इस्राएलको अट्टेरीपना र विद्रोह
20
अनि सातौं वर्षको पाँचौं महिनामा, त्यस महिनाको दसौं दिनमा यस्तो भयो: इस्राएलका कति बूढ़ा प्रधानहरू परमप्रभुबाट सोधखोज गर्न आए र मेरो अघिल्तिर बसे। 2 तब परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 3 “हे मानिसको छोरा, इस्राएलका बूढ़ा प्रधानहरूसँग बोल र उनीहरूलाई भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, के तिमीहरू मबाट सोधखोज गर्न आएका हौ?, प्रभु यहोवा भन्‍नुहुन्‍छ, मेरो जीवनको शपथ! तिमीहरूद्वारा म सोधखोज गरिनेछैनँ नै। 4 हे मानिसको छोरा, के तिमी उनीहरूको न्याय गर्दछौ? के तिमी उनीहरूको न्याय गर्दछौ? उनीहरूलाई उनीहरूका पितापुर्खाहरूका घृणित कामहरू जान्‍ने तुल्याऊ, 5 र उनीहरूलाई भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, जुन दिनमा मैले इस्राएललाई चुनें, र याकूबको घरानाको वंशसित शपथ खाएँ, अनि ‘परमप्रभु तिमीहरूको परमेश्‍वर म नै हुँ’ भन्दै तिनीहरूसँग शपथ खाएर मिस्र देशमा आफूलाई तिनीहरूकहाँ प्रकट गरें, 6 त्यस दिन मैले तिनीहरूलाई मिस्र देशबाट निकालेर मैले तिनीहरूका निम्ति जासुसी गरेको देशमा, अर्थात् एउटा दूध र मह बग्‍ने देशमा पुर्‍याउनेछु भनी तिनीहरूसित शपथ खाएँ, जुन देशचाहिँ सबै देशहरूको महिमा थियो। 7 तब मैले तिनीहरूलाई भनें: “तिमीहरू हरेकले आ-आफ्ना आँखाका घृणित वस्तुहरू फ्याँकिदेओ र मिस्रका मूर्तिहरूद्वारा आफूलाई अशुद्ध नपार! परमप्रभु तिमीहरूको परमेश्‍वर म नै हुँ।”
8 तर तिनीहरूले मेरो विरोधमा विद्रोह गरे र मेरो कुरा मान्‍न चाहेनन्; तिनीहरू हरेकले आ-आफ्ना आँखाका घृणित वस्तुहरू फ्याँकेनन्, न ता मिस्रका मूर्तिहरू नै त्यागे; तब मैले भनें: “मिस्र देशकै बीचमा तिनीहरूको विरोधमा आफ्नो रिस पूरा गर्नलाई म तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनेछु।” 9 तर जुन अन्यजातिहरूको बीचमा तिनीहरू थिए, उनीहरूकै आँखाको सामु तिनीहरूलाई मिस्र देशबाट निकालीकन मैले आफूलाई तिनीहरूकहाँ प्रकट गरें, उनीहरूकै दृष्‍टिमा मेरो नाम अपवित्र नहोस् भनेर आफ्नै नामको खातिर मैले काम गरें। 10 यसैकारण मैले तिनीहरूलाई मिस्र देशबाट निकालेर तिनीहरूलाई उजाड़स्थानमा ल्याएँ। 11 अनि मैले तिनीहरूलाई मेरा विधिहरू दिएँ, र तिनीहरूलाई मेरा नियमहरू जनाएँ; जुन मानिसले तिनलाई पालन गर्छ, त्यो तीद्वारा नै जिउने पनि छ। 12 अनि तिनीहरूलाई पवित्र पार्ने ‘परमप्रभु म नै हुँ’ भन्‍ने कुरा तिनीहरूले जानून् भनेर मेरो र तिनीहरूको बीचमा एउटा चिन्ह हुनलाई मैले तिनीहरूलाई मेरा विश्रामदिनहरू पनि दिएँ। 13 तर उजाड़स्थानमा इस्राएलको घरानाले मेरो विरोधमा विद्रोह गर्‍यो; तिनीहरू मेरा विधिहरूमा हिँड़ेनन्, अनि तिनीहरूले मेरा नियमहरूलाई तुच्छ ठाने; जुन मानिसले तिनलाई पालन गर्छ, त्यो तीद्वारा नै जिउने पनि छ; अनि मेरा विश्रामदिनहरू तिनीहरूले साह्रै अपवित्र पारे; तब मैले भनें: ‘तिनीहरूलाई नाश पार्न उजाड़स्थानमै म तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनेछु।’ 