नयाँ मन्दिरको दर्शन: परमप्रभुको महिमाले त्यस भवनलाई भरिदिन्छ
43
त्यसपछि तिनले मलाई त्यस मूलढोकामा, अँ, त्यस मूलढोकामा ल्याए, जुनचाहिँ पूर्वतिर फर्केको थियो। 2 अनि हेर, इस्राएलका परमेश्‍वरको महिमा पूर्वको बाटोबाट भएर आइरहेको थियो; अनि उहाँको सोरचाहिँ धेरै पानीको आवाजजस्तो थियो; अनि पृथ्वी उहाँको महिमाले चम्कियो। 3 अनि योचाहिँ मैले देखेको त्यो दर्शनजस्तो थियो, अँ, त्यो दर्शनजस्तो, जुन दर्शन मैले त्यो शहर नाश गर्न आउँदा देखेको थिएँ; अनि ती दर्शनहरू त्यो दर्शनजस्ता थिए, जुन दर्शन मैले कबार नदीको किनारमा देखेको थिएँ; अनि म भुइँमा आफ्नो अनुहार टेकाएर घोप्‍टो परें। 4 अनि परमप्रभुको महिमा त्यस मूलढोकाबाट भएर भवनभित्र पस्यो, जुन मूलढोकाको मुख पूर्वतिर फर्केको थियो। 5 तब आत्माले मलाई उठाउनुभयो र मलाई भित्री चोकमा ल्याउनुभयो; अनि हेर, परमप्रभुको महिमाले त्यस भवनलाई भरिदियो।
6 अनि उहाँ त्यस भवनबाट मसित बोल्नुभएको मैले सुनें। अनि ती मानिस मेरो छेउमा उभिरहे। 7 अनि उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, यो मेरो सिंहासनको ठाउँ र मेरा पैतालाको ठाउँ हो, जहाँ म सदा-सर्वदा इस्राएलीहरूको बीचमा बस्‍नेछु; अनि मेरो पवित्र नाम इस्राएलको घरानाले फेरि कहिल्यै अपवित्र तुल्याउनेछैन – न तिनीहरूले न तिनीहरूका राजाहरूले – आफ्ना वेश्याकर्मद्वारा र आफ्ना उच्‍च स्थानहरूमा आफ्ना राजाहरूका लासहरूद्वारा। 8 मेरा सँघारहरूको छेउमा तिनीहरूको सँघार राखेर र मेरा खाँबाहरूको छेउमा तिनीहरूको खाँबा राखेर, अनि मेरो र तिनीहरूको बीचमा एउटा पर्खाल मात्र थियो; तिनीहरूले गरेका तिनीहरूका घृणित कामहरूद्वारा तिनीहरूले मेरो पवित्र नाम अपवित्र तुल्याएका थिए; यसैकारण मैले आफ्नो रिसमा तिनीहरूलाई नाश गरिदिएँ। 9 अब तिनीहरूले आफ्नो वेश्याकर्म दूर गरून्, र आफ्ना राजाहरूका लासहरू मबाट टाढ़ा हटाइदिऊन्, तब म तिनीहरूको बीचमा सदा-सर्वदा बस्‍नेछु।
10 तिमीले, हे मानिसको छोरा, इस्राएलको घरानालाई यो भवन देखाइदेऊ, र तिनीहरू आफ्ना अधर्महरूका निम्ति लज्जित होऊन्; अनि तिनीहरूले यो नमुना नापून्! 11 अनि तिनीहरू आफूले गरेका सबै कामहरूका निम्ति लज्जित भए भने यस भवनको आकार, यसको बनावट, यसका निस्कने ठाउँहरू, यसका भित्र पस्‍ने ठाउँहरू, यसका सबै आकारहरू, यसका सबै विधिहरू, यसका सबै आकारहरू र यसका सबै व्यवस्थाहरू तिनीहरूलाई देखाइदेऊ! अनि तिनीहरूले यसको सारा आकार र यसका सबै विधिहरू कायम राखून् र तिनलाई पालन गरून् भनेर तिमीले यो तिनीहरूकै आँखाको सामु लेखिदेऊ!
