सेईर पहाड़को विरोधमा भविष्यवाणी
35
अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, आफ्नो अनुहार सेईर पहाड़तिर लगाऊ र त्यसको विरोधमा भविष्यवाणी गर, 3 र त्यसलाई भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, हे सेईर पहाड़, हेर्, म तेरो विरोधमा छु, अनि म तेरो विरोधमा आफ्नो हात बढ़ाउनेछु र तँलाई बिलकुलै उजाड़ पार्नेछु। 4 म तेरा शहरहरू ध्वंस पार्नेछु, र तँ उजाड़ हुनेछस्, अनि ‘परमप्रभु म नै हुँ’ भनी तैंले जान्‍नेछस्।
5 तँसित सदा रहिरहने शत्रुता भएकाले र इस्राएलीहरूको विपत्तिको समयमा, तिनीहरूको अधर्म अन्त भएको समयमा तैंले तिनीहरूको रगत तरवारको शक्तिले बगाइदिएको छस्; 6 यसैकारण मेरो जीवनको शपथ! प्रभु यहोवा भन्‍नुहुन्‍छ, म तँलाई रगतका निम्ति तयार पार्नेछु, र रगतले तँलाई पिछा गर्नेछ; तैंले रगतलाई घृणा नगरेको हुनाले रगतले नै तँलाई पिछा गर्नेछ। 7 यसरी नै म सेईर पहाड़लाई बिलकुलै उजाड़ पार्नेछु, र त्यहाँबाट भएर जाने र फर्केर आउनेलाई म त्यसबाट नाश गर्नेछु। 8 अनि म त्यसका पहाड़हरू त्यसका मारिएकाहरूले भरिदिनेछु; तेरा डाँड़ाहरूमा, तेरा बेंसीहरूमा र तेरा सबै खोलानालाहरूहुँदो यी तरवारले मारिएकाहरू ढल्नेछन्। 9 म तँलाई सदा उजाड़ रहिरहने ठाउँहरू तुल्याउनेछु, र तेरा शहरहरू बसोबास गरिनेछैनन्; अनि तिमीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछौ।
10 परमप्रभु त्यहाँ हुनुहुन्थ्यो, र पनि तैंले भनेको छस्: ‘यी दुई जातिहरू र यी दुई देशहरू मेरा हुनेछन्, र हामी यसलाई आफ्नो अधिकारमा लिनेछौं’; 11 यसैकारण मेरो जीवनको शपथ! प्रभु यहोवा भन्‍नुहुन्‍छ, अँ, तेरो रिसअनुसार र तिनीहरूको विरोधमा भएको तेरो घृणाबाट उठेको जुन डाहा तैंले गरिस्, तेरो त्यस डाहाअनुसार म काम गर्नेछु; अनि जब म तेरो न्याय गर्नेछु, तब म आफूलाई तिनीहरूकहाँ चिनाउनेछु। 12 तब म, परमप्रभुले ‘ती त उजाड़ पारिएका छन्, ती त भोजनको रूपमा हामीलाई दिइएका छन्’ भन्दै तैंले इस्राएलका पहाड़हरूको विरोधमा भनेका सबै निन्दाहरू सुनेको छु भनी तैंले जान्‍नेछस्। 13 यसरी तिमीहरूले मेरो विरोधमा आफ्नो मुखले बढ़ाइचढ़ाइ गर्‍यौ र मेरो विरोधमा धेरै कुराहरू बक्यौ; मैले ती कुराहरू सुनेको छु। 14 प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ: सम्पूर्ण पृथ्वी रमाएको बेलामा म तँलाई उजाड़ पार्नेछु। 15 जस्तो इस्राएलको घरानाको अधिकारको भागको विषयमा त्यो उजाड़ भएकोमा तँ रमाइस्, त्यस्तै म पनि तँसित गर्नेछु; हे सेईर पहाड़, तँ उजाड़ हुनेछस्, अनि सम्पूर्ण एदोम र त्यसका सबै पनि; अनि ‘परमप्रभु म नै हुँ’ भनी तिनीहरूले जान्‍नेछन्।”