14 तर जुन अन्यजातिहरूका आँखाको सामु मैले तिनीहरूलाई निकालेर ल्याएँ, उनीहरूको दृष्‍टिमा मेरो नाम अपवित्र नहोस् भनेर आफ्नै नामको खातिर मैले काम गरें। 15 अनि मैले तिनीहरूलाई दिएको त्यस देशमा अर्थात् दुध र मह बग्‍ने देशमा, जुनचाहिँ सबै देशहरूको महिमा हो, म तिनीहरूलाई पुर्‍याउनेछैनँ भनी उजाड़स्थानमा मैले तिनीहरूसित शपथ पनि खाएँ 16 किनभने तिनीहरूले मेरा नियमहरूलाई तुच्छ ठाने र मेरा विधिहरूमा हिँड़ेनन्, तर मेरा विश्रामदिनहरू अपवित्र पारे; किनकि तिनीहरूको हृदय तिनीहरूका मूर्तिहरूको पछि लागिरहेको थियो। 17 तर तिनीहरूलाई नष्‍ट गर्नदेखि मेरो आँखाले तिनीहरूलाई छोड़िदियो, न ता मैले तिनीहरूलाई उजाड़स्थानमा सर्वनाश पारें।
18 तर उजाड़स्थानमा मैले तिनीहरूका सन्तानलाई भनें: ‘आफ्ना पितापुर्खाहरूका विधिहरूमा नहिँड़, न ता तिनीहरूकै नियमहरू पालन गर, न ता तिनीहरूका मूर्तिहरूद्वारा आफूलाई अशुद्ध पार! 19 परमप्रभु तिमीहरूको परमेश्‍वर म नै हुँ; मेरै विधिहरूमा हिँड़, मेरै नियमहरू पालन गर र तिनलाई पूरा गर! 20 अनि मेरा विश्रामदिनहरू पवित्र मान; तब ती विश्रामदिनहरू मेरो र तिमीहरूको बीचमा एउटा चिन्ह हुनेछन्, यसैले कि परमप्रभु तिमीहरूको परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍न सक!’ 21 तर ती सन्तानहरूले मेरो विरोधमा विद्रोह गरे; तिनीहरू मेरा विधिहरूमा हिँड़ेनन्; तिनीहरूले मेरा नियमहरू होशियारसाथ पालन गरेनन्; जुन मानिसले तिनलाई पालन गर्छ, त्यो तीद्वारा नै जिउने पनि छ; तिनीहरूले मेरा विश्रामदिनहरू अपवित्र पारे; तब मैले भनें: ‘उजाड़स्थानमा तिनीहरूको विरोधमा आफ्नो रिस पूरा गर्नलाई म तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनेछु।’ 22 तर जुन अन्यजातिहरूका आँखाको सामु मैले तिनीहरूलाई निकालेर ल्याएँ, उनीहरूको दृष्‍टिमा मेरो नाम अपवित्र नहोस् भनेर मैले आफ्नो हात थामें, र आफ्नै नामको खातिर मैले काम गरें।
23 अँ, म तिनीहरूलाई जाति-जातिको बीचमा तितरबितर पारिदिनेछु र तिनीहरूलाई देश-देशमा छरिदिनेछु भनी मैले उजाड़स्थानमा तिनीहरूसित शपथ खाएँ 24 किनकि तिनीहरूले मेरा नियमहरू पूरा गरेनन्, तर मेरा विधिहरू तुच्छ ठाने, र मेरा विश्रामदिनहरू अपवित्र पारे, अनि तिनीहरूका आँखाहरू तिनीहरूका पितापुर्खाहरूका मूर्तिहरूको पछि लागिरहे। 25 यसकारण मैले तिनीहरूलाई यस्ता विधिहरू पनि दिएँ, जुन विधिहरू असल थिएनन्, र यस्ता नियमहरू दिएँ, जुन विधिहरूद्वारा तिनीहरू बाँच्दैनन्। 