सुकेका हड्डीहरूले भरिएको बेंसीको दर्शन
37
परमप्रभुको हात ममाथि थियो, र उहाँले परमप्रभुको आत्मामा मलाई उठाएर बाहिर लैजानुभयो र मलाई एउटा बेंसीको बीचमा बसाउनुभयो, जुन बेंसीचाहिँ हड्डी नै हड्डीले भरिएको थियो; 2 अनि उहाँले मलाई चारैतिर तिनको छेउ-छेउबाट भएर हिँड़ाउनुभयो; अनि हेर, त्यस खुला बेंसीमा ती अति नै धेरै थिए; अनि हेर, ती साह्रै सुकेका थिए। 3 अनि उहाँले मलाई भन्‍नुभयो: “मानिसको छोरा, के यी हड्डीहरू जीवित हुन सक्छन्?” अनि मैले जवाफ दिएँ: “हे प्रभु यहोवा, तपाईं नै जान्‍नुहुन्‍छ।” 4 तब उहाँले मलाई भन्‍नुभयो: “यी हड्डीहरूलाई भविष्यवाणी गर र तिनलाई भन: हे सुकेका हड्डीहरूहो, परमप्रभुको वचन सुन! 5 प्रभु यहोवा यी हड्डीहरूलाई यसो भन्‍नुहुन्‍छ: हेर, म तिमीहरूभित्र सास पस्‍न लाउनेछु, र तिमीहरू जीवित हुनेछौ; 6 अनि म तिमीहरूमाथि नसाहरू लगाउनेछु, तिमीहरूमाथि मासु चढ़ाउनेछु, तिमीहरूलाई छालाले ढाकिदिनेछु अनि तिमीहरूभित्र सास हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ; अनि तिमीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछौ।”
7 तब मलाई आज्ञा भएअनुसार मैले भविष्यवाणी गरें; मैले भविष्यवाणी गर्दा एउटा आवाज भयो, अनि हेर, एउटा कम्प भयो, र हड्डीहरू नजिक-नजिक आए – हड्डी आफ्नै हड्डीकहाँ। 8 अनि जब मैले हेरें; हेर, तीमाथि नसाहरू र मासु चढ़े, अनि तिनलाई माथिबाट छालाले ढाक्यो; तर तिनमा सास थिएन। 9 तब उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, सासलाई भविष्यवाणी गर! भविष्यवाणी गर, र सासलाई भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ: हे सास, चारै दिशाबाट आइज, र यी मारिएकाहरूमाथि हुरहुरा, र तिनीहरू जीवित होऊन्!” 10 अनि उहाँले मलाई आज्ञा गर्नुभएअनुसार मैले भविष्यवाणी गरें, अनि सास तिनीहरूभित्र पस्यो, र तिनीहरू जीवित भए र आफ्ना खुट्टाहरूमा उभिए – एउटा अत्यन्त ठूलो फौज।
11 तब उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, यी हड्डीहरूचाहिँ इस्राएलको सम्पूर्ण घराना हुन्; हेर, तिनीहरू भन्छन्: ‘हाम्रा हड्डीहरू सुकेका छन्, र हाम्रो आशा हराएको छ; हामी पूर्ण रूपले नष्‍ट भएका छौं।’ 12 यसकारण भविष्यवाणी गरेर तिनीहरूलाई भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, हे मेरो प्रजाहो, हेर, म तिमीहरूका चिहानहरू खोल्नेछु, र तिमीहरूलाई तिमीहरूका चिहानहरूबाट बाहिर निकाल्नेछु, अनि तिमीहरूलाई इस्राएल देशमा ल्याउनेछु। 13 अनि हे मेरो प्रजाहो, जब म तिमीहरूका चिहानहरू खोल्छु र तिमीहरूलाई तिमीहरूका चिहानहरूबाट बाहिर निकाल्छु, तब तिमीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछौ। 14 अनि म तिमीहरूभित्र मेरो आत्मा हाल्नेछु, र तिमीहरू जीवित हुनेछौ; अनि म तिमीहरूलाई तिमीहरूकै देशमा राख्‍नेछु; तब तिमीहरूले म, परमप्रभुले नै यो कुरा भनेको र पूरा गरेको हुँ भनी तिमीहरूले जान्‍नेछौ, परमप्रभु भन्‍नुहुन्‍छ।”
यहूदा र इस्राएल एउटै राज्य हुनेछन्
