टायरको शासकका निम्ति भविष्यवाणी
28
अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, टायरको शासकलाई भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, तेरो हृदय घमण्डले फुलिएको छ, र तैंले भनेको छस्: ‘ईश्‍वर म नै हुँ; म परमेश्‍वरको आसनमा, समुद्रहरूको बीचमा बस्छु’; तर तैंले आफ्नो हृदय परमेश्‍वरको हृदयजस्तो तुल्याए तापनि तँ एउटा मानिस मात्र होस्, ईश्‍वर होइनस्; 3 यसकारण हेर्, तँ दानियलभन्दा बुद्धिमान् छस्; तँबाट तिनीहरूले लुकाउन सक्ने कुनै पनि रहस्य छैन; 4 आफ्नो बुद्धि र आफ्नो समझद्वारा तैंले आफ्ना निम्ति धनसम्पत्ति प्राप्‍त गरेको छस्, अनि आफ्ना भण्डारहरूमा सुन र चाँदी प्राप्‍त गरेको छस्। 5 आफ्नो ठूलो बुद्धि र आफ्नो व्यापारद्वारा तैंले आफ्नो धनसम्पत्ति बढ़ाएको छस्, अनि तेरो धनसम्पत्तिको कारणले तेरो हृदय घमण्डले फुलिएको छ; 6 यसैकारण प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ: तैंले आफ्नो हृदय परमेश्‍वरको हृदयजस्तो तुल्याएको छस्; 7 यही कारणले गर्दा हेर्, म परदेशीहरूलाई, अँ, जाति-जातिका अत्याचारी मानिसहरूलाई तेरो विरोधमा ल्याउनेछु; अनि तिनीहरूले तेरो बुद्धिको सुन्दरताको विरोधमा आफ्ना तरवार थुत्‍नेछन् र तेरो चमक अशुद्ध पार्नेछन्। 8 तिनीहरूले तँलाई तल खाड़लमा झार्नेछन्, अनि तँ समुद्रहरूको बीचमा मारिनेहरूको मृत्युजस्तै गरी मर्नेछस्। 9 के तँ तँलाई मार्नेको सामु अझै पनि ‘ईश्‍वर म नै हुँ’ भन्छस्? तर तँलाई मार्नेको हातमा तँ ईश्‍वर होइनस्, तर एउटा मानिस मात्र ठहर्नेछस्। 10 परदेशीहरूको हातद्वारा तँ खतना नभएकाहरूका मृत्युहरू मर्नेछस्; किनकि मैले नै यो भनेको छु, प्रभु यहोवा भन्‍नुहुन्‍छ।”
11 अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 12 “हे मानिसको छोरा, टायरको राजाको विषयमा एउटा विलाप-गीत गाऊ र त्यसलाई भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, तँ परिपूर्णताको छाप होस्, बुद्धिले भरपूर र सुन्दरतामा सिद्ध छस्। 13 तँ परमेश्‍वरको बगैंचा अदनमा थिइस्; तेरो पहिरन हर प्रकारको बहुमूल्य पत्थरको थियो – लालमणि, पुष्पराज, हीरा, फिरोजा, गोमेद, स्फटिक र सुन थियो; जुन दिन तँ सृष्‍टि गरिइस्, त्यही दिनमा तेरा खैंजड़ीहरू र तेरा बाँसुरीहरूको कारिगरीचाहिँ तँमा तयार भयो। 14 तँचाहिँ ढाकेर राख्‍ने अभिषिक्त करूब थिइस्; अनि मैले तँलाई यस्तो ठहऱ्याएँ; तँ परमेश्‍वरको पवित्र पर्वतमाथि थिइस्; तँ आगोका पत्थरहरूको बीचमा हिँड़डुल गर्थिस्। 15 जबसम्म तँमा अधर्म पाइएन, तबसम्म तँ तेरो सृष्‍टि भएको दिनदेखि आफ्ना चालहरूमा सिद्ध थिइस्। 