगाका पगरीहरू र तिनीहरूका कम्मरहरूमा सुती लुगाका ठुटे सुरुवालहरू होऊन्; तिनीहरूले पसिना निकाल्ने कुनै चीजले आफ्नो कम्मर नकसून्! 19 अनि बाहिरी चोकमा जाँदाखेरि अर्थात् बाहिरी चोकमा मानिसहरूकहाँ जाँदाखेरि जुन वस्त्रहरू लगाएर तिनीहरूले सेवा गर्छन्, आफ्ना ती वस्त्रहरू तिनीहरूले फुकालून्, तिनलाई पवित्र कोठाहरूमा राखून् र अरू वस्त्रहरू पहिरून्; अनि तिनीहरूले मानिसहरूलाई आफ्ना वस्त्रहरूले पवित्र नपारून्!
20 अनि तिनीहरूले आफ्ना शिरहरू नखौरून्, न ता आफ्नो लत्रेको केश बढ़ेर लामो हुन दिऊन्; तिनीहरूले निश्चय आफ्नो शिरको केश काटून्! 21 पूजाहारीहरू भित्री चोकमा पस्दा कसैले पनि दाखमद्य नपिओस्! 22 अनि तिनीहरूले कुनै विधवा र कुनै त्यागिएकीलाई आफ्ना पत्नी नतुल्याऊन्; तर तिनीहरूले केवल इस्राएलको घरानाको वंशबाट कन्याहरूलाई नै अथवा यस्ती एउटी विधवालाई लिऊन्, जो कुनै पूजाहारीकी विधवा हो। 23 अनि तिनीहरूले मेरो प्रजालाई पवित्र र अपवित्रको बीचमा भिन्नता सिकाऊन्; अनि शुद्ध र अशुद्धको बीचमा भिन्नता जान्ने तुल्याऊन्! 24 अनि कुनै मामला हुँदा तिनीहरू न्यायका निम्ति उभिऊन्; अनि मेरा फैसलाहरूअनुसार तिनीहरूले त्यसको न्याय गरून्; अनि मेरा सबै तोकिएका चाड़हरूमाघ तिनीहरूले मेरा व्यवस्थाहरू र मेरा विधिहरू पालन गरून्; अनि तिनीहरूले मेरा विश्रामदिनहरू पवित्र मानून्! 25 अनि आफूलाई अशुद्ध पार्नलाई तिनीहरू कुनै मरेको मानिसकहाँ नआऊन्; तर केवल बुबा, आमा, छोरा, छोरी, दाजुभाइ वा अविवाहित दिदीबहिनीका निम्ति तिनीहरूले आफूलाई अशुद्ध पार्न सक्छन्। 26 अनि ऊ शुद्ध भएपछि तिनीहरूले उसका निम्ति सात दिन गन्ती गरून्; 27 अनि जुन दिन पवित्रस्थानभित्र सेवा गर्नलाई ऊ भित्री चोकमा पवित्रस्थानभित्र पस्छ, त्यस दिन उसले आफ्नो पापबलि चढ़ाओस्, प्रभु यहोवा भन्नुहुन्छ। 28 अनि तिनीहरूका निम्ति पैतृक सम्पत्ति यो हुनेछ: तिनीहरूको पैतृक सम्पत्ति म नै हुँ; अनि इस्राएलमा तिमीहरूले तिनीहरूलाई कुनै अधिकारको भाग नदिनू; तिनीहरूको अधिकारको भाग म नै हुँ। 29 तिनीहरूले चाहिँ अन्नबलि, पापबलि र दोषबलि खाऊन्; अनि इस्राएलमा अर्पण गरिएको हरेक वस्तु तिनीहरूको हुनेछ। 30 अनि सबै थोकहरूका सबै पहिला फलहरूको पहिलो भाग र तिमीहरूका सबै भेटीहरूबाट सबै थोकहरूको हरेक भेटी पूजाहारीहरूकै होऊन्; अनि तिम्रो घरमा आशिष् आउनङ दिनका निम्ति तिमीहरूले तिमीहरूको मुछेको पीठोको पहिलो भाग पूजाहारीलाई दिनू!
31 आफैआफ मरेको वा च्यातचुत पारिएको कुनै चीज, चाहे त्यो पक्षीबाटको वा पशुबाटको किन नहोस्, पूजाहारीहरूले नखाऊन्!”