यरूशलेम कति अविश्‍वासी छ
16
अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, यरूशलेमलाई त्यसका घृणित कामहरू बताइदेऊ, 3 र भन: प्रभु यहोवा यरूशलेमलाई यसो भन्‍नुहुन्‍छ, तेरो उत्पत्ति र तेरो जन्म कनान देशबाट भएका हुन्; तेरो बुबा एमोरी थियो, र तेरी आमा हित्ती थिई। 4 अनि तेरो जन्मचाहिँ – तँ जन्मिएको दिनमा तेरो नाल काटिएन, न ता तँलाई शुद्ध पार्नलाई तँ पानीमा नुहाइ गरिइस्; तँमा नुन मलिँदै मलिएन, न ता तँ कुनै प्रकारले लुगामा लपेटिइस्। 5 यीमध्ये कुनै एउटा काम गर्न र तँमाथि दया देखाउनलाई कुनै आँखाले तँलाई टिठाएन; तर तँ खुला जमिनमा फ्याँकिइस्, किनकि तँ जन्मेको दिनमा तँ छिःछिःलाग्दो थिइस्।
6 अनि तेरो छेउबाट भएर जाँदा मैले तँलाई तेरो रगतमा अशुद्ध भएकी देखें; अनि तँ आफ्नो रगतमा हुँदा मैले तँलाई भनें: ‘बाँच्’; अँ, तँ आफ्नो रगतमै हुँदा मैले तँलाई भनें: ‘बाँच्!’ 7 मैदानको कोपिलासरह मैले तँलाई प्रशस्त बढ़ाएँ; अनि तँ बढ़िस्, र ठूली भइस्; अनि तँ अत्यन्तै सुन्दरी भइस्; तेरा स्तनहरू पोटिला भए, तेरो केश बढ्यो; तर तँ नाङ्गो र भुतुङ्गो थिइस्। 8 अनि तेरो छेउबाट भएर जाँदा मैले तँलाई हेरें; हेर, तेरो समय प्रेमको समय रहेछ; अनि मैले मेरो ओढ़्नेको किनार तँमाथि फैलाइदिएँ र तेरो नाङ्गोपना ढाकिदिएँ; अँ, मैले तँसित शपथ खाएँ, अनि तँसित एउटा वाचा बाँधें, प्रभु यहोवा भन्‍नुहुन्‍छ, अनि तँ मेरी भइस्। 9 तब मैले तँलाई पानीले धोएँ, तँबाट तेरो रगत पूर्ण रूपले पखालिदिएँ; अनि मैले तँलाई तेल लगाएँ। 10 अनि मैले तँलाई कार्चोपी वस्त्र पहिराइदिएँ, तँलाई सिलको छालाका जुत्ता लगाइदिएँ, तेरो कम्मर मिहिन मलमलले कसिदिएँ र तँलाई रेशमको लुगाले ढाकिदिएँ। 11 अनि मैले तँलाई गहनाहरूले सिँगारें, अनि तेरा हातहरूमा बालाहरू र तेरो गलामा एउटा सिक्री लगाइदिएँ। 12 अनि मैले तेरो नाकमा बुलाकी र तेरा कानहरूमा कुन्डलहरू र तेरो शिरमाथि एउटा सुन्दर मुकुट लगाइदिएँ। 13 यसरी तँ सुन र चाँदीले सिँगारिइस्; अनि तेरो पहिरन मिहिन मलमल, रेशमी र कार्चोपी वस्त्र थियो; तैंले मैदा, मह र तेल खान्थिस्; अनि तँ चौपट्टै सुन्दरी भइस्, र उन्‍नति गर्दै तँ एउटा राज्य बनिस्। 14 अनि तेरो सुन्दरताको कारणले तेरो सुनाम अन्यजातिहरूकहाँ फैलियो; किनकि मैले तँमाथि ओढ़ाइदिएको मेरो शोभाको कारणले त्यो सुन्दरता सिद्ध थियो, प्रभु यहोवा भन्‍नुहुन्‍छ।