15 अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 16 “अनि तिमी, हे मानिसको छोरा, आफ्ना निम्ति एउटा लौरो लेऊ, र त्यसमाथि ‘यहूदाका निम्ति र उसका साथी इस्राएलीहरूका निम्ति’ लेख! तब अर्को लौरा लेऊ, र त्यसमाथि ‘एप्रैमको लौरो – यूसुफका निम्ति र यसका साथी इस्राएलको सम्पूर्ण घरानाका निम्ति’ लेख! 17 अनि तिनलाई एक-अर्कासँग जोड़ेर एउटा लौरो बनाऊ; अनि ती तिम्रो हातमा एउटा हुनेछन्। 18 अनि “तिम्रा निम्ति यी कुराहरूको अर्थ के हो, के तिमीले हामीलाई बताउँछौ?” भनी जब तिम्रा मानिसहरूका सन्तानहरूले तिमीलाई सोध्लान्, 19 तब तिनीहरूलाई भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, हेर, म एप्रैमको हातमा भएको यूसुफको लौरो र त्यसका साथीहरू अर्थात् इस्राएलका कुलहरूलाई लिनेछु र उनीहरूलाई उससँग अर्थात् यहूदाको लौरोसँग मिलाउनेछु, र तिनीहरूलाई एउटा लौरो बनाउनेछु; अनि तिनीहरू मेरो हातमा एउटा हुनेछन्। 20 अनि जुन लौराहरूमाथि तिमी लेख्दछौ, ती तिनीहरूका आँखाको सामु तिम्रो हातमा रहून्! 21 अनि तिनीहरूलाई भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, हेर, म इस्राएलीहरूलाई अन्यजातिहरूको बीचबाट लिनेछु, जहाँ तिनीहरू गएका छन्, चारैतिरबाट तिनीहरूलाई भेला गर्नेछु र तिनीहरूलाई तिनीहरूको देशभित्र ल्याउनेछु; 22 अनि त्यस देशमा म तिनीहरूलाई इस्राएलका पहाड़हरूमाथि एउटै जाति बनाउनेछु; अनि एउटा राजा तिनीहरू सबैका राजा हुनेछन्; अनि तिनीहरू फेरि कहिल्यै दुई जाति हुनेछैनन्, न ता तिनीहरू फेरि कहिल्यै, अँ, कहिल्यै दुईवटा राज्यमा विभाजित हुनेछन्; 23 अनि तिनीहरूले फेरि कहिल्यै आफ्ना मूर्तिहरूद्वारा, आफ्ना घृणित वस्तुहरूद्वारा वा आफ्ना सबै अपराधहरूद्वारा आफूलाई अशुद्ध पार्नेछैनन्; तर म तिनीहरूलाई तिनीहरूका सबै वासस्थानहरूबाट बचाउनेछु, जहाँ तिनीहरूले पाप गरेका छन्, र तिनीहरूलाई शुद्ध पार्नेछु; तब तिनीहरू मेरो प्रजा हुनेछन्, र म तिनीहरूको परमेश्‍वर हुनेछु। 24 अनि मेरा दास दाऊद तिनीहरूमाथि राजा हुनेछन्; अनि तिनीहरू सबैका एउटा गोठाला हुनेछन्; अनि तिनीहरू मेरा नियमहरूमा हिँड़्‍नेछन्, र तिनीहरूले मेरा विधिहरू होशियारसाथ पालन गर्नेछन्। 25 अनि तिनीहरू त्यस देशमा बस्‍नेछन्, जुन देश मैले मेरा दास याकूबलाई दिएको थिएँ, जहाँ तिमीहरूका पितापुर्खाहरू बस्थे; अनि तिनीहरू – तिनीहरू र तिनीहरूका छोराछोरीहरू र तिनीहरूका नातिनातिनाहरू सदाका निम्ति त्यसमा बस्‍नेछन्; अनि सदाका निम्ति मेरा दास दाऊद तिनीहरूका शासक हुनेछन्। 26 अनि म तिनीहरूसित शान्तिको वाचा बाँध्‍नेछु; तिनीहरूको साथमा बाँधिएको यो एउटा अनन्त वाचा हुनेछ; अनि म तिनीहरूलाई बसाल्नेछु, तिनीहरूको वृद्धि गर्नेछु र सदाका निम्ति मेरो पवित्रस्थान तिनीहरूको बीचमा बसाल्नेछु। 27 अनि मेरो वासस्थान तिनीहरूसित हुनेछ; अँ, म तिनीहरूको परमेश्‍वर हुनेछु, र तिनीहरू मेरो प्रजा हुनेछन्। 28 अनि जब सदाका निम्ति मेरो पवित्रस्थान तिनीहरूको बीचमा हुनेछ, तब अन्यजातिहरूले इस्राएललाई पवित्र पार्नुहुने ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछन्।”