16 तेरा व्यापारका मालहरूको प्रशस्तताले गर्दा तिनीहरूले तेरो भित्री भाग अत्याचारले भरिदिएका छन्, अनि तैंले पाप गरिस्; यसकारण मैले तँलाई अशुद्ध ठानेर परमेश्‍वरको पर्वतबाट फ्याँकिदिएँ; अनि हे ढाकेर राख्‍ने करूब, मैले तँलाई आगोका पत्थरहरूको बीचबाट नाश गरिदिएँ। 17 तेरो सुन्दरताले गर्दा तेरो हृदय घमण्डले फुलियो; तेरो चमकले गर्दा तैंले आफ्नो बुद्धि भ्रष्‍ट पारेको छस्; मैले तँलाई जमिनमाथि फ्याँकिदिएँ; राजाहरूले तँलाई देखून् भनेर मैले तँलाई तिनीहरूको सामु राखिदिएँ। 18 तेरा अधर्महरूको प्रशस्तता र तेरो व्यापारको अधर्मद्वारा तैंले आफ्ना पवित्रस्थानहरू अशुद्ध पारेको छस्; यसकारण मैले तेरो बीचबाट एउटा आगो उत्‍पन्‍न गरें; यसले तँलाई भस्म पार्‍यो; अनि तँलाई हेर्ने सबैको दृष्‍टिमा मैले तँलाई पृथ्वीमाथि खरानी तुल्याएँ। 19 जाति-जातिका मानिसहरूको बीचमा तँलाई चिन्‍नेहरू सबैले तँलाई देखेर अवाक् हुनेछन्; तँ डरत्रासहरूको कारण हुनेछस्, र तँ सदा-सर्वदाका निम्ति हुनेछैनस्।”
सिडोनको विरोधमा भविष्यवाणी
20 अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 21 “हे मानिसको छोरा, आफ्नो अनुहार सिडोनतिर लगाऊ र त्यसको विरोधमा भविष्यवाणी गर, 22 र भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, हे सिडोन, म तेरो विरोधमा छु; अनि तेरो बीचमा म महिमित हुनेछु; अनि जब म त्यसमा मेरा न्यायहरू पूरा गर्नेछु, र जब म त्यसमा पवित्र ठहरिनेछु, तब ‘परमप्रभु म नै हुँ’ भनी तिनीहरूले जान्‍नेछन्। 23 किनभने म त्यसकहाँ महामारी र त्यसका सड़कहरूमा रगत पठाउनेछु; अनि त्यसको बीचमा घायलहरू त्यस तरवारले ढल्नेछन्, जुन तरवार चारैतिरबाट त्यसमाथि चल्नेछ; अनि ‘परमप्रभु म नै हुँ’ भनी तिनीहरूले जान्‍नेछन् 24 अनि इस्राएलको घरानाका निम्ति त्यसलाई तुच्छ ठान्‍ने त्यसको चारैतिर रहेकाहरूबाट फेरि कहिल्यै घोंच्‍ने सुइरो र कष्‍टदायक काँड़ा रहनेछैन; अनि ‘प्रभु यहोवा म नै हुँ’ भनी तिनीहरूले जान्‍नेछन्।”
इस्राएलको विषयमा भविष्यवाणी
25 “प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ: जब म इस्राएलको घरानालाई ती जाति-जातिबाट भेला गर्नेछु, जसको बीचमा तिनीहरू तितरबितर भएका छन्, र अन्यजातिहरूका आँखाको सामु म तिनीहरूमा पवित्र ठहरिनेछु, तब तिनीहरू आफ्नो देशमा बस्‍नेछन्, जुन देश मैले आफ्नो दास याकूबलाई दिएको थिएँ। 26 अनि तिनीहरू त्यसभित्र सुरक्षासाथ बस्‍नेछन्, अनि तिनीहरूले घरहरू बनाउनेछन् र दाखबारीहरू लगाउनेछन्; अँ, जब म तिनीहरूको चारैतिर रहेका सबैमाथि मेरा न्यायहरू पूरा गर्नेछु, जसले तिनीहरूलाई तुच्छ ठान्छन्, तब तिनीहरू सुरक्षासाथ बस्‍नेछन्; अनि तिनीहरूले ‘परमप्रभु तिनीहरूको परमेश्‍वर म नै हुँ’ भनी जान्‍नेछन्।”