इस्राएलका अविश्वासी गोठालाहरूको विरोधमा भविष्यवाणी
34
अनि परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, इस्राएलका गोठालाहरूको विरोधमा भविष्यवाणी गर! भविष्यवाणी गरेर तिनीहरूलाई भन: प्रभु यहोवा गोठालाहरूलाई यसो भन्नुहुन्छ, धिक्कार इस्राएलका गोठालाहरूलाई, जसले आफ्नै पेट भर्छन्क! के गोठालाहरूले भेड़ाहरू चराउनुपर्दैन र? 3 तिमीहरू बोसो खान्छौ र आफूलाई ऊनले पहिराउँछौ; तिमीहरू मोटा-मोटाहरूलाई मार्दछौ, तर भेड़ाहरूचाहिँ चराउँदैनौ। 4 तिमीहरूले न कमजोरहरूलाई बलियो तुल्याएका छौ, न बिरामीलाई निको पारेका छौ, न भाँचिएको-टुटेकोलाई पट्टी बाँधेका छौ, न धपाइएकोलाई फर्काएर ल्याएका छौ, न हराएकोलाई खोजेका छौ; तर तिमीहरूले बलमिचाइ र कठोरतासाथ तिनीहरूमाथि शासन गरेका छौ। 5 अनि कोही गोठाला नभएकाले तिनीहरू तितरबितर भए; अनि तितरबितर हुँदा तिनीहरू मैदानका सबै पशुहरूको आहार बने। 6 मेरा भेड़ाहरू सबै पहाड़हरूहुँदो र हरेक अग्लो डाँड़ामाथि भड़्किहिँड़्थे; अँ, मेरा भेड़ाहरू पृथ्वीको सम्पूर्ण सतहमाथि तितरबितर भए; अनि कसैले सोधखोज गरेन, न ता कसैले तिनीहरूलाई खोजिनिकाल्यो। 7 यसकारण हे गोठालाहरूहो, परमप्रभुको वचन सुन! 8 मेरो जीवनको शपथ! निश्चय मेरा भेड़ाहरू शिकार भएकाले, मेरा भेड़ाहरू मैदानको हरेक पशुको आहार भएकाले, किनकि त्यहाँ कोही गोठाला थिएन, साथै मेरा गोठालाहरूले मेरा भेड़ाहरूको सोधखोज नगरेका, तर ती गोठालाहरूले आफ्नै पेट भरेकाख र मेरा भेड़ाहरू नचराएका हुनाले – 9 यसैकारण हे गोठालाहरूहो, परमप्रभुको वचन सुन! 10 प्रभु यहोवा यसो भन्नुहुन्छ, हेर, म यी गोठालाहरूको विरोधमा छु; अनि मेरा भेड़ाहरूको लेखा म उनीहरूको हातबाट लिन्छु र उनीहरूलाई भेड़ाहरू चराउन बन्द गरिदिनेछु, अनि यी गोठालाहरूले आफ्नै पेट फेरि भर्नग पाउनेछैनन्; किनकि मेरा भेड़ाहरू उनीहरूको भोजन नहोऊन् भनेर म तिनीहरूलाई उनीहरूको मुखबाट छुटाउनेछु।”परमप्रभु असल गोठाला हुनुहुन्छ
11 “किनभने प्रभु यहोवा यसो भन्नुहुन्छ: हेर, म, अँ, म नै मेरा भेड़ाहरूको सोधखोज गर्नेछु र तिनीहरूलाई खोजिनिकाल्नेछु। 12 जसरी गोठालाले आफ्ना तितरबितर भएका भेड़ाहरूको बीचमा भएको दिनमा आफ्ना भेड़ाहरू खोजिनिकाल्छ, त्यसरी नै म मेरा भेड़ाहरू खोजिनिकाल्नेछु र तिनीहरूलाई ती सबै ठाउँहरूबाट छुटाउनेछु, जहाँ तिनीहरू बादल लागेको र अँध्यारो भएको दिनमा तितरबितर भएका थिए। 13 अनि म तिनीहरूलाई ती जातिहरूबाट निकालेर ल्याउनेछु, र ती देशहरूबाट भेला पार्नेछु, अनि तिनीहरूलाई तिनीहरूको देशमा ल्याउनेछु, र इस्राएलका पहाड़हरूहुँदो खोलानालाहरूको छेउमा र त्यस देशका सबै बसोबास गरिएका ठाउँहरूमाघ तिनीहरूलाई चराउनेछु। 14 म तिनीहरूलाई असल खर्कमा चराउनेछु, र इस्राएलका उच्च पहाड़हरूमाथि तिनीहरूको गोठ हुनेछ; त्यहाँ तिनीहरू असल गोठमा लेट्नेछन्, र इस्राएलका पहाड़हरूहुँदो उत्तम खर्कमा चर्नेछन्। 15 म आफैले मेरा भेड़ाहरू चराउनेछु, र म आफैले तिनीहरूलाई लेट्न लाउनेछु, प्रभु यहोवा भन्नुहुन्छ। 