यरूशलेमको पाप र दण्ड
22
अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 2 “अनि तिमीचाहिँ, हे मानिसको छोरा, के तिमी न्याय गर्छौ? के तिमी खूनी शहरलाई न्याय गर्छौ? अँ, तिमीले त्यसलाई त्यसका सबै घृणित कामहरू जान्‍न देऊ, 3 र भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, त्यस शहरले त्यसको समय आओस् भनेर आफ्नै बीचमा रगत बगाउँछ र आफूलाई अशुद्ध पार्नलाई आफ्नो विरोधमा मूर्तिहरू बनाउँछ। 4 जुन रगत तैंले बगाइस्, त्यस तेरो रगतले तँ दोषी भएकी छस्; अनि जुन मूर्तिहरू तैंले बनाइस्, तीद्वारा तैंले आफूलाई अशुद्ध पारिस् र आफ्ना दिनहरू नजिक ल्याइस्, अनि तँ आफ्ना वर्षहरूनिर आइपुगेकी छस्; यसैले मैले तँलाई अन्यजातिहरूका निम्ति एउटा निन्दाको पात्र र सबै देशहरूका निम्ति एउटा खिसीको पात्र तुल्याइदिएको छु। 5 हे बदनामी र कोलाहलले पूर्ण भएको शहर, तेरो नजिकमा हुनेहरू र तँदेखि टाढ़ामा हुनेहरूले तँलाई खिसी गर्नेछन्। 6 हेर्, तँभित्र इस्राएलका जो शासकहरू थिए, तिनीहरू हरेक आ-आफ्नो शक्तिले भ्याएसम्म रगत बगाउनैका निम्ति त्यहाँ थिए। 7 तँभित्र तिनीहरूले बुबा र आमालाई तुच्छ ठानेका छन्; तेरै बीचमा तिनीहरूले परदेशीलाई थिचोमिचो गरेका छन्; तँभित्र तिनीहरूले टुहुरा र विधवालाई सताएका छन्। 8 तैंले मेरा पवित्र वस्तुहरूलाई तुच्छ ठानेकी छेस्, र मेरा विश्रामदिनहरू अपवित्र तुल्याएकी छेस्। 9 तँभित्र रगत बगाउनका निम्ति निन्दा गर्ने मानिसहरू छन्; अनि तँभित्र तिनीहरूले पहाड़हरूहुँदो भोजन गर्छन्; तेरो बीचमा तिनीहरूले कामुक काम गर्छन्। 10 तँभित्र तिनीहरूले बुबाको तन उघारिदिएका छन्; तँभित्र तिनीहरूले मासिक धर्म हुँदा पर सरेकी स्त्रीसित बलात्कार गरेका छन्। 11 अनि तँभित्र एउटा मानिसले आफ्नो छिमेकीकी स्‍वास्‍नीसित घृणित काम गरेको छ; अनि कामुक भएर अर्को मानिसले आफ्नै बुहारीलाई अशुद्ध तुल्याएको छ; अनि तँभित्र अझ अर्को मानिसले आफ्नो बहिनीसित, अर्थात् आफ्नै बुबाकी छोरीसित बलात्कार गरेको छ। 12 तँभित्र तिनीहरूले रगत बगाउनलाई घूस लिएका छन्; तैंले ब्याज र सुद लिएकी छेस्; तैंले बलमिचाइ गरेर आफ्ना छिमेकीहरूबाट नीच कमाइद्वारा नाफा गरेकी छेस्, र मलाई चाहिँ बिर्सेकी छेस्, प्रभु यहोवा भन्‍नुहुन्‍छ।
13 यसकारण हेर्, तैंले नीच कमाइद्वारा गरेको तेरो नाफा र तेरो बीचमा बगाइएको तेरो रगतको कारणले मैले आफ्नो हात ठोकेको छु। 14 जुन दिनहरूमा म तँसँग व्यवहार गर्नेछु, के ती दिनहरूमा तेरो हृदय दृढ़ रहला? अथवा के तेरा हातहरू बलिया रहलान्?, म परमप्रभुले नै यो भनेको छु, र म यो गर्नेछु। 15 अनि म तँलाई जाति-जातिको बीचमा तितरबितर पार्नेछु, र देश-देशमा तँलाई छरिदिनेछु, अनि तँबाट तेरो अशुद्धता खतम पारिदिनेछु। 16 अनि जाति-जातिको दृष्‍टिमा तँ आफैद्वारा अशुद्ध पारिनेछेस्; अनि ‘परमप्रभु म नै हुँ’ भनी तैंले जान्‍नेछेस्।”