15 तर तैंले आफ्नो सुन्दरतामाथि भरोसा राखिस्, र आफ्नो सुनामको कारणले वेश्याको काम गरिस्, अनि त्यहाँबाट भएर जाने हरेकमाथि तैंले आफ्ना वेश्याकर्महरू खन्याइस्; यो त्यसकै थियो। 16 अनि तैंले आफ्ना वस्त्रहरूबाट लिएर आफ्ना निम्ति रङ्गीबिरङ्गी कपड़ाले सिँगारिएका उच्‍च स्थानहरू बनाइस् र तीमाथि वेश्याको काम गरिस्; यस्ता कुराहरू कहिल्यै हुनुहुँदैनथिए, न फेरि कहिल्यै यस्तो हुनेछ। 17 अनि मैले तँलाई दिएको मेरो सुन र मेरो चाँदीबाट तैंले आफ्ना सुन्दर-सुन्दर गहनाहरू लिइस्, आफ्ना निम्ति पुरुषका मूर्तिहरू बनाइस् र तीसित वेश्याको काम गरिस्; 18 अनि तैंले आफ्ना कार्चोपी वस्त्रहरू लिइस् र ती मूर्तिहरूलाई ओढ़ाइदिइस्; अनि तैंले मेरो तेल र मेरो धूप तिनको सामु राखिस्। 19 अनि मैले तँलाई दिएको मेरो भोजन पनि अर्थात् मैदा, तेल र मह, जुन भोजन मैले तँलाई खुवाएँ, त्योचाहिँ तैंले मीठो बास्‍नाको रूपमा तिनको सामु राखिस्; अँ, यो यस्तै थियो, प्रभु यहोवा भन्‍नुहुन्‍छ। 20 अनि तैंले आफ्ना छोराहरू र आफ्ना छोरीहरू लिइस्, जसलाई तैंले मेरा निम्ति जन्माएकी थिइस्; अनि यिनीहरूलाई तैंले तिनीहरूको सामु भोग हुन बलि चढ़ाइस्। तेरा वेश्याकर्महरूमा के यो कुरा सानो हो, 21 कि तैंले मेरा छोराछोरीहरूलाई मारिस् र यिनीहरूलाई तिनीहरूका निम्ति आगोमा होम्‍न भनी यिनीहरूलाई सुम्पिदिइस्? 22 अनि तेरा सबै घृणित कामहरू र तेरा वेश्याकर्महरूमा तैंले आफ्नो बालककाल सम्झना गरेकी छैनस्, जब तँ नाङ्गो र भुतुङ्गो थिइस्, अनि आफ्नो रगतमा अशुद्ध भएकी थिइस्। 23 अनि तेरो सबै दुष्‍टतापछि यस्तो भयो: (हाय! तँलाई हाय, प्रभु यहोवा भन्‍नुहुन्‍छ) – 24 तैंले आफ्ना निम्ति एउटा सर्वोच्‍च स्थान बनाएकी छेस्, र हरेक सड़कमा आफ्ना निम्ति एउटा उच्‍च स्थान बनाएकी छस्। 25 बाटोको हरेक सिरानमा तैंले आफ्नो उच्‍च स्थान बनाएकी छेस् र आफ्नो सुन्दरतालाई घृणा गरिने तुल्याएकी छस्; अनि तैंले आफ्ना पाउहरू त्यहाँबाट भएर जाने हरेकका निम्ति उघारिदिएकी छेस् र आफ्ना वेश्याकर्महरू प्रशस्त गरी बढ़ाएकी छेस्। 26 अनि तैंले आफ्ना छिमेकीहरूसँग, मासु ठूलो भएका मिस्रीहरूसँग वेश्याको काम गरेकी छेस् र मलाई रिस उठाउनलाई आफ्ना वेश्याकर्महरू प्रशस्त गरी बढ़ाएकी छेस्।
27 यसैकारण हेर्, मैले तँमाथि आफ्नो हात बढ़ाएको छु, र तेरो रसदपानी घटाइदिएको छु, अनि तँलाई, तँलाई घृणा गर्नेहरू अर्थात् पलिस्तीहरूका छोरीहरूको इच्छामा सुम्पिदिएको छु, जो तेरो कामुक चालसँग लजाएका छन्।
