टायरको विषयमा गाइने विलाप-गीत
27
अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 2 “अनि तिमीले, हे मानिसको छोरा, टायरका निम्ति एउटा विलाप-गीत गाऊ, 3 र टायरलाई भन: तँ, जो समुद्रको मुखनिर बस्छेस्, जो धेरै टापुहरूका निम्ति मानिसहरूको व्यापारी होस्, प्रभु यहोवा भन्‍नुहुन्‍छ: हे टायर, ‘म सुन्दरतामा सिद्ध छु’ भनी तैंले भनेकी छेस्। 4 तेरा सिमानाहरू समुद्रहरूको बीचमा छन्; तँलाई बनाउनेहरूले तेरो सुन्दरता सिद्ध पारेका छन्। 5 तिनीहरूले तेरा जहाजका सबै फल्याकहरू सनीरका सल्‍लाहरूका बनाएका छन्; तेरा निम्ति मस्तुलहरू बनाउन तिनीहरूले लेबानोनबाट देवदारहरू लिएका छन्। 6 तिनीहरूले तेरा बहानाहरू बाशानका फलाँटहरूका बनाएका छन्; अशूरीहरूको समुदायले तेरा मेचहरू कित्तिमका टापुहरूबाट ल्याइएका हात्तीदाँतले बनाएका छन्। 7 मिस्रबाटको कार्चोपी मिहिन मलमलचाहिँ तेरो पालको रूपमा तैंले फैलाइस्; एलीशाका टापुहरूको नीलो र बैजनी कपड़ाले चाहिँ तँलाई ढाकिदिन्थ्यो। 8 सिडोन र अर्वदका बासिन्दाहरूचाहिँ तेरा खियाउनेहरू थिए; हे टायर, तँमा भएका तेरा बुद्धिमान् मानिसहरूचाहिँ तेरा जहाज चालकहरू थिए। 9 गबलका बूढ़ा प्रधानहरू र त्यसका बुद्धिमान् मानिसहरूचाहिँ तेरा जहाज टालटुल गर्नेहरू थिए; तेरा व्यापारका मालहरू चलाउनलाई समुद्रका सबै जहाजहरू र तिनका नाविकहरू तँमा थिए। 10 फारस, लूद र पूतका मानिसहरू तेरो सेनामा तेरा योद्धाहरू थिए; तिनीहरूले ढाल र टोप तँमा झुन्ड्याए; तिनीहरूले तेरो शोभा बढ़ाए। 11 चारैतिर तेरा पर्खालहरूमाथि तेरो सेनाको साथमा अर्वदका मानिसहरू थिए, र तेरा धरहराहरूमाथि चाहिँ गम्मादीहरू थिए; तिनीहरूले आफ्ना ढालहरू चारैतिर तेरा पर्खालहरूमा झुन्ड्याए; तिनीहरूले तेरो सुन्दरता सिद्ध पारेका छन्।
12 सबै प्रकारका धनसम्पत्तिको प्रशस्तताले गर्दा टार्शिश तेरो व्यापारी थियो; तिनीहरूले चाँदी, फलाम, राङ र सिसासँग तेरा मालहरू साटे। 13 यावान, तूबल, मेशेक – तिनीहरूचाहिँ तेरा व्यापारीहरू थिए; तिनीहरूले मानिसका प्राणहरू र पित्तलका भाँड़ाकुँड़ाहरूसँग तेरो व्यापारका मालहरू साटे। 14 तोगर्माको घरानाले घोड़ाहरू, घोड़चढ़ीहरू र खच्‍चरहरूसँग तेरा मालहरू साटे। 15 ददानका मानिसहरू तेरा व्यापारीहरू थिए; धेरै टापुहरू तेरो हातका व्यापार-स्थलहरू थिए; तिनीहरूले तँकहाँ हात्तीदाँतका सिङहरू र आबनूसका काठ उपहार-स्वरूप ल्याउँथे 16 तेरा बनाइएका मालतालको प्रशस्तताको कारणले अराम तेरो व्यापारी थियो; तेरा मालहरूको सट्टामा तिनीहरूले हरितमणि, बैजनी कपड़ा, कार्चोपी वस्त्र, मिहिन मलमल, मुगा र लालमणि दिन्थे। 17 यहूदा र इस्राएल देशचाहिँ तेरा व्यापारीहरू थिए; तिनीहरूले तेरो बजारमा मिन्‍नित र पन्‍नगको गहुँ, साथै मह, तेल र मलहमसित व्यापार गर्थे। 18 तेरा बनाइएका मालतालको प्रशस्तता र तेरा सबै धनसम्पत्तिको प्रशस्तताको कारणले दमस्कसचाहिँ हेल्बोनको दाखमद्य र सेतो ऊन ल्याउने तेरो व्यापारी थियो। 