17 अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 18 “हे मानिसको छोरा, इस्राएलको घराना मेरा निम्ति धातुको मैला भएको छ; भट्टीको बीचमा तिनीहरू सबैजना पित्तल, राङ, फलाम र सिसा हुन्; तिनीहरू चाँदीका मैला हुन्। 19 यसकारण प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, तिमीहरू सबैजना धातुका मैला हौ; यसकारण हेर, म तिमीहरूलाई यरूशलेमको बीचमा जम्मा पार्नेछु। 20 जसरी तिनीहरूले चाँदी, पित्तल, फलाम, सिसा र राङ भट्टीको बीचमा, तिनलाई पगाल्नलाई तीमाथि आगो दन्काउन भनी जम्मा गर्छन्, त्यसरी नै मेरो रिस र मेरो क्रोधमा म तिमीहरूलाई जम्मा पार्नेछु र त्यहाँ छोड़िराखेर तिमीहरूलाई पग्लाउनेछु। 21 अँ, म तिमीहरूलाई भेला पार्नेछु र मेरो क्रोधको आगो तिमीहरूमाथि दन्काउनेछु अनि तिमीहरू त्यसको बीचमा पग्लनेछौ। 22 जसरी चाँदी भट्टीको बीचमा पग्लन्छ, त्यसरी नै तिमीहरू त्यसको बीचमा पग्लनेछौ; अनि तिमीहरूले म, परमप्रभुले नै आफ्नो क्रोध तिमीहरूमाथि खन्याएको हुँ भनी जान्‍नेछौ।”
23 अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 24 “हे मानिसको छोरा, त्यसलाई भन: तँ त्यो देश होस्, जो शुद्ध पारिएको छैन, जसमाथि क्रोधको दिनमा पानी परेन। 25 त्यसको बीचमा त्यसका भविष्यवक्ताहरूको षड़्यन्‍त्र छ; शिकारलाई च्यातचुत पार्दै गरेको गर्जने सिंहझैं तिनीहरूले प्राणहरूलाई निलेका छन्; तिनीहरूले धनसम्पत्ति र बहुमूल्य थोकहरू खोसेका छन्; तिनीहरूले त्यसको बीचमा त्यसका धेरै विधवाहरू बनाएका छन्। 26 त्यसका पूजाहारीहरूले मेरो व्यवस्था भङ्ग गरेका छन् र मेरा पवित्र वस्तुहरू अपवित्र पारेका छन्; तर तिनीहरूले पवित्र र अपवित्र थोकको बीचमा कुनै भिन्‍नता राखेका छैनन्, न अशुद्ध र शुद्ध थोकको बीचमा नै कुनै भिन्‍नता देखाएका छन्; अनि मेरा विश्रामदिनहरूबाट तिनीहरूले आफ्ना आँखाहरू लुकाएका छन्, र तिनीहरूको बीचमा म अपवित्र ठहरिएको छु। 27 नीच कमाइद्वारा नाफा गर्नका निम्ति रगत बगाउन र प्राणहरू नाश गर्नलाई त्यसको बीचमा त्यसका शासकहरू शिकारलाई च्यातचुत पार्ने ब्वाँसाहरूजस्ता छन्। 28 अनि परमप्रभु बोल्नुभएकै छैन, तापनि ‘प्रभु यहोवाले यसो भन्‍नुहुन्‍छ’ भन्दै त्यसका भविष्यवक्ताहरूले व्यर्थको कुरा देख्दै र तिनीहरूलाई झूटो जोखना बताउँदै कच्‍ची चुनाले तिनलाई लिपेका छन्। 29 त्यस देशका मानिसहरूले थिचोमिचो गरेका-गरेकै छन्, बलमिचाइ गरेर लुटेका छन्, गरिब र खाँचोमा परेकोलाई सताएका छन्; अँ, तिनीहरूले परदेशीलाई अन्यायसित थिचोमिचो गरेका छन्। 30 अनि मैले तिनीहरूको बीचमा एउटा यस्तो मानिसलाई खोजें, जसले बार बनाउँछ र जो मैले देशलाई नाश नगरूँ भनेर त्यस देशका निम्ति मेरो सामु धाँदोमा खड़ा हुन्छ; तर मैले एउटै पनि पाइनँ। 31 यसैकारण मैले आफ्नो प्रकोप तिनीहरूमाथि खन्याएको छु; मेरो क्रोधको आगोले मैले तिनीहरूलाई नाश पारेको छु; तिनीहरूको चालको बदला मैले तिनीहरूकै टाउकोमाथि हालिदिएको छु, प्रभु यहोवा भन्‍नुहुन्‍छ।”