इस्राएलको घरानाका निम्ति दृष्टान्त: उम्लिरहेको कराही
24
अनि नवौं वर्षको दसौं महिनामा, त्यस महिनाको दसौं दिनमा परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, आफ्ना निम्ति यस दिनको नाम, अँ, यही दिनको नाम लेख! यही दिनमा नै बाबेलका राजा यरूशलेमको विरुद्ध जाइलाग्यो। 3 अनि यस विद्रोही घरानालाई एउटा दृष्टान्त सुनाऊ र तिनीहरूलाई भन: प्रभु यहोवा यसो भन्नुहुन्छ, कराही बसाल! त्यसलाई बसाल र त्यसभित्र पानी पनि हाल! 4 त्यसका टुक्राहरू, हरेक राम्रो टुक्रा – तिघ्रा र कुम – त्यसभित्र जम्मा गर; त्यसलाई राम्रा-राम्रा हड्डीहरूले भरिदेऊ! 5 भेड़ाबाख्राहरूबाट सबभन्दा असललाई लेऊ; अनि त्यसमुनि हड्डीहरू पनि थुपार र त्यसलाई राम्ररी उमाल, र तिनीहरूले त्यसभित्र त्यसका हड्डीहरू पकाऊन्क!6 यसकारण प्रभु यहोवा यसो भन्नुहुन्छ: धिक्कार यस खूनी शहरलाई – त्यस कराहीलाई, जसको कसर त्यसैभित्र छ र जसको कसर त्यसबाट निस्केर गएको छैन! टुक्रा-टुक्रा गर्दै त्यो निकाल; त्यसका निम्ति कुनै चिट्ठा नहालियोस्! 7 किनकि त्यसको रगत त्यसको बीचमा छ; त्यसले त्यो चट्टानको थाप्लोमा राखी; त्यसले त्यसलाई धूलोले छोप्नलाई त्यसलाई भुइँमाथि पोखिन्। 8 बदला लिनका निम्ति त्यसले क्रोध उठाओस् भनेर मैले त्यसको रगत, त्यो नछोपियोस् भनेर चट्टानको थाप्लोमाथि राखिदिएको छु। 9 यसकारण प्रभु यहोवा यसो भन्नुहुन्छ: धिक्कार यस खूनी शहरलाई! म पनि त्यो थाक आगोका निम्ति ठूलो बनाउनेछु। 10 दाउरामाथि दाउरा हाल! आगो सल्काऊ! त्यो मासु राम्ररी पकाऊख! अनि त्यसमा मसला मिलाऊ, र हड्डीहरूचाहिँ डढून्! 11 तब त्यस कराहीकोग पित्तल तातियोस्, र त्यो डढ़ोस् भनेर त्यसलाई त्यसका भुङ्ग्राहरूमाथि रित्तै बसाइदेऊ, र त्यसभित्र त्यसको अशुद्धता पग्लियोस् र त्यसको कसर भस्म होस्! 12 त्यसले आफूलाई झूटहरूलेघ थकाएकी छे, अनि त्यसको ठूलो कसर त्यसबाट निस्केर गएको छैन; आगोभित्र त्यसको कसर! 13 तेरो अशुद्धतामा कामुकता छ; मैले तँलाई शुद्ध पारें, तर तँ शुद्ध भइनस्, यसैले जबसम्म म तँमाथि आफ्नो क्रोधलाई विश्राम दिन्नँ, तबसम्म तँ आफ्नो अशुद्धताबाट फेरि कहिल्यै शुद्ध हुनेछैनस्। 14 म, परमप्रभुले नै यो भनेको हुँ; यो हुन आउनेछ, अँ, म यो पूरा गर्नेछु; म न पछि हट्नेछु, न छोड़्नेछु, न ता पछुताउनेछु; तेरा चालहरूअनुसार र तेरा कामहरूअनुसार तिनीहरूले तेरो न्याय गर्नेछन्, प्रभु यहोवा भन्नुहुन्छ।”
इजकिएलकी पत्नीको अचानक मृत्यु
15 अनि परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: 16 “हे मानिसको छोरा, हेर, एउटै प्रहारले म तिम्रा आँखाहरूको चाहनालाई तिमीबाट उठाएर लैजानेछु; तरै पनि तिमीले न विलाप गर्नू, न रुनू, न तिम्रा आँसुहरू नै बगून्! 17 चुप रहेर सुस्केरा हाल! मरेकाका निम्ति कुनै विलाप नगर! आफूमाथि आफ्नो पगरी बाँध! आफ्ना पाउहरूमा आफ्ना जुत्ता लगाऊ! आफ्ना ओठहरू नछोप, र मानिसहरूको रोटी नखाऊ!”
