इजकिएल इस्राएलको पहरेदार
33
अनि परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, तिम्रा मानिसहरूका सन्तानसँग बोल र तिनीहरूलाई भन: जब म कुनै देशमाथि एउटा तरवार ल्याउँछु, यदि त्यस देशका मानिसहरूले आफ्ना सिमानाहरूभित्रबाट एउटा मानिसलाई लिन्छन् र त्यसलाई आफ्ना निम्ति पहरेदार ठहऱ्याउँछन्; 3 यदि त्यसले त्यस देशमाथि त्यो तरवार आइरहेको देख्छ, तुरही फुक्छ र मानिसहरूलाई चेताउनी दिन्छ भने, 4 त हरेक जसले त्यस तुरहीको आवाज सुन्छ, तर चेताउनी लिँदैन; त्यो तरवार आएर त्यसलाई उठाएर लैजान्छ भने त्यसको रगत त्यसकै टाउकोमाथि पर्नेछ। 5 त्यसले तुरहीको आवाज सुन्यो, तर चेताउनी लिएन; त्यसको रगत त्यसकै टाउकोमाथि पर्नेछ। तर जसले चेताउनी लिन्छ, उसले आफ्नो प्राण बचाउनेछक। 6 तर त्यस पहरेदारले एउटा तरवार आइरहेको देख्छ, तर तुरही फुक्दैन, र मानिसहरूले चेताउनी पाउँदैनन्; त्यो तरवार आएर तिनीहरूको बीचबाट कुनै मानिसलाई उठाएर लैजान्छ भने त्योचाहिँ आफ्नो अधर्ममा लगिनेछ, तर त्यसको रगतको लेखा म त्यस पहरेदारको हातबाट लिनेछु।7 अनि तिमीचाहिँ, हे मानिसको छोरा, मैले तिमीलाई इस्राएलको घरानाका निम्ति पहरेदार ठहराएको छु; यसकारण तिमीले मेरो मुखबाट वचन सुन्नू र तिनीहरूलाई मबाट चेताउनी दिनू! 8 जब म दुष्टलाई भन्छु: ‘हे दुष्ट, तँ निश्चय मर्नेछस्’; तर तिमीले त्यस दुष्टलाई त्यसको चालबाट फर्काउन भनी चेताउनी दिनलाई बोलेनौ भने त्यो दुष्ट आफ्नो अधर्ममा मर्नेछ; तर त्यसको रगतको लेखा म तिम्रो हातबाट लिनेछु। 9 तर तिमीले त्यस दुष्टलाई त्यसको चालको विषयमा, त्यसबाट त्यो फर्कोस् भनी चेताउनी दियौ, तर त्यो आफ्नो चालबाट फर्कंदैन भने त्योचाहिँ आफ्नो अधर्ममा मर्नेछ; तर तिमीले चाहिँ आफ्नो प्राणलाई बचाएकाख छौ।
10 यसकारण तिमी, हे मानिसको छोरा, इस्राएलको घरानासँग कुरा गर! तिमीहरू यसो भन्छौ: ‘यदि हाम्रा अपराधहरू र हाम्रा पापहरू हामीमाथि पर्नेछन्, र हामी तिनैमा खिइँदै जान्छौं भने हामी कसरी बाँचौं?’ 11 तिनीहरूलाई भन: प्रभु यहोवा भन्नुहुन्छ, मेरो जीवनको शपथ! दुष्टको मृत्युमा मलाई पटक्कै आनन्द छैन; तर बरु दुष्ट आफ्नो चालबाट फर्कोस् र बाँचोस्; तिमीहरू फर्क! तिमीहरू आफ्ना दुष्ट चालहरूबाट फर्क! किनकि हे इस्राएलको घराना, तिमीहरू किन मर्छौ? 12 यसकारण तिमी, हे मानिसको छोरा, तिम्रा मानिसहरूका सन्तानहरूलाई भन: धर्मी जनले अपराध गरेको दिनमा उसको धार्मिकताले उसलाई बचाउनेछैनग; त्यस्तै दुष्टको दुष्टताको विषयमा – दुष्ट आफ्नो दुष्टताबाट फर्केको दिनमा त्यो त्यसमा ठेस खाएर लड़्नेछैन; न ता धर्मी जन आफूले पाप गरेको दिनमा आफ्नो धार्मिकताको कारणले बाँच्न सक्नेछ। 13 जब म धर्मी जनलाई ‘ऊ निश्चय बाँच्नेछ’ भन्छु, तर उसले आफ्नो धार्मिकतामाथि भरोसा राखेर अधर्म गर्यो भने उसको सारा धार्मिकताको सम्झना गरिनेछैन; तर उसले गरेको अधर्मको कारणले, त्यसकै कारणलेघ ऊ मर्नेछ। 14 अनि जब म दुष्टलाई ‘तँ निश्चय मर्नेछस्’ भन्छु, तर त्यो आफ्नो पापबाट फर्क्यो, अनि त्यसले जे न्यायसङ्गत र धर्ममय छ, त्यही गर्यो भने, 15 अर्थात् दुष्टले बन्धक फर्काइदियो भने, बलमिचाइ गरेर लुटेको माल फिर्ता दियो भने, अधर्म नगरीकन जीवनका नियमहरूमा हिँड़्यो भने त्यो निश्चय बाँच्नेछ, त्यो मर्नेछैन। 16 त्यसको विरोधमा त्यसले गरेको त्यसको कुनै पनि पापको सम्झना गरिनेछैन; त्यसले जे न्यायसङ्गत र धर्ममय छ, त्यही गरेको छ, त्यो निश्चय बाँच्नेछ।
