मिस्र देश र त्यसको राजाको विरोधमा भविष्यवाणी
29
दसौं वर्षको दसौं महिनामा, त्यस महिनाको बाह्रौं दिनमा परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, आफ्नो अनुहार मिस्रको राजा फाराओतिर लगाऊ र त्यसको विरोधमा र सम्पूर्ण मिस्रको विरोधमा भविष्यवाणी गर! 3 बोल र भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, हे मिस्रको राजा फाराओ, म तेरो विरोधमा, आफ्ना नदीहरूको बीचमा लेटिरहने त्यस ठूलो अजिङ्गरको विरोधमा छु, जसले भनेको छ: ‘मेरो नदी मेरै हो, र मैले त्यो आफ्नै निम्ति बनाएको हुँ।’ 4 तर म तेरा बङ्गाराहरूमा अङ्कुसेहरू लगाउनेछु, तेरा कत्लाहरूमा तेरा नदीहरूका माछाहरू टँसाइदिनेछु र तँलाई तेरा नदीहरूको बीचबाट बाहिर निकाल्नेछु, अनि तेरा नदीहरूका सबै माछाहरू तेरा कत्लाहरूमा टाँसिनेछन्। 5 अनि म तँलाई, अँ, तँलाई र तेरा नदीहरूका सबै माछाहरूलाई एउटा उजाड़स्थानमा छोड़िदिनेछु; तँ खुला मैदानमाथि पड़िरहनेछस्; तँ न बटुलिनेछस्, न भेला गरिनेछस्; मैदानका पशुहरू र आकाशका चराहरूका निम्ति आहारको रूपमा मैले तँलाई दिएको छु। 6 अनि मिस्रका सबै बासिन्दाहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछन्; किनकि इस्राएलको घरानाका निम्ति तिनीहरू एउटा निगालोको लौरो भए। 7 उनीहरूले तँलाई तेरो हातमा समात्दा तँ भाँचिगइस्, र उनीहरूको सारा काँध स्वाट्टै चिरिदिइस्; अनि उनीहरू तँमाथि अड़ेसिँदा तँ भाँचिगइस्, र उनीहरूको सारा कम्मर नचल्ने पारिदिइस्।
8 यसकारण प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ: हेर्, म तँमाथि एउटा तरवार ल्याउनेछु र तँबाट मानिस र पशु दुवैलाई नाश गरिदिनेछु। 9 अनि मिस्र देश उजाड़ र बरबाद हुनेछ; अनि तिनीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछन्; किनभने त्यसले ‘त्यो नदी मेरो हो; अनि मैले नै त्यो बनाएको छु’ भनी भनेको छ। 10 यसकारण हेर्, म तेरो विरोधमा र तेरा नदीहरूको विरोधमा छु; अनि म मिस्र देशलाई सवेनेको धरहरादेखि कुशको सिमानासम्म बिलकुलै बरबाद र उजाड़ पारिदिनेछु। 11 चालीस वर्षसम्म त्यसबाट भएर न मानिसको कुनै पाउ जानेछ, न त्यसबाट भएर पशुको कुनै पाउ नै जानेछ, न ता त्यो बसोबास नै गरिनेछ। 12 अनि उजाड़ देशहरूको बीचमा म मिस्र देशलाई उजाड़ पार्नेछु, अनि बरबाद पारिएका शहरहरूको बीचमा त्यसका शहरहरू चालीस वर्षसम्म उजाड़ रहनेछन्; अनि म मिस्रीहरूलाई जाति-जातिको बीचमा तितरबितर पारिदिनेछु र तिनीहरूलाई देश-देशमा छरिदिनेछु।
13 किनकि प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ: चालीस वर्षको अन्तमा म मिस्रीहरूलाई ती जातिहरूबाट, जहाँ-जहाँ तिनीहरू तितरबितर भएका थिए, भेला गर्नेछु। 14 अनि म मिस्रीहरूलाई कैदबाट फर्काएर ल्याउनेछु र तिनीहरूलाई तिनीहरू जन्मेको देश पत्रोस देशमा फर्कन लाउनेछु, अनि त्यहाँ तिनीहरू एउटा नीच राज्य हुनेछन्। 15 योचाहिँ राज्यहरूमा सबभन्दा नीच हुनेछ; यसले फेरि कहिल्यै आफूलाई अरू जातिहरूभन्दा माथि उचाल्नेछैन; किनभने म तिनीहरूलाई घटाउनेछु, र तिनीहरूले फेरि कहिल्यै अरू जातिहरूमाथि शासन गर्नेछैनन्। 16 अनि यो फेरि कहिल्यै इस्राएलको घरानाका निम्ति भरोसा हुनेछैन; त्यसले तिनीहरूलाई यिनीहरूको पछि फर्केर गएको अधर्मको सम्झना गराउँछ। तर तिनीहरूले ‘प्रभु यहोवा म नै हुँ’ भनी जान्‍नेछन्।”
17 अनि यस्तो भयो: सत्ताइसौं वर्षको पहिलो महिनामा, त्यस महिनाको पहिलो दिनमा परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 18 “हे मानिसको छोरा, बाबेलका राजा नबूकद्‌नेस्‍सरले आफ्नो सेनालाई टायरको विरोधमा ठूलो परिश्रम गर्न लगायो; हरेक टाउको खुइलियो, हरेक काँधको छाला पिल्सियो; तरै पनि टायरबाट त्यसको विरोधमा गरेको परिश्रमको ज्याला न त्यसले पायो न त्यसको सेनाले। 19 यसैकारण प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ: हेर, म बाबेलका राजा नबूकद्‌नेस्‍सरलाई मिस्र देश दिनेछु; अनि यसले त्यसको भीड़ लैजानेछ, त्यसको लुटेको माल धुत्‍नेछ र त्यसको लुटको माल लुट्नेछ; अनि यसको सेनाका निम्ति यही नै ज्याला हुनेछ। 20 जुन परिश्रम यसले टायरको विरोधमा गरेको छ, यसको त्यस परिश्रमका निम्ति मैले यसलाई मिस्र देश दिएको छु; किनभने तिनीहरूले मेरा निम्ति काम गरेका हुन्, प्रभु यहोवा भन्‍नुहुन्‍छ।
21 त्यस दिन म इस्राएलको घरानाका निम्ति एउटा सिङ उमार्नेछु, अनि तिनीहरूको बीचमा म तेरो मुख खोलिदिनेछु; अनि ‘परमप्रभु म नै हुँ’ भनी तिनीहरूले जान्‍नेछन्।”