टायरको विरोधमा भविष्यवाणी
26
अनि एघारौं वर्षमा, त्यस महिनाको पहिलो दिनमा यस्तो भयो: परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, टायरले यरूशलेमको विरोधमा यसो भनेको छ: ‘आहा! जुन जाति-जातिका मानिसहरूका मूलढोकाहरू भएकी थिई, त्यो टुटफुट भई! त्यो मतिर फर्केकी छे; म भरपूर हुनेछु; त्यो त उजाड़ भएकी छे’; 3 यसैकारण प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ: हे टायर, म तेरो विरोधमा छु; अनि जसरी समुद्रले आफ्ना छालहरू उर्लाउँछ, त्यसरी नै म धेरै जातिहरूलाई तेरो विरुद्ध उठाएर ल्याउनेछु। 4 अनि तिनीहरूले टायरका पर्खालहरू ध्वंस पार्नेछन्, र त्यसका धरहराहरू भत्काउनेछन्; अनि म त्यसबाट त्यसको धूलो खुर्कनेछु, र त्यसलाई नाङ्गो चट्टान बनाउनेछु। 5 समुद्रको बीचमा त्यो जालहरू फैलाउने ठाउँ हुनेछ; किनकि मैले यो भनेको छु, प्रभु यहोवा भन्‍नुहुन्‍छ। अनि त्यो जाति-जातिका निम्ति लुटको माल हुनेछ। 6 अनि त्यसका छोरीहरू, जो मैदानमा छन्, तरवारले मारिनेछन्; अनि तिनीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछन्।
7 किनकि प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ: हेर, म राजाहरूको राजा, बाबेलका राजा नबूकद्‌नेस्‍सरलाई घोड़ाहरू, रथहरू, घोड़चढ़ीहरू, एउटा जमात र धेरै मानिसहरूको साथमा उत्तरबाट टायरमाथि ल्याउनेछु। 8 अनि त्यसले तरवारले तेरा छोरीहरूलाई मैदानमा मार्नेछ; अनि त्यसले तेरो विरुद्ध घेराबन्दीको पर्खाल बनाउनेछ, तेरो विरुद्ध ढिस्का उठाउनेछ र तेरो विरुद्ध ढाल उठाउनेछ। 9 अनि त्यसले तेरा पर्खालहरूको विरुद्ध आफ्ना युद्धका यन्त्रहरू लगाउनेछ र आफ्ना बन्चराहरूले तेरा धरहराहरू भत्काउनेछ। 10 त्यसका घोड़ाहरू अति धेरै भएका हुनाले तँ तिनीहरूको धूलोले छोपिनेछस्; फोरेको ठाउँबाट मानिसहरू शहरभित्र पसेझैं जब त्यो तेरा मूलढोकाहरूभित्र पस्‍नेछ, तब तेरा पर्खालहरू घोड़चढ़ीहरू, चक्‍काहरू र रथहरूको आवाजले हल्‍लनेछन्। 11 त्यसले तेरा सबै सड़कहरू त्यसका घोड़ाहरूका टापहरूले कुल्चीमिल्ची पार्नेछ; त्यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलका खाँबाहरू तल भुइँसँग मिल्नेछन्। 12 अनि तिनीहरूले तेरो धनसम्पत्ति लुट्नेछन् र तेरो व्यापारको माल धुत्‍नेछन्; अनि तिनीहरूले तेरा पर्खालहरू ढाल्नेछन् र तेरा मनोहर भवनहरू ध्वंस पार्नेछन्; अनि तेरा ढुङ्गाहरू, तेरो काठपात र तेरो माटो तिनीहरूले पानीको बीचमा हालिदिनेछन्। 13 अनि म तेरा गीतहरूको आवाज बन्द गरिदिनेछु; अनि तेरा वीणाहरूको आवाज फेरि कहिल्यै सुनिनेछैन। 14 अनि म तँलाई नाङ्गो चट्टान तुल्याइदिनेछु; तँ जालहरू फैलाउने ठाउँ हुनेछस्; तँ फेरि कहिल्यै निर्माण गरिनेछैनस्; किनभने म परमप्रभुले नै यो भनेको हुँ, प्रभु यहोवा भन्‍नुहुन्‍छ।
15 प्रभु यहोवा टायरलाई यसो भन्‍नुहुन्‍छ, जब घाइतेहरूले ऐया! ऐया! गर्छन्, जब तेरो बीचमा काटमार चलिरहेको हुन्छ, तब के तँ ढलेको आवाजले टापुहरू हल्‍लनेछैनन् र? 16 त्यस घड़ी समुद्रका सबै शासकहरू आफ्ना सिंहासनबाट ओर्लिनेछन्, आफ्ना पोशाकहरू हटाउनेछन् र आफ्ना कार्चोपी वस्त्रहरू फुकाल्नेछन्; तिनीहरूले थरथराहटहरूको वस्त्र पहिरनेछन्; तिनीहरू भुइँमा बस्‍नेछन्, क्षण-क्षणमा थरथर काम्‍नेछन् र तँलाई देखेर अवाक् हुनेछन्। 17 अनि तिनीहरूले तेरा निम्ति विलाप-गीत गाउनेछन्, र तँलाई भन्‍नेछन्: ‘हे समुद्रका यात्रीहरूले बसोबास गरिएको प्रसिद्ध शहर, तँ समुद्रमा सामर्थी थिइस्, तँ कसरी नाश भइस्! त्यो र त्यसका बासिन्दाहरूले त्यस शहरमा बस्‍ने सबैमाथि आफ्नो आतङ्क फैलाउँथे। 18 अब तेरो पतनको दिनमा टापुहरू थरथर काम्‍नेछन्; अँ, समुद्रमा भएका टापुहरू तेरो प्रस्थानमा विचलित हुनेछन्।
19 किनकि प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ: जब म तँलाई बसोबास नगरिएका शहरहरूजस्तै एउटा उजाड़ शहर तुल्याउँला, जब म गहिरो सागर उर्लाएर तँमाथि ल्याउँला, र अग्घोर पानीले तँलाई ढाक्ला; 20 जब म तँलाई खाड़लभित्र ओर्लनेहरूको साथमा तल उहिलेका मानिसहरूकहाँ पुर्‍याउँला र तँलाई पृथ्वीका तल्‍ला भागहरूमा, उहिलेदेखि उजाड़ रहेका ठाउँहरूमा तल खाड़लभित्र ओर्लेकाहरूको साथमा बसाउँला, फलस्वरूप तँ कहिल्यै बसोबास गरिनेछैनस्; अनि जीवितहरूको देशमा म महिमा स्थापित गर्नेछु। 21 तब म तँलाई डरत्रासहरूको कारण तुल्याउनेछु; अनि तँ फेरि रहनेछैनस्; तँलाई खोजिए तापनि तँ कहिल्यै भेट्टाइनेछैनस्, प्रभु यहोवा भन्‍नुहुन्‍छ।”