26 अनि ‘परमप्रभु म नै हुँ’ भनी तिनीहरूले जानून् भन्‍ने उद्देश्यले मैले तिनीहरूलाई उजाड़ पारूँ भनेर मैले तिनीहरूलाई तिनीहरूकै दानहरूद्वारा अपवित्र पारें, यसैमा कि तिनीहरूले गर्भको सबै पहिलो फललाई आगोमा होम्थे 27 यसकारण हे मानिसको छोरा, इस्राएलको घरानासँग बोल र तिनीहरूलाई भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, तरै पनि यस कुरामा तिमीहरूका पितापुर्खाहरूले मेरो विरोधमा विश्‍वासघात गरीकन अझै पनि मेरो निन्दा गरे। 28 किनभने जब मैले तिनीहरूलाई यस देशमा ल्याएँ, जसको विषयमा ‘म यो तिमीहरूलाई दिनेछु’ भनी मैले शपथ खाएको थिएँ, तब तिनीहरूले हरेक अग्लो पहाड़ र सबै झ्याम्म परेका रूखहरू देखे; अनि त्यहाँ तिनीहरूले आफ्ना बलिहरू चढ़ाए, र त्यहाँ तिनीहरूले मलाई रिस उठाउने आफ्नो भेटी चढ़ाए; अनि त्यहाँ तिनीहरूले आफ्नो मीठो बास्‍ना पनि चढ़ाए, र त्यहाँ तिनीहरूले आफ्ना अर्घबलिहरू चढ़ाए
29 तब मैले तिनीहरूलाई भनें: ‘जुन उच्‍च स्थानमा तिमीहरू जान्छौ, त्यो के हो र?’ अनि आजको दिनसम्म त्यसको नाम ‘बामा’ भनिन्छ। 30 यसकारण इस्राएलको घरानालाई भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, के तिमीहरू आफ्ना पितापुर्खाहरूको चालअनुसार अशुद्ध भएका छौ? के तिनीहरूका घृणित वस्तुहरूको पछि लागेर तिमीहरूले वेश्याको काम गरेका छौ? 31 किनकि जब तिमीहरू आफ्ना दानहरू चढ़ाउँछौ, जब तिमीहरू आफ्ना छोराहरूलाई आगोमा होम्छौ, तब आजको दिनसम्म तिमीहरूले आफ्ना सबै मूर्तिहरूद्वारा आफूलाई अशुद्ध पार्छौ; तब के, हे इस्राएलको घराना, तिमीहरूले मबाट सोधखोज गर्न पाऔला र?, प्रभु यहोवा भन्‍नुहुन्‍छ, मेरो जीवनको शपथ! तिमीहरूद्वारा म सोधखोज गरिनेछैनँ नै। 32 अनि जे कुरा तिमीहरूको मनमा उठ्छ, अर्थात् ‘हामी काठ र ढुङ्गा पुज्‍ने कुरामा अन्यजातिहरूजस्तै र देश-देशका परिवारहरूजस्तै हुनेछौं’ भनी तिमीहरूले जे भन्छौ, त्यो निश्‍चय पूरा हुनेछैन।”
परमप्रभु दण्ड दिनुहुन्छ र क्षमा पनि गर्नुहुन्छ
33 “प्रभु यहोवा भन्‍नुहुन्‍छ, मेरो जीवनको शपथ! निश्‍चय शक्तिशाली हात र फैलाइएको पाखुराले, साथै क्रोध खन्याउँदै म तिमीहरूमाथि शासन गर्नेछु। 34 अनि शक्तिशाली हात र फैलाइएको पाखुराले, साथै क्रोध खन्याउँदै म तिमीहरूलाई जाति-जातिको बीचबाट निकाल्नेछु र तिमीहरूलाई ती देशहरूबाट भेला गर्नेछु, जसको बीचमा तिमीहरू तितरबितर भएका छौ। 35 अनि म तिमीहरूलाई जाति-जातिको उजाड़स्थानमा ल्याउनेछु, र त्यहाँ आमुन्‍ने-सामुन्‍ने भएर तिमीहरूसित मुद्दा लड़्नेछु। 36 जसरी मिस्र देशको उजाड़स्थानमा मैले तिमीहरूका पितापुर्खाहरूसँग मुद्दा लड़ेको थिएँ, त्यसरी नै म तिमीहरूसित मुद्दा लड़्नेछु, प्रभु यहोवा भन्‍नुहुन्‍छ। 37 अनि म तिमीहरूलाई गन्ती गर्ने लट्ठीमुनिबाट भएर जान लाउनेछु र तिमीहरूलाई वाचाको बन्धनभित्र ल्याउनेछु; 38 अनि तिमीहरूको बीचबाट म विद्रोहीहरू र मेरो विरोधमा अपराध गर्नेहरूलाई निकालेर शुद्ध पार्नेछु; तिनीहरूले बसोबास गरेको देशबाट म तिनीहरूलाई निकालेर ल्याउनेछु, तर इस्राएल देशभित्र तिनीहरूले पस्‍न पाउनेछैनन्; तब तिमीहरूले ‘परमप्रभु म नै हुँ’ भनेर जान्‍नेछौ। 