आफ्नो हृदयमा मूर्ति बसाल्नेहरूका निम्ति परमप्रभुको भविष्यवाणी
14
तब इस्राएलका बूढ़ा प्रधानहरूमध्ये कतिजना मकहाँ आए, र मेरो सामु बसे। 2 अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 3 “हे मानिसको छोरा, यी मानिसहरूले आफ्नो हृदयमा आफ्ना मूर्तिहरू बसालेका छन् र आफ्नो अधर्मको ठेस लाग्‍ने कुरा आफ्नो सम्मुखमा राखेका छन्; तब के तिनीहरूले कुनै रीतिले मबाट सोधखोज गर्न पाउलान् र? 4 यसकारण तिनीहरूसँग बोल र तिनीहरूलाई भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, इस्राएलको घरानाको हरेक मानिस, जसले आफ्नो हृदयमा आफ्ना मूर्तिहरू बसाल्छ, आफ्नो अधर्मको ठेस लाग्‍ने कुरा आफ्नो सम्मुखमा राख्छ र भविष्यवक्ताकहाँ आउँछ, त्यसलाई म परमप्रभुले त्यसका असंख्य मूर्तिहरूअनुसार जवाफ दिनेछु, 5 इस्राएलको घरानालाई म तिनीहरूकै हृदयमा पक्रा पारूँ भनेर; किनकि तिनीहरू सबै आफ्ना मूर्तिहरूद्वारा पराई भएर मबाट हटेका छन्। 6 यसकारण इस्राएलको घरानालाई भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, पश्‍चात्ताप गर र आफ्ना मूर्तिहरूबाट आफूलाई फर्काओ! अनि आफ्ना सबै घृणित वस्तुहरूबाट आफ्ना अनुहारहरू फर्काओ! 7 किनकि इस्राएलको घरानाको र इस्राएलमा बसोबास गर्ने परदेशीको हरेक मानिस, जसले आफूलाई मेरो पछि लाग्‍नदेखि अलग राख्छ, आफ्नो हृदयमा आफ्ना मूर्तिहरू बसाल्छ र आफ्नो अधर्मको ठेस लाग्‍ने कुरा आफ्नो सम्मुखमा राख्छ, अनि मेरो विषयमा भविष्यवक्ताबाट सोधखोज गर्न भनी उसकहाँ आउँछ, त्यसलाई म परमप्रभु आफैले नै जवाफ दिनेछु; 8 अनि म आफ्नो अनुहार त्यस मानिसको विरोधमा लगाउनेछु, त्यसलाई एउटा चिन्ह र एउटा उपमा तुल्याउनेछु र त्यसलाई मेरो प्रजाको बीचबाट नष्‍ट गरिदिनेछु; अनि तिमीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछौ। 9 अनि भविष्यवक्ता कुनै वचन बोल्दा धोकामा पर्‍यो भने म परमप्रभुले नै त्यस भविष्यवक्तालाई धोका दिएको हुँ; अनि म आफ्नो हात त्यसमाथि बढ़ाउनेछु र त्यसलाई मेरो प्रजा इस्राएलको बीचबाट नाश गर्नेछु। 10 अनि तिनीहरूले आफ्नो अधर्मको दण्ड भोग्‍नेछन्; सोधखोज गर्नेको दण्ड जत्रो छ, भविष्यवक्ताको दण्ड त्यत्रै हुनेछ; 11 फलस्वरूप इस्राएलको घराना फेरि कहिल्यै मबाट भड़्किएर नजाओस्; अनि तिनीहरू आफ्ना सबै अपराधहरूद्वारा फेरि कहिल्यै अशुद्ध नहोऊन्; तर तिनीहरू मेरो प्रजा भइरहून्, र म तिनीहरूको परमेश्‍वर भइरहूँ, प्रभु यहोवा भन्‍नुहुन्‍छ।”
धर्मी जनले आफ्नो धार्मिकताद्वारा आफ्नो प्राणलाई मात्र छुटाउन सक्छ
