जुन मानिसले पाप गर्छ, त्यो मर्नेछ
18
अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 2 “इस्राएल देशको विषयमा ‘अमिलो अङ्‍गुर खाए बुबाहरूले, दाँत कुँड़िए छोराछोरीहरूका’ भन्दै तिमीहरूले यो उखान भनेको अर्थ तिमीहरूका निम्ति के हो? 3 प्रभु यहोवा भन्‍नुहुन्‍छ, मेरो जीवनको शपथ! इस्राएलमा तिमीहरूले अब कहिल्यै यो उखान चलाउने अवसर पाउनेछैनौ। 4 हेर, सबै प्राणहरू मेरा हुन्; बुबाको जीवनजस्तो छोराको प्राण पनि मेरै हो; जुन मानिसले पाप गर्छ, त्यही मर्नेछ।
5 तर यदि कुनै मानिस धर्मी छ, र न्याय र धार्मिकताको काम गर्छ भने, 6 अर्थात् पहाड़हरूहुँदो भोजन गरेको छैन, इस्राएलको घरानाका मूर्तिहरूतिर आफ्ना आँखाहरू उठाएको छैन, आफ्नो छिमेकीकी स्‍वास्‍नीलाई अशुद्ध पारेको छैन र मासिक धर्म भएकी स्त्रीको नजिक गएको छैन भने, 7 साथै कसैलाई थिचोमिचो गरेको छैन, तर ऋणीलाई त्यसको बन्धक फर्काएको छ; बलमिचाइ गरेर उसले कसैलाई लुटेको छैन, तर आफ्नो रोटी भोकाएकोलाई दिएको छ र नाङ्गोलाई लुगाले ढाकेको छ भने; 8 उसले ब्याजमा पैसा दिएको छैन, र कुनै सुद लिएको छैन, तर आफ्नो हात अधर्मबाट हटाएको छ, र मानिस-मानिसको बीचमा साँचो न्याय गरेको छ भने; 9 ऊ मेरा विधिहरूमा हिँड़ेको छ, र सत्य व्यवहार गर्नलाई मेरा नियमहरू पालन गरेको छ भने ऊचाहिँ धर्मी हो; ऊ निश्‍चय बाँच्‍नेछ, प्रभु यहोवा भन्‍नुहुन्‍छ।
10 अनि उसले एउटा छोरालाई जन्मायो, जो डाँकू र हत्यारा हुन्छ, अनि यी कुराहरूमध्ये कुनै एउटा गर्छ भने, 11 र ती गर्नुपर्ने कुराहरूमध्ये कुनै एउटा पनि गर्दैन भने, तर त्यसले पहाड़हरूहुँदो भोजन गरेको छ, र आफ्नो छिमेकीकी स्‍वास्‍नीलाई अशुद्ध पारेको छ भने, 12 गरिब र खाँचोमा परेकोलाई थिचोमिचो गरेको छ, बलमिचाइ गरेर लुटेको छ, बन्धक फर्काएको छैन, मूर्तिहरूतिर आफ्ना आँखाहरू उठाएको छ र घृणित कामहरू गरेको छ भने; 13 त्यसले ब्याजमा पैसा दिएको छ र सुद लिएको छ भने के त्यो बाँच्ला र? त्यो बाँच्‍नेछैन; त्यसले यी सबै घृणित कामहरू गरेको छ; त्यो निश्‍चय मर्नेछ; त्यसको रगत त्यसकै टाउकोमाथि पर्नेछ।
14 अनि हेर, त्यसले एउटा छोरालाई जन्माएको छ, जसले आफ्ना बुबाका सबै पापहरू देख्छ, जुन पापहरू त्यसले गरेको छ, विचार गर्छ र त्यस्ता कामहरू गर्दैन भने; 15 अर्थात् उसले पहाड़हरूहुँदो भोजन गरेको छैन, इस्राएलको घरानाका मूर्तिहरूतिर आफ्ना आँखाहरू उठाएको छैन र आफ्नो छिमेकीकी स्‍वास्‍नीलाई अशुद्ध पारेको छैन भने; 16 न ता कसैलाई थिचोमिचो गरेको छ, न ता बन्धक नफर्काई राखेको छ, न ता बलमिचाइ गरेर लुटेको छ, तर उसले आफ्नो रोटी भोकाएकोलाई दिएको छ र नाङ्गोलाई लुगाले ढाकिदिएको छ भने; 17 गरिबदेखि आफ्नो हात हटाएको छ, ब्याज र सुद लिएको छैन, तर मेरा नियमहरू पालन गरेको छ र मेरा विधिहरूमा हिँड़ेको छ भने ऊ आफ्ना बुबाको अधर्मको कारणले मर्नेछैन; ऊ निश्‍चय बाँच्‍नेछ। 18 उसको बुबाचाहिँ – त्यसले अत्याचार गरेर थिचोमिचो गरेको छ, बलमिचाइ गरेर आफ्नो दाजुभाइलाई लुटेको छ र आफ्ना मानिसहरूको बीचमा जे खराब छ, त्यही गरेको छ; यसैले हेर, त्यो आफ्नो अधर्ममा मर्नेछ।
