इस्राएलका पहाड़हरूका निम्ति इस्राएलको पुनर्स्थापनाको विषयमा भविष्यवाणी
36
“अनि तिमी, हे मानिसको छोरा, इस्राएलका पहाड़हरूतिर भविष्यवाणी गरेर भन: हे इस्राएलका पहाड़हरूहो, परमप्रभुको वचन सुन! 2 प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ: शत्रुले तिमीहरूको विरोधमा ‘आहा! अँ, उहिलेका उच्‍च स्थानहरू हाम्रा अधिकारको भाग भएछन्’ भनेको छ; 3 यसैकारण भविष्यवाणी गरेर भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, तिमीहरू बाँकी रहेका अन्यजातिहरूको अधिकारको भाग होओ भनेर तिनीहरूले तिमीहरूलाई उजाड़ पारेका र तिमीहरूलाई चारैतिरबाट निलिदिएका हुनाले, साथै तिमीहरू बकवादीका ओठहरू चलाउने विषय र मानिसहरूको निन्दाको विषय भएका हुनाले – 4 यसैकारण हे इस्राएलका पहाड़हरूहो, प्रभु यहोवाको वचन सुन! पहाड़हरू, डाँड़ाहरू, खोलानालाहरू, बेंसीहरू, उजाड़ भएका बरबाद ठाउँहरू र त्यागिएका शहरहरूलाई प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, जुनचाहिँ चारैतिरका रहेका अन्यजातिहरूको शिकार र खिसीको विषय भएका छन्; 5 यसकारण प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ: निश्‍चय मेरो जलनको आगोमा मैले बाँकी रहेका अन्यजातिहरू र सम्पूर्ण एदोमको विरोधमा बोलेको छु, किनकि यिनीहरूले मेरो देश लुटको मालको रूपमा लुट्नलाई सम्पूर्ण हृदयको आनन्द र मनको हेलासित त्यसलाई आफ्नो अधिकारको भाग ठहराएका छन्। 6 यसकारण इस्राएल देशको विषयमा भविष्यवाणी गर, र पहाड़हरू, डाँड़ाहरू, खोलानालाहरू र बेंसीहरूलाई भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, हेर, मैले मेरो जलनमा र मेरो क्रोधमा बोलेको छु, तिमीहरूले अन्यजातिहरूको शर्म बोकेका छौ; 7 यसैकारण प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ: मैले शपथ खाएको छु: निश्‍चय तिमीहरूको चारैतिर भएका अन्यजातिहरूले आफ्नो शर्म बोक्नेछन्। 8 तर तिमीहरू, हे इस्राएलका पहाड़हरूहो, तिमीहरूले आफ्ना हाँगाहरू निकाल्नेछौ, र इस्राएल मेरो प्रजाका निम्ति आफ्नो फल फलाउनेछौ; किनभने तिनीहरू आउनलाई नजिकै छन्। 9 किनकि हेर, म तिमीहरूको पक्षमा छु, र तिमीहरूकहाँ फर्कनेछु, र तिमीहरू खनजोत गरिनेछौ र बीउ छरिनेछौ; 10 अनि म तिमीहरूमाथि मानिसहरूलाई अर्थात् इस्राएलको सम्पूर्ण घरानालाई, अँ, त्यसको सबैलाई बढ़ाउनेछु; अनि ती शहरहरू बसोबास गरिनेछन्, र ती उजाड़ भएका ठाउँहरू निर्माण गरिनेछन्। 11 अनि म तिमीहरूमाथि मानिस र पशुको संख्या बढ़ाउनेछु; अनि तिनीहरू बढ़्दै जानेछन् र फलवान् हुनेछन्; म तिमीहरूलाई तिमीहरूका पहिलो अवस्थाहरूमा झैं बसोबास गराउनेछु, र तिमीहरूको भलाइ तिमीहरूका शुरुहरूमा गरेको भन्दा बढ़ी गर्नेछु; अनि तिमीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछौ। 