इस्राएलको घरानाका निम्ति चिन्ह: इजकिएलले भित्तामा एउटा दुलो पारे
12
अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 2 “हे मानिसको छोरा, तिमी एउटा विद्रोही घरानाको बीचमा बस्दैछौ, जससँग देख्‍नलाई आँखाहरू त छन्, तर तिनीहरू देख्दैनन्; तिनीहरूसँग सुन्‍नलाई कानहरू त छन्, तर तिनीहरू सुन्दैनन्; किनकि तिनीहरू एउटा विद्रोही घराना हुन्। 3 यसकारण तिमी हे मानिसको छोरा, आफ्ना निम्ति देशनिकाला हुँदा लगिने सरसामानहरू तयार पार! अनि तिनीहरूका आँखाहरूको सामु दिनको समयमा तिमी निकासिनू! अनि तिनीहरूले हेर्दा-हेर्दै तिमी आफ्नो ठाउँबाट अर्को ठाउँमा निकासिनू; तिनीहरू एउटा विद्रोही घराना भए तापनि सायद तिनीहरूले विचार गर्लान्। 4 तब तिनीहरूले हेर्दा-हेर्दै तिमीले देशनिकाला हुँदा लगिने सरसामानहरू जस्तो गरी आफ्ना सरसामानहरू निकाल्नू! अनि तिनीहरूले हेर्दा-हेर्दै तिमी साँझमा कैदमा निस्केर जानेहरू जस्तो गरी निस्केर जानू! 5 तिनीहरूकै आँखाको सामु भित्तामा एउटा दुलो पार्नू, र त्यहींबाट निकालेर लैजानू! 6 तिनीहरूकै आँखाको सामु तिमीले त्यो आफ्नो काँधमाथि बोक्नू; अनि साँझको झिसमिसेमा त्यो निकालेर लैजानू! तिमीले आफ्नो अनुहार छोप्‍नू, र तिमीले भुइँ देख्‍न नसक; किनकि मैले तिमीलाई इस्राएलको घरानाका निम्ति एउटा चिन्ह ठहऱ्याएको छु।”
7 तब मैले मलाई आज्ञा गरेअनुसार गरें; दिनको समयमा मैले आफ्ना सरसामानहरू देशनिकाला हुँदा लगिने सरसामानहरू जस्तो गरी निकालें; अनि साँझमा मैले आफ्नै हातले भित्तामा एउटा दुलो पारें; साँझको झिसमिसेमा मैले त्यो निकालें, र तिनीहरूकै आँखाको सामु त्यो आफ्नो काँधमाथि बोकें।
8 अनि बिहान परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 9 “हे मानिसको छोरा, के इस्राएलको घरानाले, यस विद्रोही घरानाले ‘तिमीले के गरेको?’ भनी सोधेको छैन र? 10 तिनीहरूलाई यसो भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, यो भविष्यवाणीचाहिँ यरूशलेममा भएको त्यस शासक र तिनीहरूको बीचमा भएको इस्राएलको सम्पूर्ण घरानाको सम्बन्धमा छ। 11 भन, म तिमीहरूका निम्ति एउटा चिन्ह हुँ; जस्तो मैले गरेको छु, त्यस्तै तिनीहरूका निम्ति गरिनेछ; तिनीहरू देशनिकाला भएर कैदमा जानेछन्। 12 अनि तिनीहरूको बीचमा भएको शासकले साँझको झिसमिसेमा आफ्नो काँधमाथि बोक्नेछ, र निस्केर जानेछ; तिनीहरूले भित्तामा, त्यहींबाट निकालेर लैजान सकून् भनेर एउटा दुलो पार्नेछन्; त्यसले आफ्ना आँखाहरूले भुइँ नदेखोस् भनेर आफ्नो अनुहार छोप्‍नेछ। 13 अनि म आफ्नो जाल त्यसमाथि फैलाउनेछु, र त्यो मेरो पासोमा पक्राउ पर्नेछ; अनि म त्यसलाई कल्दीहरूको देश बाबेलमा ल्याउनेछु; अनि त्यो त्यहीं मर्नेछ, तर पनि त्यसले त्यस देशलाई देख्‍नेछैन। 