19 वदान र यावानले आउजाउ गर्दै तेरा मालहरू व्यापार गर्थे; तेरो बजारमा टल्किने फलाम, तेजपात र बोझो थिए। 20 ददान तँसित रथहरूका निम्ति बहुमूल्य कपड़ाहरूको व्यापार गर्थ्यो। 21 अरब, साथै केदारका सबै शासकहरूले चाहिँ तँसित भेड़ाका पाठाहरू, भेड़ाहरू र बोकाहरूको व्यापार गर्थे; यी चीजबीजहरूको सम्बन्धमा तिनीहरू तेरा व्यापारीहरू थिए। 22 शबा र रामाका व्यापारीहरूचाहिँ तेरा व्यापारीहरू थिए; तिनीहरूले तँसित सबै प्रकारका प्रमुख मसलाहरू, सबै बहुमूल्य पत्थरहरू र सुनसित तेरा मालहरू साटे। 23 हारान, कन्‍ने, अदन, शबाका व्यापारीहरू, अश्शूर र किल्माद तेरा व्यापारीहरू थिए। 24 तिनीहरू तेरा व्यापारका सामानहरूमध्ये सबै प्रकारका चीजहरूका, जस्तै नीलो कपड़ा, कार्चोपी वस्त्र र डोरीहरूले बाँधिएका र देवदारले बनेका दामी वस्त्रका सन्दुकहरूका व्यापारीहरू थिए। 25 टार्शिशका जहाजहरू तेरा व्यापारका मालहरू ढुवानी गर्नेहरू थिए; अनि तँ भरपूर भइस्, र समुद्रहरूको बीचमा तँ अति महिमावान् भइस्। 26 तेरा खियाउनेहरूले तँलाई गहिरा-गहिरा पानीभित्र ल्याएका छन्; पूर्वी हावाले तँलाई समुद्रहरूको बीचमा तोड़िदिएको छ। 27 तेरो विनाशको दिनमा तेरो धनसम्पत्ति, तेरा मालहरू, तेरा व्यापारका सामानहरू, तेरा नाविकहरू, तेरा जहाज चालकहरू, तेरा जहाज टालटुल गर्नेहरू, तेरा व्यापारीहरू, तँभित्र भएका तेरा सबै योद्धाहरू र तेरो बीचमा भएको तेरो सारा जमात समुद्रहरूको बीचमा पर्नेछन्। 28 तेरा जहाज चालकहरूको चीत्कारको आवाजले वरिपरिका ठाउँहरू हल्‍लनेछन्। 29 अनि सबै बहाना चलाउनेहरू, नाविकहरू, समुद्रका सबै जहाज चालकहरू आफ्ना जहाजहरूबाट ओर्लनेछन्, तिनीहरू जमिनमाथि उभिनेछन्। 30 अनि तिनीहरू आफ्नो सोर उचालेर तेरा निम्ति चिच्च्याउनेछन्, टुटी-टुटी रुनेछन्, र आफ्ना टाउकाहरूमाथि धूलो हाल्नेछन्; तिनीहरूले खरानीमा लड़ीबुड़ी गर्नेछन्। 31 अनि तेरा निम्ति तिनीहरूले आफ्ना टाउको बिलकुलै तालुखुइले बनाउनेछन् र भाङ्ग्राको लुगाले आफ्नो कम्मर कस्‍नेछन्; अनि तेरा निम्ति तिनीहरू तीतो-तीतो विलाप गर्दै मनको पीर लिएर रुनेछन्। 32 अनि आफ्नो बिलौनामा तिनीहरूले तेरा निम्ति एउटा विलाप उठाएर तेरो विषयमा यसो भन्दै विलाप गर्नेछन्: ‘समुद्रको बीचमा नष्‍ट भएको टायरजस्तो कुनचाहिँ शहर छ र?” ’ 33 जब तेरा व्यापारका मालहरू समुद्रहरूबाट भएर निस्कन्थे, तब तैंले जाति-जातिका धेरै मानिसहरूलाई तृप्‍त पार्थिस्; तैंले आफ्ना धनसम्पत्तिको प्रशस्तताले पृथ्वीका राजाहरूलाई धनवान् तुल्याइस्। 34 गहिरा-गहिरा पानीहरूमा जब तँ समुद्रहरूद्वारा चकनाचूर हुनेछस्, त्यस बेला तेरा व्यापारका मालहरू र तेरो बीचमा भएको तेरो सारा जमात नष्‍ट हुनेछन् 35 टापुहरूका सबै बासिन्दाहरू तँलाई देखेर अवाक् हुनेछन्, र तिनीहरूका राजाहरू डरले अत्यन्तै भयभीत हुनेछन्; तिनीहरूको अनुहारमा घबराहट हुनेछ। 36 जाति-जातिको बीचका व्यापारीहरूले तँलाई खिसी गर्नेछन्; तँ डरत्रासहरूको कारण हुनेछस्, र तँ सदा-सर्वदाका निम्ति हुनेछैनस्।”