28 अनि तैंले अश्शूरीहरूसँग पनि वेश्याको काम गरेकी छेस्; किनकि तेरो तिर्खा मेटिँदै मेटिँदैन; अँ, तैंले तिनीहरूसँग वेश्याको काम गरेकी छेस्, तैपनि तँ तृप्‍त भइनस्। 29 अनि तैंले अझै पनि आफ्नो वेश्याकर्म कनान देशदेखि कल्दी देशतिर बढ़ाएकी छस्; तैपनि यसबाट पनि तँ तृप्‍त भइनस्। 30 तेरो हृदय कति दुर्बल छ; किनभने तँ यी सबै कुराहरू – एउटा निर्लज्ज वेश्याको काम – गर्छेस्, प्रभु यहोवा भन्‍नुहुन्‍छ; 31 यहाँसम्म कि तँ हरेक बाटोको सिरानमा आफ्नो सर्वोच्‍च स्थान बनाउँछेस् र हरेक सड़कमा आफ्नो उच्‍च स्थान बनाउँछेस्; तैपनि तँ वेश्याजस्ती भएकी छैनस्, किनभने तँ ज्यालालाई खिसी गर्छेस्। 32 तर तँ त्यस व्यभिचार गर्ने स्‍वास्‍नीजस्तो होस्, जसले आफ्नो लोग्‍नेको सट्टामा पराईहरूलाई अपनाउँछे! 33 तिनीहरूले सबै वेश्याहरूलाई उपहारहरू दिन्छन्; तर तँ त आफ्ना सबै प्रेमीहरूलाई पो आफ्ना उपहारहरू दिन्छेस् र तेरो वेश्याकर्ममा तिनीहरू चारैतिरबाट तँकहाँ आऊन् भनेर तिनीहरूलाई नै उपहार दिन्छेस्। 34 तेरो वेश्याकर्ममा तँमा अरू स्त्रीहरूमा भन्दा उल्टो छ; किनकि वेश्याको काम गर्नलाई कसैले तँलाई पछ्याउँदैन; अनि तँ ज्याला दिन्छेस्, तर तँलाई कुनै ज्याला दिइँदैन; यसैकारण तँ उल्टो छेस्।”
अविश्‍वासी यरूशलेमका निम्ति परमप्रभुको इन्साफको वचन
35 “यसैले हे वेश्या, परमप्रभुको वचन सुन्! 36 प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, तेरा प्रेमीहरूसँग र तेरा घृणित कामहरूका सबै मूर्तिहरूसँग तैंले गरेका तेरा वेश्याकर्महरूद्वारा र तैंले तिनीहरूलाई दिएको तेरा छोराछोरीहरूको रगतद्वारा तेरो फोहोरीपना पोखाइएको छ, र तेरो नाङ्गोपना उघारिएको छ; 37 यसैकारण हेर्, म तेरा सबै प्रेमीहरूलाई, जससँग तँ प्रसन्‍न छेस्, र ती सबैलाई, जसलाई तैंले प्रेम गरेकी छस्, ती सबैको साथमा, जसलाई तैंले घृणा गरेकी छस्, म भेला पार्नेछु; अँ, म तिनीहरूलाई चारैतिरबाट तेरो विरोधमा भेला पार्नेछु, र तिनीहरूले तेरो सारा नाङ्गोपना देखून् भनेर तिनीहरूकहाँ तेरो नाङ्गोपना उघारिदिनेछु। 38 अनि म तेरो न्याय व्यभिचार गर्ने र रगत बगाउने स्त्रीहरूको न्याय गरेझैं गर्नेछु; अनि क्रोध र डाहामा म तँलाई रगत दिनेछु। 39 अनि म तँलाई तिनीहरूको हातमा दिनेछु, अनि तिनीहरूले तेरो सर्वोच्‍च स्थान ढालिदिनेछन् र तेरा उच्‍च स्थानहरू भत्काइदिनेछन्; अनि तिनीहरूले तँबाट तेरा वस्त्रहरू उतारिदिनेछन्, तेरा सुन्दर-सुन्दर गहनाहरू लैजानेछन् अनि तँलाई नाङ्गो र भुतुङ्गो छोड़िदिनेछन्। 