14 अनि त्यसको सहायताका निम्ति त्यसको वरिपरि रहेका सबैलाई, साथै त्यसका सबै दलहरूलाई म चारै दिशातिर तितरबितर पारिदिनेछु; अनि तिनीहरूको पछि-पछि म एउटा तरवार थुत्‍नेछु। 15 अनि जब म तिनीहरूलाई जाति-जातिको बीचमा तितरबितर पार्नेछु, र तिनीहरूलाई देश-देशमा छरिदिनेछु, तब तिनीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछन्। 16 तर तिनीहरूमध्ये थोरै मानिसहरूलाई म तरवार, अनिकाल र महामारीबाट जोगाएर राख्‍नेछु, यस हेतुले कि तिनीहरूले अन्यजातिहरूको बीचमा, जहाँ तिनीहरू पुग्छन्, आफ्ना सबै घृणित कामहरूको बयान गरून्; अनि तिनीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछन्।”
17 अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 18 “हे मानिसको छोरा, तिमीले आफ्नो रोटी काम्दै खानू, अनि थरथराउँदै र चिन्तित हुँदै आफ्नो पानी पिउनू! 19 अनि यस देशका मानिसहरूलाई भन: प्रभु यहोवा इस्राएल देशमा भएका यरूशलेमका बासिन्दाहरूको विषयमा यसो भन्‍नुहुन्‍छ, चिन्तित हुँदै तिनीहरूले आफ्नो रोटी खानेछन्, र अवाक् हुँदै आफ्नो पानी पिउनेछन्; किनकि यसमा बस्‍ने सबैको अत्याचारको कारणले त्यसको देश त्यसमा भएका सबै थोकहरूसमेत उजाड़ हुनेछ। 20 अनि बसोबास गरिएका शहरहरू बरबाद पारिनेछन्, र देश उजाड़ हुनेछ; अनि तिमीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्‍नेछौ।”
21 अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 22 “हे मानिसको छोरा, ‘दिनहरूचाहिँ बित्दै जान्छन्, तर दर्शनचाहिँ एउटै पनि पूरा हुँदैन’ भन्‍ने इस्राएलको देशमा चलेको तिमीहरूको यो उखान के हो? 23 यसकारण तिनीहरूलाई भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, म यो उखान बन्द गरिदिनेछु, अनि इस्राएलमा तिनीहरूले यो उखान फेरि कहिल्यै प्रयोग गर्नेछैनन्; तर तिनीहरूलाई भन: दिनहरू नजिकै छन्, अनि हरेक दर्शन पूरा हुने नै छ। 24 किनकि इस्राएलको घरानाभित्र फेरि कहिल्यै कुनै व्यर्थैको दर्शन र चिप्लो घस्‍ने जोखना हुनेछैनन्। 25 किनकि ‘परमप्रभु म नै हुँ’; म बोल्नेछु, अनि जुन वचन म बोल्नेछु, त्यो पूरा हुनेछ; यो अझ टाँगिँदै जानेछैन; किनकि हे विद्रोही घराना, तिमीहरूकै दिनहरूमा म एउटा वचन बोल्नेछु, र त्यो पूरा गर्नेछु, प्रभु यहोवा भन्‍नुहुन्‍छ।”
26 अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 27 “हे मानिसको छोरा, हेर, इस्राएलका घरानाकाहरूले भन्दा रहेछन्: ‘उसले देखेको दर्शन पूरा हुनु धेरै दिन बाँकी छन्; अनि जुन समयहरूको विषयमा उसले भविष्यवाणी गर्छ, ती टाढ़ामा छन्।’ 28 यसकारण तिनीहरूलाई भन: प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ, मेरा वचनहरूमध्ये एउटै पनि अझ टाँगिँदै जानेछैन, तर मैले बोलेको वचन पूरा हुनेछ, प्रभु यहोवा भन्‍नुहुन्‍छ।”