12 अँ, म मानिसहरूलाई अर्थात् मेरो प्रजा इस्राएललाई तिमीहरूमाथि हिँड़ाउनेछु; अनि तिनीहरूले तँलाई आफ्नो अधिकारमा लिनेछन्, र तँ तिनीहरूको अधिकारको भाग हुनेछस्, अनि तैंले फेरि कहिल्यै तिनीहरूलाई निस्सन्तान तुल्याउनेछैनस्। 13 प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, ‘तँ मानिसहरूलाई निल्छस् र आफ्ना जातिहरूलाई निस्सन्तान तुल्याएको छस्’ भनी तिनीहरूले तँलाई भनेका हुनाले; 14 यसकारण तैंले फेरि कहिल्यै मानिसहरूलाई निल्नेछैनस्, न ता आफ्ना जातिहरूलाई फेरि कहिल्यै निस्सन्तान तुल्याउनेछस्, प्रभु यहोवा भन्‍नुहुन्‍छ। 15 न ता म फेरि कहिल्यै तँलाई अन्यजातिहरूको शर्म नै सुन्‍ने तुल्याउनेछु, न तैंले फेरि कहिल्यै मानिसहरूको निन्दा नै बोक्नेछस्, न तैंले फेरि कहिल्यै आफ्ना जातिहरूलाई नै ठेस खुवाउनेछस्, प्रभु यहोवा भन्‍नुहुन्‍छ।”
16 अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 17 “हे मानिसको छोरा, इस्राएलको घराना आफ्नो देशमा बस्दा तिनीहरूले त्यसलाई आफ्नो चाल र आफ्ना कामहरूले अशुद्ध पारे; मेरो सामु तिनीहरूको चाल पर सरेकी स्त्रीको अशुद्धताजस्तो थियो। 18 यसकारण तिनीहरूले त्यस देशमाथि बगाएको रगतको कारणले र तिनीहरूका मूर्तिहरूको कारणले, जसद्वारा तिनीहरूले त्यसलाई अशुद्ध पारे, मैले आफ्नो क्रोध तिनीहरूमाथि खन्याएँ; 19 अनि मैले तिनीहरूलाई अन्यजातिहरूको बीचमा तितरबितर पारिदिएँ, र तिनीहरू देश-देशमा छरिए; तिनीहरूको चाल र तिनीहरूका कामहरूअनुसार मैले तिनीहरूको न्याय गरें। 20 अनि जब तिनीहरू अन्यजातिहरूकहाँ पुगे, जहाँ तिनीहरू गएका थिए, तब तिनीहरूले मेरो पवित्र नाम अपवित्र पारे; किनभने मानिसहरूले उनीहरूलाई भने: ‘यिनीहरू परमप्रभुका जनहरू हुन् र उहाँको देशबाट निस्केर आएका हुन्।’ 21 तर मेरो पवित्र नामको खातिर मैले टिठाएँ, जुन नाम इस्राएलको घरानाले ती अन्यजातिहरूको बीचमा अपवित्र पारे, जहाँ तिनीहरू गएका थिए।
22 यसकारण इस्राएलको घरानालाई भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, हे इस्राएलको घराना, यो कुरा म तिमीहरूको खातिर होइन, तर मेरै पवित्र नामको खातिर गर्दछु, जसलाई तिमीहरूले अन्यजातिहरूको बीचमा अपवित्र पार्‍यौ, जहाँ तिमीहरू गएका थियौ। 23 अनि म आफ्नो महान् नाम पवित्र तुल्याउनेछु, जुन नाम अन्यजातिहरूको बीचमा अपवित्र पारिएको थियो, जुन नामचाहिँ तिमीहरूले उनीहरूको बीचमा अपवित्र पारेका छौ; अनि जब म तिनीहरूका आँखाको सामु तिमीहरूमा पवित्र ठहरिनेछु, तब अन्यजातिहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछन्, प्रभु यहोवा भन्‍नुहुन्‍छ। 24 किनकि अन्यजातिहरूको बीचबाट म तिमीहरूलाई लिनेछु, सबै देशहरूबाट तिमीहरूलाई भेला गर्नेछु र तिमीहरूलाई तिमीहरूको देशमा फर्काएर ल्याउनेछु। 