40 अनि तिनीहरूले तेरो विरोधमा एउटा जमात उठाएर ल्याउनेछन्; अनि तिनीहरूले तँलाई ढुङ्गाले हान्‍नेछन् र आफ्ना तरवारहरूले तँलाई छेंड़्नेछन्। 41 अनि तिनीहरूले तेरा घरहरू आगोले जलाइदिनेछन् र धेरै स्त्रीहरूका आँखाको सामु तँमाथि मेरा न्यायहरू पूरा गर्नेछन्; अनि म तेरो वेश्याको काम बन्द गरिदिनेछु, र तैंले फेरि ज्याला पनि दिनेछैनस्। 42 यसरी म तँप्रति मेरो क्रोध बिसाउन लाउनेछु, र मेरो डाहा तँबाट हट्नेछ, अनि म शान्त हुनेछु र फेरि कहिल्यै रिसाउनेछैनँ। 43 तैंले आफ्नो बालककाल सम्झना गरेकी छैनस्, तर यी सबै कुराहरूमा मलाई कष्‍ट दिएकी छस्; यसकारण हेर्, म पनि तेरो चालको बदला तेरो टाउकोमाथि हालिदिनेछु; अनि तेरा सबै घृणित कामहरूमाथि थपेर तैंले त्यो कामुकता गर्नेछैनस्, प्रभु यहोवा भन्‍नुहुन्‍छ।
44 हेर्, हरेक आहान भन्‍नेले तेरो विरोधमा ‘जस्ती आमा, त्यस्तै छोरी’ भन्‍ने आहान प्रयोग गर्नेछ। 45 तँ तेरी आमाकी छोरी होस्, जसले आफ्ना पति र आफ्ना छोराछोरीहरूलाई घृणा गर्छे; अनि तँ तेरै दिदीहरूकी बहिनी होस्, जसले पनि आफ्ना पतिहरू र आफ्ना छोराछोरीहरूलाई घृणा गर्थे; तेरी आमा हित्ती थिई, र तेरो बुबा एमोरी थियो। 46 अनि तेरी ठूली दिदी सामरिया हो; त्यो र त्यसका छोरीहरू तेरो देब्रे हातपट्टि बस्छन्; अनि तेरी सानी दिदी सदोम हो, जो तेरो दाहिने हातपट्टि बस्छे – त्‍यो र त्यसका छोरीहरू। 47 तरै पनि तँ तिनीहरूका चालहरूअनुसार चलेकी छैनस्, न ता तिनीहरूका घृणित कामहरूअनुसार गरेकी छेस्; तर यो त एउटा अति सानो कुरा भएझैं गरी तैंले आफ्ना सबै चालहरूमा आफूलाई तिनीहरूभन्दा बढ़ी भ्रष्‍ट पारिस्। 48 प्रभु यहोवा भन्‍नुहुन्‍छ, मेरो जीवनको शपथ! तैंले जस्तो गरेकी छेस् – तैंले र तेरा छोरीहरूले – त्यस्तो त तेरी दिदी सदोमले गरेकी छैन नै – त्यसले र त्यसका छोरीहरूले। 49 हेर्, तेरी दिदी सदोमको अधर्म यही थियो: त्यसमा र त्यसका छोरीहरूमा घमण्ड, रोटीको भरपूरी र प्रशस्त अल्छीपना थियो; अनि त्यसले गरिब र खाँचोमा परेकोको हात बलियो पारिन। 50 अनि तिनीहरू अहङ्कारी थिए, र मेरो सामु घृणित काम गरे; यसकारण मलाई उचित लागेअनुसार मैले तिनीहरूलाई हटाइदिएँ। 51 अनि सामरियाले तेरा पापहरूको आधाजति पाप पनि गरेकी छैन; तर तैंले आफ्ना घृणित कामहरू तिनीहरूको भन्दा धेरै बढ़ाएकी छेस्, अनि तैंले गरेका तेरा सबै घृणित कामहरूको कारणले तैंले आफ्ना दिदीहरूलाई धर्मी ठहराइस्। 