18 अनि बिहान म मानिसहरूसित बोलें; अनि साँझमा मेरी पत्नी मरिन्; अनि बिहान मैले मलाई आज्ञा गरिएअनुसार गरें। 19 तब मानिसहरूले मलाई भने: “जुन कुराहरू तिमी गर्दछौ, तिनको अर्थ हाम्रा निम्ति के हो, सो तिमी हामीलाई बताउँदैनौ?” 20 तब मैले तिनीहरूलाई जवाफ दिएँ: “परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: 21 इस्राएलको घरानालाई भन: प्रभु यहोवा यसो भन्नुहुन्छ, हेर, मेरो पवित्रस्थान, जो तिमीहरूको शक्तिको महिमा हो, तिमीहरूका आँखाको चाहना हो, जसलाई तिमीहरूको मनलेङ चाहना गर्छ, म त्यसलाई अशुद्ध पार्नेछु; अनि तिमीहरूले छोड़िराखेका तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरू तरवारले मारिनेछन्। 22 अनि तिमीहरूले मैले गरेको जस्तै गर्नेछौ; तिमीहरूले न आफ्ना ओठहरू छोप्नेछौ, न मानिसहरूको रोटी खानेछौ। 23 अनि तिमीहरूका पगरीहरू तिमीहरूका शिरहरूमाथि नै, र तिमीहरूका जुत्ताहरू तिमीहरूका पाउहरूमा नै रहनेछन्; तिमीहरूले न विलाप गर्नेछौ, न रुनेछौ; तर तिमीहरू आफ्ना अधर्महरूको कारणले खिइँदै जानेछौ, अनि एउटाले अर्काको सामु विलाप गर्नेछौ। 24 यसरी इजकिएल तिमीहरूका निम्ति एउटा चिन्ह हो; उसले गरेका सबै कुराहरूअनुसार तिमीहरूले गर्नेछौ; अनि जब यो हुन आउँछ, तब ‘प्रभु यहोवा म नै हुँ’ भनी तिमीहरूले जान्नेछौ।
25 अनि हे मानिसको छोरा, के त्यस दिनमा यस्तो नहोला र, जुन दिनमा म तिनीहरूबाट तिनीहरूको बल, तिनीहरूको महिमाको आनन्द, तिनीहरूका आँखाको चाहना, अँ, तिनीहरूको मनङ बसालिएको पात्र, अर्थात् तिनीहरूका छोराहरू र तिनीहरूका छोरीहरूलाई उठाई लैजाउँला? 26 त्यस दिनमा उम्केको मानिस तिमीलाई यो कुरा आफ्नै कानले सुन्न लाउनलाई तिमीकहाँ आउनेछ; 27 त्यस दिन त्यस उम्केको मानिसका निम्ति तिम्रो मुख खोलिनेछ, अनि तिमी बोल्नेछौ, र फेरि कहिल्यै गुँगा रहनेछैनौ; यसरी तिमी तिनीहरूका निम्ति एउटा चिन्ह हुनेछौ; अनि ‘परमप्रभु म नै हुँ’ भनी तिनीहरूले जान्नेछन्।”