39 तिमीहरूचाहिँ – हे इस्राएलको घराना, प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ: तिमीहरू मेरो कुरा सुन्दैनौ भने जाओ, तिमीहरू हरेकले आ-आफ्ना मूर्तिहरू पुज! पछि पनि यस्तै गर, तर तिमीहरूका दानहरू र तिमीहरूका मूर्तिहरूद्वारा मेरो पवित्र नाम फेरि कहिल्यै अशुद्ध नपार! 40 किनभने मेरो पवित्र पर्वतमा, अर्थात् इस्राएलको उचाइमा भएको पर्वतमा – त्यहाँ इस्राएलको सम्पूर्ण घरानाले, अँ, त्यस देशका सबैले मेरो सेवा गर्नेछन्, प्रभु यहोवा भन्‍नुहुन्‍छ; त्यहाँ म तिनीहरूलाई ग्रहण गर्नेछु, र त्यहाँ म तिमीहरूका भेटीहरू र तिमीहरूका सबै पवित्र वस्तुहरूसित तिमीहरूका दानहरूको पहिलो फलको माग गर्नेछु। 41 जब म तिमीहरूलाई जाति-जातिबाट निकालेर ल्याउनेछु, र ती देशहरूबाट तिमीहरूलाई भेला गर्नेछु, जसको बीचमा तिमीहरू तितरबितर भएका छौ, तब तिमीहरूको मीठो बास्‍नाको साथमा म तिमीहरूलाई ग्रहण गर्नेछु। 42 अनि जब म तिमीहरूलाई इस्राएल देशभित्र अर्थात् त्यस देशभित्र ल्याउनेछु, जसको विषयमा ‘म यो तिमीहरूका पितापुर्खाहरूलाई दिनेछु’ भनी मैले शपथ खाएको थिएँ, तब तिमीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछौ। 43 अनि त्यहाँ तिमीहरूले आफ्ना चालहरू र आफ्ना ती सबै कामहरूको सम्झना गर्छौ, जसद्वारा तिमीहरू अशुद्ध भएका छौ; अनि तिमीहरूले गरेका तिमीहरूका सबै दुष्‍ट कुराहरूको कारणले तिमीहरूले आफैलाई आफ्नो दृष्‍टिमा घृणा गर्नेछौ। 44 अनि हे इस्राएलको घराना, जब म तिमीहरूका दुष्‍ट चालहरूअनुसार र तिमीहरूका भ्रष्‍ट कामहरूअनुसार होइन, तर मेरो नामको खातिर तिमीहरूसित व्यवहार गर्नेछु, तब तिमीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछौ, प्रभु यहोवा भन्‍नुहुन्‍छ।”
दक्षिणका निम्ति परमप्रभुको भविष्यवाणी
45 अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 46 “हे मानिसको छोरा, आफ्नो अनुहार दक्षिणतिर लगाऊ, दक्षिणतर्फ आफ्नो वचन तप्काऊ र दक्षिणको मैदानको वनको विरोधमा भविष्यवाणी गर! 47 अनि दक्षिणको वनलाई भन: परमप्रभुको वचन सुन्!, प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, म तँमा एउटा आगो सल्काउनेछु, अनि त्यसले तँमा भएको हरेक हरियो रूख र हरेक सुकेको रूखलाई भस्म पार्नेछ; त्यो दन्किरहेको ज्वाला निभ्नेछैन, र त्यसद्वारा दक्षिणदेखि उत्तरसम्मका सबै अनुहारहरू डढ़्नेछन्। 48 अनि यो आगो म, परमप्रभुले नै लगाएको हुँ भनी सबै प्राणीले देख्‍नेछन्; यो निभ्नेछैन।” 49 तब मैले भनें: “अहह, प्रभु यहोवा! तिनीहरू मेरो विषयमा भन्दछन्: ‘के यसले दृष्‍टान्‍तहरू बोल्दैन र?’ ”