52 अँ, तँ जसले आफ्ना दिदीहरूको न्याय गरेकी छेस्, तैंले तेरै पापहरूको कारणले आफ्नै शर्म बोक्, किनकि तैंले तिनीहरूले भन्दा बढ़ी घिनलाग्दा पापहरू गरेकी छस्; तिनीहरू तँभन्दा बढ़ी धर्मी छन्। यसकारण तँचाहिँ लज्जित हो, र आफ्नै शर्म बोक्; किनभने तैंले आफ्ना दिदीहरूलाई धर्मी ठहराएकी छेस्। 53 जब म तिनीहरूको कैद अर्थात् सदोम र त्यसका छोरीहरूको कैद अनि सामरिया र त्यसका छोरीहरूको कैद फर्काएर ल्याउनेछु, तब म तिनीहरूकै बीचमा तेरा कैदीहरूलाई पनि कैदबाट फर्काएर ल्याउनेछु; 54 यस हेतुले कि तैंले आफ्नै शर्म बोक्लिस्, र तैंले गरेका सबै कामहरूको खातिर तँ शर्ममा पर्लिस्; किनकि तँ तिनीहरूका निम्ति एउटा सान्‍त्‍वनाको कारण हुन्छेस् 55 जब तेरा दिदीहरू – सदोम र त्यसका छोरीहरू आफ्नो पहिलो अवस्थामा फर्कनेछन्, अनि सामरिया र त्यसका छोरीहरू आफ्नो पहिलो अवस्थामा फर्कनेछन्, तब तँ र तेरा छोरीहरू पनि आफ्नो पहिलो अवस्थामा फर्कनेछौ। 56 किनभने तेरो घमण्डको दिनमा तेरी दिदी सदोमको नाम तेरो मुखबाट कहिल्यै निस्केन, 57 तेरो दुष्‍टता प्रकट गरिनुभन्दा पहिले, आरामका छोरीहरूले र त्यसको वरिपरि भएका सबैले, अँ, पलिस्तीहरूका छोरीहरूले समेत तँलाई निन्दा गरेको समयमा झैं, जसले चारैतिरबाट तँलाई तुच्छ ठान्छन्। 58 तेरो कामुकता र तेरा घृणित कामहरूको दण्ड तैंले भोगेकी छस्, परमप्रभु भन्‍नुहुन्‍छ। 59 किनकि प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ: तैंले जस्तो गरेकी छस्, म पनि तँसँग, जसले वाचा तोड़ेर शपथलाई तुच्छ ठानेकी छेस्, त्यस्तै गर्नेछु। 60 तरै पनि तेरा बालककालमा बाँधेको मेरो वाचा म सम्झना गर्नेछु; अनि म तँसँग एउटा सदा रहिरहने वाचा स्थापित गर्नेछु। 61 तब तैंले आफ्ना चालहरू सम्झना गर्नेछेस्, र लज्जित हुनेछेस्, जब तैंले आफ्ना दिदीहरूलाई अर्थात् तेरी ठूली दिदी र तेरी सानी दिदीलाई ग्रहण गर्नेछेस्; अनि म तिनीहरूलाई तेरा छोरीहरूको रूपमा तँलाई दिनेछु, तर तेरो वाचाको कारणले त होइन। 62 अनि म तँसित मेरो वाचा स्थापित गर्नेछु; अनि तैंले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछेस्; 63 यसैले कि तैंले सम्झना गर्लिस्, र शर्ममा पर्लिस्, अनि आफ्नो शर्मले गर्दा आफ्नो मुख फेरि कहिल्यै नखोल्‍लिस्; यो तब हुनेछ, जब म तँलाई तैंले गरेका सबै कामहरू क्षमा गर्नेछु, प्रभु यहोवा भन्‍नुहुन्‍छ।”