मिस्र देशका निम्ति परमप्रभुको दण्ड
30
अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, भविष्यवाणी गरेर भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, रोइकराइ गर! त्यस दिनलाई हाय! 3 किनकि त्यो दिन नजिकै छ; अँ, परमप्रभुको दिन, त्यो बादल लागेको दिन नजिकै छ; त्यो अन्यजातिहरूको समय हुनेछ। 4 अनि मिस्रमाथि एउटा तरवार आइपर्नेछ; अनि जब मिस्रमा मारिएकाहरू ढल्नेछन्, तब कुश देशमा ठूलो पीड़ा हुनेछ; अनि उनीहरूले त्यसको भीड़ लैजानेछन्, र त्यसका जगहरू भत्काइनेछन्। 5 तिनीहरूको साथमा कुश, पूत, लूद र सबै मिसिएका जातिहरू, साथै कूब र वाचामा बाँधिएको देशका मानिसहरू तरवारले ढल्नेछन्।
6 परमप्रभु यसो भन्‍नुहुन्‍छ, अँ, मिस्रलाई सम्हाल्नेहरू पनि ढल्नेछन्; अनि त्यसको शक्तिको घमण्ड तल झर्नेछ; सवेनेको धरहरादेखि तिनीहरू त्यसभित्र तरवारले ढल्नेछन्, प्रभु यहोवा भन्‍नुहुन्‍छ। 7 अनि तिनीहरू उजाड़ भएका देशहरूको बीचमा उजाड़ हुनेछन्; अनि त्यसका शहरहरू बरबाद पारिएका शहरहरूको बीचमा हुनेछन्। 8 अनि जब म मिस्रमा आगो लगाउनेछु र त्यसका सबै सहायकहरू नाश हुनेछन्, तब तिनीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछन्। 9 त्यस दिन सुरक्षासाथ बसेका कुशीहरूलाई भयभीत पार्नलाई मकहाँबाट दूतहरू जहाजहरूमा निस्केर जानेछन्; अनि मिस्रको दिनमा झैं तिनीहरूमाथि ठूलो पीड़ा आइपर्नेछ; किनभने हेर, त्यो आउँदैछ।
10 प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ: अँ, बाबेलका राजा नबूकद्‌नेस्‍सरको हातद्वारा म मिस्रको भीड़ पनि अन्त गरिदिनेछु। 11 त्यो र त्यससँग त्यसका मानिसहरू अर्थात् जाति-जातिका अत्याचारी मानिसहरू त्यस देशलाई नष्‍ट गर्न ल्याइनेछन्; अनि तिनीहरूले मिस्रको विरोधमा आफ्ना तरवारहरू थुत्‍नेछन् र देशलाई मारिएकाहरूले भरिदिनेछन्। 12 अनि म नदीहरू सुक्खा तुल्याइदिनेछु र त्यो देश दुष्‍टहरूको हातमा बेचिदिनेछु; अनि म परदेशीहरूको हातद्वारा त्यो देश र त्यसमा भएका सबै थोकहरू उजाड़ पारिदिनेछु; म, परमप्रभुले नै यो भनेको छु।
13 प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, अँ, नोपबाट पनि म मूर्तिहरू नाश गरिदिनेछु र तिनीहरूका व्यर्थका कुराहरू खतम गरिदिनेछु; अनि मिस्र देशमा फेरि कहिल्यै कुनै शासक हुनेछैन; अनि मिस्र देशमा म डर हालिदिनेछु। 14 अनि म पत्रोसलाई उजाड़ पार्नेछु, र सोअनमा आगो लगाउनेछु, अनि नोमाथि मेरा न्यायहरू पूरा गर्नेछु। 15 अनि सीनमाथि, जो मिस्रको बल हो, म आफ्नो क्रोध खन्याउनेछु; अनि म नोको भीड़ नाश पार्नेछु। 16 अनि म मिस्रमा आगो लगाउनेछु; सीनलाई खूबै व्यथा हुनेछ, र नो फोरिनेछ, अनि नोपले दिनहुँ सङ्कष्‍टहरू भोग्‍नेछ। 17 आवेन र पी-बेसेतका जवानहरू तरवारले ढल्नेछन्; अनि यी शहरहरू कैदमा जानेछन्। 18 अनि तहपन्हेसमा दिन अँध्यारो हुनेछ, जब म त्यहाँ मिस्रका जुवाहरू तोड़्नेछु; अनि त्यसमा त्यसको शक्तिको घमण्डको अन्त हुनेछ; त्योचाहिँ – एउटा बादलले त्यसलाई ढाकिदिनेछ, र त्यसका छोरीहरू कैदमा जानेछन्। 19 यसरी म मिस्रमा मेरा न्यायहरू पूरा गर्नेछु; अनि तिनीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछन्।”
20 अनि एघारौं वर्षमा यस्तो भयो: पहिलो महिनामा त्यस महिनाको सातौं दिनमा परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 21 ‘हे मानिसको छोरा, मैले मिस्रको राजा फाराओको पाखुरा भाँचिदिएको छु; अनि हेर, त्यसलाई निको पार्न, त्यसलाई बाँध्‍न भनी मलमपट्टी हाल्न र तरवार समात्‍ने गरी बलियो पार्नलाई त्यो बाँधिनेछैन। 22 यसकारण प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ: हेर, म मिस्रको राजा फाराओको विरोधमा छु; अनि म त्यसका पाखुराहरू – त्यो जो बलियो छ र त्यो जो भाँचिएको छ – भाँचिदिनेछु र त्यसको हातबाट तरवार खसालिदिनेछु। 23 अनि म मिस्रीहरूलाई जाति-जातिको बीचमा तितरबितर पारिदिनेछु, र तिनीहरूलाई देश-देशमा छरिदिनेछु। 24 अनि म बाबेलका राजाका पाखुराहरू बलियो तुल्याउनेछु र मेरो तरवार उसको हातमा राखिदिनेछु; तर फाराओका पाखुराहरूचाहिँ म भाँचिदिनेछु; अनि मर्ने गरी घाइते भएको मानिसका ऐया-आत्थाहरू लिएर त्यसले उसको सामु ऐया-ऐया गर्नेछ। 25 तर म बाबेलका राजाका पाखुराहरू बलियो तुल्याउनेछु, अनि फाराओका पाखुराहरू तल लत्रनेछन्; अनि जब म आफ्नो तरवार बाबेलका राजाको हातमा राखिदिनेछु, र उसले त्यो मिस्र देशमाथि बढ़ाइदिनेछ, तब तिनीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछन्। 26 अनि म मिस्रीहरूलाई जाति-जातिको बीचमा तितरबितर पारिदिनेछु र तिनीहरूलाई देश-देशमा छरिदिनेछु; अनि तिनीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछन्।”