16 म हराएकोलाई खोज्नेछु, धपाइएकोलाई फर्काएर ल्याउनेछु, भाँचिएको-टुटेकोलाई पट्टी बाँध्नेछु, कमजोरलाई बलियो तुल्याउनेछु; तर मोटो र बलियोलाई चाहिँ म नाश पार्नेछु; यिनीहरूलाई म न्यायसित चराउनेछु। 17 अनि तिमीहरूचाहिँ, हे मेरा भेड़ाहरूहो, प्रभु यहोवा यसो भन्नुहुन्छ: हेर, म भेड़ा-भेड़ाको बीचमा र भेड़ाहरू-बोकाहरूको बीचमा न्याय गर्नेछु। 18 उत्तम खर्कमा चाहिँ आफू चरेर तिमीहरूका खर्कहरूबाट बाँकी रहेको भागचाहिँ आफ्ना खुट्टाहरूले कुल्चीमिल्ची पारिदिनु; अनि गहिरोङ पानीचाहिँ आफू पिएर बाँकी रहेको भागचाहिँ आफ्ना खुट्टाहरूले धमिलो पारिदिनु, के यो कुरा तिमीहरूलाई सानो लाग्छ? 19 अनि मेरा भेड़ाहरूचाहिँ – तिनीहरूले तिमीहरूका खुट्टाहरूले कुल्चीमिल्ची पारेको खान्छन्च। अनि तिनीहरूले तिमीहरूका खुट्टाहरूले धमिलो पारेको पिउँछन्। 20 यसकारण प्रभु यहोवा यिनीहरूलाई यसो भन्नुहुन्छ: हेर, म, अँ, म आफैले मोटो भेड़ा र दुब्लो भेड़ाको बीचमा न्याय गर्नेछु। 21 जबसम्म तिमीहरूले तिनीहरूलाई बाहिर तितरबितर पारेनौ, तबसम्म तिमीहरूले तिनीहरूलाई पाता र कुमले धक्का मार्यौ, र सबै रोगीहरूलाई आफ्ना सिङहरूले हान्यौ; 22 यसैकारण म आफ्ना भेड़ाहरू बचाउनेछु, र तिनीहरू फेरि कहिल्यै शिकार बन्नेछैनन्; अनि म भेड़ा-भेड़ाको बीचमा न्याय गर्नेछु।
23 अनि म तिनीहरूमाथि एउटा गोठाला अर्थात् मेरो दास दाऊदलाई नियुक्त गर्नेछु, अनि उनले तिनीहरूलाई चराउनेछन्; उनले चाहिँ तिनीहरूलाई चराउनेछन्, अनि उनीचाहिँ तिनीहरूका गोठाला हुनेछन्। 24 अनि म परमप्रभुचाहिँ तिनीहरूको परमेश्वर हुनेछु, र मेरा दास दाऊदचाहिँ तिनीहरूको बीचमा एक शासक हुनेछन्; म परमप्रभुले नै यो भनेको छु। 25 अनि म तिनीहरूसित एउटा शान्तिको वाचा बाँध्नेछु, र त्यस देशबाट दुष्ट पशुहरू निमिट्यान्न पार्नेछु; अनि तिनीहरू उजाड़स्थानमा सुरक्षासाथ बस्नेछन् र वनहरूमा सुत्नेछन्। 26 अनि म तिनीहरूलाई र मेरो डाँड़ाको वरिपरिका ठाउँहरू एउटा आशिष् तुल्याउनेछु; अनि म झरीपानी त्यसको ऋतुमा बर्साउनेछु; त्यहाँ आशिष्का झरीहरू हुनेछन्। 27 अनि मैदानको रूखले आफ्नो फल फलाउनेछ, र पृथ्वीले आफ्नो उब्जनी दिनेछ; अनि तिनीहरू आफ्नो देशमा सुरक्षासाथ रहनेछन्; अनि जब म तिनीहरूको जुवाका सोइलाहरू भाँचिदिन्छु र तिनीहरूलाई आफ्नो सेवामा जोत्नेहरूको हातबाट तिनीहरूलाई छुटाउँछु, तब ‘परमप्रभु म नै हुँ’ भनी तिनीहरूले जान्नेछन्। 28 अनि तिनीहरू फेरि कहिल्यै अन्यजातिहरूको शिकार बन्नेछैनन्, न ता देशको पशुले तिनीहरूलाई निल्नेछ; तर तिनीहरू सुरक्षासाथ बस्नेछन्; अनि कसैले तिनीहरूलाई भयभीत पार्नेछैन। 29 म तिनीहरूका निम्ति एउटा सुनामको बिरुवा खड़ा गर्नेछु; अनि तिनीहरू फेरि कहिल्यै त्यस देशमा अनिकालले सखाप हुनेछैनन्, न ता फेरि कहिल्यै अन्यजातिहरूको शर्म बोक्नेछन्। 30 यसरी म, परमप्रभु तिनीहरूको परमेश्वर तिनीहरूको साथमा छु, अनि तिनीहरू, अँ, इस्राएलको घरानाचाहिँ मेरो प्रजा हुन् भनी तिनीहरूले जान्नेछन्, प्रभु यहोवा भन्नुहुन्छ। 31 अनि तिमीहरू, हे मेरा भेड़ाहरू, मेरो खर्कका भेड़ाहरूहो, तिमीहरूचाहिँ मानिसहरू हौ, र मचाहिँ तिमीहरूको परमेश्वर हुँ, प्रभु यहोवा भन्नुहुन्छ।”