25 तब म तिमीहरूमाथि शुद्ध पानी छर्किनेछु, र तिमीहरू शुद्ध हुनेछौ; तिमीहरूको सबै अशुद्धताबाट र तिमीहरूका सबै मूर्तिहरूबाट म तिमीहरूलाई शुद्ध पार्नेछु। 26 अनि म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु र तिमीहरूभित्र एउटा नयाँ आत्मा हालिदिनेछु; अनि तिमीहरूको मासुबाट म त्यो ढुङ्गाको हृदय निकालिदिनेछु र तिमीहरूलाई एउटा मासुको हृदय दिनेछु। 27 अनि म मेरो आत्मा तिमीहरूभित्र हालिदिनेछु र तिमीहरूलाई मेरा विधिहरूमा हिँड़्‍ने तुल्याउनेछु; अनि तिमीहरूले मेरा नियमहरू होशियारसाथ पालन गर्नेछौ। 28 अनि तिमीहरू मैले तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा बस्‍नेछौ; अनि तिमीहरू मेरो प्रजा हुनेछौ, र म तिमीहरूको परमेश्‍वर हुनेछु। 29 अनि म तिमीहरूलाई तिमीहरूका सबै अशुद्धताहरूबाट बचाउनेछु; अनि म अन्‍नलाई बोलाउनेछु र त्यसलाई बढ़ाइदिनेछु, अनि तिमीहरूमाथि कुनै अनिकाल पर्न दिनेछैनँ। 30 अनि म रूखको फल र खेतबारीको उब्जनी बढ़ाइदिनेछु, यस हेतुले कि अन्यजातिहरूको बीचमा फेरि कहिल्यै अनिकालरूपी निन्दा तिमीहरूले भोग्‍नेछैनौ। 31 तब तिमीहरूले आफ्नै दुष्‍ट चालहरू र आफ्नै कामहरू सम्झना गर्नेछौ, जुन कामहरू असल थिएनन्, र आफ्ना अधर्महरू र आफ्ना घृणित कामहरूको खातिर तिमीहरूले आफूलाई आफ्नै दृष्‍टिमा घृणा गर्नेछौ। 32 यो कुरा तिमीहरूलाई थाहा होस्: तिमीहरूको खातिर म यो गर्दिनँ, प्रभु यहोवा भन्‍नुहुन्‍छ; हे इस्राएलको घराना, आफ्नै चालहरूको कारणले लज्जित होओ र शर्ममा पर!
33 प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, जुन दिनमा म तिमीहरूलाई तिमीहरूका सबै अधर्महरूबाट शुद्ध पार्नेछु, त्यही दिन नै म ती शहरहरूमा बसोबास गराउनेछु, र ती उजाड़ भएका ठाउँहरू बनाइनेछन्। 34 अनि उजाड़ देश खनजोत गरिनेछ, जुनचाहिँ त्यहाँबाट भएर जानेहरू सबैको सामु उजाड़ थियो। 35 अनि उनीहरूले भन्‍नेछन्: ‘यो उजाड़ भएको देश अदनको बगैंचाजस्तो भएछ; अनि बरबाद, उजाड़ र भताभुङ्ग भएका शहरहरू त पर्खालले घेरिएका र बसोबास गरिएका भएछन्।’ 36 तब तिमीहरूको चारैतिर छोड़िएका अन्यजातिहरूले म, परमप्रभुले नै भताभुङ्ग भएका ठाउँहरू बनाएको हुँ र उजाड़ भएको ठाउँमा बोटबिरुवा लगाएको हुँ भनी जान्‍नेछन्; म, परमप्रभुले नै यो भनेको छु, र म यो गर्ने नै छु।
37 प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, इस्राएलको घरानाले, तिनीहरूका निम्ति म यो काम गरूँ भनी अझै पनि मबाट सोधखोज गर्न पाउनेछन्; म तिनीहरूलाई भेड़ाहरूजस्तै मानिसहरू बढ़ाइदिनेछु। 38 पवित्र बगालजस्तो, यरूशलेमका तोकिएका चाड़हरूमा त्यसको बगाल जस्तो हुन्छ, त्यस्तै ती उजाड़ भएका शहरहरू मानिसहरूरूपी बगालहरूले भरिनेछन्; अनि तिनीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछन्।”