इस्राएलका शासकहरूका निम्ति एउटा विलाप-गीत
19
“तिमीले इस्राएलका शासकहरूका निम्ति एउटा विलाप-गीत सुनाऊ, 2 र भन: तेरी आमा के थिई? एउटी सिंहनी! सिंहहरूको बीचमा ऊ लेट्थी; जवान सिंहहरूको बीचमा उसले आफ्ना डमरुहरूलाई पालनपोषण गरी 3 अनि उसले आफ्ना डमरुहरूमध्ये एउटालाई हुर्काई; त्यो एउटा जवान सिंह भयो, र त्यसले शिकार पक्रन सिक्यो; त्यसले मान्छेहरू खायो। 4 अनि जाति-जातिले त्यसको विषयमा सुने; त्यो तिनीहरूको खाड़लमा पक्राउ पर्‍यो, अनि तिनीहरूले त्यसलाई साङ्लाहरूले बाँधेर मिस्र देशमा पुर्‍याए। 5 अनि जब उसले आफूले आशा त गरेकी, तर आफ्नो आशा टुटेको देखी, तब उसले आफ्ना डमरुहरूबाट अर्कोलाई लिई र त्यसलाई एउटा जवान सिंह बनाई। 6 अनि सिंहहरूको बीचमा त्यो हिँड़डुल गर्न थाल्यो; त्यो एउटा जवान सिंह भयो, र त्यसले शिकार पक्रन सिक्यो; त्यसले मान्छेहरू खायो। 7 अनि त्यसले तिनीहरूका उजाड़ महलहरू जान्दथियो; अनि त्यसले तिनीहरूका शहरहरू उजाड़ पार्‍यो; अनि त्यसको गर्जनको आवाजले देश र यसको भरपूरी उजाड़ भए। 8 तब जाति-जाति चारैतिर प्रान्त-प्रान्तबाट त्यसको विरोधमा आइलागे, र त्यसमाथि आफ्नो जाल फैलाए; अनि त्यो तिनीहरूको खाड़लमा पक्राउ पर्‍यो। 9 अनि तिनीहरूले त्यसलाई साङ्लाहरूले बाँधेको अवस्थामा खोरमा हाले र त्यसलाई बाबेलका राजाकहाँ पुर्‍याए; इस्राएलका पहाड़हरूमाथि त्यसको आवाज फेरि कहिल्यै नसुनिओस् भनेर तिनीहरूले त्यसलाई गढ़हरूभित्र पुर्‍याए।
10 तेरी आमा तेरो समानतामा पानीहरूको किनारमा रोपिएको एउटा दाखको बोटजस्तै छे; धेरै पानीको कारणले त्यो फलवन्‍त र हाँगाहरूले भरिएको थियो। 11 अनि शासकहरूका राजदण्डहरूका निम्ति त्यसका बलिया हाँगाहरू थिए, अनि मोटा-मोटा हाँगाहरूको बीचमा त्यो आफ्नो कदमा उच्‍च पारियो, र आफ्ना प्रशस्त हाँगाहरूसँग त्यो आफ्नो उचाइमा देखा पर्‍यो। 12 तर क्रोधमा त्यो उखालियो, त्यो भुइँमा फ्याँकियो, अनि पूर्वी हावाले त्यसको फल सुकाइदियो; त्यसका बलिया हाँगाहरू भाँचिए, र सुके; आगोले तिनलाई भस्म पार्‍यो। 13 अनि अब त्यो उजाड़स्थानमा, एउटा सुक्खा र तिर्खाएको भूमिमा रोपिएको छ। 14 अनि त्यसका हाँगाहरूको लाठोबाट आगो निस्केर गयो, जसले त्यसको फल भस्म पार्‍यो; यसकारण शासन गर्नका निम्ति राजदण्ड हुने त्यससँग कुनै बलियो हाँगा रहेन। यो एउटा विलाप-गीत हो, र विलापकै निम्ति हुनेछ।”