देवदारको रूख: मिस्र देशको महान्ता र त्यसको पतन
31
अनि यस्तो भयो: एघारौं वर्षको तेस्रो महिनामा, त्यस महिनाको पहिलो दिनमा परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, मिस्रको राजा फाराओ र त्यसको भीड़लाई भन: तेरो महान्तामा तँ कोजस्तो छस्? 3 हेर्, अश्शूरचाहिँ सुन्दर-सुन्दर हाँगाहरू भएको, झ्याम्म परेको, छायादार र अग्लो कद भएको लेबानोनको एउटा देवदारको रूख थियो; अनि त्यसको टुप्पाचाहिँ मोटा-मोटा हाँगाहरूको बीचमा थियो। 4 पानीले त्यसलाई ठूलो बनायो; गहिरो पानीले त्यसका नदीहरूद्वारा, जुन नदीहरू त्यो देवदार रोपिएको ठाउँको वरिपरि बग्छन्, त्यसलाई अग्लो बनायो र त्यसका खोलानालाहरू मैदानका सबै रूखहरूकहाँ पठायो। 5 यसैकारण त्यसको उचाइ मैदानका सबै रूखहरूभन्दा उच्च भयो, र त्यसका ठूला हाँगाहरू संख्यामा बढ़े; अनि प्रशस्त पानी भएकोले जब त्यसले मुना हान्थ्यो, तब त्यसका हाँगाहरू लामा-लामा हुन्थे। 6 आकाशका सबै चराहरूले त्यसका हाँगाहरूमा गुँड़ लगाउँथे, मैदानका सबै पशुहरूले त्यसका हाँगाहरूमुनि आफ्ना बच्चाहरू जन्माउँथे; अनि त्यसका छायामुनि सबै ठूला जातिहरू बस्थे। 7 यसरी त्यो आफ्नो महान्तामा, आफ्ना हाँगाहरूको लमाइले गर्दा सुन्दर थियो; किनकि त्यसको जरा प्रशस्त पानीको छेउमा थियो। 8 परमेश्वरको बगैंचाका देवदारहरूले त्यसलाई लुकाउन सकेनन्; सल्लाका रूखहरू त्यसका ठूला हाँगाहरूसमान थिएनन्, न ता कटुसका रूखहरू नै त्यसका हाँगाहरूसमान थिए; परमेश्वरको बगैंचाको कुनै पनि रूख आफ्नो सुन्दरतामा त्योजस्तो थिएन। 9 मैले त्यसलाई प्रशस्त हाँगाहरूद्वारा सुन्दर बनाएको छु; यसैले परमेश्वरको बगैंचामा भएका अदनका सबै रूखहरूले त्यसलाई डाहा गर्थे।10 यसैकारण प्रभु यहोवा यसो भन्नुहुन्छ: तैंले आफूलाई उचाइमा उचालेको हुनाले, अँ, मोटा-मोटा हाँगाहरूको बीचमा त्यसले आफ्नो टुप्पा हानेको हुनाले र त्यसको हृदय आफ्नो उचाइको कारणले फुलेको हुनाले, 11 यसैकारण मैले त्यसलाई जातिहरूमध्ये एउटा शक्तिशालीको हातमा सुम्पिदिएको छु; यसले निश्चय त्यससँग व्यवहार गर्नेछ; त्यसको दुष्टताको कारणले गर्दा मैले त्यसलाई धपाइदिएकोक छु। 12 अनि परदेशीहरूले, अँ, ती जाति-जातिका अत्याचारी मानिसहरूले त्यसलाई नष्ट पारेका र त्यसलाई त्यागेका छन्; पहाड़हरूहुँदो र सबै बेंसीहरूमा त्यसका हाँगाहरू पड़िरहेका छन्, र त्यसका ठूला हाँगाहरू देशका सबै खोलानालाहरूनिर भाँचिएका छन्; अनि पृथ्वीका सबै मानिसहरू त्यसको छायाबाट निस्केर गएका छन्, र त्यसलाई त्यागिदिएका छन्। 13 त्यस ढलेको रूखमाथि आकाशका सबै चराहरू बस्नेछन्, र मैदानका सबै पशुहरू त्यसका हाँगाहरूमा हुनेछन्; 14 यस हेतुले कि पानीको छेउमा भएका सबै रूखहरूले आफ्नो उचाइको कारणले आफूलाई माथि नउचालून्, र मोटा-मोटा हाँगाहरूको बीचमा आफ्नो टुप्पा नहालून्, अनि तिनीहरूका रूखहरू – ती पानी पिउने सबै – आफ्नो उचाइमा खड़ा नहोऊन्; किनकि तिनीहरू सबै मानिसका सन्तानहरूको बीचमा, तल खाड़लभित्र ओर्लनेहरूको साथमा मृत्युको हातमा पृथ्वीका तल्ला भागहरूमा सुम्पिइएका छन्।
15 प्रभु यहोवा यसो भन्नुहुन्छ, त्यो तल अधोलोकमा ओर्लेको दिनमा मैले विलाप गर्न लगाएँ; त्यसका निम्ति मैले गहिरो सागरलाई ढाकिदिएँ, त्यसका बाढ़हरूख मैले रोकिदिएँ, अनि अगाध पानीहरू थामिए; अनि त्यसका निम्ति मैले लेबानोनलाई विलाप गर्न लगाएँ, र मैदानका सबै रूखहरू त्यसका निम्ति मूर्च्छा परे। 16 जब ती तल खाड़लभित्र ओर्लनेहरूको साथमा मैले त्यसलाई तल अधोलोकमा फ्याँकिदिएँ, तब त्यसको पतनको आवाजले मैले जाति-जातिलाई हल्लने तुल्याइदिएँ; अनि अदनका सबै रूखहरूले, लबानोनका चुनिएका र उत्तम रूखहरूले पानी पिउने सबैले पृथ्वीका तल्ला भागहरूमा सान्त्वना पाउनेछन्। 17 तिनीहरू पनि त्यससँगै तल अधोलोकमा तिनीहरूकहाँ गए, जो तरवारले मारिएका थिए, जो त्यसको पाखुरा थिए, जो जाति-जातिको बीचमा त्यसको छायामुनि बस्थे।
18 यसरी महिमा र महान्ताको विषयमा अदनका रूखहरूमध्ये तँ कोजस्तो छस्? तरै पनि अदनका रूखहरूसँग तँ पृथ्वीका तल्ला भागहरूमा ओरालिनेछस्; खतना नभएकाहरूको बीचमा तँ तरवारले मारिएकाहरूको साथमा लेट्नेछस्, प्रभु यहोवा भन्नुहुन्छ – त्यो फाराओ र त्यसको सारा भीड़ हो।”