12 अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 13 “हे मानिसको छोरा, जब देशले नराम्रो गरी विश्‍वासघात गरेर मेरो विरोधमा पाप गर्छ, तब म त्यसमाथि आफ्नो हात बढ़ाउनेछु, त्यसको रोटीरूपी लौरो भाँचिदिनेछु, र त्यसमाथि अनिकाल पठाउनेछु, अनि त्यसको बीचबाट मानिस र पशुलाई नष्‍ट गर्नेछु। 14 त्यस देशमा यी तीन मानिस अर्थात् नूह, दानियल र अय्यूब नै भए तापनि उनीहरूले आफ्नो धार्मिकताद्वारा आफ्नै प्राणहरू मात्र छुटाउनेथिए, प्रभु यहोवा भन्‍नुहुन्‍छ। 15 यदि मैले दुष्‍ट पशुहरूलाई त्यस देशबाट भएर हिँड़्न लगाएँ भने, अनि तिनीहरूले त्यसलाई निस्सन्तान पारे, र त्यो उजाड़ भयो भने, यहाँसम्म कि ती पशुहरूको कारणले कोही त्यहाँबाट भएर जान सकेन भने, 16 अनि त्यस देशमा यी तीन मानिसहरू नै भए तापनि, मेरो जीवनको शपथ, प्रभु यहोवा भन्‍नुहुन्‍छ, उनीहरूले न छोराहरूलाई छुटाउन सक्नेथिए, न छोरीहरूलाई; तर उनीहरू आफै मात्र छुटाइनेथिए; तर त्यो देशचाहिँ उजाड़ हुनेथियो। 17 अथवा मैले त्यस देशमाथि तरवार ल्याएँ भने, र ‘हे तरवार, तँ देशबाट भएर जा!’ भनेर त्यसको बीचबाट मानिस र पशुलाई नष्‍ट गरें भने, 18 अनि त्यस देशमा यी तीन मानिसहरू नै भए तापनि, प्रभु यहोवा भन्‍नुहुन्‍छ, मेरो जीवनको शपथ, उनीहरूले न छोराहरूलाई छुटाउन सक्नेथिए, न छोरीहरूलाई, तर उनीहरू आफै मात्र छुटाइनेथिए। 19 अथवा त्यस देशबाट मानिस र पशुलाई नष्‍ट गर्नलाई मैले त्यसमा महामारी पठाएँ, र रगत बगाईकन त्यसमाथि आफ्नो क्रोध खन्याएँ भने, 20 त्यस देशमा नूह, दानिएल र अय्यूब नै भए तापनि, प्रभु यहोवा भन्‍नुहुन्‍छ, मेरो जीवनको शपथ, उनीहरूले न छोरालाई छुटाउन सक्नेथिए, न छोरीलाई; उनीहरूले आफ्नो धार्मिकताद्वारा आफ्नै प्राणहरू मात्र छुटाउनेथिए।
21 किनकि प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, जब म यरूशलेममाथि, त्यसको बीचबाट मानिस र पशु नष्‍ट गर्नलाई मेरा चार खराब न्यायहरू अर्थात् तरवार, अनिकाल, दुष्‍ट पशु र महामारी पठाउँला, तब झन् कति बढ़्‍ता गरी यस्तो होला? 22 तर हेर, त्यसभित्र बाँकी रहेको भाग छोड़िनेछ – छोराहरू र छोरीहरू, जो बाहिर लगिनेछन्; हेर, तिनीहरू तिमीहरूकहाँ निस्केर आउनेछन्, र तिमीहरूले तिनीहरूको चाल र तिनीहरूका कामहरू देख्‍नेछौ; अनि मैले यरूशलेममाथि ल्याएको त्यस विपत्तिको सम्बन्धमा, अँ, मैले त्यसमाथि ल्याएको सबै कुराको सम्बन्धमा तिमीहरूले सान्‍त्‍वना पाउनेछौ। 23 अनि जब तिमीहरूले तिनीहरूको चाल र तिनीहरूका कामहरू देख्‍नेछौ, तब तिनीहरूले तिमीहरूलाई सान्‍त्‍वना दिनेछन्; अनि मैले त्यसभित्र जे गरें, त्यो सबैचाहिँ मैले विनाकारण गरेको होइन रहेछु भनी तिमीहरूले जान्‍नेछौ, प्रभु यहोवा भन्‍नुहुन्‍छ।”