19 तर तिमीहरू भन्छौ: ‘छोराले बुबाको अधर्मको दण्ड किन भोग्‍नुपर्दैन?’ जब छोराले जे न्यायसङ्गत र धर्ममय छ, त्यही गर्दछ, मेरा सबै नियमहरू पालन गर्दछ र ती पूरा गर्दछ, तब ऊ निश्‍चय बाँच्‍नेछ। 20 जुन मानिसले पाप गर्दछ, त्यही मर्नेछ। छोराले बुबाको अधर्मको दण्ड भोग्‍नेछैन, न ता बुबाले छोराको अधर्मको दण्ड भोग्‍नेछ; धर्मी जनमाथि उसैको धार्मिकताको फल, र दुष्‍टमाथि त्यसैको दुष्‍टताको फल पर्नेछ।”
परमप्रभुको सब व्यवहार न्यायसङ्गत छ
21 “तर दुष्‍ट आफूले गरेका आफ्ना सबै पापहरूबाट फर्कन्छ, र मेरा सबै विधिहरू पालन गर्दछ, अनि जे न्यायसङ्गत र धर्ममय छ, त्यही गर्दछ भने त्यो निश्‍चय बाँच्‍नेछ, त्यो मर्नेछैन। 22 त्यसको विरोधमा त्यसले गरेका त्यसका सबै अधर्महरूको सम्झना गरिनेछैन; त्यसले गरेको धार्मिकताको कारणले त्यो बाँच्‍नेछ। 23 प्रभु यहोवा भन्‍नुहुन्‍छ, के दुष्‍टको मृत्युमा म अलिकति पनि प्रसन्‍न हुन्छु र? अहँ, आफ्ना चालहरूबाट फर्केर त्यो बाँचेकैमा म प्रसन्‍न हुन्छु। 24 तर धर्मी जन आफ्नो धार्मिकताबाट फर्केर अधर्म गर्दछ, र दुष्‍ट मानिसले गरेका सबै घृणित कामहरूअनुसार गर्दछ भने के ऊ बाँच्ला र? उसले गरेको उसको सबै धार्मिकताको सम्झना गरिनेछैन; उसले गरेको उसको अपराध र उसले गरेको उसको पापले गर्दा, तिनैले गर्दा ऊ मर्नेछ।
25 तर तिमीहरू भन्छौ: ‘प्रभुको चाल एकसमान छैन’; हे इस्राएलको घरानाहो, अब सुनिदेओ! के मेरो चाल एकसमान छैन? के तिमीहरूकै चालहरू असमान छैनन् र? 26 जब कुनै धर्मी जन आफ्नो धार्मिकताबाट फर्कन्छ र अधर्म गर्छ, र तिनैमा मर्छ, तब उसले गरेको अधर्मको कारणले नै ऊ मर्नेछ। 27 अनि जब कुनै दुष्‍ट मानिस आफूले गरेको आफ्नो दुष्‍टताबाट फर्कन्छ, र जे न्यायसङ्गत र धर्ममय छ, त्यही गर्दछ, तब त्यसले आफ्नो प्राणलाई जीवित राख्‍नेछ। 28 विचार गरेर त्यो आफूले गरेका आफ्ना सबै अपराधहरूबाट फर्केको हुनाले त्यो निश्‍चय बाँच्‍नेछ; त्यो मर्नेछैन। 29 तर इस्राएलको घरानाले भन्छ: ‘प्रभुको चाल एकसमान छैन;’ हे इस्राएलको घराना, के मेरा चालहरू एकसमान छैनन्? के तिमीहरूकै चालहरू असमान छैनन् र? 30 यसकारण हे इस्राएलको घराना, म तिमीहरू हरेकलाई आ-आफ्ना चालहरूअनुसार न्याय गर्नेछु, प्रभु यहोवा भन्‍नुहुन्‍छ। पश्‍चात्ताप गर, र आफूलाई आफ्ना सबै अपराधहरूबाट फर्काओ! तब अधर्म तिमीहरूको ठेस लाग्‍ने कारण हुनेछैन। 31 आफूबाट आफ्ना सबै अपराधहरू फालिदेओ, जसमा तिमीहरूले अपराध गरेका छौ! अनि आफ्ना निम्ति एउटा नयाँ हृदय र एउटा नयाँ आत्मा बनाओ! किनभने हे इस्राएलको घराना, किन तिमीहरू मर्छौ? 32 किनकि जो मर्छ, त्यसको मृत्युमा म प्रसन्‍न हुँदिनँ, प्रभु यहोवा भन्‍नुहुन्‍छ; यसकारण आफूलाई फर्काओ, र बाँच!”