12 यस भवनको व्यवस्था यही हो: यस पर्वतको टाकुरामा चारैतिर यसको सम्पूर्ण क्षेत्र परमपवित्र छ। हेर, यस भवनको व्यवस्था यही हो।”
होमबलिको वेदी र त्यसको अर्पण
13 “अनि हातहरूको नापअनुसार वेदीका नापहरू यी हुन्: हातको नापचाहिँ एक हात र चार अमल हुन्छ; अनि त्यसको आधार एक हातको हुनेछ, र चौड़ाइ एक हात हुनेछ, अनि चारैतिर यसको किनारमा यसको बिटको नाप एक बित्ता हुनेछ; अनि योचाहिँ वेदीको माथिल्‍लो भाग हुनेछ। 14 अनि जमिनमाथि भएको आधारबाट तल्‍लो घेरासम्म दुई हात, र त्यसको चौड़ाइ एक हात हुनेछ; अनि सानो घेरादेखि ठूलो घेरासम्म चार हात, र चौड़ाइ एक हात हुनेछ। 15 यसरी त्यो वेदी चार हातको हुनेछ; अनि त्यस वेदीबाट माथितिर चारवटा सिङ हुनेछन्। 16 अनि त्यो वेदी बाह्र हात लामो र बाह्र हात चौड़ा हुनेछ, अनि त्यसका चारैपट्टि वर्गाकार हुनेछ। 17 अनि त्यसका चारपट्टि त्यसको घेरा चौध हात लामो र चौध हात चौड़ा हुनेछ; अनि त्यसको चारैतिर बिटचाहिँ आधा हात हुनेछ; अनि त्यसको आधार चारैतिर एक हातको हुनेछ; अनि त्यसका खुड़्किलाहरू पूर्वतिर फर्केका हुनेछन्।”
18 अनि उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, त्यो वेदी बनाइएको दिनमा त्यसमाथि होमबलिहरू चढ़ाउनलाई र त्यसमाथि रगत छर्कनलाई त्यस वेदीका विधिहरू यी हुन्: 19 अनि लेवी पूजाहारीहरूलाई, जो सादोकको वंशका हुन्, जो मेरो सेवा गर्नका निम्ति मेरो नजिक आउँछन्, प्रभु यहोवा भन्‍नुहुन्‍छ: तिमीले पापबलिका निम्ति एउटा बहर दिनू! 20 अनि तिमीले त्यसको रगतबाट केही लिएर त्यस वेदीका चारवटा सिङमा, त्यस घेराका चारैवटा कुनाहरूमा र चारैतिर त्यस बिटमा लगाइदेऊ! यसरी तिमीले त्यसलाई शुद्ध पार्नू, र त्यसका निम्ति प्रायश्‍चित गर्नू! 21 अनि तिमीले पापबलिको त्यस बहर लिनू, र उसले त्यसलाई पवित्रस्थानको बाहिर, त्यस भवनको एउटा तोकिएको ठाउँमा जलाओस्! 22 अनि दोस्रो दिन तिमीले पापबलिको रूपमा बाख्राहरूबाट एउटा निस्खोट पाठा चढ़ाउनू! अनि जसरी तिनीहरूले वेदीलाई बहरले शुद्ध पारेका थिए, त्यसरी नै तिनीहरूले यस पाठाले त्यसलाई शुद्ध पारून्! 23 त्यसको शुद्ध पार्ने काम सिद्ध्याएपछि तिमीले एउटा निस्खोट जवान बहर र बगालको एउटा निस्खोट भेड़ा चढ़ाउनू! 24 अनि तिमीले तिनलाई परमप्रभुको सामु चढ़ाउनू; अनि पूजाहारीहरूले तीमाथि नुन छर्कून् र तिनलाई परमप्रभुका निम्ति होमबलिको रूपमा चढ़ाऊन्! 25 सात दिनसम्म तिमीले दिनहुँ पापबलिको रूपमा एउटा बोका चढ़ाउनू; अनि तिनीहरूले एउटा निस्खोट जवान बहर र बगालको एउटा निस्खोट भेड़ा चढ़ाऊन्! 26 सात दिनसम्म तिनीहरूले त्यस वेदीका निम्ति प्रायश्‍चित गरून् र त्यसलाई शुद्ध पारून्; अनि तिनीहरूले त्यसलाई अर्पण गरून्! 27 अनि यी दिनहरू पूरा भएपछि यस्तो होस्: आठौं दिनदेखि उसो पूजाहारीहरूले त्यस वेदीमाथि तिमीहरूका होमबलिहरू र तिमीहरूका मेलबलिहरू चढ़ाऊन्; अनि म तिमीहरूलाई ग्रहण गर्नेछु, प्रभु यहोवा भन्‍नुहुन्‍छ।”