17 तर तिम्रा मानिसहरूका सन्तानहरूले भन्छन्: ‘प्रभुको चाल एकसमान छैन’; तर तिमीहरूचाहिँ – अँ, तिमीहरूकै चाल एकसमान छैन। 18 जब धर्मी जनले आफ्नो धार्मिकताबाट हटेर अधर्म गर्दछ भने त ऊ तिनैमाङ मर्नेछ। 19 तर दुष्टले आफ्नो दुष्टताबाट फर्केर जे न्यायसङ्गत र धर्ममय छ, त्यही गर्दछ भने त्यो तिनैमाङ बाँच्नेछ। 20 तर तिमीहरू भन्छौ: ‘प्रभुको चाल एकसमान छैन’; हे इस्राएलको घराना, म तिमीहरू हरेकको न्याय त्यसकै चालअनुसार गर्नेछु।”
यरूशलेमलाई प्रहार गरिएको खबर इजकिएलकहाँ पुग्छ
21 अनि हाम्रो कैदको बाह्रौं वर्षको दसौं महिनामा, त्यस महिनाको पाँचौं दिनमा यस्तो भयो: यरूशलेमबाट उम्केको एउटा मानिस मकहाँ आयो, जसले यसो भन्यो: “शहरलाई प्रहार गरियो!” 22 अनि त्यो उम्केको मानिस मकहाँ आउनुभन्दा अघिको साँझमा परमप्रभुको हात ममाथि थियो; अनि बिहान त्यो मानिस मकहाँ आइपुगुन्जेल उहाँले मेरो मुख खोल्नुभएको थियो; अनि मेरो मुख खोलियो, र म फेरि गुँगा रहिनँ।
धार्मिकताको पाठ सिक!
23 तब परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: 24 “हे मानिसको छोरा, इस्राएल देशका ती उजाड़ भएका ठाउँहरूमा बस्नेहरू यसो भन्छन्: ‘अब्राहम एकैजना थिए; अनि तिनले यो देश अधिकार गरे, तर हामी धेरै छौं; यो देश हामीलाई नै अधिकारको भागको रूपमा दिइएको छ।’ 25 यसकारण तिनीहरूलाई भन: प्रभु यहोवा यसो भन्नुहुन्छ, तिमीहरू रगतैसित मासु खान्छौ, आफ्ना आँखाहरू आफ्ना मूर्तिहरूतिर उठाउँछौ र रगत बगाउँछौ; तब के तिमीहरू यो देश अधिकार गर्छौ र? 26 तिमीहरू आफ्नो तरवारमाथि भरोसा पर्छौ, तिमीहरू घृणित काम गर्छौ र तिमीहरू हरेकले आफ्नो छिमेकीकी स्वास्नीलाई अशुद्ध पार्छौ; त के तिमीहरू यो देश अधिकार गर्छौ र? 27 तिनीहरूलाई यसो भन: प्रभु यहोवा यसो भन्नुहुन्छ, मेरो जीवनको शपथ! निश्चय ती उजाड़ भएका ठाउँहरूमा बस्नेहरू तरवारले मारिनेछन्, अनि जो खुला मैदानमा छ, त्यसलाई म पशुहरूलाई आहारको रूपमा दिनेछु, अनि जो किल्लाहरूमा र ओड़ारहरूमा छन्, तिनीहरू महामारीले मर्नेछन्। 28 किनभने म यो देश बिलकुलै उजाड़ पार्नेछु, र त्यसको शक्तिको रवाफ खतम हुनेछ; अनि इस्राएलका पहाड़हरू उजाड़ हुनेछन्, र कोही त्यहाँबाट भएर जानेछैन। 29 अनि जब तिनीहरूले गरेका तिनीहरूका सबै घृणित कामहरूको कारणले म त्यो देश बिलकुलै उजाड़ पारूँला, तब ‘परमप्रभु म नै हुँ’ भनी तिनीहरूले जान्नेछन्।”
वचन सुन्नु मात्र हुँदैन
30 “अनि तिमी, हे मानिसको छोरा, तिम्रा मानिसहरूका सन्तानहरूले अझै पर्खालहरूनिर र घरहरूका ढोकाहरूमा तिम्रो विषयमा कुरा गरिरहेका छन्; एकजनाले अर्कोसँग, हरेकले आफ्नो भाइसँग यसो भन्छ: ‘आओ, म विन्ती गर्दछु, परमप्रभुको तर्फबाट निस्केर आएको वचन के रहेछ, सो सुन!’ 31 अनि मानिसहरू आएझैं तिनीहरू तिमीकहाँ आउँछन्, र मेरो प्रजाझैं गरी तिम्रो सामु बस्छन्; अनि तिनीहरूले तिम्रा वचनहरू त सुन्छन्, तर ती पालन गर्नेछैनन्; किनकि आफ्नो मुखले त तिनीहरूले धेरै प्रेम देखाउँछन्, तर तिनीहरूको हृदयचाहिँ तिनीहरूको नीच कमाइको लोभको पछि लाग्दैछ। 32 अनि हेर, तिमीचाहिँ तिनीहरूका निम्ति मीठो सोरले मुग्ध पार्ने गीतच गाउने र निपुण बाजा बजाउनेजस्तो ठहरिन्छौ; किनभने तिनीहरूले तिम्रा वचनहरू त सुन्छन्, तर तिनीहरूले तिनलाई पालन गर्दैनन्। 33 अनि जब यो हुन आउँछ, (हेर, यो हुन आउने नै छ), तब तिनीहरूको बीचमा एउटा भविष्यवक्ता आएको थियो भन्ने कुरा तिनीहरूले जान्नेछन्।”